अलैंची खेतीबाट लाखौं आम्दानी

अलैंची खेतीबाट लाखौं आम्दानी

फिदिम : फालेलुङको अंशुभञ्ज्याङका पविन्द्र फागो (पदमकुमार) ले बाल्यकालकोे सपना पूरा गर्न सक्नुभएन । आफ्नो सपनासँगै उहाँले परिवार र आफन्तको योजना पनि विफल बनाउनुभयो । योजना विफल भए पनि अलैंचीखेतीबाट उहाँ औधी खुसी हुन्नुहुन्छ ।

बुवा सिंहबहादुर फागो र आमा दिलमाया सुहाङको (फागो) जेठो सन्तानको रूपमा २०१८ सालमा सुभाङको आप्लासेस्थित मावली घरमा जन्मिएका पविन्द्रलाई किसानका रूपमा देख्ने कसैले कल्पना गरेका थिएनन् । बुवा भारतीय सैनिक भएकाले छोरालाई पनि भविष्यमा लाहुरे बनाउने परिवारको योजना थियो । धेरै पढेर नेपालमै राम्रो जागिर खाने, त्यसो नभए बुवाजस्तै लाहुरे बन्ने उहाँको सपना थियो ।

कक्षा १० सम्मको अध्ययन गर्नुभएका पविन्द्र न त जागिरे बन्नुभयो न त बुवाजस्तै लाहुरे । उहाँले आम नेपालीले जस्तै खेती गर्न थाल्नुभयो । परम्परागत रूपमा गरिएको निर्वाहमुखी खेतीबाट आर्थिक उन्नति नभएपछि २०५३ सालदेखि अलैंचीखेती सुरु गर्नुभयो । अलैंचीखेतीमा होमिनुभएका पविन्द्रले वार्षिक लाखौं कमाउनुहुन्छ । अहिले उहाँ सफल र नमुना किसानको रूपमा परिचित हुनुहुन्छ ।

छोराछोरीलाई राजधानीलगायत देशका सुविधा सम्पन्न सहरका राम्रा कलेजमा पढाउनुभएको छ । छोराछोरीको पढाइका लागि मासिक ६० हजार खर्च हुन्छ । अन्नपूर्ण

अलैंचीखेतीमा लाग्ने प्रेरणा उहाँले इलामबाट पाउनुभएको हो । इलामको मावोमा पाहुँना जाँदा अलैंचीखेतीबाट प्रभावित हुनुभयो । भिरालो, चिसो र पाखा भित्तामा अलैंची फलेको देखेपछि आफ्नो घरमा पनि राम्ररी अलैंचीखेती गर्न सकिने अनुमान लगाउनुभयो । पाहुँना बनेर मावो पुगेका उहाँले ३५ बोट अलैंचीका बिरुवा भारी बोकेर घर फर्कनुभयो । त्यही अलैंचीलाई हुर्काएर अलैंचीको बगान विस्तार गर्नुभयो । अहिले ७३ रोपनी जमिनमा अलैंची बगान फैलाउनुभएको छ । १० जना युवालाई रोजगारी दिएको उहाँ बताउनुहुन्छ । 'बाल्यकालको सपना पूरा भएको भए जागिरे हुने थिएँ', फागोले भन्नुभयो, 'अलैंचीखेती थालेकाले मैले १० जना युवालाई रोजगारी दिलाएको छु ।'

पविन्द्रले अलैंचीखेतीका लागि निकै मेहनत गर्नुभयो । पानी झरी नभनि पाखा भित्तामा अलैंची रोपेर गोडमेल गरेको उहाँको विगत ताजै छ । 'बिरुवा हुर्काएपछि तीन रोपनी जमिनबाट अलैंचीखेती सुरु गरेँ । अहिले ७३ रोपनी जमिनमा अलैंचीखेती विस्तार गरेको छु', उहाँले भन्नुभयो, 'अलैंचीखेतीबाटै करोडौं कमाएको छु । आम्दानीको हिसाब त्यति राम्रो राखेको छैन । यसैको आम्दानीबाटै घर व्यवहार सञ्चालन गरेर केही बचत गरेको छु ।'

उहाँले अधिकतम ३६ मनसम्म अलैंची उत्पादन गर्नुभएको छ । २०७२ सालमा आफ्नै अलैंची बगानमा उत्पादन भएको ३६ मन अलैंची बिक्री गरेर २८ लाख ८० हजार रुपैयाँ बचत गरेको उहाँको भनाइ छ । उहाँको बगानमा रामसाई, गोलसाई, चिभेसाई जातका अलैंची रोपिएको छ । अलैंचीखेती गर्न थालेको २१ वर्ष अवधिमा झन्डै एक करोड रुपैयाँ बचत गरेको पविन्द्रको दाबी छ । 'अलैंचीखेतीबाटै लाखौं कमाएको छु', उहाँले भन्नुभयो, 'म अलैंचीखेतीबाट अत्यन्त सन्तुष्ट छु ।'

पविन्द्रले अलैंचीखेतीकै लागि वार्षिक चार लाख खर्च छुट्याउनुहुन्छ । एक छोरा र नौ छोरीलाई यसैको आम्दानीले शिक्षा दीक्षा दिलाउनुभयो । छोराछोरीको पढाइका लागि हजारौं खर्च गर्न उहाँलाई समस्या छैन । छोराछोरीलाई राजधानीलगायत देशका सुविधा सम्पन्न सहरका राम्रा कलेजमा पढाउनुभएको छ । छोराछोरीको पढाइका लागि मासिक ६० हजार खर्च हुन्छ ।

रोगकीराको प्रकोपले अलैंची उत्पादनमा ह्रास आएको बेला पनि उहाँको न्यूनतम १३ लाख आम्दानी हुन्छ । गत तीन वर्षमा रोगकीराको प्रकोपले बगान सखाप भए पनि अहिले सुधार हुन थालेको छ । आफ्नै प्रयत्न र लगानीबाट पविन्द्रले अलैंचीखेती सुरु गर्नुभएको हो । अलैंचीखेतीमा राम्रो लगाव देखेपछि जिल्ला कृषि विकास कार्यालय पाँचथरले उहाँलाई औषधि, बिउ, पाइपलगायत सहयोग गरेको छ । कृषि सेवाकेन्द्रमार्फत पाएको सुधारिएको अलैंची भट्टि प्रभावकारी नभएको उहाँ बताउनुहुन्छ ।

भिरालो र ओसिलो जमिनमा अलैंचीखेती गरिने भएकाले बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले बगानमा क्षति पुर्‍याएको छ । खडेरीका कारण अलैंची उत्पादनमा ह्रास आउने गरेको उहाँ बताउनुहुन्छ । अलैंचीखेतीका लागि आधुनिक प्रविधिको प्रयोग नगरेको पविन्द्रको भनाइ छ । खेतीका लागि उहाँ आधुनिक प्रविधिको औजार प्रयोग गर्ने योजनामा हुनुहुन्छ ।

पविन्द्रले अंशुभञ्ज्याङमै किराना पसल पनि सञ्चालन गर्नुभएको छ । अलैंचीको आम्दानीबाट व्यापार बढाउन लागेको उहाँले बताउनुभयो । अलैंचीखेतीमा कम मेहनत, छोटो समय र थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने उहाँको ठहर छ । आगामी दिनमा व्यावसायिक अलैंचीखेतीका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने र खेतीलाई आधुनिक बनाउँदै लैजाने पविन्द्रको योजना छ । क्याप्सन : फल लाग्न लागेको अलैंची देखाउँदै पविन्द्र फागो ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.