लन्डनमा भीषण आगलागीमा १२ को मृत्यु, सयौं फसेको आशंका

लन्डनमा भीषण आगलागीमा १२ को मृत्यु, सयौं फसेको आशंका

लन्डन : पश्चिम लन्डनको आवासीय ‘ग्रिनफिल टावर ब्लक’ मा बुधबार बिहान सुरु भएको भीषण आगलागीबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । उद्धारकर्ताले बुधबार अबेरसम्म ६५ जनालाई उद्धार गरेका छन् । घाइते धेरैलाई अस्पताल लगिएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । बुधबार अबेरसम्म उद्धारकार्य जारी छ । भवनभित्र करिब २ सयजना बस्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने त्यहाँ ६ सयभन्दा बढी व्यक्ति बस्दै आएको बताएका छन् । एक सय २० फ्ल्याट रहेको भवनमा ६ सय व्यक्ति हुनु सामान्य रहेको उनीहरूको भनाइ छ । सबै सुतिरहेका बेला बिहानपख आगलागी भएकाले कोही बाहिर निस्कन नसकेका हुन् ।

कैयौंले आफ्ना परिवार टावरभित्र थुनिएको बताएका छन् । त्यहाँ बस्दै आएकी हनान वहाबीले आफ्ना दाजु र आफन्त त्यहीं रहेको बताइन् । २९ वर्षीया वहाबी नवौं तलामा बस्दै आएकी थिइन् । आगो लागेको थाहा पाएपछि श्रीमान् र छोरीका साथ आफू बाहिर निस्कन सफल भएको उनको भनाइ छ । उनका दाजु भने २१ औं तलामा बस्थे ।

एक जना प्रत्यक्षदर्शीका अनुसार दशौं तलाबाट एक दम्पतीले आफ्ना छोराछोरी तल फ्याँक्दै उनीहरूलाई बचाइदिन आग्रह गरेका थिए । यसैगरी, पाँचौं तलाबाट पाँच वर्षीय बालकलाई तल फ्याँकेका थिए । उनीहरूले तन्नामा छोराछोरी बेरेर तल फ्याँकेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यहाँ भाग्न खोज्दा कैयौं मान्छे अत्तालिएर मरेको अनुमान गरिएको छ । कैयौंले भने आफू भागेर बचे पनि सबै परिवार थुनिएकाले बाँच्नुको कुनै अर्थ नरहेको बताएका छन् । प्रहरीका अनुसार सयौं संख्यामा बसोबास गरिरहेका कैयौं व्यक्ति थुनिएको आशंका गर्दै सयभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ ।

आगलागीको कारण अझै प्रस्ट नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भवन बनाउने काममा संलग्न इन्जिनियरहरूलाई पनि उद्धार कार्यमा खटाइएको छ । बेलायतमा पछिल्लो समयमा आतंककारी हमला भएको हुनाले यो आगलागीमा पनि आतंककारीको योजना रहे÷नरहेकोबारे अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीले भने आगलागीमा त्यस्तो कुनै पनि आतंककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक कारणले नै आगो लागेको जनाएको छ ।

भवनको करिब २१ औं तलातिरबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ । लन्डनका मेयर सादिक खानले थुनिएका कैयौं व्यक्तिबारे सूचना आइनसकेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.