आर्ट काउन्सिलमा कार्टुन क्यारिकेचर
काठमाडौं : ‘नेपाली कार्टुन क्यारिकेचर २०७४' बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी भइरहेको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालले कार्यशाला, प्रदर्शनी र प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नवीन नाल्बो प्रथम, राजेश मानन्धर दोस्रो र सुरज शाक्य तेस्रो हुनुभएको छ । विजेताले क्रमशः १२ हजार, आठ हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ।
प्रदर्शनीमा नेपालको सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वको क्यारिकेचर बनाइएको छ । प्राडा अभि सुवेदी, अनुराधा कोइराला, सत्यमोहन जोशी, लैनसिंह बाङ्देल, शशी शाह, रागिनी उपाध्याय, महावीर पुन, राजेश हमाल, मनुजबाबु मि श्र, भुवन केसीलगायत करिब चार दर्जन व्यक्तित्वको क्यारिकेचर कोरिएका चित्र प्रदर्शनीमा राखिएको छ । काउन्सिलमा समाजका प्रतिष्ठित व्यक्तिको अनुहारलाई रमाइलोसँग हेर्न सकिन्छ । कार्टुनले व्यंग्यबिना मनोरञ्जन दिएका छन् ।
प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्रदर्शनी उद्घाटन गर्दै कार्टुनमा क्यारिकेचरको महत्वव शक्तिशाली हुने बताउनुभयो । उहाँले कार्टुनले समाजका विकृति विसंगतिलाई व्यंग्यात्मक रूपमा शक्तिशाली प्रहार गर्ने भएकाले यसको प्रभाव उच्च हुने बताउनुभयो ।
नेपालमा पहिलोपटक भएको क्यारिकेचर कार्यशाला तथा प्रदर्शनीमा २५ कार्टुनिस्ट सहभागी छन् । प्रदर्शनीमा अविन श्रेष्ठ, अशोकमान सिंह, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, योगेश खपांगी, रवीन्द्र मानन्धर, केशवराज खनालका कार्टुन क्यारिकेचर छन् । प्रदर्शनी बुधबारसम्म चल्नेछ ।