गजुरीकी नूरजहाँ सम्झेर
अन्ततः किताब तयार भयो । किताब तयार गर्नु पनि एउटा युद्ध जितेजस्तो, लामो यात्रापछिको वि श्रामजस्तो, उकुसमुकुस, उत्कण्ठा र आवेगहरू सकिइसकेपछि रित्तो भएजस्तो ।
किताब लेखिसकेपछि म त्यस्तै भएँ- बच्चा जन्म दिएपछिकी आमाजस्तो ! त्यो वि श्रामको समयमा पछाडि फर्केर हेरेँ । नेपालगन्जको बसाइ, पटक-पटक गरी पूरै मध्यपश्चिम र केही सुदूरपश्चिमको यात्रा । एउटा यायावर, यात्रालेखक, कवि पूर्वी नेपालको सिंगै स्मृति बोकेर पश्चिम नेपाल घुमिरहेँ ।
अनेकौं मान्छे भेटिए यात्रामा- भुइँमै टाँसिएका मान्छेहरू, भुइँबाट अलिकति उठेका मान्छेहरू, अलि धेरै उठेका मान्छेहरू । भेटेका सबै मान्छेलाई सुनेँ ध्यानपूर्वक । उनीहरूका आँखामा हेरेँ, अनुहारमा, हाउभाउ र आवरणमा पनि हेरेँ । त्यसो त लेख्नलाई केही नयाँ विषयको, नयाँपनको खोजीमा पनि थिएँ । एउटा जिउँदो लेखकले बाँचिरहन यसो गर्नैपर्छ पनि । गरेँ ।
नाटकघरको पर्दा खुलेजस्तो एउटा अलग संसार, एउटा बेग्लै समुदाय र परिवेश क्रमशः खुल्दै गयो । मेरा लागि मैले नभोगेको, नदेखेको र नसोचेको देश भेटिँदै गयो, त्यस्तै किसिमको सत्य खुल्दै गयो । मैले विस्मित भएर हेरेँ धेरैजसो भने हरेक घटनाबाट जीवनको लागि अत्यावश्यक अनुभव सिकिरहेँ पनि ।
अब केही नलेखी बस्न कहाँ सक्थेँ म !
मैले लेखेँ- ‘लगाइरहेको चस्मा झिकेर टेबुलमा राखेँ । यस्तो लाग्यो - टेबुलमा दुईवटा आँखा छन् जसको मद्दतले मैले यतिका दिनसम्म यो सहर, यहाँका दृश्य एवं हरेक गतिविधिलाई नियालेर हेर्ने गर्थें ।... सोचेँ - अब पुगेको ठाउँ, देखेका दृश्य, तिनले उब्जाउने प्रतिक्रिया एवं भेटेका मानिसलाई नांगो आँखाले हेर्छु । कुनै चस्मा नलगाइकन हेर्दा देखिने दृश्यले अवश्य पनि अनुभवको तह बढाउनेछ र भोलिका लागि आवश्यक दृष्टिकोणमा निखार ल्याउनेछ । मभित्र नांगो आँखाले दुनियाँ हेर्ने लोभ झन् बढ्यो ।'
यसरी लेख्दै गएँ, लगातार । मैले खजुराकी नूरजहाँलाई लेखेँ, नेपालगन्जकी सविता, रामलाल यादव, जगदीश्वर यादव, सर्वेन्द्रलाई लेखेँ, बाँकेकै राप्तीपारिको सब्बीर र जाजरकोटमा माछा मारिरहेका रामबहादुरलाई पनि लेखेँ । कालीकोटको रतन शाहीको मन छुने कथा, हुम्लाकी निमाछम्जीको परम्पराप्रतिको विद्रोह र डोल्पाकी जीवन कुमारीको जोवानको हाउभाउ र कञ्चन मुस्कान नलेखी बस्न सकिने विषय थिएनन् । नेपालगन्जमै मकै पोलिरहेका, जुत्तामा पालिस लगाइरहेका, चिया बेचिरहेका भुइँमानिसहरू हुन् वा मुगुमा डोकामा पानी बोकेर अक्करे भीरजस्तो बाटोमा हिँडिरहेका आमाछोरी हुन्; डोटीमा पानी खान दिँदा धर्म जान्छ भन्ने दलित समुदायका मानिस हुन् वा सिमीकोटमा दाउराको भारी बोकेका महिला वा ८० वर्ष नाघिसकेकी शेर्पिनी दिदीको अनुभव हुन्- सबैसँग फरक तर गज्जबका जीवनले भरिएका कथाहरू थिए । तिनले मलाई बारम्बार लेख्न प्रेरित गरिरहे ।
यसरी अनेकौं मानिसको जीवनलाई नजिकैबाट चियाउँदै हिँडेँ । र, लेखेँ - ‘जीवन सिनेमाजस्तै छ पाइला पाइलामा कथाले भरिएको ।'
योजना नबनाइकन लेख्दै जाँदा थाहा भयो, हरेक मानिस वास्तवमा नायक रहेछ समुदायमा, उसको आफ्नो कथाको परिवेशमा । समाज अब एकल नायकबाट बहुनायक भएको संरचनातर्पm रूपान्तरित हुँदै गइरहेको रहेछ । हेपिएका, नदेखिएका, नबोलेका र नसुनिएका, नलेखिएका मान्छेहरू सबैका कथाहरू मर्मस्पर्शी छन् । यत्ति हो, सुन्ने धैर्य र सामथ्र्य हामीसँग हुनुपर्छ । तिनले हाम्रा संवेदनालाई, जम्दै गरेका अनुभूतिहरूलाई बेस्सरी हल्लाएर पानीभन्दा तरल बनाइदिने सामथ्र्य राख्छन् ।
समाज अब एकल नायकबाट बहुनायक भएको संरचनातर्फ रूपान्तरित हुँदै गइरहेको रहेछ । हेपिएका, नदेखिएका, नबोलेका र नसुनिएका, नलेखिएका मान्छेहरू सबैका कथाहरू मर्मस्पर्शी छन् । यत्ति हो, सुन्ने धैर्य र सामथ्र्य हामीसँग हुनुपर्छ ।
मलाई तिनै मान्छेहरूका नलेखिएका, नदेखिएका, नसुनिएका जीवनकथाहरूले आकर्षित गरे । मैले कहिले संवेदित हुँदै, अतिशय भावुक हुँदै, कहिले मुस्कुराउँदै र कहिले पीडाले द्रवित हुँदै तर लेखिरहेँ । र, अन्ततः किताब तयार भयो । लेखिसकेपछि सोचेँ - यो के भयो ? उपन्यास ? यात्रा निबन्ध ? कथा ? वा निबन्ध ? त्यसो त यी सबैका केही न केही विशेषताहरू यस किताबभित्र अटाएकै छन् । त्यसैले फेरि सोचेँ - यो विधागत दृष्टिले केही पनि भएन पहिलो ड्राफ्टमा । यो त केवल किताब भयो ।
एक मनले लाग्यो - किताब हुनुभन्दा ठूलो अरू के छ ? तर, फेरि पुनर्लेखन गरियो । कथाका तन्तुहरूलाई जोड्दै जाँदा कतिपय ठाउँमा खाली ठाउँ देखा पर्यो । त्यसलाई भर्ने काम गरियो । पात्रहरू उठेर कति ठाउँमा सुरक्षित अवतरणको अपेक्षा गरे । तिनले खेदे पनि कति ठाउँमा । यो रोमाञ्चक अनुभूति यसअघि निबन्ध, नियात्रा वा कविता लेख्दा कहिले पनि भएको थिएन । आफ्नै पात्रसँग सामना गर्नु सबैभन्दा कठिन कुरा रहेछ खासगरी आख्यान लेखकका लागि ।
केही स्वनामधन्य लेखक मलाई भन्ने गर्नुहुन्थ्यो - ‘तिम्रो लेखनमा मान्छेको उपस्थिति ज्यादै कम र प्रकृति बढी भयो ।' त्यसो त संसारमा मान्छे र प्रकृतिभन्दा बाहेक लेख्नलाई अर्को विषय नै छैन । र, यी दुईलाई पूरै पृथक् गरेर लेख्न पनि सम्भव छैन । त्यसैले प्रकृतिलाई नै लेखेको भए तापनि कहीँ न कहीँ मान्छेको उपस्थिति त अनिवार्य हुन्छ नै । मैले यही कुरो भनिरहेँ पनि । लेखनमा पनि कहिले प्रकृति बढ्ता मुखर भएर आयो होला, कहिले मान्छे । यसपल्ट भने किताबभरि मान्छे नै मान्छे उपस्थित भइरहे जताततै । प्रकृतिसँग टाँस्सिएरै भए पनि वा अलग्गै बेग्लै स्वरूप लिएर भए पनि मानिसका झिना सपना, उनीहरूका पसिना र आँसु, उनीहरूको राज्यप्रतिको आक्रोश, जनताको नाम भजाएर राजनीति गर्नेले गरेका छलछाम र आतंक सबैलाई किनारामा उभिएर नांगो आँखाले हेरेँ । तिनीहरूलाई नै कहिले शान्तसँग त कहिले आवेगपूर्ण किसिमले लेखेँ ।
केही नामको सूचीबाट एउटा नाम टिपेँ र किताबमा नाम राखेँ- ‘पाइला पाइला' । एउटा लेखकको यात्रामय जीवनको कथा हो पाइला पाइला । उपन्यासकै विशेषता बढी भएकोले मैले यस किताबलाई उपन्यास भनेँ । अब एउटा बहस सुरु भएको छ- के पाइला पाइला उपन्यास हो ? वा नियात्रा हो ? अथवा यात्रा उपन्यास हो ? नियात्राकारले प्रथम पुरुषको भाषा प्रयोग गरेर लेखेको हुनाले पनि मानिसले यस किताबको सन्दर्भमा यस किसिमको प्रश्न गर्नु स्वाभाविक हो ।
किताब बजारमा छ र म अलि पर चुपचाप बसेर किताबमाथिका प्रतिक्रिया सुनिरहेको छु । किताब बजारमा गएपछि लेखकको बोल्ने कुरा सकिन्छ र बोल्ने तथा लेख्ने पालो पाठक एवं समीक्षकको सुरु हुन्छ ।
मैले जानेको चाहिँ के हो भने यो एउटा किताब हो मान्छेहरूका अनेकौं अनुभवजन्य कथाहरूले भरिएको । ‘पाइला पाइला' नांगो आँखाले देखेको दृश्यचित्र हो एउटा भू-भाग र समयको, त्यस समयलाई सकिनसकी घिसारिरहेका निर्धा मान्छेहरूको । ‘पाइला पाइला' देशभित्रकै एउटा अर्को देशको चित्र हो । यसलाई योभन्दा अर्कै स्वरूपमा पनि तयार गर्न सकिन्थ्यो । तर, यो पटक यसो गरिएन, यसलाई उपन्यास र नियात्राको लगभग बीचबीचबाटै हिँडाउने मन गरियो । यो किताब जानीबुझेकै नेपाली उपन्यास लेखनमा गरिएको एउटा प्रयोग हो ।