सुर्तीविरुद्धका अभियन्ता
सुर्तीजन्य पदार्थले प्रयोगकर्तामध्ये आधालाई मार्छ । सुर्तीले बर्सेनि ७० लाखभन्दा बढी मानिस मार्छ । ६० लाख बढी मानिस प्रत्यक्ष सुर्ती सेवन गर्छन् भने आठ लाख ९० हजार सुर्ती सेवन नगर्ने तर वातावरणमा रहने पर्छन् । नेपाल सुर्तीजन्य पदार्थको अत्यधिक सेवनको खतरामा छ । विश्व स्वास्थ्य संगठनअनुसार नेपालमा झन्डै ६७ प्रतिशत पुरुष र २५ प्रतिशत महिला सुर्तीजन्य पदार्थ उपभोग गर्ने गर्छन् ।
दुई हजार बढी शिविर र अस्पतालमा मुख परीक्षण गर्दा ७१.४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाएको छु । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा धूमपानका कारण बर्सेनि २२,००० व्यक्तिले ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगको उपचारमा सरकारले प्रत्यक्षरूपमा वार्षिक ६ अर्ब र परोक्ष रूपमा ५० अर्ब बढी बजेट खर्च गर्ने गरेको छ।
विश्वमा धुवाँरहित वातावरणमा सास फेर्न १८ प्रतिशत जनता मात्र कानुनतः सुरक्षित छन् । सुर्ती सेवनकर्तालाई धूमपान त्याग्न २४ देशले अर्थात् विश्व जनसंख्याको केवल १५ प्रतिशतले मात्र सेवा प्रदान गरेका छन् र एकचौथाइ कम आय भएका देशमा यस्तो कुनै पनि प्रकारको सेवा छैन । खोलमा सचित्र राख्ने राम्रो अभ्यास भएका अर्थात् स्थानीय भाषामा रहेका र अगाडि तथा पछाडि दुवै भागमा ५० प्रतिशतमा चित्र रहेका खोल भएका सुर्तीजन्य पदार्थ पाइने ४२ मात्र देश छन्, जुन विश्व जनसंख्याको १९ प्रतिशत हो । विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध गर्दा सुर्तीको उपभोग सातदेखि १६ प्रतिशतले घटेको देखाएको छ । पूर्णरूपमा प्रतिबन्ध लगाउने २९ देश अर्थात् विश्व जनसंख्याको १२ प्रतिशत छ । हरेक तीन देशमध्ये एकमा एकदम कम वा प्रतिबन्ध नै छैन । जवान र गरिबमा सुर्तीको उपभोग कम गराउने एक सर्वोत्तम उपाय कर बढाउने हो।
सुर्तीमा १० प्रतिशत कर बढाउँदा विकसित देशमा चार र कम तथा मध्य आय भएका देशमा पाँच प्रतिशत उपभोग घट्छ । केवल ३३ देशले अर्थात् १० प्रतिशत जनसंख्या मात्र सुर्ती करमा छन् । सुर्तीकरबाट आउने पैसा नियन्त्रणमा भन्दा दुई सय ६९ गुणा बढी रहने गरेको छ । हरेक १० सिग्रेटमा एक कर बाहिर छ।
एक हप्तादेखि चार हप्तासम्म धूमपान नगरेमा यसको लत पूरै त्याग्न सकिन्छ । त्यसैले आत्मबलको विकास गरी धूमपान त्याग्नुहोस् र स्वस्थ र दीर्घायु जीवन रोज्नुहोस् ।
एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनट घटाउँछ । त्यसैमा पनि धूमपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर कष्टरहित र गुणस्तरयुक्त जीवन बँँच्न सक्दैन । वरिपरि बस्ने मानिसलाई पनि खराब असर पुर्याउँछ । निकोटिनले १० सेकेन्डमै मस्तिष्कमा असर गर्न सुरु गर्छ, रक्तनलीहरूमा रगतका डल्लाहरू बनाउँदै सर्दै मस्तिष्क र मुटुमा गए आकस्मिक मृत्यु हुन्छ । व्यक्तिको हिँड्दाहिँड्दै, काम गर्दागर्दै, सुतेकै अवस्थामा पनि मृत्यु हुन सक्छ ।
अमेरिकी साहित्यकार मार्क ट्वेनले धूमपान छोड्ने क्रममा भनेको पंक्ति याद आउँछ- धूमपान छोड्ने कुन ठूलो काम हो र मैले धेरैपटक धूमपान छोडिसकेको छु । त्यस्तै धूमपान छोड्न चाहँदाचाहँदै नसकेका थुप्रै व्यक्तिहरू छन् हाम्रो समाजमा । चुरोट खानेमध्ये ७० प्रतिशतले चुरोट छोड्न चाहेका तर करिब ३५ प्रतिशतले मात्र हरेक वर्ष चुरोट छोड्ने प्रयास गरेका र केवल पाँच प्रतिशत कमले मात्र सफलता पाउँछन् । तसर्थ हामी भन्छौं- चुरोट सुरु नगर्नु नै बेस हो । धूमपान फेसनबाट सुरु भएर लतमा परिवर्तन हुन्छ । त्यसकारण लत हटाउनुभन्दा लत लाग्न नदिनु नै अति उत्तम हो, तर लत लागिसकेको छ भने आफनो मन र इन्द्रियलाई नियन्त्रण गर्न नसक्नेले चाहेर पनि धूमपान त्याग्न सक्दैन । धूमपानको लत दृढ आत्मबल र इच्छाशक्तिले मात्र हटाउन सकिन्छ । कुनै अचुक औषधि वा काइदा छैन।
यदि धूमपान भरखरै सुरु गर्नुभएको छ भने धूमपान छोड्ने दृढइच्छा गरेर मन बाँध्नुस्, मुखले होइन मनले निर्णय गर्नुस् र भोलिदेखि होइन, अहिलेदेखि छोड्नुस् र पकेटमा छ भने फालिहाल्नुस् र फेरि कहिल्यै त्यसको संगत नगर्नुस् । लामो समय भएको छ भने विस्तारै-विस्तारै क्रमिक रूपमा कम गर्दै अम्मल छुटाउन सक्नुहुन्छ किनभने एकैपटक सुर्ती छोडेमा छटपटी हुने, सोच्ने शक्ति कम हुने, खाना नरुच्ने र शरीर शिथिल हुने हुन्छ ।
दह्रो आत्मबलका साथ धूमपान त्याग्ने अठोट गरेमा अवश्य पनि सफल भइन्छ । यसरी प्रयास गर्दागर्दै पनि पुनः सुरु गर्न सक्ने सम्भावना करिब एक महिनासम्म अधिक रहन्छ । धूमपानको तलतल धूमपान छोडेको दुईतीन दिनसम्म अत्यधिक रहन्छ र त्यसपछि यो क्रम कम हुँदै जान्छ र खानामा रुचि बढ्न थाल्छ । एक हप्तादेखि चार हप्तासम्म धूमपान नगरेमा यो लत पूरै त्याग्न सकिन्छ । आत्मबलको विकास गरी धूमपान त्याग्नुहोस् र स्वस्थ र दीर्घायु जीवन रोज्नुहोस् ।
जनताको भावना बुझ्न उपत्यकामा १५ सय नागरिकमा गरिएको सर्वेक्षणमा सबैले नियन्त्रण गर्न चुरोटमा कर लगाउन र सार्वजनिक स्थलमा कडाइका साथ निषेध गर्नुपर्नेमा जोड दिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बताएको छ । त्यसो त विगतको सर्वेक्षणमा समेत ९६ प्रतिशत नेपालीलाई धूमपान स्वास्थ्यको लागि हानीकारक भएको जानकारी छ । माओवादी जनयुद्धमा बाह्रबर्से अवधिमा १४ हजारको ज्यान जाँदा धेरैले गुनासो गरे तर सुर्तीले १२ वर्षमा होइन, एक वर्षमा २२ हजारको अनाहकमा ज्यान लिँदा हामी सबै चुप छौं । साउथ एसिया टोबाको कन्ट्रोल लिडरसिप प्रोगाममा आएका देशका टोलीलाई सरकारले भनेको तथ्यमा स्थलगत अध्ययन गर्दा पनि व्यवहारमा नरहेको देखाएको छ । नेपालमा भूकम्पभन्दा तीन गुणा बढीको ज्यान लिइरहेको महाविपत्ति किन नरोक्ने ?
चेन स्मोकर गगन थापाले संसद्मा छलफलमा रहेको सचित्र खोल ३० प्रतिशतबाट ७० प्रतिशत छाप्ने धूमपान ऐनको बिल पास गर्न ७५ प्रतिशत सांसद जरुरतमा अभियान चाल्न युवा सांसदको रूपमा लत त्यागेर अभियन्ता बनेका थिए । धूमपान त्यागेर म स्वस्थ र मेरो देश स्वस्थ अभियानमा लागिपरेका छन् भने अन्यले किन छोड्न नसक्ने ? सरकारको जिम्मेवारी नागरिकलाई शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, गा“स, बास र कपास आदि आधारभूत आवश्यकता पूरा गर्ने दायित्व हो कि नागरिकलाई रोगी बनाई आफूले राजस्व असुल्ने हो ? के यसरी सन् २०३० सम्ममा सुर्तीमुक्त पुस्ता र राष्ट्र बनाउन सकिएला त ?