धमाधम बन्द हुँदै लघु जलविद्युत् आयोजना

धमाधम बन्द हुँदै लघु जलविद्युत् आयोजना

बैतडी : व्यवस्थापनको जिम्मा लिएका उपभोक्ता समितिले मर्मतसम्भार नगर्दा बैतडीको ग्रामीण क्षेत्रका लघु जलविद्युत् आयोजना बन्द हुने क्रम बढेको छ । दुई/तीन वर्ष बत्ती बलेपछि मर्मतसम्भार नहुँदा योजना बन्द हुन थालेका हुन् ।

लाखौं मूल्यबराबरका विद्युत् उत्पादन गर्ने मेसिन खोलामै अलपत्र हुनुका साथै विद्युत् प्रशारण लाइनका तार, खम्बासमेत गायब हुन थालेका छन् । बिग्रेका आयोजना मर्मतका लागि उपभोक्ताले आर्थिक स्रोत जुटाउन नसक्दा बन्द भएको स्थानीय बताउँछन् । आफ्नो गाउँमा कहिल्यै लोडसेडिङ हुँदैन भनेर गर्व गर्ने सूर्नया ६ शंकरपुर कोखेतका टंकप्रसाद अवस्थीको घरमा आजभोली सोलार छ ।

उहाँले भन्नुभयो, ‘२०५७ सालमा सूर्नया लघु जलविद्युत् आयोजनाबाट बत्ती बल्दा हामी धेरै खुसी थियौं तर अहिले आयोजना नै बन्द भएपछि सोलारले काम चलाएका छौं ।' जिल्ला ऊर्जा शाखाको सहयोगमा निर्माण भएको जलविद्युत् आयोजना व्यवस्थापन समितिको लापरवाहीले बन्द भएको उहाँले बताउनुभयो ।

‘बत्ती बन्द हुँदा गृहणी र विद्यार्थी समस्यामा परेका छन्', उहाँले भन्नुभयो, ‘हामीले जनश्रमदान र ऊर्जा शाखाको सहयोगमा बत्ती बालेका थियौं तर त्यसको व्यवस्थापन नहुँदा ७० घरपरिवार अन्धकारमा बस्न वाध्य छौं ।' मर्मतसम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न वाध्य छन्।

२०५८ मा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिंग रहेका १० किलोवाट क्षमताको सिराडीखोला लघु जलविद्युत् आयोजना, सोही वर्ष निर्माण भएको आठ किलोवाट क्षमताको बल्लेखोला लघु जलविद्युत् आयोजना, त्यसको दुई वर्षपछि निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाड लघु जलविद्युत् आयोजना र २०६५ मा निर्माण भएको १६ किलोवाट क्षमताको न्वाघरीगाड लघु जलविद्युत् आयोजना अहिले बन्द छन् ।

सिगास गाउँपालिकाको शिवलिंगमा रहेका चारवटा लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको ५२ किलोवाट विद्युत् ५१२ घरधुरीले बिजुली बालीरहेका थिए । तर, ती आयोजना बन्द भएपछि अहिले स्थानीयवासी अन्धकारमा छन् । जिल्ला विकास समिति ऊर्जा तथा वातावरण शाखा, स्थानीय र विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा निर्माण भएका ती आयोजना दिगो हुन नसक्दा स्थानीयवासीलाई समस्या परेको हो ।

स्थानीयको व्यवस्थापनमा सञ्चालन भइरहेका लघु जलविद्युत् आयोजनालाई दिगो रूपमा सञ्चलान गर्ने योजना नहुँदा समस्या भएको जिल्ला विकास समन्वय समिति बैतडीका सूचना अधिकारी विक्रमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रामीण क्षेत्रमा सञ्चालित लघु जलविद्युत् आयोजनालाई हेर्ने तत्कालीन जिल्ला विकास समितिले हो तर आवश्यक रकम छैन । स्थानीय उपभोक्ता समिति गैरजिम्मेवार हुँदा लघु जलविद्युत् आयोजना बन्द भइरहेका छन् ।'

तर, स्थानीय उपभोक्ता समिति सरकारी निकायको बेवास्ताले लाखौंको लगानीमा निर्माण गरिएका जलविद्युत् आयोजना बन्द भइरहेको बताउँछ । विद्युत् उत्पादन गर्ने मेसिनमा खराबी आएपछि मर्मतको लागि आर्थिक स्रोत नहुँदा अलपत्र पर्ने गरेको स्थानीयको भनाइ छ । महसुलबाट उठेको पैसा कर्मचारी र नहर मर्मतमै ठिक्क भएपछि मर्मतसम्भार कोष नहुँदा लघु जलविद्युत् आयोजना बन्द हुन थालेको उपभोक्ताको भनाइ छ । मेसिनमा समान्य खराबी आए बुटवल लैजानुपर्छ नभए उतैबाट प्राविधिक बोलाउनुपर्ने अवस्था भएको शिवलिंगका केदार अवस्थी बताउनुहुन्छ ।

जिल्लामा १९ वटा लघु जलविद्युत् आयोजनाबाट एक सय ८६ किलोवाट विद्युत् उत्पादन हुँदै आएकोमा आधाभन्दा बढी आयोजना बन्द हुँदा उत्पादन घटेको छ।

शिवलिंग मात्रै होइन जिल्लाका अन्य क्षेत्रमा पनि सञ्चालित यस्ता आयोजना बन्द हुन थालेका छन् । बन्द भएका आयोजनाका विद्युत् उत्पादन गर्ने मेसिन अलपत्र अवस्थामा छन् । १५ किलोवाट क्षमताको सिगास गाउँपालिका वडा नं २ गाजरीको इरानागाड लघु जलविद्युत् आयोजना, २१ किलोवाट क्षमताको पुरचौडी नगरपालिका मठैराजको जामडीगाड लघु जलविद्युत् आयोजना, २२ किलोवाट क्षमताको थालाकाँडाको थलालीगाड लघु जलविद्युत् आयोजना पनि बन्द अवस्थामा छन् । ग्रामीण क्षेत्रमा सञ्चालित लघु जलविद्युत् आयोजना बन्द हुँदा लाखौं मूल्य पर्ने मेसिन बिग्रदै गएका छन् भने स्थानीय वासिन्दा अन्धकारमा बस्न वाध्य छन् ।

जिल्ला समन्वय समितिका अनुसार जिल्लामा १९ ओटा लघु जलविद्युत् आयोजना छन् । ती आयोजनाबाट १८६ किलोवाट विद्युत् उत्पादन हुँदै आएको भए पनि आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत् उत्पादन पनि घटेको छ । कुनै बेला झलमल्ल हुने ग्रामीण क्षेत्र अहिले अन्धकार बनेको छ । लघु जलविद्युत्बाट बिजुली बत्ती बालीरहेका घरधुरीले सोलारको सहायताले निर्वाह गरिरहेका छन् । लघु जलविद्युत् आयोजना बन्द हुँदा ती आयोजनाबाट सञ्चालन गरिएका मिल, आटाचक्की, स्वास्थ्य संस्थाका ल्याब, विद्यालयका कम्प्युटर पनि बन्द छन् ।

सरकारले करोडौं लगानी गरेर बनाएका आयोजना बन्द हुन थालेपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । सरकारी निकायले पनि बन्द भएका आयोजना सञ्चालनमा कुनै तदारुकता देखाएको छैन भने उपभोक्ता समितिले मर्मतसम्भारमा ध्यान दिन सकेका छैनन् । सरकारी कार्यालयको उदासिनता र उपभोक्ता समितिको लापरवाहीले कुनै बेला झलमल्ल बनेका गाउँ अन्धकार बन्न थालेका छन् । जिल्ला समन्वय समितिले पनि बन्द भएका लघु जलविद्युत् आयोजना सञ्चालनमा ठोस कार्यक्रम ल्याउन सकेको छैन । ‘पहिला पहिला संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले पनि ऊर्जाको क्षेत्रमा लगानी गर्दै आएको थियो ।

पछिल्लो समय त्यो लगानी पनि रोकिएको छ । मन्त्रालयबाट ऊर्जा विकासका लागि त्यति रकम आउँदैन । जिसससँग आन्तरिक कोष छैन', जिल्ला समन्वय समितिका सूचना अधिकारी विक्रमबहादुर चन्दले भन्नुभयो । सिगास गाउँपालिका गाँजरीमा रहेको इरानागाड लघु जलविद्युत् आयोजना बन्द हुँदा स्वास्थ्य सेवासमेत प्रभावित भएको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत् अभावमा हामीले एक्सरे मेसिन राख्न सकेका छैनौं । विद्युत् भए एक्सरे दिन्छौं भनेर जिल्ला स्वास्थ्यले भनेको थियो । एक्सरे त कता हो कता खोप राख्ने फ्रिज नै चलाउन समस्या छ ।'

‘गाँजरीमा विद्युत् सेवा सुचारु भए एक्सरे सेवा सञ्चालन गर्ने योजना बनाएका थियौं । विद्युत् अभावले हाम्रो योजना अलपत्र भयो', स्वास्थ्यचौकी इन्चार्ज धामीले भन्नुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.