गगन थापाको मौनता
प्रत्येक राष्ट्रिय-अन्तर्राष्ट्रिय वा अन्य सामाजिक घटनाहरूमा आफ्नो स्पष्ट धारणामार्फत जनतालाई दिशा दिन सक्ने क्षमताबाट नेताको नेतृत्व जाँचिन्छ । नेतृत्वमा क्षमता, अनुभव, विवेक र निष्ठा चाहिन्छ, तर स्पष्टता वा इमानदारीको अभावमा यी गुणयुक्त नेतृत्व असफल भएको संसारमा थुप्रै उदाहरण छन् । इमानदारीको अभावमा विकासका नारा केवल बयानबाजी हुन् । देशमा भएका महत्ववपूर्ण घटनामा तटस्थ बसेर झीनामसिना मुद्दामा चर्को बोल्नु पनि बयानबाजी हो । अक्षम नेताको दह्रो हतियार पनि बयानबाजी नै हो । नेपालमा आश्वासनकेन्द्रित बयानबाजीको राजनीतिको लामो सूची छ ।
२०४४/०४५ सालतिर एसियाली मापदण्डको नारामार्फत देखाइएको सपनाको आश्वासन कालान्तरमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने नारामा परिणत भयो, तर त्यो सपना पूरा नहुँदै पञ्चायत ढल्यो । नेपाली कांग्रेस र एमालेले देखाएको सपनाको संसारको टुंगो नलाग्दै माओवादीले सपनाको ठूलो पहाड देखायो । त्यो पहाडमा हजारौंको बिल्लीबास भयो । गणतन्त्रपश्चात् पनि सपनाकै आश्वासनले नाकाबन्दीजस्तो राष्ट्रघाती आन्दोलन भयो । कतिपय नेताहरू सपनाको संसार देखाएर हिंसात्मक बाटोमै छन् । अवसर र चेतनाको अभावमा ती सपनाका नाराबीच इमानदारीको खोजी कहिल्यै भएन ।
सपनाका सयौं नारा हुँदाहुँदै रहरले भन्दा बाध्यताले बिदेसिने नेपालीको संख्यामा २०५० सालयता उल्लेख्य वृद्धि भयो । जन्मथलो छोड्नुको पीडा भोगेकाले प्रवासी नेपालीमा देशप्रति चासो र माया भने रहिरहन्छ । भूराजनीतिको ज्ञानको कमै हुने प्रवासमा देशको सम्झनामा नेपाली संस्कृति झल्काउने सामाजिक भेलाहरूमा देशको राजनीतिको चर्चा बढी हुने गर्छ । देशमा शान्ति र समृद्धिको लागि सत्यतथ्यमार्फत स्पष्टताको राजनीति गर्ने नेताहरू प्रवासी नेपालीमाझ पनि लोकप्रिय छन् । स्पष्टता भएरै प्रवासमा समेत एक इमानदार नेताको रूपमा लिइएका नेता हुन्, माननीय गगन थापा ।
प्रवासमा समेत अत्यधिक चासोको रूपमा लिइएको, नयाँ नेपाल निर्माणको द्वार मानिएको स्थानीय निर्वाचनको चहलपहलबीच एउटा आश्चर्यजनक समाचार आयो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाइयो र कार्यवाहकलाई मध्यरातमा शपथ गराइयो । निर्वाचनको पूर्वसन्ध्यामा त्यो एउटा भूकम्पसरह आएको समाचारको सामाजिक सञ्जालहरूमा व्यापक रूपले शेरबहादुर देउवाको आलोचना भयो ।
‘रक्षक नै भक्षक' भनेझैं सन्देश दिने लोकतान्त्रिक दलको यो कदमको विषयमा एउटा सामान्य भेलामा पंक्तिकारको निराशावादी जिज्ञासाको जवाफमा एकजना प्रवासी नेपालीले दह्रो रूपले कटाक्ष गरे ‘दियर इस स्टिल होप सर, गगन ह्याजन्ट स्पोकन येट ।' अमेरिकामा बस्ने धेरै नेपालीले त्यस दिन गगनको नाम उच्चारण गरेका थिए । लोकतान्त्रिक मुलुकमा बसेका प्रवासीहरूको नजर गगनमा जानु गगनले आर्जेको सम्पत्ति हो । पहिलो दिन गगनको व्यक्तव्यको प्रतीक्षामा बित्यो । दोस्रो दिन गगन फेसबुकमार्फत लाइभ प्रस्तुत भए, तर फरक सन्देश लिएर । गगनको अनुहारमा त्रिचन्द्र कलेजको विद्यार्थी निर्वाचनमा बोल्दाको वा लोकमानविरुद्धको महाभियोगमा संसद्मा बोल्दाको जस्तो तेज थिएन ।
जीवनको बहुमूल्य समय नेपालको लोकन्तान्त्रिक आन्दोलनमा खर्चेका गगनले महाभियोगको विषयमा उक्त दिन मौनताको साहरा लिए । गगनको प्रशंसक पंक्तिकारलाई गगनले निराश पारेको जीवनकै त्यो पहिलो घटना थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रत्यक्ष/परोक्ष रूपले सहभागी भएकाहरूले गगनबाट केही बढी आशा गरेका छन् । राजतन्त्रविरुद्ध आन्दोलन गरेका पुष्पकमल र बाबुरामले मानव ढालको प्रयोग गरेर आफू सुरक्षित रहेका थिए, तर राजतन्त्रलाई खुला चुनौती दिएका गगनले प्रत्येक जुलुसहरूको अग्रपंक्तिमा रहेर सम्पूर्ण जोखिम आफैंले मोलेका थिए ।
गिरिजाप्रसादले आह्वान गरेको सडक आन्दोलनको उपस्थिति न्यून रहेको बेला सडक तताउने गगनको हतियार उनको स्पष्टता नै हो । आन्दोलनपश्चात् पुष्पकमल लाजिम्पाट दरबारमा विराजमान भए, गगन भएनन् । स्वास्थ्यमन्त्री हुँदा एक उत्कृष्ट नेताको रूपमा गगन स्थापित भए । प्रतिक्रियावादी राजनीतिको बजार रहेको बेला उनले अग्रसक्रिय राजनीति गरेकाले गगनका सयौं भाषणहरू युट्युबमा लोकप्रिय छन् । अरूको असफलताभन्दा उनी आफ्नो सफलतामा केन्द्रित देखिएकाले गगनबाट लोकतन्त्रप्रेमी नेपालीहरूको अपेक्षा बढी छ ।
युवा वर्गलाई गगनले देखाएका सपनाहरू बयानबाजीमा परिणत भएका छैनन्, तर गगनको मौनता र उनीप्रतिको जनअपेक्षा एकअर्कासँग जोडिएका विषय हुन् । काठमाडौंलाई लिभेबेल सिटीमा परिणत गर्ने योजना देखाउने गगनले नौ/नौमहिने भागबन्डा र न्यायपालिकामा हस्तक्षेपको विषयमा मौन बसेर आफ्नो इमानदारीप्रति शंका गर्ने ठाउँ दिनु हुँदैन ।
गगनले आफूमाथि शुभेच्छुकहरूको दबाब भएको आशययुक्त एउटा लेख (कांग्रेस र कांग्रेसी एउटै होइन, सेतोपाटी वैशाख २६, २०७४) मार्फत आफूले आफ्नो दलको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन पार्टी नेतृत्वसँग अनुरोध गरेको सार्वजनिक गरेका छन् । लेखमार्फत उनले विकसित घटनाक्रममा हामीले संयमित हुनुपर्ने, जिम्मेवार हुनुपर्ने, सिक्नुपर्ने र कमजोरी सच्याउनुपर्ने लामो अनुच्छेद लेखेका छन् । पृथक राजनीतिक पहिचान भएका गगनको एक सामान्य नागरिकले व्यक्त गर्ने धारणा व्यक्त गरिएको उक्त लेख मूल प्रश्नमा मौन छ ।
लोकमानविरुद्धको महाभियोगमा निर्णय लिन नसक्ने दलले प्रधानन्यायाधीशविरुद्ध केन्द्रीय समितिमा छलफल नगरेरै किन महाभियोग ल्यायो ? गगनले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने माग गर्नु र त्यो हुन नसकेको अवस्थामा सेतोपाटीमार्फत आफ्नो सामान्य धारणा राख्नु आफैंमा एउटा असहज परिस्थिति हो ।
महाभियोग फिर्तासँगै व्यवस्थापिकाको अधिकार हनन भएको, सर्वोच्च निरंकुश भएको, सुशीला कार्की अहंकारी भएको, न्यायालयमा गुटबन्दी भएको, कार्यपालिकामाथि न्यायालयको अनावश्यक हस्तक्षेप भएको र यस्तै छापामार शैलीमा लोकमानलाई पनि महाभियोग लगाइएकाले यो पनि जायज छ भन्ने तर्कहरू स्वयं बयानबाजी प्रमाणित भए । यी विषयान्तर गर्ने निर्देशित कुतर्कहरूको सहारा गगनले नलिनु उनको उत्तमता हो । यी कुतर्कहरूमा टेक्ने बयानबाज नेताहरूको दलका नेता गगनले आफ्नै दलमा गरेको संघर्षको पनि एक लामो किताब छ । अपराधीले पनि न्याय पाउनुपर्छ भनेर जनताको गाली खानेसम्म हिम्मत गर्ने स्पष्टताका धनी, कार्यपालिका र व्यवस्थापिकाका सदस्य गगनले प्रधानन्यायाधीशमाथि अन्याय भएको विषयमा मौन बस्नु उनका शुभचिन्तकका लागि एक नैराश्यको विषय हो ।
आईजीपी नियुक्तिमा देउवाले एउटा बक्तव्यमार्फत आफ्नो कुनै भूमिका नभएको सार्वजनिक गर्दा पनि महाभियोग आयो, स्थगन र फिर्ता भयो । यो राजनीतिमा इमानदारीको अभावको प्रमाण हो । देशको शीर्ष नेतृत्वले आईजीपी चयनमा आफ्नो निर्णय सत्य र तथ्यसहित जनतासामु विश्वसनीय ढंगले प्रस्तुत गरेन । यस्तो संवेदनशील नियुक्तिमा भएको लापरबाहीमा आशाका केन्द्र गगनले मौनताको सहारा लिँदा उनीप्रति विश्वासको संकट पैदा हुन्छ । महाभियोग व्यवस्थापिकाको अधिकार क्षेत्र हो तर यो एक अन्तिम अस्त्र पनि भएकाले यसको प्रयोग छापामार शैलीमा गर्नु उपयुक्त हुँदैन ।
सर्वाधिक मतान्तरले विजयी लोकप्रिय नेता गगनको हतियार स्पष्टता हो । त्यो हतियार नभएका गगनलाई रन्जु दर्शनाको लोकप्रियता आगामी निर्वाचनमा एक चुनौती हुन सक्ने आँकडा गगनले देखेकै हुनुपर्छ । लोकतन्त्रको दुरुपयोग भएको घटनामा गगनले मौनताको सहारा लिनु उनका हितैषीका लागि एक अपमानको विषय हो ।
उदाहरणको लागि भारतमा मृत्युदण्डको कानुन छ । दुर्लभभन्दा दुर्लभ अपराधमा त्यसको प्रयोग गरिन्छ । त्यो दुर्लभताको व्याख्या अदालतले गर्छ । अपराधीले मृत्युदण्डअघि राष्ट्रपतिसमक्ष क्षमाको लागि निवेदन दिन सक्छ । राष्ट्रपतिले विज्ञहरूको राय लिन्छन् र आफ्नो निर्णय दिन्छन् । मृत्युको तिथि छापामार शैलीमा तोकिँदैन । महाभियोग पनि त्यस्तै हो । महाभियोगको विषयमा गगनबाट उनका हितैषी नागरिकहरूले गर्ने अपेक्षा हो उनको स्पष्टता, इमानदारी । छापामार शैली ठीक हो वा होइन ? हस्ताक्षर फर्जी हुन् वा होइनन् ? महाभियोग जायज थियो वा थिएन ? स्थगन र फिर्ता गरिनुका कारण केके हुन् ?
सर्वाधिक मतान्तरले विजयी लोकप्रिय नेता गगनको हतियार स्पष्टता हो । त्यो हतियार नभएका गगनलाई रन्जु दर्शनाको लोकप्रियता आगामी निर्वाचनमा एक चुनौती हुन सक्ने आँकडा गगनले देखेकै हुनुपर्छ । भारतमा सन् १९७७ मा त्यसबेलाकी सर्वशक्तिमान नेता इन्दिरा गान्धीले संकटकाल लगाइन् र निर्वाचनमा त्यसको परिणाम भोगिन् । उनको हत्यापछि सन् १९८४ मा राजीव गान्धीको विपक्षहीन सत्तारोहण भयो । उनकै दलका एक सामान्य विद्रोहीले राजीवको दललाई सन् १९८९ मा पराजित गरे । भारतमै दिल्लीको सन् २०१५ को विधानसभा निर्वाचनमा ७० मा ६७ स्थानमा विजयी भएको अरविन्द केजरीवालको दल आम आदमी पार्टीले हालैको दिल्ली नगर निर्वाचनमा लज्जास्पद पराजय भोग्नुपर्यो । राजनीतिमा सर्वशक्तिमानहरूको पासा पल्टिन समय लाग्दैन ।
स्थानीय निर्वाचनले कांग्रेसलाई नैतिक रूपले दोस्रो ठूलो दलमा झारेको छ । आफ्नो दलको राम्रो पकड भएको निर्वाचन क्षेत्रमा माआवादीको एक सामान्य कार्यकार्तालाई समर्थन गर्ने कांग्रेसको निर्णय कुनै स्वार्थमा केन्द्रित देखिन्छ । नेताको धारणापश्चात् जनधारणा आउनुपर्नेमा यो गठबन्धनविरुद्ध जनताले आफ्नो धारणा प्रकट गरेर यो कुनै गठबन्धन नभएको सन्देश दिइसके । लोकतन्त्रमा जनताको मत च्यात्नेलाई गगनले गठबन्धनको राजनीति भनेर शिरोधार्य गर्नु राजतन्त्रविरुद्धको उनको गर्जनलाई उनकै चुनौती हो । निर्वाचनको तिथि सार्दा कसैको माग पूरा हुन्छ भन्ने कुनै वैज्ञानिक आधारहरू छन् ? राजदूत नियुक्तिमा भएको लेनदेन पनि लोकतन्त्र हो ? लोकतन्त्रको दुरुपयोग भएको घटनामा गगनले मौनताको सहारा लिनु उनका हितैषीको लागि एक अपमानको विषय हो ।
कांग्रेसकै कारण लोकमानविरुद्ध प्रतिपक्षले ल्याएको महाभियोग असफल भयो, तर त्यसको पक्षमा गगनले संसद्मा गर्जिएर आफ्नो धारणा स्पष्ट गरेका थिए । देउवाको प्रजातन्त्र दरबारमा बुझाउने वा निर्वाचन गर्न अनकन गर्ने कलंकको भारी पनि गगनको टाउकोमा छैन । सुजातालाई चढाइएको भेटीमा गगनले स्पष्ट धारणा राखेकाले सायद त्यसमा पनि उनलाई दोषी नमानिएला, तर राजदूतको नियुक्ति, आईजीपी प्रकरण, गठबन्धनको नाटक, मध्यरातमा प्रधानन्यायाधीशलाई शपथ गराएको र महाभियोग फिर्ता गरेको विषयमा गगनको स्पष्ट धारणा छैन भने उनले बुझेकै कुरो हो, राजनीतिमा शुभचिन्तकहरूको धैर्यको बाँध धेरै बलियो हुँदैन ।
कोतपर्वमा जंगबहादुरलाई केही हत्यामा सीमित गरिन्न, त्यो एक कालरात्रिको सुरुआतको रूपमा इतिहासमा कैद छ । २०१७ सालको घटनामा इतिहासले बीपीलाई दोष दिँदैन, राजाले लोकतन्त्रमाथि प्रहार गरेको भन्छ । माघ १९ को कदमलाई गैरलोकतान्त्रिक भन्छ, नियतिले यसमा देउवालाई जोगाएको छ । पुष्पकमलले रुक्मांगद कटवालमाथि गर्न खोजेको कारबाही कटवालमा सीमित नभएर सिंगो सेनालाई विभाजित गरेर सत्ता कब्जा गर्ने राजनीतिसँग जोडिएको छ, बरु कटवालले सेना जोगाएको भनिएको छ । माओवादी स्वयंले त्यसमा गल्ती भएको स्विकारेको छ ।
महाभियोगको कदम केवल सुशीला कार्कीमाथिको आक्रमण होइन, यो सिंगो न्यायालयमाथि प्रहार हो । यसले ल्याउन सक्ने तरंगहरूले कुनै दिन गगनलाई नै प्रहार गर्नेछ । गगन जस्ता लोकतन्त्रका पक्षधर नेताले लोकतन्त्रलाई कमजोर पार्ने महत्ववपूर्ण घटनामा आफ्नो धारणा स्पष्ट नगरेको स्थितिमा नेपालमा परिवर्तनको सपना टाढै देखिन्छ । पंक्तिकार भूराजनीतिको ज्ञान नभएको तर गगनको स्पष्ट धारणाको पर्खाइमा रहेको एक प्रवासी नेपाली हो । गगनप्रतिको जनअपेक्षा यो लेखको प्रमुख कारण हो । उल्लिखित कुनै पनि घटनामा गगनलाई दोषी भन्न खोजिएको होइन, गगनको इमानदारीमा प्रश्न गर्न खोजिएको पनि होइन । तर विश्वव्यापी रूपमा छरिएर बसेका गगनका प्रशंसकहरूका लागि भने यो लेख तयार पार्दासम्मको सत्यता तीतो नै छ । त्यो हो ‘गगन ह्याजन्ट स्पोकन येट ।'
भट्ट अमेरिकास्थित टेनिसी स्टेट युनिभर्सिटीमा एसोसिएट प्रोफेसर छन् ।