एउटै रूप अनेक अनुहार
स्थानीय तहको निर्वाचन पुन: अनिश्चित भएको छ । प्रदेश नम्बर २ का जिल्लाहरूको निर्वाचन असोज २ गते सारिएको छ । प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन असार १४ हुने तय भएको छ । प्रदेश नम्बर २, ४ र ६ को निर्वाचन बैशाख ३१ गते नै सम्पन्न भइसकेको छ । नेपालीहरू ७५ जिल्लासित परिचित र अभ्यस्त छन् र उनीहरूको मानसपटलमा त्यही बसेको छ । उनीहरूलाई कुन जिल्ला कुन प्रदेशमा पर्छ र कुन प्रदेशमा कुन-कुन जिल्ला पर्छन् भनेर सोधिँदा तुरुन्त जवाफ दिन सक्दैनन् ।
संघीयता साँच्चैको लागू नै भयो भने पनि यो तथ्य उनीहरूको मानसपटलमा बस्न धेरै वर्ष लाग्नेछ । संघीयताको नाश भयो भने नेपालीहरूले यो सानो कष्ट पनि भोग्नुपर्ने छैन । संघीयताको संघर्षमा कुन जिल्ला कता पर्ने हो अथवा नेपालमा कतिवटा प्रदेश बन्ने हो र कतिवटा कायम हुने हो कसैले भन्न सक्ने अवस्था छैन । आठवटा प्रदेश बनाउन निर्णय गरेर ६ वटा मात्र खडा गरेको हामीले देखेकै हौं । ६ वटाबाट सात पुर्याएको पनि हामीले व्यहोरेकै हौं । संख्याले भन्दा ठूलो झगडा सिमांकनले ल्याएको तथ्य पनि हाम्रो अगाडि खुलेको हो । प्रदेश नम्बर ५ का केही जिल्ला ४ नम्बरमा समाविष्ट गर्दा ठूलो जनलहरले रोकेको पनि प्रस्ट भएको हो । भन्नुको तात्पर्य संघीयताको कार्यान्वयन अझ पनि तरल, अनिश्चित र भयावह नै छ ।
गजबको कुरा त के छ भने निर्वाचनसित संविधान संशोधन जोडिएको छ । छितरिएका तराईकेन्द्रित दलहरू एउटै छातामुनि आएर राष्ट्रवादी जनता पार्टी बनाइएको छ । छरिएर बसेका पार्टीहरू एकत्रित भएको देख्दा खुसी नै लाग्छ । उनीहरू अरू बलिया पनि हुन्छन् र दलगत राजनीति बुझ्न र बुझाउन अलि सजिलो पनि हुन जान्छ । यो पार्टीले बटमलाइन र सबभन्दा महत्वपूर्ण मानेको सिमांकनको माग परित्याग गरेको छ । प्रदेश नम्बर ५ का जिल्लामा भएको व्यापक जनविरोधको अगाडि त्यो मागको उच्चारण गर्न छोडेको छ । संसद्मा प्रस्तावित संविधान संशोधनमा नै आफ्नो चित्त बुझाउन खोजेको छ ।
बाह्रबुँदे सम्झौता मानेका सबै दलहरूको अनेक अनुहार भए पनि आखिर भित्री रूप त एउटै छ । सो तथ्य नौ-नौ महिना सत्तामा बस्ने सम्झौताबाट पनि साबित हुन्छ । शेरबहादुर देउवालाई हेरिरह्यो भने एकछिनमा पुष्पकमल दाहाल देखिन थाल्छ । अर्को क्षणमा महन्त ठाकुर देखिन थाल्छ । त्यहाँ धमिलो भए पनि ओलीको अनुहार पनि आउँछ । गर्दागर्दा नरेन्द्र मोदीको छाया पनि देखिन थाल्छ ।
वर्तमान संशोधनमा सिमांकनको धारा काटिएको छ । नागरिकता, भाषा, प्रतिनिधित्व आदिबारे मात्र यसमा समावेश गरिएको छ । यति मात्र पारित भए पनि सन्तोष गर्ने वचन दिएको छ । तर दुईतिहाइको समर्थन जुटाउन नसकेकाले यो प्रस्ताव पनि झुन्डिएर बसेको छ । यसलाई पारित नगराईकन आसन्न निर्वाचन हुन नदिने प्रतिज्ञा गरेको छ । प्रदेश नम्बर २ का जिल्लामा निर्वाचन सारेर नेपाल सरकारले सो पार्टीलाई अरू जिल्लामा आफ्नो आन्दोलन चर्काउन सहयोग पनि गरेको छ । राजपाले आफ्ना कार्यकर्तालाई अरू जिल्लामा विरोध गर्न पठाउन सहज भएको बताएको छ । सो पार्टीलाई जुन प्रकारले निर्वाचनमा भाग लिन मनाउने प्रयत्न भइरहेको छ, त्यसबाट सरकारले उसको आन्दोलनमा सहयोग पुर्याएको देख्दा स्वाभाविकै मान्नुपर्ने हुन्छ ।
स्वाभाविक मान्न सकिने कारण हो- संविधान सशोधनपछाडि लुकेको कारण । संशोधनका मुद्दाहरू तराईका बासिन्दासित भन्दा भारतीय आप्रवासीहरूसित सम्बन्धित छन् । यी संशोधन पारित गर्नमा जति भारत सरकारले रुचि र गम्भीरता देखाएको छ, उति यसका प्रस्तावक र समर्थकहरूले देखाएका छैनन् । यसबाट यसमा लुकेको उद्देश्यमा आशंका गर्ने ठाउँ देखाउँछ । एकातिर संशोधनबाट नागरिकताको कानुन खुकुलो पार्ने र अर्कोतिर राजनीतिक प्रतिनिधित्व जनसंख्याको समानुपातमा हुने भएपछि सबभन्दा धेरै फाइदा भारतीय आप्रवासीहरूलाई हुन जान्छ ।
यसको प्रतिरोध र नेपालको स्वतन्त्रताको बचाउ गर्ने एउटै उपाय हो, भारतसितको खुला सिमानाको नियमन गर्ने । खुला सिमानाबाट नेपाल र भारत दुवै देशलाई कति हानि-नुक्सानी भइरहेको छ भन्ने खुलासा दुवै देशहरूले बराबर गर्दै आइरहेका छन् । यसको सजिलो र बलियो उपाय यसको नियमन गर्नु हो भन्ने पनि थाहा छ । तर कसैले पनि यो कुरा निकाल्दैनन्, किन ? किनभने खुला सिमाना राख्ने भारतीय स्वार्थबारे कसैले खुलेर बोल्न चाहँदैनन् । अनि झगडा भइरहन्छ, संशोधनको विषयमा । वास्तवमा प्रस्तावित संविधान संशोधन ठुलो कुरा होइन । त्यो एकै दिनमा पारित हुन सक्छ । तर खुला सीमा रहँदासम्म यो खतरनाक नै छ । त्यसैले जबसम्म खुला सीमा नियमन हुँदैन तबसम्म यो संशोधन पारित हुनु हुन्न । जुन दिन खुला सीमा नियमन हुन्छ, त्यस दिन यो पारित गरिदिनुपर्छ ।
यसतो सजिलो र प्रस्ट कुरा हुँदाहुँदै पनि नेपालका कुनै पार्टीले सो कुरा गर्दैनन् । त्यसको के कारण होला ? त्यसको कारण हो- एक रूप अनेक अनुहार । हाम्रा दलहरूको अनेक अनुहार देखिए पनि भित्र एउटै रूप भएको फेला पर्छ । यसलाई बुझ्न एउटा सानो कथाको सहयोग लिइएको छ । रामराज्य खडा गर्न अश्वमेध यज्ञ गरिएको थियो र एउटा घोडा छोडिएको थियो । त्यो घोडालाई वीरमणि भन्ने राजाले समाते र रामराज्य नमान्ने हाँक दिए । हनुमान उनीमाथि जाइलाग्न गए । वीरमणिलाई शिवजीबाट रक्षाको वरदान प्राप्त थियो र उनको आह्वान गरे ।
शिवजी प्रकट भए र हनुमानसित युद्ध गर्न तयार भए । शिवजी आफ्नो भक्तलाई बचाउन मजबुर थिए भने हनुमान आफ्नो मालिक रामको घोडा छुटाउन मजबुर थिए र त्यसको लागि शिवजीसित युद्ध गर्नु आवश्यक देखियो । युद्ध सुरु भयो र चर्किंदै गयो । शिवजीले जति बलियो प्रहार गरे पनि हनुमानको नाश हुन सकेन । अनि वीरमणिले अरू बलियो प्रहार गर्न अनुरोध गरे । शिवजीले धैर्य गर्न भने र राम्ररी नियाल्न भने ।
त्यसैबखत रामको पनि आगमन भयो । जब वीरमणिले शिवजीलाई नियाल्दै थिए, उनले एउटा विचित्र देखे । शिवजीको अनुहारमा रामको अनुहार देखा पर्यो । एकछिनपछि हेर्दाहेर्दै त्यहाँ हनुमान पनि देखा परे । उनले रामतिर दृष्टि दिए । क्षणमै त्यहाँ शिवजी देखा परे । अर्को क्षणमा हनुमान देखा परे । त्यही हाल हनुमानको अनुहारमा देखा पर्यो । अनि वीरमणिले बुझे यसको रहस्य । शिवजी, राम र हनुमान आखिर भिन्नभिन्न अनुहार लिएर हिँडेका भए पनि उनीहरूको भित्री रूप त एउटै रहेछ । उनले बुझे कि देखिएको युद्ध त एउटा तमासा मात्र रहेछ ।
यसलाई नेपालको राजनीतिमा जोडेर हेर्यौं भने चरितार्थ भएको देखिन्छ । बाह्रबुँदे सम्झौता मानेका सबै दलहरूको अनेक अनुहार भए पनि आखिर भित्री रूप त एउटै छ । सो तथ्य नौ-नौ महिना सत्तामा बस्ने सम्झौताबाट पनि साबित हुन्छ । शेरबहादुर देउवालाई हेरिरह्यो भने एकछिनमा पुष्पकमल दाहाल देखिन थाल्छ । अर्को क्षणमा महन्त ठाकुर देखिन थाल्छ । त्यहाँ धमिलो भए पनि ओलीको अनुहार पनि आउँछ । गर्दागर्दा नरेन्द्र मोदीको छाया पनि देखिन थाल्छ । वीरमणिले बुझेजस्तो नेपाली जनताले पनि यो तथ्य बुझ्न जरुरी छ ।