सूतकको शास्त्रीय विवेचना
वैदिकधर्मका आजभोलि समाजमा प्रचलित विभिन्न पक्षमध्ये आशौचव्यवस्था पनि प्रमुख पक्ष हो । यो एउटा सामाजिक र व्यावहारिक विषय पनि भएकाले धेरैको चासो देखिन्छ । यस सम्बन्धमा केही जिज्ञासा र भ्रम समाजमा छन् । त्यसैले यस विषयको शास्त्रीय वस्तुस्थिति जनसमक्ष ल्याउन यो लेख यहाँ प्रस्तुत गरिँदैछ।
आशौचको अर्थ
शुचिको अर्थ शुद्ध हो । अशुचि भनेको अशुद्ध हो । अशुचिको भावलार्र्ई आशौच भन्दछन् । आशौचको सामान्य अर्थ देवकार्य, पितृकार्य र ब्रह्मकार्य गर्नमा अयोग्य हुनु हो । यस्तो अयोग्यता अरू कारणले पनि आउन सक्छ तापनि आशौचशब्द कसैका जन्मले वा मृत्युले गर्दा आउने अयोग्यतामा रूढ भएको देखिन्छ । आशौच जननाशौच र मरणाशौच गरी दुई प्रकारको हुन्छ । मरणाशौचको विवेचना केही विस्तृत हुने हुनाले त्यसको छुट्टै चर्चा गरिनेछ । बार्नै नपर्ने खालको जननाशौचसमेत बारेर धेरैले विवाह-व्रतबन्धजस्ता संस्कार, पूजाआजा र श्राद्धकर्म रोक्ने गरेको तथा दशैँ-तिहारजस्ता चाडपर्व नमनाउने गरेको देखिएकाले यहाँ जननाशौचको (सुत्केराको) चर्चा गर्न खोजिएको हो । सन्तान जन्मँदा त हर्ष मान्नुपर्नेमा किन बन्धु मर्दाझैं टाढाटाढाका व्यक्तिले पनि १० दिनसम्म आशौच बार्नुपर्ने हो भन्ने प्रश्न पनि बेलाबेलामा उठिरहेकाले यो विषय विशेष विवेचनीय भएको छ ।
आधारभूत शास्त्रीय ग्रन्थ
वेदका विभिन्न शाखामध्ये अधिकांश नेपाली ब्राह्मणहरूको वेदशाखा शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखा हो । त्यसैले यसका अनुयायी ब्राह्मणहरूले र तिनलार्र्ई गुरुपुरोहित मान्ने क्षत्रियादि आस्तिक व्यक्तिले पनि नित्यकर्म, संस्कारकर्म इत्यादिका विषयमा जस्तै आशौचका (जुठो-सूतकका) विषयमा पनि मुख्य रूपले शुक्लयजुर्वेदको गृह्यसूत्र पारस्करगृह्यसूत्रको व्यवस्थाको अनुसरण गर्नुपर्छ । त्यसमा नभएका विषयमा चाहिँ याज्ञवल्क्यस्मृतिका कुरा अँगाल्नुपर्छ । अरू स्मृति-पुराणका कुरा पारस्करगृह्यसूत्रका र याज्ञवल्क्यस्मृतिका अनुकूल भएमा मात्र मान्य हुन्छन् । यस विषयमा स्वाद्ध्यायशालाका ‘वैदिक धर्म मूल रूपमा' ‑द्वि.सं.२०६२) भन्ने र ‘वैदिक हिन्दु धर्मसंस्कृति' ‑२०६५) भन्ने ग्रन्थमा पनि विस्तृत विवेचना गरिएको छ । प्रतिवर्ष प्रकाशित हुने ‘वैदिक पात्रो'मा पनि संक्षेपमा आशौचसम्बन्धी निर्णय दिने गरिएको छ । धार्मिक उपदेश वा निर्णय आस्तिकहरूका निम्ति हो, नास्तिकहरूका निम्ति हैन भन्ने कुरा पनि यस सन्दर्भमा स्मरणीय छ ।
जननाशौचकाल सुत्केरो रहने अवधि
पारस्करगृह्यसूत्रमा मरणाशौचका विषयमा जसरी बताइएको छ त्यसरी जननाशौचका विषयमा बताइएको छैन । तथापि सूतकभित्रै जातक ‑जन्मेको बच्चा) मरेमा सूतिकाको ‑सुत्केरीको) उत्थान नभएसम्म आमाबाबुलार्र्ई सूतकमा जस्तै आशौच हुन्छ भन्ने पारस्करका भनाइबाट (३।१०।६) जननाशौच मानिएको कुरा स्पष्ट हुन्छ । जन्ममा आमाबाबुलार्र्ई सूतक लाग्ने कुरा व्यावहारिक र तार्किक दृष्टिले हेर्दा पनि उचित देखिन्छ । पारस्करले सूतिकाको उत्थान नभएसम्म शण्डामर्कहोम गर्ने (१।१६।२३) र सूतिकालार्र्ई प्रसव भएका दसौँ दिनमा सूतिकागृहबाट उठाई जातकको नामकरण गर्ने विधान (१।१७।१) गरेकाले जन्ममा १० दिनसम्म सूतक रहने कुरा पारस्करगृह्यसूत्रबाट बुझिन्छ ।
अरू विशेष व्यवस्था त्यहाँ छैन । शुक्लयजुर्वेदीहरूकै कात्यायन श्रौतसूत्रबाट सत्रयागमा ‑यज्ञविशेषमा) बसेका दीक्षितहरूमध्ये कसैकी दीक्षिता पत्नी सुत्केरी भएमा पतिलार्र्ई सूतक नलाग्ने देखिएको र सुत्केरी पत्नीलार्र्ई १० रातपछि सत्रयागका विभिन्न कर्ममा लगाउनू भन्ने विधान त्यहाँ भएकाले (२५।११।१७) पनि कात्यायन र पारस्करका सम्प्रदायमा १० दिनसम्म सुत्केरीलार्र्ई मात्र जननाशौच रहने कुरा मान्य भएको बुझिन्छ । सूतिकालार्र्ई छोरो जन्मेकामा २० दिनपछि र छोरी जन्मेकामा ३० दिनपछि मात्र देव-पितृकर्ममा लगाउनु भन्ने पैठीनसीको वचन शुक्लयजुर्वेदीहरूका निम्ति वैदिक यज्ञका विषयमा नलाग्ने कुरा पनि स्पष्ट हुन्छ ।
ग्रन्थका आधारमा चार महिनासम्मको गर्भ तुहिएमा जसको गर्भ तुहिन्छ त्यो स्त्री चार रातपछि शुद्ध हुने र गर्भकर्ता ‑बाबु) स्नानले शुद्ध हुने तथा सपिण्डलार्र्ई (सात पुस्ताभित्रका बन्धुहरूलाई) पनि सूतक ‑सुत्केरो) नलाग्ने, ती पनि स्नानले नै शुद्ध हुने कुरा बुझिन्छ ।
जननाशौच केवल आमा र बाबुलार्र्ई मात्र लाग्ने कुरा विभिन्न शास्त्रीय ग्रन्थहरूमा उल्लिखित छ । गौतमधर्मसूत्रमा जननाशौच आमाबाबुलार्र्ई मात्र लाग्ने अथवा आमालार्र्ई मात्र लाग्ने पक्ष पनि देखाइएको छ- मातापित्रोस्तन्मातुर्वा (२।५।१४) । यस धर्मसूत्रका व्याख्याता हरदत्तले यस कुराका समर्थक विभिन्न मुनिका वचन पनि व्याख्यामा देखाएका छन् ।
याज्ञवल्क्यस्मृतिमा सूतकं मातुरेव हि (३।१८) भनेर यो विषय पारस्करगृह्यसूत्रको अनुकूल रूपमा बताइएको छ । वासिष्ठधर्मसूत्रमा पनि जननाशौच आमाबाबुलार्ई मात्र अथवा आमालार्र्ई मात्र लाग्ने पक्ष पनि देखाइएको छ- मातापित्रोर्वा, तन्निमित्तत्वान् मातुरित्येके (४।२१,२२) । यो कुरा मनुस्मृतिमा पनि आएको छ (५।६२) । यस्तै अभिप्राय कलियुगका निमित्त विशेष रूपमा उपदेश गरिएको भनिएको पराशरस्मृतिका वचनहरूको पनि देखिन्छ (३।२६-२८) । बौधायनधर्मसूत्रमा त छलफल गरेर १० दिन जननाशौच आमाबाबुलार्र्र्ई मात्र लाग्ने भन्ने निष्कर्ष दिइएको छ (१।११।१७-२१) । देवीभागवतमा पनि जननाशौच पितामातालार्र्ई मात्र लाग्ने कुरा उल्लिखित छ (७।१५।९) ।
‘सुत्केरो परेको घरबाहेक अरू घरका बन्धुलार्ई सुत्केरो नलाग्ने' भन्ने पक्ष शुक्लयजुर्वेदीहरूको मूलग्रन्थ पारस्करगृह्यसूत्रको सम्मत र अन्य धेरै स्मृतिमा प्रतिपादित पनि देखिएकाले प्रबल छ । सुत्केरालार्ई जुठालार्ई जस्तो कडा आशौच नमानेर ढाकछोप गरेर तथा नसुनाएर र नसुनेभैmँ गरेर पनि समाजमा काम गर्ने परम्परा पनि रहिआएको छ । जननाशौच पर्दा कूष्माण्डीहोम गरेर विवाहादि गर्ने पक्ष पनि शिष्टसम्मत भएको कुरा मुहूर्तमार्तण्ड भन्ने ग्रन्थको उल्लेखबाट समेत बुझिन्छ ‑विवाहप्रकरण, ५३ श्लो.) ।
बितिसकेपछि सुनेको जननाशौच ‑सुत्केरो) त बाबुलार्र्ई पनि लाग्दैन भन्ने र त्यस्तामा बाबुले स्नानसम्म गर्नपर्छ भन्ने मनुस्मृतिको उक्ति पनि स्मरणीय छ ।
निर्दशं ज्ञातिमरणं श्रुत्वा पुत्रस्य जन्म च ।
सवासा जलमाप्लुत्य शुद्धो भवति मानवः ।। (५।७७) ।
गर्भपतनमा आशौच
गर्भ तुहिएमा जति महिनाको गर्भ तुहिन्छ त्यति रात बितेपछि चोखिन्छ भन्ने कुरा याज्ञवल्क्यस्मृतिमा पाइन्छ- गर्भस्रावे मासतुल्या निशाः शुद्धेस्तु कारणम् (३।२०) । मनुस्मृतिमा पनि यो विषय आएको छ (५।६६) । यस विषयमा त्यहाँ अरू वचन नभएकाले बाँच्न योग्य अंगप्रत्यंग विकसित नभएको गर्भ तुहिएमा जति महिनाको गर्भ तुहिन्छ त्यति रात बितेपछि चोखिने कुरा त्यहाँ मानिएको बुझिन्छ । किन्तु त्यो अशुद्धि कसको हो भन्ने त्यति स्पष्ट छैन ।
मनुस्मृतिको प्रकरण हेर्दा त्यो अशुद्धि जसको गर्भ तुहिन्छ त्यसै स्त्रीको हो भन्ने प्रतीत हुन्छ । अरू ग्रन्थका आधारमा चार महिनासम्मको गर्भ तुहिएमा जसको गर्भ तुहिन्छ त्यो स्त्री चार रातपछि शुद्ध हुने र गर्भकर्ता ‑बाबु) स्नानले शुद्ध हुने तथा सपिण्डलार्र्ई (सात पुस्ताभित्रका बन्धुहरूलाई) पनि सूतक ‑सुत्केरो) नलाग्ने, ती पनि स्नानले नै शुद्ध हुने कुरा बुझिन्छ ।
पाँचौं-छैटौँ महिनामा गर्भ तुहिएमा जसको गर्भ तुहिन्छ त्यो स्त्री जति महिनाको गर्भ तुहिएको छ त्यति रात बितेपछि शुद्ध हुने र गर्भकर्ता ‑बाबु) तीन रातपछि शुद्ध हुने कुरा अरू ग्रन्थका आधारमा बुझिन्छ । त्यस्तामा वासिष्ठधर्मसूत्रअनुसार सपिण्डहरूलार्र्ई पनि तीन दिन सूतक लाग्ने बुझिन्छ (४।३४) । सातौँ महिनादेखि जातक जन्मेकामा भने जीवित जन्मेर जीवितै रहे पनि, मरेको जन्मे पनि, जन्मेर जन्मनेबित्तिकै मरे पनि आमा, बाबु र सपिण्डहरूलार्र्ई पूरै दश दिन आशौच लाग्ने कुरा अरू कतिपय स्मृति, पुराण इत्यादिका वचनहरूबाट बुझिन्छ ।
पारस्करगृह्यसूत्रबाट भने यी कुनै पनि आशौच आमाबाबुबाहेक अरू सपिण्डहरूलाई (सात पुस्ताभित्रका बन्धुहरूलाई) नलाग्ने देखिन्छ । सूतकभित्रै जातक मरेमा जन्मदेखि १० दिनसम्म आमाबाबुलार्र्ई मात्र सूतक लाग्ने र मरणाशौचको विचार गर्न नपर्ने कुरा पारस्करगृह्यसूत्रबाट बुझिन्छ- अद्विवर्षे प्रेते मातापित्रोराशौचम्, शौचमेवेतरेषाम्, अन्तःसूतके चेदोत्थानादाशौचं सूतकवत् (३।१०।२-६) ।
पारस्करका वचनहरूबाट अन्य स्मृति-पुराणादिले प्रतिपादित गरेका उपर्युक्त प्रकारका परिस्थितिहरूमा शुक्लयजुर्वेदका अनुयायी सपिण्डहरूले आशौच बारेर नित्यकर्म छाड्न नहुने छाडेमा प्रत्यवाय हुने (दोष लाग्ने) देखिन्छ । अवैध संग्रहबाट जन्मेर बन्धुजस्ता हुन आएका असवर्णहरूको त जन्म र मृत्युमा कुनै जुठो-सूतक नलाग्ने कुरा पनि पारस्करगृह्यसूत्रबाट बुझिन्छ ।
वैदिक धर्मकर्मको आचरण मूल रूपमा आआफ्ना वेदशाखासूत्र अनुसार चल्ने हुँदा त्यस विषयमा निर्णय दिने गुरु, पुरोहित, र पण्डितहरूले तदनुसार नै निर्णय दिनुपर्छ । धर्मसिन्धु निर्णयसिन्धु वा अन्य आधुनिक ग्रन्थका आधारमा मात्र निर्णय दिनु हुँदैन । यस विषयमा आस्तिक समाज पनि सावधान हुनुपर्छ ।