जीवन : खोलाको पानी जस्तै
कोही पनि अमर छैन, एकदिन त सबै मर्नुपर्छ
धनसम्पत्ति, नातागोता एकदिन सबै त्याग्नुपर्छ
ईष्र्या छाडौं, शान्ति रोजौं, जिन्दगीको बाटोमा
मरिलानु के छ र ! एकबारको जुनीमा
जीवन भन्ने यस्तै छ, खोलाको पानीजस्तै छ !
-कैलाश गुरुङ
मृत्युलाई स्वीकार्नुको विकल्प छैन । तथापि, 'मृत्यु' शब्दले मानिसलाई नमीठो अनुभूति गराउँछ । 'मैले एकदिन मर्नु पर्छ' भन्ने सत्यलाई बाँचुञ्जेल मानिसले सायदै सोच्ला । तर, कवि कैलाश गुरुङले धेरै अघि नै मृत्युको शाश्वत सत्यलाई स्वीकार गरिसकेका थिए । जीवन र मृत्युबारे उनले लेखेकोे यस गीतको भावभूमिमा भनेका छन्, 'जीवनको यात्राबारे खासै ठेगाना हुँदैन, त्यसैले शत्रुता त्यागेर शान्तपूर्ण जीवन बाँच्नुपर्छ । भोलिबारे कसलाई थाहा छ र ? त्यसैले स्वार्थ त्यागौं, खुसी बाँडौं ।'
प्रिय कवि, गीतकार मित्र कैलाशको जीवन-दर्शन र मृत्यु-चिन्तनसम्बन्धीको यो गीतले मलाई स्तब्ध बनाएको छ । सहज रूपमा जीवन र मृत्युको चित्रण गर्ने उनले २०७४ साल जेठ १६ गते, मंगलबारका दिन छोटो उमेरमै स्वयम् मृत्युलाई वरण गरे । सैन्यसेवामा कार्यरत पेसाले पाइलट, नेपाली सेनाका महासेनानी उनको जीवनको आखिरी धड्कन हवाईजहाजभित्रै बन्द भयो । जीवनको कुनै भर छैन । जहाँ, जुनसुकै बेला पनि उसको जीवनको अध्याय समाप्त हुन सक्छ । कैलाशको जीवनमा पनि यही भयो, 'जीवन भन्ने यस्तै छ, खोलाको पानीजस्तै छ ।'
कैलाशको जन्म पूर्वी पहाडी जिल्ला भोजपुरको छिनामखुमा बाबु नरबहादुर र आमा गणेशकुमारीबाट दोस्रोे पुत्रका रूपमा भएको थियो । सरकारी अभिलेखमा उनको जन्म २०२७ साल पुस १४ गते भनेर उल्लेख छ । उनकी जीवनसंगिनी सावित्रीरत्न, दुई छोरी विभूति र काबेरी छन् । एक दाजु, दुई भाइका साथै तीन दिदी र एक बहिनी छन् । जीवनसंगिनी सावित्रीरत्न पनि नेपाली सेनामा प्रमुख सेनानी छिन् ।
२०४६ सालमा सैन्यसेवामा प्रवेश गरेका कैलाश सानैदेखि मेधावी विद्यार्थीका रूपमा परिचित थिए । उनको बाल्यकाल र किशोरकाल गाउँमै बित्यो । जन्मस्थान छिनामखुको घोरेनागी प्राथमिक विद्यालयबाट शिक्षाको आरम्भ गरेका उनले देवीथान निम्न माध्यमिक विद्यालय हुँदै अन्नपूर्ण माध्यमिक विद्यालयबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका थिए । उनका बालशखा संगीतकार वसन्त मुकारुङ कैलाशसँगका बाल्यकालीन दिन सम्झन्छन्, 'कैलाश सानैदेखि तेजिलो दिमागको थियो । कोही-कसैसँग झैंझगडा नगर्ने र वादविवादमा नफस्ने, अति मिलनसार र सहयोगी स्वभाव थियो उसको ।'
सुर्खेतबाट खाद्य संस्थानको चामल लिएर हुम्लाको सिमकोटतर्फ लागेको विमान आपत्कालीन अवतरण गर्दा दुर्घटना भएपछि पाइलट क्याप्टेन कैलाश गुरुङ कविता र गीतमा मात्रै भेटिने भएका छन् ।
विद्यालयमा हुँदा उनी साहित्य र कलाका अनुरागीमात्रै थिए । उनको साहित्य लेखनयात्राको आरम्भ भने कलेजमा प्रवेश गरेसँगै भएको थियो । उनको पारिवारिक पृष्ठभूमि सैन्य क्षेत्रसँगै सम्बन्धित थियो । बुवा ब्रिटिस गोर्खा सेनामा आबद्ध थिए । मलेसियन युद्धका 'वार भेट्रान' बुवाबाट उनी सानैदेखि सैन्य पेसाप्रति आकर्षित थिए । अन्तत: उनको पनि सैन्यसेवामै प्रवेश भयो ।
सैन्यसेवामा रहेर पनि उनले साहित्य सिर्जनालाई निरन्तरता दिइरहेका थिए । तर, २०५३ सालतिर अमेरिकामा रहेका बेला डालसबाट ह्युस्टनतर्फ जानेक्रममा दुई सय ५० वटा गीत संगृ्रहीत आफ्नो डायरी हराएपछि भने त्यस घटनाले आफूलाई निकै निराश पारेको र गीत लेखनमा सुस्तता आउनुका साथै कृति निकाल्ने सपनामा तुषारापात भएको कुरा उनले २०६७ सालमा प्रकाशित गीतसंग्रह 'रक्षकको गीत'को लेखकीय भनाइमा उल्लेख गरेका छन् ।
उनका 'रक्षकको गीत' गीतसंग्रह, उक्त संग्रहको अंग्रेजी रूपान्तरण 'ओडिस अफ द हिमालय'का साथै 'जोखिमयात्रा', 'अर्पण', 'कलश' लगायतका गीतिएल्बम प्रकाशित छन् । साहित्यलाई 'भावनाहरूको समुद्र' ठान्ने कैलाश एक देशभक्त र राष्ट्रवादी, जीवनवादी र प्रकृतिवादी, प्रेमवादी र आदर्शवादी, मानवतावादी र सामाजिक-यथार्थवादी कवि तथा गीतकार थिए । उनले राष्ट्रगान, जन्मोत्सवगान, सैन्य-गणगानका साथै चाडपर्व, प्रकृति र संस्कृतिका अतिरिक्त पर्यटन प्रवद्र्धनमा समर्पित सयौं गीत सिर्जना गरेका छन् ।
मानव जातिलाई सृष्टिकै सुन्दर सिर्जना मान्ने कैलाशका लागि समाजमा व्याप्त अनेक प्रकारका विभेद र कुसंस्कार सह्य थिएनन् । उनी यसका प्रखर विरोधी थिए । र, कलमका माध्यमबाट उनी त्यसविरुद्ध खरो उत्रिन्थे । भन्थे— 'यहाँ देश, परदेश, आफन्त, पराइ, जात, धर्मको नाममा मान्छे-मान्छेबीचमा फाटो ल्याउने कोसिस गरिँदै छ । आखिर संसारका मान्छे हामी एकै परिवारको रूपमा सोचे कति राम्रो हुन्थ्यो होला ।'
उनले जनप्रशासन र इतिहास विषयमा एमए गरेका थिए । अमेरिकाबाट 'एअरलाइन ट्रान्सपोर्ट पाइलट'लगायत विभिन्न मुलुकबाट हवाईउडान र विपत् उद्धारसम्बन्धी अनेकौं प्रशिक्षण र तालिम हासिल गरेका उनी नेपाली सेनाका एक होनाहार महासेनानी थिए । प्याराग्लाइडिङ र पर्वतारोहणका साथै टेनिस एवम् गल्फलगायतका खेलप्रति उनको विशेष लगाव थियो । उनले आफ्नो ज्यानको समेत पर्वाह नगरी देशमा द्वन्द्वताका र प्राकृतिक विपत्ति आएका बखत विपत्तिमा फसेका मानिसको उद्धार गरी जीवन बचाएका थिए । यसै गरी उनले आफ्नो जन्मभूमि भोजपुरमा हेलिकोप्टरमार्फत पहिलोपटक गाडी उतारेका थिए । उनी एक साहसी नायक थिए, आफू जोखिममा परेर पनि अरूको ज्यान बचाउने जीवन रक्षक थिए । सबैको भलो चिताउने असल मानव थिए उनी।
'धरती रक्षक' उपनामबाट सामाजिक सञ्जालमा परिचित उनले आफ्ना म्युजिक भिडियोहरू यूट्युबमा 'ट्याम्के छोरा' परिचयबाट राखेका छन् । साहित्य, कला र गीतसंगीतलाई मनमस्तिष्कमा सजाउँदै उनी आफ्नो कर्तव्य पालनामा सधैं समर्पित रहन्थे । कहिले हेलिकोप्टर त कहिले हवाईजहाज लिएर विभिन्न मिसनहरूमा खटिइरहनु उनको पेसागत जिम्मेवारी र कर्तव्य थियो ।पाइलट पेसाप्रतिको अनुभव र अनुभूति उनी सुनाउँथे, 'पाइलट पेसा जोखिम तर मनोरञ्जन एवम् रोमाञ्चले भरिपूर्ण पेसा हो । कहिले बादल, कहिले घामपानीसँगै रमाउँदै आकाशमा पन्छीजस्तै उड्नु साँच्चिकै मज्जा हुन्छ तर साथमा चुनौती पनि ।'
आकाशमा घाम, बादल र हुरी-बताससँग लुकामारी खेल्दाखेल्दै आखिरी त्यही जोखिम र चुनौतीको सिकार भए उनी । 'नेपाल आर्मी ८४' कलसाइन भएको नेपाली सेनाको स्काई ट्रक लिएर सुर्खेतबाट खाद्य संस्थानको चामल लिएर हुम्लाको सिमकोटतर्फ लागेका थिए 'पाइलट क्याप्टेन कैलाश ।' तर, हावाको उच्च बहावका कारण सिमकोटमा जहाज अवतरण गर्न कठिनाइ प्रकट भएपछि बाजुराको कोल्टी विमानस्थलमा आपत्कालीन अवतरण गर्न लाग्दा अनायास जहाज दुर्घटना भई उनको दु:खद् निधन हुन पुग्यो । उक्त दुर्घटनामा परी को-पाइलट सेनानी अनिता आले र स्टेवार्ड सुवेदार पूर्णबहादुर खड्का गम्भीर घाइते अवस्थामा उद्धार गरिए । नियतिले कैलाशलाई भने निर्ममतापूर्वक हामीबीचबाट सधैंका लागि खोसेर लग्यो ।-
घण्टी-शंख रोइरहेछ किन आर्यघाट
वाचा तोड्यौ, मृत्यु रोज्यौ, किन हामीबाट ?
कैलाशका गाउँले, उमेरले अग्रज र एकै पेसामा आबद्ध, उनलाई तालिमसमेत दिएका महासेनानी तथा गीतकार गंगाराज मुकारुङ अकल्पनीय घटनामा सहकर्मी कैलाशलाई गुमाउनु पर्दा गहिरो पीडामा छन् । 'साहै्र लगनशील र अनुशासित थिए कैलाश । उनी सेनाको हवाई विभागको निर्देशक हुने क्षमताका मान्छे हुन्' मुकारुङ भन्छन्, 'हामी सेनाको नाचगान छनोट समितिमा पनि सँगै थियौं । उनी आफैं पनि अब्बल गीतकार थिए । राष्ट्रभावलाई केन्द्रमा राखेर उनले सेनाको मनोबल उँचो पार्ने थुपै्र गीत लेखेका छन् । उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको छ । के गर्नु नियतिलाई कसैले जित्न नसकिने रहेछ ।'
मृदुभाषी, नम्र र मिलनसार मिजासका कैलाशको निधनबाट नेपाली सेनाले एउटा होनाहार, कर्तव्यपरायण र कुशल महासेनानी पाइलटका साथै साहित्यजगत्ले एक प्रतिभाशाली स्रष्टा गुमाएको छ । राष्ट्रले गहिरो क्षति व्यहोर्नुपरेको छ । यस दु:खद् घडीमा शोकलाई सिर्जनामा बदल्दै उनका सुकर्महरूलाई आत्मसात् गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ । अन्त्यमा, एकजना शिखर व्यक्तित्वको सम्झनामा स्व. कैलाशद्वारा रचित ' श्रद्धाञ्जलि गीत' उनैलाई भावपूर्ण श्रद्धा-समर्पण-
लाखौंलाख ताराबीच थियौ धु्रवतारा
छाडिगयौ हाम्रो साथ रुवाइ साथी सारा ।