'हस्तक्षेपले स्वास्थ्य क्षेत्र कमजोर'

'हस्तक्षेपले स्वास्थ्य क्षेत्र कमजोर'

काठमाडौं : सरकारी सेवामा रहेर अवकाश हुँदा प्रायः मानिस निराश बन्छन् । सक्रिय हुने समय सकिएको भानमा बाँकी जीवन आरामले बिताउने सोच बनाउँछन् । तर, ३८ वर्ष सरकारी सेवामा जीवन बिताएका, 'हेल्थ हसिस्टेन्ट' हुँदै स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हाल्नुभएका र अधिकांश समय हिमाली जिल्ला छिचोलेका डा. सेनेन्द्रराज उप्रेती अवकाशका बेला झनै जोशिलो हुनुभएको छ ।

बिदाइ हुँदै गर्दा स्वास्थ्य क्षेत्र सुधारका लागि झन् चुनौती थपिएको भन्दै त्यसमा डट्न उहाँले कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको उहाँको बिदाइ कार्यक्रमका सहभागी विज्ञदेखि कर्मचारीसम्म निराश देखिन्थे । तर, उप्रेती भने झनै निर्धक्क हुँदै भाषण गर्न थाल्नुभयो, 'एउटा ढोका बन्द भयो भन्दैमा म निराश छैन । अर्को ढोका जता खुल्छ, त्यतै जानेछु अनि आफ्नो सीप र ज्ञान बाँड्नेछु । झोक्राएर बस्ने छैन ।'

नेपालमै पढेर यहीँ सेवा गर्ने आफू पहिलो डाक्टर भएको उप्रेतीले बताइरहँदा सहपाठी र कर्मचारीले उहाँलाई त्यत्तिमै सीमित राख्न चाहेनन् र भने, 'समुदाय, स्वास्थ्यकर्मी र चिकित्सकको रोल मोडल, स्वास्थ्यको ज्ञाता, कुशल प्रशासक, मिलनसार कर्मचारी र अनुशासित व्यक्ति हुनुहुन्छ डा. उप्रेती । उहाँबाट हामी सबै प्रभावित छौं । उहाँको अभाव स्वास्थ्य क्षेत्रमा खड्किरहनेछ ।'

कुशल प्रशासक

चिकित्सकले प्रशासनको काम गर्न सक्दैनन् भन्ने धारणा छ । तर, डा. उप्रेतीले प्रशासनमा सबैभन्दा राम्रो भूमिका खेलेको उहाँका सहपाठी बताउँछन् । उहाँले जिल्ला अस्पतालको प्रमुखदेखि स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा अनियमितता रोक्ने कामलाई जोड दिनुभयो । दबाबमा काम गर्न मन नपराउने डा. उप्रेतीको सिनियरसँग खटपट भइरहन्थ्यो । समन्वय गर्नसक्ने क्षमता भएको र मिलनसार व्यक्तिका रूपमा चिनिने डा. उप्रेतीले सचिव भएपछि गगन थापाको कार्यकाल सफल बनाउन पनि भूमिका निर्वाह गर्नुभएको छ । 'राम्रो भएर हो वा नराम्रो भएर म टिक्नै नसक्ने धेरै समय एकै ठाउँमा,' ठट्टासँगै उहाँले पीडा पोख्नुभयो, 'ठाकठुक पर्नासाथ सरुवा भइहाल्थ्यो ।'

'एउटा ढोका बन्द भयो भन्दैमा म निराश छैन । अर्को ढोका जता खुल्छ, त्यतै जानेछु अनि आफ्नो सीप र ज्ञान बाँड्नेछु । झोक्राएर बस्ने छैन ।'

डा. उप्रेती हेल्थ असिस्टेन्ट, मेडिकल अधिकृत, प्रमुख अस्पताल प्रशासक, जिल्ला स्वास्थ्य प्रमुख, महाशाखा प्रमुख, महानिर्देशक, प्रमुख विशेषज्ञ हुँदै सचिव बन्नुभएको हो । उहाँले १८ वर्ष हिमाली जिल्लामा काम गर्नुभएको छ । ३८ वर्षमा उहाँको ३४ ठाउँमा सरुवा भयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध सुधार

डा. उप्रेती सचिव हुँदा एचआईभी, क्षयरोग र औलोरोग नियन्त्रणमा आउने अन्तर्राष्ट्रिय सहयोग लगभग बन्द हुने अवस्थामा पुगेको थियो । आर्थिक हिनामिना भएको, उल्टै रकम फिर्ता गर्नुपर्ने, अर्को चरणको सहयोग लिने बेलामा सचिव भएको र समस्या समाधान गर्न लागिपरेको उहाँले बताउनुभयो । आफ्नो पहलमा भएको सम्झौता (ज्वाइन्ट फाइनान्सियल एग्रिमेन्ट) अनुसार काम गर्न मन्त्रालयका अधिकारीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

हस्तक्षेपले कमजोर

केही समययता स्वास्थ्य सुधारका संकेत देखिए पनि राजनीतिक हस्तक्षेपले झनै चुनौती थपेको उहाँको भनाइ छ । 'स्वास्थ्य क्षेत्रमा अझै धेरै कुरीति छन् । त्यसलाई भत्काउनैपर्छ । राजनीति हस्तक्षपले स्वास्थ्य क्षेत्र पनि कमजोर बनेको छ', उहाँले भन्नुभयो । सबैभन्दा धेरै कर्मचारी परिचालनमा हस्तक्षेप हुने गरेको उहाँले बताउनुभयो ।

डा. उप्रेतीले जहाँ गए पनि आफूलाई स्वास्थ्य क्षेत्र सुधारको चिन्ता हुने बताउनुभयो । 'कहिले महामारी फैलिन्थ्यो । कहिले प्राकृतिक प्रकोपले जनधनमा क्षति पुर्‍याउँथ्यो । त्यहाँ कसरी राम्रो काम गर्ने भन्ने चिन्ता हुन्थ्यो । बिदाइ हुँदा पनि मलाई त्यो चिन्ता छ', उहाँले भन्नुभयो ।

डा. उप्रेतीले कर्मचारीतन्त्रमा आफ्नो जिम्मेवारी बिर्सिएर अरूले गरेको काममा मात्रै टीकाटिप्पणी गर्ने चलन हाबी भएको सुनाउनुभयो । त्यस्तो अवस्थामा कतिपय कर्तव्यपालकले समेत सजाय पाएको, कसैको जागिर गएको र उनीहरूको प्रतिष्ठामा आँच आएको उहाँको अनुभव छ ।

स्वागत र बिदाइमै मन्त्री भएनन्

डा. उप्रेती सचिव भएर मन्त्रालय छिर्दा र बिदाइ हुँदा स्वास्थ्यमन्त्री भएनन् । त्यसमा आफूलाई दुःख लागेको उहाँको गुनासो छ । 'आउने बेला पनि मन्त्री हुनुहुन्नथ्यो, जाने बेला पनि । कति अभागी रहेछु,' उहाँले भन्नुभयो, 'मन्त्रीले खाँदा-लाउँदा यो छाती अलि चाख्लो हुन्थ्यो कि भन्ने थियो ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.