हलमा ११ करोड लगानी
विराटनगर : विराटनगरमा ११ करोड रुपैयाँको लागतमा सिनेमा हल निर्माण भएको छ । एकसमय विराटनगरमा सुविधासम्पन्न चारवटा हल सञ्चालनमा थिए । तर, व्यावसायिक घाटाका कारण जलजला र इन्द्र चित्र मन्दिर बन्द भए । हिमालय हलले जसोतसो सिनेमा पारखीको प्यास मेटाउँदै आएको थियो । लामो समयपछि आधुनिक सुविधासहित विराटनगरमा सिटी सिनेमाको नाममा शुक्रबारदेखि नयाँ हल खुलेको हो ।
पाँच कठ्ठा जमिनको पाँच करोड मूल्यसहित ११ करोड रुपैयाँ लगानीमा हल तयार भएको भएको छ । उद्योगी सुशील रिजाल र सुयष प्याकुरेलको लगानीमा नयाँ हल सञ्चालनमा आएको हो ।
तीन सय २० जना क्षमता भएको एउटै छातामुनि दुई हल सञ्चालनमा ल्याइएको सञ्चालक सुयष प्याकुरेलले बताउनुभयो । ‘सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरूका लागि हामीले हल खोलेका हौं', प्याकुरेलले भन्नभुयो, ‘अब आरामदायी रूपमा सिनेमा हेर्न विराटनगरवासीले बाहिर जानु पर्दैन ।'
प्याकुरेलका अनुसार एउटै हलमा दुईवटा पर्दा राखिएका छन् । एकै पटक दुई फिल्म हेर्न सकिन्छ । आधुनिक उपकरण र जेबीएलसहितको स्पिकर जडान गरिएको छ । विश्वकै आधुनिक एनईसी टुके प्रोजेक्टरले देखाउने पिक्चर क्वालिटी अन्तर्राष्ट्रियस्तरको हुने दाबी सञ्चालकको छ । आरामदायी सिट र एसीजडित हलमा सिनेमा हेर्न टिकटको मूल्य तीन सय २०, चार सय ९० र सात सय ८० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार, शनिबार र आइतबार तीन सय २० रुपैयाँमा विकेन्ड अफर दिएर सिनेमा हेर्ने व्यवस्था गरिएको छ । विद्यार्थीलाई मर्निङ सोमा एक सय ९० रुपैयाँमा हेर्न पाउने व्यवस्था गरिएको प्याकुरेलले जानकारी दिनुभयो । सिटी सिनेमाले दिनमा ६ सो देखाउने र उत्कृष्ट फिल्म लागे त्यसलाई बढाउन सकिने जनाएको छ । डलबी साउन्ड सिस्टम प्र्रयोग गरिएको हलमा विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट पनि छ । विराटनगरको हलमा लक्जरियस र सुपर लक्जरियस गरी दुई प्रकारका सिट राखिएको छ ।