सातामा सेयर बजार: करिब तीन अर्बको कारोबार
काठमाडौँ: धितोपत्र बजारमा यो साता रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो।
कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम हो। स्टककाअनुसार गत साता रु तीन अर्ब ३५ करोड सात लाख ११ हजार बराबरको सेयर कारोबार भएको हो। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ९० अङ्कले घटेर अन्तिम दिन एक हजार ५८९ दशमलव ५९ अङ्कमा पुगेको छ।
'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १९ अङ्कले बढेर ३३७ दशमलव ६१ अङ्कमा आइपुगेको छ। यससाता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। सो बैंकको रु २३ करोड ७५ लाख १० हजार बराबरको कारोबार भएको स्टकले जनाएको छ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । सो स्किमको दुई लाख १५ हजार कित्ता सेयर कारोबार भएको थियो । यो सात विभिन्न आठ कम्पनीका बोनस र हकप्रद सेयर समेत स्टकमा सूचीकृत भएका छन्। रासस