मालिनी लिएर युरोपमा
काठमाडौं : युरोपमा लोकप्रिय यामेच्योर नाट्य संस्थाको छाता संस्थाको निमन्त्रणामा थिएटर भिलेज असार ६ गते 'मालिनी : द प्रिन्सेस अफ गार्डेन' नाटक लिएर २१ दिने यात्रामा निस्कँदैछ । रवीन्द्रनाथ टेगोरको नाटक 'मालिनी'को एक नयाँ व्याख्याका रूपमा तयार भएको यो नाटक बर्लिनलगायत जर्मनीका विभिन्न सहर र बेल्जियममा मञ्चन हुनेछ । यो यात्रामा कलाकारले युरोपका केही प्रसिद्ध नाट्य संस्थाबाट कार्यशाला र तालिमसमेत लिनेछन् । निर्देशक विमल सुवेदीले युरोपका नाट्य समूहलाई कार्यशाला र तालिम दिनेछन् ।
सुवेदीको निर्देशन रहेको यो नाटकमा राजेन्द्र श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहेको छ । दिलीप रानाभाटको ध्वनि व्यवस्थापन र विपुल पाण्डेको प्रकाश संयोजन रहेको यो नाटक जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन् । सन् २०१४ मा यो नाटक 'नेसनल अक्याडमी अफ पर्फर्मेन्स आर्ट' पाकिस्तानमा मञ्चन भएको थियो ।
सन् २०१६ मा भारतका हरियाणा, राजस्थान, गोवालगायत विभिन्न सहरमा त्यहाँको संस्कृति मन्त्रालयसँगको सहकार्यमा थिएटर भिलेजले यो नाटक मञ्चन गरेको थियो । भौतिक रूपमा नाटकघर बन्द भएपछि पनि नेपाली नाटकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन बेलायत, भारत, पाकिस्तानको यात्रापछि थिएटर भिलेज यसपटक युरोप यात्रामा निस्केको हो । यो यात्रापछि अन्तर्राष्ट्रिय नाटकबाट केही समय वि श्राम लिँदै थिएटर भिलेज नेपालमा नयाँ नाटकघर निर्माणमा जुट्ने जानकारी थिएटरका अध्यक्ष जिवेश रायमाझीले दिएका छन् ।