कफीको स्वाद
यस्तो किसिमको अनुभूति यसअघि मैले कहिल्यै पनि गरेको थिइनँ । म आफू असुरक्षित भएको आशंकाले ग्रस्त भइरहेको थिएँ । यद्यपि प्रत्यक्षतः त्यहाँ भय सिर्जना गर्ने कुनै पनि किसिमको घटना भइरहेको थिएन, न त मेरो शरीर र इन्द्रियहरूको नियमित गतिमा खासै परिवर्तन नै आइरहेको थियो । तर, म आफूलाई असुरक्षित ठानिरहेको थिएँ र आफू असुरक्षित नै भएको पुष्टि गर्ने प्रमाणहरू खोजिरहेको थिएँ यत्रतत्र ।
यतिखेर म एउटा भव्य डाइनिङ लाउन्जमा कसैको प्रतीक्षा गरिरहेको थिएँ । कसैको भन्नाले मेरो मालिक म्याक्सवेलको जसको एन्टिक पसलको एकमात्र कामदार थिएँ म ।
म्याक्सवेल मलाई घर कुर्न लगाएर केही क्षणका लागि बाहिरिएको थियो । केही क्षणअगाडि म उसकै कारमा बसेर यहाँ आएको थिएँ । यतिखेर घरमा मबाहेक अरू कोही थिएन । खासमा यहाँ म उसको पाहुना भएर आएको थिइनँ, कामदारकै हैसियतमा आएको थिएँ ।मैले काम गर्ने उसको एन्टिक सामान बेच्ने पसल लन्डनको प्रसिद्ध पर्यटकीय क्षेत्र क्यामडेन टाउनमा थियो ।
पसल सानो भएकाले बिक्रीका लागि आइपुगेका चीजबीजहरू ऊ आफ्नो घरमै संग्रह गथ्र्यो र आवश्यकताअनुसार पसलमा लैजान्थ्यो । तर, यसो गर्दा घरमा संग्रहमात्रै बढिरहेकाले मैले नै उसलाई ती चीजबीजको फोटोसहित लगत तयार गर्ने र तिनलाई वेबसाइटमार्फत अनलाइनसमेत बेच्न सकिने उपाय सुझाएको थिएँ । त्यही कामका लागि आज अलिक चाँडै पसल बन्द गरेर हामी यता आएका थियौं ।
अघिसम्म म सामान्य थिएँ । आधा घन्टाको यात्रामा म म्याक्सवेलसँग जिस्किरहेको थिएँ, उसको मोटो स्वरसँग सकिनसकी आफ्नो फिका स्वर मिसाएर सौन लउरीको क्लासिक आइरिस गीत गाइरहेको पनि थिएँ । यहाँसम्म कि उसले कसैसँग फोनमा गरिरहेको 'ननभेज' कुराकानी एकतर्फी रूपमा सुनेर मज्जा पनि लिइरहेको थिएँ । तर, उसको घरभित्र पस्ने बित्तिकै मलाई यो के भइरहेको थियो ?
बैठक कोठा सामान्य घरहरूको भन्दा ठूलो थियो । अनि यो यति भव्य थियो कि यस्तो लाग्थ्यो कुनै क्लासिक इन्टेरियर डिजाइनरले अत्यन्तै मेहनतपूर्वक सजाएको होस् । म्याक्सवेलको एन्टिक चीजहरूप्रतिको प्रेम यहाँ पनि देखिन्थ्यो, फरक के थियो भने क्यामडेनको पसलमा झैं ती भद्रगोलसँग राखिएका थिएनन् । तिनलाई यति सुहाउँदोसँग व्यवस्थापन गरिएको थियो कि कदाचित् तिनको स्थान यताउता गरिदियो भने कोठाकै सौन्दर्य बिग्रेलाजस्तो ।
म सोफामा लगभग पसारिएको थिएँ । मेरो अघिल्तिरको गोलो-होचो टेबुलमा कफीको कप मलाई टुलुटुलु हेरिरहेको थियो । तर, मैले त्यसलाई छोएको सम्म पनि थिइनँ । मेरा आँखा घरि यता र घरि उता नाचिरहेका थिए । मानौं, तिनले कुनै महत्वपूर्ण रहस्यको भरपर्दो प्रमाणलाई कतैबाट उत्खनन गरी मभित्रको छटपटीलाई सान्त्वना दिनेछन्, नभए पनि मैले मनमा समेत प्रस्टसँग व्यक्त गर्न नसकेको प्रश्नको उत्तर दिनेछन् । म अझै आफू असुरक्षित नै हो भन्ने पुष्टि गर्नलाई प्रमाण खोजिरहेको थिएँ ।
त्यसैले मेरा आँखा एक ठाउँमा अडिइरहेका थिएनन्, ती निरन्तर घुमिरहेका थिए । ती घरि एकातिरबाट चिप्लिएर कोठाको अर्को भागतिर पुग्थे । म्याक्सबेलसँग काम गरेको यो लगभग १४ महिनाको अवधिमा उसको संगतले मलाई पनि एन्टिक चीजहरूप्रति थोरबहुत चासो थियो । त्यसैले यो भव्य कोठाका साराका सारा एन्टिक चीजबिजहरू मेरा निम्ति नयाँ थिए तर नौला थिएनन् । तैपनि आज ती मेरा आँखामा बिझाइरहेका थिए ।
कोठालाई बीचमा सानो डिलजस्तो लगाइएको थियो, आधाआधी आउने गरी । बारको छेउको भित्तामा टाँगिएको दुई नग्न पुरुषको क्लासिक आकृतिको फोटो मेरो आँखाको सामुन्ने अगाडि थियो । त्यो ठूलो फोटोसँगै अरू ससाना धेरै फोटोफ्रेम झुन्डिएका थिए । तर, मेरा आँखाले तिनलाई राम्ररी ठम्याइरहेका थिएनन् । अनि त्यो तस्बिरबाट चिप्लिएर मेरा आँखा घरिघरि त्यही डिलको आसपास घुम्थे ।
एक्कासि घाँटी सुकेजस्तो लाग्यो । मैले कपतिर हात बढाएँ र एक सुर्को कफी तानेँ । तर, कफीको स्वाद नै अर्को थियो, मैले कफी ननिलीकनै त्यही कपमा ओकलिदिएँ । कप टेबुलमा राख्दा हात लगलगी काँपेर कफी छचल्किएर पोखियो ।
डिलमाथि फूलबिनाको नीलो रङको फूलदानको छेउमा एउटा बलिष्ठ युवकको नांगो सेतो मूर्ति राखिएको थियो, त्यो उँधोमुन्टो लगाएर निहुरिरहेको थियो । डिलको भित्तामा फेरि अर्को ग्रे रङको मूर्ति थियो जसमा एउटा नग्न अधबैंसे चिउँडोमा हात लगाएर सोचमग्न बसिरहेको थियो । त्यसका दारी बाक्ला थिए । अनि त्यहाँबाट पनि परतिर कुनामा एउटा अग्लो ड्रयरमाथि राखिएको १९÷२० इन्च अग्लो पूर्ण कदको मूर्ति थियो । यो पनि नग्न नै थियो । कोठाको भित्तामा झन्ड्याइएका विभिन्न पोट्रेट र पेन्टिङहरू, कलात्मक फ्रेन्च भित्ते घडी या सानो बार अघिल्तिर राखिएको एउटा बूढो जँड्याहाको बेन्चमा बसिरहेको कलात्मक मूर्ति अथवा अरू धेरै चीजबिजतिर मेरो खासै ध्यान पुगिरहेको थिएन । मेरा आँखा त बस् त्यहाँका तिनै नग्न पुरुष मूर्ति, तस्बिर र पोस्टरमा मात्रै गइरहेका थिए । जति तिनलाई हेर्दै जान्थेँ, त्यति असजिलो बढ्दै गइरहेको थियो । आखिर यस्तो किन भइरहेको थियो ?
एक्कासि घाँटी सुकेजस्तो लाग्यो । मैले कपतिर हात बढाएँ र एक सुर्को कफी तानेँ । तर, कफीको स्वाद नै अर्को थियो, मैले कफी ननिलीकनै त्यही कपमा ओकलिदिएँ । कप टेबुलमा राख्दा हात लगलगी काँपेर कफी छचल्किएर पोखियो । हेर्दाहेर्दै त्यो सफा टेबुलमाथि पोखिएको कफी गुजुमुज्जु आकार बनाएर कता बगूँ कता, बगूँ गर्न थाल्यो । मेरा पिँडुला गलेर आए, मैले त्यो कफी पुछ्ने प्रयाससम्म पनि गरिनँ । र, जुरुक्क उठेर त्यो अग्लो मूर्तितिर गएँ ।
घुम्रिएको कपाल भएको, हातमा सर्प जेलिएको र वस्त्र तिघ्राबाट तल्तिर झरेर नांगै देखिएको आन्तिअसको त्यो मूर्तिलाई देख्नेबित्तिकै मैले चिनिहालेँ । एक दिन म्याक्सवेलले मलाई यसबारेमा लामो व्याख्यान दिएको थियो । रोमन शासक हेड्रियन र उसको पुरुषप्रेमी आन्तिअसको जीवनकहानी बताएर उसले मसित समलिंगी प्रेमको वकालत गरेको थियो ।
मतलब यो मूर्ति पहिले पसलमा थियो । एक दिन उसले यो मूर्ति एउटा ग्राहकलाई बेचिसकेर पछि फिर्ता मागेर लिएकोे थियो र त्यसपछि यो मूर्ति पसलबाट गायब भएको थियो । मलाई यो कुराले अचम्म लागेको थियो तर किन यसो गरेको भनेरचाहिँ सोध्नै सकेको थिइनँ । यतिखेर त्यही मूर्ति यहाँ देख्दा मेरो मन नै चिसो भइसकेको थियो । म फेरि पहिलेकै ठाउँमा थचक्क बसेँ र अगाडिको ठूलो तस्बिरलाई राम्ररी नियालेँ, यो पक्कै हेड्रियन र उसको पुरुषप्रेमी आन्तिअसकै हुनुपर्छ । मैले मनमनै ठोकुवा गरेँ । यस्तै अनुहारका मूर्ति मैले ब्रिटिस म्युजियममा पनि देखेको थिएँ । हेर्दाहेर्दै तस्बिरका आकृतिहरू चलायमान हुन थाले । तिनका घुम्रिएका कपाल हल्लिन थाले, तिनका ओठ सल्बलाए । दुईमध्ये पनि दारिवाल सम्राट्का आँखा त एकटक मैतिर पो थिए ।
म यति डराएको थिएँ कि लगभग म त्यहाँबाट उठेर भाग्ने तयारीमा थिएँ । तर भागेर म कहाँ जान्थेँ ? मलाई त्यो नैतिक साहस आएन । मलाई तत्काल के गरूँ के गरू भयो । टेबुलतिर हेरेँ, अघि छचल्किएको कफीको आफ्नै रङको दाग बस्दै गएको थियो । मैले कप उठाएँ, नाकैमा टाँसेर सुघेँ । गन्ध त साबिककै थियो । कफी सेलाइसकेको थियो । जिब्रोले कफी चाटेँ, स्वाद सामान्य कफीभन्दा फरक छ जस्तो लाग्यो । हो, कफीको स्वादमा पक्कै गडबडी छ, मलाई विश्वास भयो । मैले हतारिएर कप फिर्ता राखिदिएँ र जम्पर उठाएर भित्रपट्टिको भागले जिब्रो पुछेँ ।
साँझ गहिरिँदै गएको देखियो- पर्दा अलिकति होड परेको झ्यालको सिसाबाट । अनि मेरो छट्पटी... मेरो छटपटी त झन् बढ्दै गइरहेको थियो ।हत्तेरी कस्तो दिनमा म यस्तो मान्छेसित काम गर्न आइपुगेछु । म मनमनै आफैंलाई गाली गरिरहेको थिएँ । काम गर्दैमा त के हुन्थ्यो र ? मलाई किन यसरी जान्ने भएर अरूको घरमै आउनु परेको नि, भ्याउँदिनँ भनेको भए पनि हुने । अथवा, साँझमा चाहिँ नआएको भए हुन्थ्यो । म एकपछि अर्को गरी आफ्ना गल्तीहरू केलाइरहेको थिएँ ।
उफ् एकैछिनमै मलाई सारा एन्टिक कुराप्रति घृणा लागिरहेको थियो । सुने-पढेका सारा ग्रीक र रोमनेली मिथहरूप्रति घृणा लागिरहेको थियो । एकछिन अघिसम्म प्रिय र आदरणीय लागेको म्याक्सवेल सम्झेर घृणा लागिरहेको थियो । अनि घृणा लागिरहेको थियो, सम्झिएर आदिमजस्तो लाग्ने तर बिल्कुल उत्तरआधुनिक प्रिय क्यामडेन टाउन जहाँको नित्य देखिने नवीनता मलाई कति मन पर्थ्यो ।
क्यामडेन लक होस् या स्टेबल मार्केट, अथवा सानो लहरमा मान्छेलाई बोकेर सुस्तरी घिस्रिरहेका फेरी, पर्खालमा अनेक थरीका आकृति टाँगिएका युनिक घरहरू, हातमा प्लेकार्ड बोकेर रेस्टुरेन्ट या पवको प्रचार गर्ने, टाटु खोपाउने अथवा कमेडी प्रहसनका टिकट बेच्न सडक पेटीमा उभिएका कपाल, अनुहार अनौठा बनाएका, जीउभरि टाटु खोपेका युवाहरू ती सबै मेरा निम्ति रुचिकर थिए । अरू त अरू ट्रेन स्टेसनबाट ह्वात्त ह्वात्त निस्कने अनेकरंगी टुरिस्टहरूको छाल पनि मेरानिम्ति प्रिय भइसकेको थियो । तिनको यो घर अथवा मेरो अहिलेको मनोदशासित कुनै सम्बन्ध नै थिएन । तैपनि यो के भइरहेको थियो ? म सम्झेजत्ति सबैसँग घिनाइरहेको थिएँ ।
'तिमीलाई धेरै कुराएँ माफ गर है', एक्कासि म्याक्सवेलको स्वर सुनेर म तर्सिएँ । सोच्दासोच्दै मैले त ऊ आएको पत्तै पाएनछु । ऊ आएर मेरै छेउमा थ्याच्च बस्यो । मैले कर्के नजरले उसलाई हेरेँ । उसको गोरो अनुहार गुलाबी भएको थियो । एक्कासि उसको शरीरबाट आएको पसिनाको अमिलो गन्ध मेरो नाकभित्र ह्वास्स छिर्यो । मलाई त त्यहीँ बान्ता आउलाजस्तो भयो । जुरुक्क उठेर म ट्वाइलेटभित्र छिरेँ र कमोटमाथि बसेँ ।
बान्ता त भएन तर कफीमा केही मिलाइएको कुरामा म पूर्ण विश्वस्त भइसकेको थिएँ । बेहोश हुन्छु कि जस्तो लाग्यो । आशंकै आशंकाले म धर्मराएँ । खै के मन भयो, मुखमा औंला हालेर बान्ता गर्न खोजेँ, तर भएन । चिसो पानीले मुख धुँदै गर्दा मेरो दिमागमा एउटा उपाय फुर्यो, 'बिरामी भएको बहाना बनाएर यहाँबाट फुत्कन्छु ।'
अनि बल्ल अलिकति साहस जुटाएर म कोठाभित्र छिरेँ ।
ऊ मलाई नै पर्खेर बसिरहेको थियो । चिन्तित भएर सोध्यो, 'तिमी ठीक त छौ ? '
सबै योजनाअनुसार नै भइरहेको छ ! मलाई पक्का विश्वास भयो । मैले म्याक्सवेलको अनुहार हेरेँ । ऊ मलाई हेरेर खिस्स हाँस्यो । मलाई त्यो हँसाइ एकदमै घिनलाग्दो र कुटिल लाग्यो ।
'मलाई सन्चो भएन ।' मैले एकै सासमा भनेँ ।
अब त ऊ जुरुक्क उठेर म नजिकै उभियो । मेरो निधार छाम्यो र हात च्याप्प समात्यो । लामघारे अजंग ज्यानको म्याक्सवेलका ठूला र बाक्ला हत्केलाभित्र मेरा साना हात त्यसै हराए । मेरो शरीरका जोर्नीजोर्नी शिथिल भएर खुम्चिने तयारीमा लागे । भर्खर ट्वाइलेट गएर आएको, पिसाब खुस्केलाजस्तो भयो । मैले उसको र मेरा हातको ठाउँमा उसको डरलाग्दो शरीर र मेरो सानो दुब्लो ज्यानको कल्पना गरेँ । डरले म नीलो-कालो भइसकेको थिएँ । ओठ-मुख सुकिसकेको थियो । बोल्नलाई केही खोजिरहेको थिएँ तर बोली फुटिरहेको थिएन । मैले अँध्यारोमात्रै देख्न थालेँ । मध्य जनवरीको चिसो साँझमा पनि मलाई गुम्म महसुस भइरहेको थियो । कोठामा हिटिङ लगाइएको थियो अथवा मेरो जीउ गर्माइरहेको थियो ?
म्याक्सवेलले केही भन्यो तर त्यो आवाज मेरो कानमा आइपुग्दा खोलो सुसाएजस्तो मात्रै सुनियो, केही बुझिनँ । उसले मलाई लगभग बोकेकै हालतमा सोफामा लगेर बसायो । म चेतनाशून्य भएको थिइनँ तर शरीरमा कुनै शक्ति नै थिएन । त्यसैले म सम्भावित कुनै दुर्घटनाको प्रतीक्षारत रहन थालेँ र निरीह भएर उसलाई टुलुटुलु हेर्न थालेँ ।
उसका हात मेरा खुट्टातिर बढे । उसले मेरा मोजा फुकालिदियो । फेरि मेरो जम्पर खोलिदियो । अब उसको हात मेरो कम्मरतिर गयो । ऊ मेरो बेल्ट फुकाल्नतिर लाग्यो । उफ्... मेरो जीउभरि खल्खली पसिना आयो । मुटु नै खसेजस्तो चसक्क पीडालाग्दो अनुभूति भयो । मैले आँखा चिम्लिएँ र सोच्न थालेँ- मर्न त नमरिएला नि । अब आँखा बन्द गरेर सम्भावित आक्रमणलाई पर्खेर बसेँ ।
मेरो बेल्ट पनि खोलियो ।
म मनमनै आउनेवाला परिस्थितिलाई सहन तयार भएर बसेको थिएँ । मैले चाल पाएँ, ऊ उठ्यो । टेबुलमा घडी राखेको आवाज आयो, सँगै मोबाइल राखेको आवाज पनि । यी आवाजले मेरो धड्कन बढाइरहेका थिए । अकस्मात् सोफामा फ्यात्त लुगा फ्याँकेको आवाज पनि सुनियो । म यति डराएँ कि... चिच्याउन खोजेँ, तर आवाज नै आएन । न चलमलाउन सकेँ, न त आँखा खोल्न नै । अब उसले मलाई मर्याकमुरुक पार्नेछ । अरू के गर्ला.... सोच्दासोच्दै मेरो टाउको चड्किएला जस्तो भयो । तर, केही कुरामा केन्द्रित हुन सकिरहेको थिइनँ म । हार मानेर म आत्मसमर्पणका लागि पूरै तयार भएँ । आउनेवाला पीडा खप्नका लागि दाँत जोडजोडले किटेर बसिरहेको थिएँ ।
ऊ मेरो छेउमा आएको आभास पाएँ र उसको हातको स्पर्श टाउकोले चाल पनि पायो । अनि त्यसपछि केही चाल पाइनँ, सायद अर्धबेहोश भएँ ।कत्तिबेरमा हो कताकताबाट शीतल हावा आएको महसुस गरेँ । बलपूर्वक आँखा खोलेँ, म्याक्सवेल मेरो छेउमा बसेर पत्रिकाले मलाई हम्किरहेको थियो । आँखा घुमाएर आफ्नो जीउतिर हेरेँ । त्यो सही सलामत थियो ।अलिकति साहस आयो । पुलुक्क उसलाई हेरें । मैले आँखा खोलेको देखेर हो कि, उसले उज्यालो अनुहार बनाएर भन्यो, 'तिमी ठीक त छौ ? हस्पिटल जाने हो ? '
मैले टाउको हल्लाएँ । ऊ बारतिर गयो र पानीको बोटल ल्याएर दिँदै भन्यो, 'तिमीले त कस्तो अत्यायौ । पहिले पनि यस्तो हुन्थ्यो ? '
'अहँ' भन्दै मैले पानी पिएँ । चिसो पानी गलाभित्र छिरेपछि मलाई आफू जिउँदो भएजस्तो लाग्यो ।
'माफ गर है, मैले तिमीलाई नसोधी तिम्रो लुगा खोलिदिएँ । तर, के गर्ने त्यसो गर्नु अत्यन्तै जरुरी थियो ।... पहिलेपहिले पनि यस्तो हुन्थ्यो ? ' उसको स्वरमा विनम्रता थियो ।मन नलागी नलागी मैले टाउको हल्लाएँ ।
'चिन्ता नलेऊ, कहिलेकाहीँ यस्तो हुन्छ । केही बेरसम्म पनि सजिलो भएन भने डाक्टरकहाँ जाऊँला ।'
म केही बोलिनँ । टाउको एकनासले टन्किरहेको थियो । म अझै उप्रति विश्वस्त हुन सकिरहेको थिइनँ । अझै मलाई उसको उपस्थिति घिनमर्दो लागिरहेकै थियो ।
'केही चिसो पिउँछौ ? '
'पर्दैन धन्यवाद ।' मैले ठस्स परेर जवाफ फर्काएँ ।
एक्कासि म्याक्सवेल उठ्यो र सरासर पियानोतिर गयो । पियानो उघारै थियो । उसले आफ्ना सबै औंलाले पियानोका रिडहरूमा दौडाएर एकपटक किरिरररररर्र आवाज निकाल्यो । अनि पियानो बजाउँदै शास्त्रीय आवाजमा गाउन थाल्यो उही प्रिय गीत- लभ मी ह्वेन आई एम वल्ड ।
म्याक्सवेल पुराना लोकगीत सुन्न र गाउन मन पराउँथ्यो । पसलमा पुराना इङ्लिस, आइरिस, स्कटिस र वेल्स लोकगीतहरू सुन्दासुन्दा मेरा लागि समेत ती अत्यन्तै प्रिय र रुचिकर भइसकेका थिए । कति बुझेरै मन पर्थे, कति नबुझीकनै पनि मन पर्थे । तिनमा पनि यो त असाध्यै मीठो लाग्थ्यो । म्याक्सवेलको मोटो क्लासिक स्वर असाध्यै मीठो पनि लाग्थ्यो । म घरिघरि गीतमा डुब्ने प्रयास गरिरहेको थिएँ । तर, यतिखेर मलाई त्यसले पटक्कै तानिरहेको थिएन ।
कतिखेर उसले गाउन छाडेछ पत्तै भएन ।
'आज कफी कस्तो लाग्यो त ? मैले तर्सिएर कफीतिर हेरेँ । त्यसमा घिनलाग्दो जालो लागिसकेको थियो । कपको एकछेउमा अघि छचल्किएको कफी कट्कटिएर टाटो बनिसकेको थियो । टेबुलमा हेरेँ, कफीको टाटो त देखिएन तर त्यो मैलो देखिन्थ्यो । सबै थोक मैलो, घिनलाग्दो लागिरहेको थियो ।
के भन्ने के, अल्मलिँदै थिएँ । उसैले भन्यो 'तिमीलाई आज कफी पक्कै फरक लाग्यो होला । यो भियतनामी कफी हो बुझ्यौ । यसअघि कहिल्यै पिएका थियौ ? यो अलिक कडा तर मीठो हुन्छ । तिमीलाई कस्तो लाग्यो ? '
अचानक म्याक्सवेलको यो आवाज मेरो रोम रोममा पुग्यो । मैले उसलाई पुलुक्क हेरेँ । अघि मैले देखेका सबै घिनलाग्दा चिह्नहरू मेटिएर अब उसको अनुहारमा मायालु रङ पोतिइसकेको थियो । मेरो मनमा ग्लानि, क्षोभ र लज्जाका भावहरू सुस्तरी चलमलाउन थाले । आँखा फेरि अगाडिको आन्तिअस र हेड्रियनको ठूलो तस्बिरमै पुगे । कति कलात्मक छ यो तस्बिर, कसले बनायो होला यति जीवन्त चित्र पहिलोपटक ? मैले त्यसमा लेखिएका ठूला अक्षर टाढैबाट पढ्ने प्रयत्न गरेँ । लेखिएको थियो, 'दी इम्पोर्टेन्ट थिङ्ज इज नट दी अब्जेक्ट अफ लभ बट दी इमोसन्स इटसेल्फ ।'
मन हलुको भएर आयो ।
मैले चिसो कफी माथितिरको जालो पनि नफ्याँकी स्वाट्ट पारेँ । त्यसको कडा तीतो स्वाद जिब्रो हुँदै घाँटीसम्म पुग्दा मेरो सिंगो शरीर जुर्मुरायो ।
'कति मीठो कफी बनाउँछ म्याक्सवेल !' मैले चंगा भएर रित्तो कप टेबुलमा राखेँ ।