मान्छे जब 'सामान' बन्छ
काठमाडौं : सुन्दर संसार सजाउने सपना बोकेर बिदेसिएको छोरो जब सामान बनेर कार्गोमा फर्कन्छ तब त्यो परिवारको अवस्था कस्तो होला ? गरिबी र अभावले बिदेसिनुपर्ने अवस्था र फर्कंदा लास बनेर डब्बामा सामानजस्तै फर्कनु पक्कै विकल्पहीन दुःख र पीडा हो । आमनेपाली यो बाध्यतालाई स्वीकार्न विवश छ । जब अन्य वस्तु (सामान)जस्तै किलोमा नापेर हिसाब गरी फर्किने काम हुन्छ, न्याय दिनुपर्ने सरकार आजसम्म मौन बस्नु कति उचित हुन्छ ? यसै सेरोफेरोलाई 'सामान'ले सजीव रूपमा उतारेको छ ।
३२ मिनेट अवधिको 'सामान' एउटा प्रयोगात्मक लघुचलचित्र हो । खाडी लगायतका मुलुकबाट प्रायः हरेक दिन नेपाल ल्याइने शव बाकस (कोफिन) हरू र विदेशी भूमिदेखि नेपाल ल्याउनेसम्मको झन्झटिलो कानुनी प्रक्रियालाई सामानले जीवन्त चित्रण गरेको छ । विश्व मानवअधिकारको अभिसन्धिभित्र संयुक्त राष्ट्रसंघबाट समेत सम्बोधन हुन नसक्नु र नेपाल लगायतका देशका सरकारहरूसमेत यस विषयमा गम्भीर हुन नसक्नु विडम्बना भएको सामानका कथाकार एवं निर्देशक विजय विस्फोटले बताउनुभयो ।
राष्ट्रिय नाचघर जमलमा शनिबार गरिएको पहिलो प्रदर्शनीमा उहाँले भन्नुभयो, 'विभिन्न कारणवश मृत्यु भई एक ठाउँबाट अर्को ठाउँमा कार्गोबाट पुर्याइने शव बाकसमा मृत मानव शरीरलाई कुनै वस्तुसरह नै कार्गो कम्पनी अनि एअरलाइन्सहरूले ढुवानी वस्तुको सूचीमा राख्ने गरेकाले यसतर्फ सरोकारवालाको ध्यान गम्भीर रूपमा जाओस् भन्ने सामानको उद्देश्य हो ।'
'सामान' निर्माणको उद्देश्य ओझेलमा रहेको विषयलाई संयुक्त राष्ट्रसंघ, मानवअधिकारवादी संघसंस्था तथा नेपाल सरकार र अन्य देशका सरकारहरूको ध्यानाकर्षण गराउनु रहेको बताइएको छ । डक्युड्रामा हेरेपछि नाटकमा विशिष्ट पहिचान बनाएका अशेष मल्लले सामानले आमनेपालीको जीवन्त चित्रण गरेको प्रतिक्रिया दिनुभयो ।
नाट्य संस्था रंग सारथिले निर्माण गरेको लघुचलचित्र मूलतः अन्तर्राष्ट्रिय रूपमा प्रचलित 'डक्युड्रामा' हो । रंगकर्मी विजय विस्फोटले यसको कथा÷पटकथा÷निर्देशन गर्नुभएको हो । कार्यकारी निर्माता कुमारराज शर्मा र शंकर मैनाली हुनुहुन्छ । सामानमा एसबी शाही, ज्योति राई, शंकर मैनाली, रोहानी लामा, दिलीप खड्का, सरिता शाह, सरस्वती अधिकारी, राज भट्टराईलगायत एक दर्जनले अभिनय गरेका छन् ।