प्रज्ञा प्रतिष्ठानको यात्रा
आजभन्दा ६ दशकअघि २०१४ सालमा तत्कालीन नेपाल सरकारबाट नेपाल साहित्य कला एकेडेमीको नामबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । देशको सबभन्दा पुरानो विश्वविद्यालय स्थापना हुनुभन्दा दुई वर्षअघि नै प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । स्थापनाकालमा राजा महेन्द्रबाट यस प्रतिष्ठानको कुलपतित्व ग्रहण भएको थियो ।
यस प्रतिष्ठानको स्थापना भएको एक दशकपछि २०२६ सालमा राजाबाट कुलपतिको पद कवि केदारमान व्यथितलाई हस्तान्तरण भयो । त्यसपछि यस प्रतिष्ठानको कुलपति हुने सौभाग्य क्रमश: इतिहासकार सूर्यविक्रम ज्ञवाली, लेखक तथा कलाकार लैनसिंह वाङदेल, राष्ट्रकवि माधव घिमिरे, कवि तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र हाल कवि गंगाप्रसाद उप्रेतीको काँधमा पर्न गएको छ । नेपालमा गणतन्त्रको स्थापनाको साथै यसको नाममा सामान्य परिवर्तन गरी नेपाल प्रज्ञा प्रतिष्ठान राखियो । साथै गणतन्त्रपछि यस प्रतिष्ठानअन्तर्गत रहेको ललितकला र संगीत नाट्यकलाको निम्ति दुई छुटाछुट्टै प्रतिष्ठानको स्थापना गरियो । यसबाट नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्षेत्र केही मात्रामा साँघुरिन पुग्यो । तैपनि यस प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्र गरी पाँचवटा विधालाई आफ्नो कार्य क्षेत्रभित्र समेटेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य उद्देश्य नेपाली भाषालगायत अन्य भाषामा लेखिएका साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने-गराउने, मौलिक सिर्जनाको माध्यमद्वारा उपयोगी कृतिहरू तयार गर्ने-गराउने, प्राज्ञिक क्षेत्रमा योगदान पुर्याउने विद्वान् तथा विदुषीलाई सम्मान गर्ने, प्राज्ञिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने हो ।आफ्ना उद्देश्यहरूको प्राप्तिको निम्ति प्रज्ञा-प्रतिष्ठानले प्राज्ञ सभा, प्राज्ञ परिषद् र सेवा आयोगजस्ता निकाय गठन गरेको छ ।
हामीले अपठित भन्ने गरेको जनसमुदायको अपार सिर्जनशीलता लुकेर रहेका छन्, तिनको उजागर गर्नु पनि प्रज्ञा प्रतिष्ठानको दायित्व हो ।
प्रज्ञा प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा प्राज्ञ सभाको गठन गरिएको छ । यसको मुख्य काम प्राज्ञ परिषद्लाई मार्गनिर्देशन गर्नु, वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्नु, विद्वत्वृत्ति, सम्मान, प्रज्ञा मानार्थ सदस्यता तथा आजीवन सदस्यता प्रदान गर्नु, विद्वान, तथा विदुषीहरूलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्नु र प्रज्ञा प्रतिष्ठानको निम्ति आवश्यक नियम बनाउनु हो । प्राज्ञ सभामा कुलपति अध्यक्ष, उपकुलपति उपाध्यक्ष, संस्कृति मन्त्रालयका सचिव पदेन सदस्य, नेपाली तथा नेपालका अन्य राष्ट्रभाषा तथा तिनको साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट प्रधानमन्त्रीबाट मनोनत पैंतीस जना सदस्य र प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रज्ञा सभाका सचिव हुने व्यवस्था गरिएको छ । प्रधानमन्त्री प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक र संस्कृतिक मन्त्री संरक्षक हुने परम्परा रहहिआएको छ ।
प्रज्ञा प्रतिष्ठानको कार्यकारी निकायको रूपमा प्राज्ञ परिषद् रहेको छ । यसको मुख्य काम प्राज्ञ सभाका निर्णयहरू कार्यान्वित गर्ने, सभाद्वारा दिइएको निर्देशनहरू पालन गर्ने-गराउने र प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेट सञ्चालन गर्ने कुरा पर्छ ।
प्राज्ञ परिषद्मा कुलपति अध्यक्ष, उपकुलपति उपाध्यक्ष, प्रधानमन्त्रीबाट मनोनीत बढीमा विभिन्न विधा र क्षेत्रका आठजना विज्ञहरू र प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव, सचिव हुने व्यवस्था गरिएको छ । प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरूको स्थायी नियुक्ति र बढुवाको सिफारिस गर्न लोक सेवा आयोगले तोकेको एकजना सदस्य अध्यक्ष, प्राज्ञ सभाले तोकेको सभाका एकजना सदस्य र प्रज्ञा प्रतिष्ठानका सचिव सदस्य-सचिव रहने गरी सेवा आयोगको गठन गर्ने व्यवस्था गरिएको छ । प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत कविता महोत्सव, भानुजयन्ती, प्रवचन तथा गोष्ठी, विद्त्वृत्ति, राष्ट्रिय प्रतिभा उपचार कोष, साहित्यिक पत्रिका सहयोग कोषको साथै प्रज्ञा पुरस्कारहरूको व्यवस्था गर्दछ ।
प्रज्ञा प्रतिष्ठानले प्रत्येक चार वर्षमा एकजना सिर्जनशील प्रतिभालाई महाराजा पृथ्वीनारायण शाहको नामबाट स्थापित पृथ्वी प्रज्ञा पुरस्कार, नेपालका भाषासम्बन्धी योगदान पुर्याउने भाषाविद्लाई प्रत्येक दुई वर्षमा नेपाल प्रज्ञा भाषा पुरस्कार, सामाजिक शास्त्र, संस्कृति र दर्शनमा योगदान पुर्याउने विद्वान् तथा विदुषीलाई हरेक दुई वर्षमा नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति र दर्शन पुरस्कार, हरेक वर्ष सिर्जनशील नेपाली साहित्यकारलाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, प्रत्येक वर्ष पहाडमा बोलिने मातृभाषाका साहित्यमा योगदान गर्ने विद्वान् तथा विदुषीलाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, प्रत्येक वर्ष तराईमा बोलिने मातृभाषको साहित्यमा योगदान गर्ने विद्वान् तथा विदुषीलाई नेपाल प्रज्ञा भातृभाषा साहित्य पुरस्कारबाट विभूषित गर्ने गरिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाका अतिरिक्त नेपालमा बोलिने अन्य भाषाका साथै अंग्रेजी भाषामा अनुसन्धानात्मक कृति, सन्दर्भ तथा स्रोत ग्रन्थहरू प्रकाशित गर्ने गर्छ । यसबाहेक यसले प्रज्ञा, कविता, समकालीन साहित्य र सयपत्री जस्ता पत्रपत्रिका प्रकाशित गर्ने गर्छ । यसका अतिरिक्त प्रज्ञा प्रतिष्ठानले नेपालमा बोलिने विभिन्न भाषाका पत्रिका पनि प्रकाशित गर्ने गर्छ । यस्ता पत्रपत्रिकामा मैथिली भाषामा आँगन, नेवारी भाषामा थापयु, लिम्बू भाषामा फकतालु पर्छ । यसबाहेक भोजपुरी भाषा साहित्यको वार्षिक प्रकाशन महुवाको प्रकाशन पनि गर्ने गर्छ ।
यस प्रतिष्ठानले चौमासिक समाचारप्रधान पत्रिकाको रूपमा प्रज्ञा गतिविधि प्रकाशित गर्दै आएको छ । अन्त्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो लामो यात्रालाई निरन्तरता दिइरहेको छ । यसै महिनाको ९ गते यसले आफ्नो ६० औं जन्मजयन्ती मनाउँदै छ । यस अवसरमा यसले आफ्ना परम्परागत शैलीबाट पृथक् रहेर जनस्तरसम्म पुग्ने गरी व्यापक जनसहभागिता आफ्ना नवीनतम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
नेपाल सानो देश भए पनि भाषा, कला र साहित्यमा यसको तुलना विश्वको कुनै पनि राष्ट्रसँग गर्न सकिँदैन । नेपाली भाषाका साथै यहाँका सबै भाषाहरू भौगोलिक विविधताका आधारमा विभिन्न किसिमबाट बोल्ने र लेख्ने गरिन्छ । हाम्रा लोककथा, लोकगीत तथा संवादहरू लोप हुने अवस्थामा पुगेका छन् । यसका साथै अपठित जनसमुदायको निम्ति पनि दृश्य श्रव्य सामग्रीहरू उत्पादन गर्ने उत्तरदायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै हो । हामीले अपठित भन्ने गरेको जनसमुदायको अपार सिर्जनशीलता लुकेर रहेका छन्, तिनको उजागर गर्नु पनि प्रज्ञा प्रतिष्ठानको दायित्व हो । संघीय नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान संरचनामाथि पुनर्विचार गर्नुपर्ने हुन्छ।