राष्ट्रपति भण्डारी स्वीजरल्याण्ड उडिन्
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अपरान्ह स्वीजरल्याण्ड भ्रमणमा प्रस्थान गर्नुभएको छ। राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगण लगायत उच्च सरकारी अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाई गर्नुभयो। संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति बुधबार जेनेभा पुग्नुहुने भएको छ।
अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वीजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको ‘वल्र्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जानुभएको हो। राष्ट्रपति बिहीबार समिटलाई संबोधन गर्ने कार्यक्रम छ।
त्यस अवसरमा नेपालको नयाँ संविधानमार्फत् महिला तथा कामदारका हक हित र अधिकार सुनिश्चित गरिएको लगायत बिषयमा राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रिय समुदायलाई अवगत गराउनुहुने भएको छ।
गत साता सुरु भएको अन्र्तराष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरानमा ‘वल्र्ड अफ वर्क समिट’ हुन लागेको हो। नेपालका अलावा मौरिसस र माल्टाका राष्ट्रपति पनि सम्मेलनमा सहभागि हुने कार्यक्रम छ।
राष्ट्रपति भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम छ। स्वीजरल्याण्डमा रहँदा राष्ट्रपति भण्डारीसंग आइएलओका महानिर्देशक गाई राइडरले भेट्ने परराष्ट्रमन्त्रालयले जनाएको छ।
राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र सचिव शंकर बैरागी, राष्ट्रपतिकी निजी सचिव विमला राई, शिष्टाचार महापाल दिपक अधिकारी, परराष्ट्र सहसचिव भरत राज पौड्याल लगायत ११ जना रहनुहुने भएको छ।
नेपाल आइएलओको सदस्य बनेको ५० बर्ष पुगेको छ। नेपाल सन् १९६६ मा आइएलओको सदस्य बनेको थियो्। नेपाल सोमबार आइएलओको गभर्निङ् बोर्डमा उपसदस्य बनेको थियो।
राष्ट्रपतिको तेश्रो विदेश यात्रा हुन लागेको हो। यसअघि भण्डारी पहिलो बिदेश यात्रामा छिमेकी भारत जानु भएको थियो। राष्ट्रपतिको दोश्रो भ्रमण श्रीलंका भयो। गत महिना राष्ट्रसंघीय भेसाक दिवसमा सहभागि हुन उहाँ थाइल्याण्ड हुंदै श्रीलंका जानुभएको थियो।