कतार प्रकरण : एक टेलिभिजनले निम्त्याएको
अधिकांश कतारबासी सायद निद्रामै थिए होलान्, जतिबेला छिमेकी बहराइनले (गत सोमबार) कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गर्यो । इस्लामिक पवित्र महिना रमजानको दसौं दिन स्थानीय समयअनुसार बिहान ५:५० मै बहराइनले यस्तो घोषणा गरेको १० मिनेट पनि बितेको थिएन, साउदी अरेबियाले पनि सोही फैसला सुनायो । 'राष्ट्रिय सुरक्षा' र 'आतंकवादको खतरा टार्न' भन्दै दुई प्रभावशाली अरब देशले लिएको अनपेक्षित निर्णयको केही घन्टाभित्रै उक्त क्षेत्रका चार देशले सोही प्रकृतिका वा त्योभन्दा पनि कठोर घोषणा गरिसकेका थिए ।
नाटकीय घटनाक्रमका बीच कतारका नागरिकलाई १५ दिनभित्र छिमेकी देश छोड्ने सूचना प्राप्त भएको छ भने ती छिमेकी देशका नागरिक कतार प्रवेश गर्ने छैनन् । साउदी अरेबियाले कतारसँग समुद्री र हवाई सम्पर्कसमेत तोडेको छ, संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि कतारका विमान तथा जहाजको लागि विमानस्थल र बन्दरगाह बन्द गरिदिएको छ । इत्तेहाद, एमिरेट्स, फ्लाई दुबई र गल्फ एयरले दोहाभित्र र बाहिरका सबै उडान रद्द गरिदिएका छन् । संसारकै सफलतममध्ये एक कतार एयरबेज साउदी अरेबियातर्फका उडान बन्द गर्न बाध्य भएको छ ।
एक साताभित्र कतारसँग कूटनीतिक सम्बन्ध तोड्ने देशको संख्या एक दर्जन हाराहारी पुगेको छ । कतारलाई 'एक्ल्याउने' साउदी अरबलगायतका देशको निर्णयले कतार मात्र होइन, पूरै खाडी क्षेत्रमा कूटनीतिक संकट उत्पन्न भएको छ । अप्रत्यासित रूपमा विकास भएको परिस्थितिले २३ लाख आन्तरिक जनसंख्या र त्यसकै हाराहारी अर्थात् करिब २० लाखभन्दा बढी विदेशीलाई आ श्रय दिइरहेको कतारको भविष्य के हुन्छ ? अनुमान गर्न कठिन छ । वैभवशाली देश भए पनि खाद्यान्नमा पूरै आयात र त्यो पनि साउदीमै निर्भर रहेको कतारका नागरिक र त्यहाँ कार्यरत विदेशीहरू खाद्यान्न संकलन गर्न सपिङ सेन्टरमा लाइन लागेको समाचार सामान्य बनिसकेको छ । भलै कतारले पछिल्लो प्रकरणले आफ्नो देशका नागरिक र त्यहाँ बसिरहेकाहरूलाई कुनै असर नपर्ने दोहोर्याइरहेको छ ।
यो परिघटनाका पछाडि को ?
जवाफ जटिल छ । अथवा जवाफ असम्भवप्राय: छ । सबैभन्दा बुझिनसक्नुको कुरा अमेरिकाकै इसारामा विकास भएको भनिएको यो कूटनीतिक द्वन्द्वमा रहेका दुवै पक्ष साउदी अरेबिया र कतार, सुन्नीबाहुल्य जनसंख्या र राजतन्त्रात्मक व्यवस्था भएका 'एयालाई अफ अमेरिका' अर्थात् अमेरिकाका निकट सहयोगी मुलुक हुन् । कतारसँग सम्बन्ध तोडेका खाडी क्षेत्रका देशहरूले कतारमाथि इजिप्टको मुस्लिम ब्रदरहुड, प्यालेस्टाइनी हमास, इरानको रेभुलस्नरी गार्डलगायतका इस्लामिक अतिवादी र अर्धसैनिक संगठनलाई समर्थन गरेर आतंकवाद प्रवद्र्धन गरेको आरोप लगाएका छन् । यूएईले कतारलाई ती समूहलाई आर्थिक सहयोग र प्रवद्र्धन गरेको आरोप लगाएको छ, तर विश्लेषकहरूको बुझाइमा यो प्रकरणको मुख्य चुरो कतार र इरानबीच बढ्दो निकटताले पैदा गरेको भय हो ।
कतारको कथित स्वतन्त्र विदेश नीतिले सबैखाले इस्लामिक संगठनलाई भ्रातृत्वको आधारमा व्यवहार गर्ने छुट दिन्छ, जुन अहिलेको विवादको केन्द्रमा देखिन्छ । कतारको 'मुख्य दोष' खाडी क्षेत्रमा साउदी 'हेजमोनी' तोड्दै स्वतन्त्र बाटो पहिल्याउन खोज्नु हो ।
सतही रूपमा हेर्दा विवादको आरम्भ कतारका राजा सेख तामिम अल हमाद अल थानीको इरान र अमेरिकामाथिका टिप्पणीबारे आएका समाचारबाट भएको देखिन्छ । त्यस्ता अभिव्यक्तिमा राजा अल थानीले इरानलाई 'इस्लामिक शक्ति' को रूपमा प्रशंसा गरेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीतिको आलोचना । यद्यपि कतारले भने मिडियामा आएका सामग्री ह्याकरहरूले प्रकाशन गरिदिएको र ती गलत रहेको बताइरहेको छ ।
कतार नाकाबन्दीको नेतृत्वमा रहेको साउदी र इरानबीच टकरावका विविध कारण छन् । इरानको आणविक कार्यक्रम, सिरिया, लेबनान र यमनमा बढिरहेको तेहरानको प्रभाव मुख्य मानिएका छन् । ओपेकमा सिन्डिकेट कायम राख्न सफल साउदीको लागि त्योभन्दा पनि चिन्ताको विषय हो, कतार र इरानले चर्चिरहेको प्राकृतिक ग्यासको स्रोत ।
करिब ५१ खर्ब क्युबिक मिटर क्षेत्रमा फैलिएको उक्त प्राकृतिक ग्यास क्षेत्र संसारकै सबैभन्दा ठूलो ग्यास भण्डार हो । यही भण्डारले कतार र इरान धनी र प्रभावशाली बन्दै गएको साउदीलाई मन परेको छैन । त्यसमाथि यही ग्यासकै माध्यमबाट झन्पछि झन् सम्पन्न बन्दै गएको कतारले ओपेकको 'लक्ष्मण रेखा' तोड्दै 'स्वतन्त्र विदेश नीति' अख्तियार गर्ने अवस्था आउनु साउदीको लागि सबैभन्दा टाउको दुखाइ हो । कतारको कथित स्वतन्त्र विदेश नीतिले सबैखाले इस्लामिक संगठनलाई भ्रातृत्वको आधारमा व्यवहार गर्ने छुट दिन्छ, जुन अहिलेको विवादको केन्द्रमा देखिन्छ ।
कतारको 'मुख्य दोष' खाडी क्षेत्रमा साउदी 'हेजमोनी' तोड्दै स्वतन्त्र बाटो पैल्याउन खोज्नु हो । सन् १९९० को मध्यदेखि नै कतारले साउदीको छायाबाट टाढिने प्रयास जारी राखेको थियो । त्यसकै सफलतास्वरूप इराक आक्रमणताका साउदीमा स्थापना गरिएको अमेरिकी सैनिक अखडा कतारमा सर्यो । जुन साउदी-अमेरिका विशेष सम्बन्धमा कतारको 'धावा' बराबर नै मानिएको थियो ।
अमेरिकी 'डबल स्ट्यान्डर्ड'
'कतार ग्याम्बलिङमा' मा अमेरिका कहाँनेर छ भन्ने प्रश्नको जवाफ सहज छैन । कतारमाथि छिमेकी र मित्रराष्ट्रले गरेको नाकाबन्दी र सबैखाले सम्बन्ध-विच्छेदपछि 'केटौले' शैलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका दुई ट्वीट र त्यसबाट उत्पन्न परिस्थितिमा 'ड्यामेज कन्ट्रोल' का लागि ह्वाइट हाउसका अधिकारीहरूले गरेको प्रयासले यो द्वन्द्वमा अमेरिकाको स्थानलाई रहस्यात्मक बनाइदिएको छ । विवादास्पद ट्वीटले जन्माएका बहसबीच राष्ट्रपति ट्रम्पले कतारी राजालाई फोन गरेर अतिवादको प्रवद्र्धन र विद्रोहीलाई आर्थिक सहयोग रोक्न सहकार्य गर्नुपर्ने भन्दै कूटनीतिक मर्यादा जोगाउन खोजेका छन् । कतार प्रकरण अमेरिकाको कथित आतंकवादविरोधी युद्धकै एक अंग मात्र हो या खाडी क्षेत्रका मुलुकबीच बिग्रिएको शक्ति सन्तुलनको उपज हो भन्ने प्रश्नको जवाफ 'हो' या 'होइन' मा आउने सम्भावना देखिँदैन । कतार प्रकरणमा धेरै कुरा एकैपटक मिसिएर गुजुल्टो परेको छ ।
अमेरिकी नेतृत्वको आतंकवादविरोधी युद्धमा एउटा महत्वपूर्ण सहयोगी कतारमाथि अर्को सहयोगी देशबाट हठात् लागेको नाकाबन्दीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले त्यही युद्धकै सफलताको रूपमा लिएको उनका प्रारम्भिक ट्वीटले प्रस्ट पार्छन्, तर थाहा पाउनैपर्ने अर्को वास्तविकता के हो भने मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडा कतारमै छ, जुन् कथित आतंकवादविरोधी युद्धको लागि नै खडा गरिएको थियो ।
साउदी सीमानजिकै रहेको उक्त अमेरिकी सैनिक अखडालाई साउदीले सुरक्षा कबच ठान्छ भने कुनै बेला कतारको निकट मित्र इजरायलले यतिबेला साउदीको साथी बन्दै कतारविरुद्ध उभिएको छ । संसारभरको मानव अधिकारबारे चिन्ता राख्ने अमेरिकाको लागि कतारविरुद्ध मोर्चाबन्दी गरेका र सायद संसारमै सबैभन्दा बढी मानवअधिकार हनन हुने साउदीलगायत खाडी क्षेत्रका अन्य मुलुकको मानव अधिकार खास चासोको विषय रहेन । यी परिघटनामा अमेरिकी 'डबल स्ट्यान्डर्ड' सतहमै देखिन्छ ।
रूसी रहस्य
कतार प्रकरणले धेरै रहस्य कथा पनि जन्माइरहेको छ । कतार भन्छ- राजाको भनाइ भन्दै सञ्चारमाध्यममा आएका टिप्पणी ह्याकरहरूले प्रकाशन गरिदिएका हुन् । अमेरिकी अधिकारीहरूले ह्याकिङको दाबीलाई सदर गर्दै यो कार्यको लागि रूसमाथि औंला उठाएका छन् । अमेरिकाका सहयोगी देशबीच द्वन्द्व बढाउन रूसले यो 'ह्याकिङ काण्ड' रचेको अमेरिकीहरूको दाबी छ । यस विषयमा अमेरिकी अनुसन्धान विभाग एफबीआईले जाँच टोली नै बनाएर दोहा पठाइसकेको छ । कतार र अमेरिकी अधिकारीका भनाइ पत्याउने हो भने रूसी ह्याकरहरूले कतारी राज्यनियन्त्रित सञ्चारमाध्यमबाट 'फेक न्युज' प्रकाशन गरेका थिए । यो भनाइ सही मान्ने हो भने कतारमाथि लागेको आरोप र उसविरुद्धका कदममा अमेरिकी समर्थनसमेत स्वत: गलत ठहरिन्छ, जुन 'अमेरिकी विरोधाभास' कै अर्को रूप हो ।
'डिप्लोमेसी वार' को केन्द्रमा एउटा टेलिभिजन
दुई साताअघि मात्र कतारका राजा सेख तामिम अल हमाद अल थानीले दिएको भनिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै साउदी अरेबिया, यूएई, बहराइन र इजिप्टले कतारी सञ्चारमाध्यमका प्रकाशन र प्रसारणमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धित कतारी सञ्चारमाध्यममध्ये निशानाको केन्द्रमा छ दोहामा हेडक्वार्टर रहेको विश्व चर्चित टेलिभिजन नेटवर्क अलजजिरा । कूटनीतिक युद्ध सुरु हुनुअघि नै साउदी, यूएई र बहराइन तथा इजिप्टमा अलजजिराको वेबसाइट बन्द गरिसकिएको थियो ।
कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल रहमान अल थानीले अलजजिरासँकै अन्तर्वार्तामा सोसल मिडिया मात्र नभएर मूलधारे मिडिया पनि कूटनीतिक टकरावको विषय बनेको स्वीकार गरिसकेका छन् । अनपेक्षित नाकाबन्दीसहित दबाब बढाइरहेका छिमेकीसँग 'आत्मसमर्पण नगर्ने' बताएका उनले छिमेकीहरूको माग स्पष्ट नभइसकेको र स्पष्ट माग कुरिरहेको पनि बताएका छन् । साउदी र यूएईले अलजजिरा नेटवर्क पूर्णत: बन्द गर्ने माग गर्न सक्ने विश्लेषकहरूको अनुमान छ, जुन् कुरा अलजजिरा नेटवर्क आफैंले समाचारको रूपमा सम्प्रेषण गरिसकेको छ । एउटा टेलिभिजिन नेटवर्क कसरी यति ठूलो कूटनीतिक टकरावको विषय बन्यो भन्ने जिज्ञासा पनि उठ्न सक्छ । अलजजिरा अहिलेको प्रभावशाली कतारको मुख्य सन्देशबाहक हो भन्दा अत्युक्ति हुँदैन ।
अलजजिराको अरबी भाषाको प्रसारणका केही कार्यक्रमले अरब क्षेत्रमा कतारको प्रभाव मजबुद पारेको मानिन्छ । इस्लामिक दुनियाँको बन्द समाजले हेरेका अलजजिराका कतिपय सामग्री नै ‘अरब विद्रोह’का लागि उत्प्रेरक बनेको समेत बताइन्छ । त्यसै कारण हुनुपर्छ अरबक्षेत्रमा सुरु भएको विद्रोहपछि तानाशाही वा परम्परागत जहानीया शासन रहेका अरब क्षेत्रका अधिकांश देशले अलजजिरालाई दुश्मन नै ठान्ने गरेका छन् ।
अलजजिराले अंग्रेजी संस्करणको समाचार च्यानल सुरु गरेपछि मुस्लिम र ‘तेश्रो विश्व’का एजेण्डालाई मुलधारमा ल्याएर विश्वका स्थापित समाचार माध्यमहरुलाई छायाँमा पार्न सफल भैसकेको छ । अरबक्षेत्र मामिला विज्ञ सुल्तान अल क्वासेमीले एक ट्वीटमा भनेका छन्, रिसाएका छिमेकी रिझाउन कतारका अमिर (राजा) को पहिलो सद्भाव संकेत सायद अलजजिरा टेलिभिजिन नेटवर्क पूर्णतः बन्द गर्ने कदमबाट सुरु हुने छ ।
नेपालको चासो
कतार कूटनीतिक संकटमा नेपाल पनि एक सरोकारवाला पक्ष हो । किनभने ठूलो संख्यामा नेपालीहरू कतारमा कार्यरत छन् । दुई भीमकाय र तीव्र आर्थिक वृद्धि हासिल गरिरहेका देशबीचको परनिर्भर मुलुक नेपालको लागि कतारले भोगेको अप्रत्यासित कूटनीतिक संकटका बहुआयाम पाठ त बन्लान् नै, तर त्योभन्दा बढी चिन्ताको विषय कतारमा रहेका चार लाखको हाराहारीमा रहेका नेपालीको अवस्था हो ।
खाद्यान्नको लागि पूर्णत: परनिर्भर मुलुकमा रहेकाहरूलाई सम्भावित मानवीय संकटको समयमा सुरक्षित घरफिर्ती तथा कतारमा राम्रै आम्दानी गरिरहेकाहरूलाई स्वदेश फर्काएर गर्नुपर्ने व्यवस्थापन नेपालको लागि सबैभन्दा चुनौतीको विषय देखिन्छ ।
-गौतम एपीवान टेलिभिजनका समाचार डेस्क संयोजक हुन् ।