वीरेन्द्रनगरमा जन्मिने छोरीको बैंकमा बचत खाता खोलिने

वीरेन्द्रनगरमा जन्मिने छोरीको बैंकमा बचत खाता खोलिने

सुर्खेतः अब वीरेन्द्रनगरमा छोरीको जन्म हुने बित्तिकै बैंकमा बचत खाता खोलिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र जन्मिने छोरीको स्थानीय बैंकमा बचत खाता खोलिदिने भएको हो । नगरकार्यपालिकाको पहिलो बैठकले अब नगरभित्र जन्मिने छोरीको बैंकमा एक हजार रुपैयाँको बचत खाता खोलिदिने निर्णय गरेको हो ।

छोरा र छोरीबीचको विभेद न्यूनिकरण गर्न प्रोत्साहन स्वरुप यस्तो निर्णय गरिएको मेयर देवकुमार सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब वीरेन्द्रनगरमा जन्मिने हरेक छोरीको बैंकमा बचत खाता नगरपालिकाले नै खोलिदिनेछ । नगरकार्यपालिकाको पहिलो बैठकले गरेका निर्णयबारे जानकारी दिंदै मेयर सुवेदीले भन्नुभयो,‘अब नगरभित्र जन्मिने छोरीको जन्म बचत खाता खोलिदिनेछौं, जन्मदर्ताको प्रमाणपत्रको आधारमा स्थानीय बैंकमा एक हजार रुपैयाँको खाता नगरपालिकाले नै खोलिदिनेछ ।'

यो निर्णयले छोरी भएकै आधारमा हुने विभेदहरु न्यूनिकरण हुने नगरपालिकाले अपेक्षा गरेको छ । यस्तै बैंकमा बचत खाता खोल्ने निर्णयले हरेक छोरीले बैंकमा बचत गर्ने र त्यसबाट उनीहरु आर्थिक रुपमा सवल हुने अपेक्षा नगरपालिकाका पदाधिकारीले गरेका छन् । नगरपालिकाले अबको एक सय दिनभित्र सम्पन्न गर्ने कार्यक्रम तथा योजनाहरु पनि सार्वजनिक गरेको छ ।

बैठकले सुरक्षित आमा कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रम अन्तर्गत अब नगरभित्रका गर्भवती तथा जोखिमयुक्त आमाको उपचारमा नगरपालिकाले सहयोग गर्नेछ । यस्तै नगरपालिकाले गर्भवती महिलाको एक पटक भिडियो एक्सरेका लागि आर्थिक सहयोग गर्ने भएको हो ।

नगरकार्यपालिकाले अबदेखि बाबु र आमाका गुनासा र समस्या सुन्नका लागि बाबुआमा चौतारी कार्यक्रम संचालन गर्नेछ । यसमा नगरभित्रका जेष्ठ नागरिकका समस्या समाधानका लागि नगर प्रमुख र उपप्रमुख हरेक वडामा पुग्नेछन् । नगरभित्रका दलित र विपन्न महिलाको आयआर्जनका लागि पनि विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।

उपप्रमुख मोहनमाया ढकालले भन्नुभयो,‘हामीले अबको एक सय दिनमा गर्न सक्ने कामको खाका बनाएका छौं, सोही अनुसारका निर्णय पनि भएका छन् । अब वीरेन्द्रनगर सामाजिक रुपमा एकताबद्ध हुनेछ, आर्थिक रुपमा सवलिकरणका लागि हामी सहयोग गर्नेछौं ।' बैठकले नगरका १६ वटा वडामा एकएक वटा वाईफाई फ्रीजोन निर्माण गर्ने निर्णय गरेको छ ।

अब नगरभित्रका हरेक घरले कम्तिमा दुई वटा बिरुवा रोप्नुपर्ने छ । त्यसैगरी वीरेन्द्रनगरमा एउटा पर्यावरणीय बालपार्क स्थापना हुने भएको छ । त्यसका लागि गुरुयोजना निर्माण गर्ने, नगर विकासको पाँच वर्षीय परिकल्पनासहितको त्रिवर्षीय नगर योजना निर्माण गर्ने, नगरभित्रको फोहोर व्यवस्थापन गर्ने, प्लाष्टिक नियन्त्रित वडा घोषणा गर्ने र अपागं प्रतिभा प्रस्फुटन कार्यक्रम संचालन गर्ने निर्णय पनि बैठकले गरेको कार्यपालिकाका सदस्य निलकण्ठ खनालले जानकारी दिनुभयो ।

हिंसापीडित महिलका लागि नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना हुने भएको छ । यसका लागि नगरपालिकाले सहजिकरण गर्नेछ । संचारकर्मी सहयोग कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

वीरेन्द्रनगरलाई प्रदेश नम्बर ६ को राजधानी घोषणा गर्नका लागि सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । यस्तै बैठकले सुर्खेत उपत्यका नगर विकास समिति खारेजका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पछिल्लो समय नगरभित्र बढ्दै गएको जमिन खण्डीकरण र प्लटिङ्ग रोक्नका लागि आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका लागि तोकिएको मापदण्ड पूरा गरेर बाटोको लगत कट्टा भएपछि मात्र स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।

बैठकले नगरपालिकामा पछि समायोजन भएका क्षेत्रलाई समावेश गरेर नयाँ गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ । निर्वाचनअघि मतदाता समक्ष गरेका प्रतिबद्धता र नगरको समृद्धिका लागि काम गर्न तयार रहेको कार्यपालिकाले अठोट गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.