कलाकार खराब हुँदैन
काठमाडौं : बलिउडका चर्चित कलाकार मुस्ताक खानले कलाकार कहिल्यै खराब नहुने बताएका छन् । नेपाली चलचित्रको छायांकनका क्रममा नेपाल आएका कलाकार खानले एभरेस्ट फिल्म एकेडेमीको कार्यक्रममा सहभागिता जनाएका छन् । एकेडेमीले विद्यार्थीमाझ राखेको कार्यक्रममा बोल्दै कलाकार खानले भने, ‘कलाकार कहिले पनि खराब मान्छे हुन सक्दैन ।'
कलाकार टीका पहाडीसँग मुम्बईमा रहँदा सँगै नाट्य कर्म गरेका चर्चित कलाकार खानले आफूहरूको पुरानो सम्बन्धसमेत सम्झिए । फिल्म एकेडेमीको कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईंभित्र कला छ भने एकेडेमीले त्यसलाई चम्काउन र प्रविधिमार्फत तपाईंमा विश्वास भर्ने काम गर्छ ।'
कार्यक्रममा उनले नेपालको कलाकारिताका विषयमा पनि विचार राखेका थिए । यहाँका विविध पक्षलाई कलामा समेट्न सके यसको स्तर अझ उच्च हुने उनको धारणा थियो । कार्यक्रममा उज्ज्वल घिमिरे, विल्सनविक्रम राई, गौरव पहारी, सुलभ पहारीलगायतका कलाकार सहभागी थिए ।
एभरेस्ट फिल्म एकेडेमीले खानको कलाकारिताको लामो अनुभवबाट विद्यार्थीले केही सिकुन् भनेर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एकेडेमीका अध्यक्ष सुनील थापाले खानलाई मायाको चिनोसहित धन्यवाद दिएका थिए । यस्ता कार्यक्रम र कलाकारबीचको सहकार्यले दुई देशबीचको सद्भाव अझ आत्मीय हुने विश्वास थापाको छ ।