लन्डनमा पुनः ‘आतंककारी' आक्रमण, एकको मृत्यु

लन्डनमा पुनः ‘आतंककारी' आक्रमण, एकको मृत्यु

लन्डन : उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान आतंककारी आक्रमण भएको छ । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पैदलयात्रुमाथि ठोकाएका थिए । पैदलयात्रुहरूका माथिबाट गुडाएको यो घटनालाई बेलायती प्रधानमन्त्री थेरेजा मेले सम्भावित आतंककारी हमला भन्दै टिपपणी गरेकी छन् ।

ती व्यक्तिले पैदल सडक किनाराबाट हिँडिरहेका यात्रुमाथि भ्यान लगेर ठोक्काएका थिए । ठक्करबाट भुइँमा ढलेका व्यक्तिमाथिबाटै उनले भ्यान कुदाएका थिए । त्यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै आठजना घाइते भएका लन्डन प्रहरीले सोमबार जानकारी दिएको छ । यस घटनालाई आतंककारी हमलाको रूपमा हेरिएकोले अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेको जनाएका छन् । भ्यान चालक ४८ वर्षीय व्यक्तिलाई सडकमा हिँडिरहेका सर्वसाधारणले पक्राउ गरेर प्रहरीलाई बुझाइदिएको जनाएका छन् ।

त्यस घटनास्थलनजिकै एक मस्जिद छ । त्यहाँ मध्यरातदेखि नै प्रार्थना सुरु भएको थियो । प्रार्थनापछि घर जान बाहिर निस्केका व्यक्तिहरूलाई लक्षित गरेर यो आक्रमण भएको एक मुस्लिम नेताले जानकारी दिएका छन् । बेलायतमा यसअघि पनि मुस्लिम लक्षित आक्रमणको प्रयास भएको र यसमा पनि सोही प्रकृतिको हमला भएको ती मुस्लिम नेताको कथन छ । प्रधानमन्त्री मेले यसलाई पनि आतंककारी हमलाकै संज्ञा दिएकी छन् । उनले यसअघि जस्तै यो हमला पनि हिंस्रक रहेको र आतंककारी प्रकृतिको रहेको बताएकी छन् ।

लन्डनका मेयर सादिक खानले यस आक्रमणलाई मुस्लिमका विरुद्धको नियोजित हमलाको संज्ञा दिएका छन् । उनले भनेका छ, ‘लन्डनमा यस्तो प्रकृतिको मुस्लिमविरुद्धको हमला केही समयदेखि हुने गरेको छ । सोमबारको आक्रमण पनि यस्तै प्रकृतिको हो ।' प्रधानमन्त्री मेले यस विषयमा आवश्यक छलफलका लागि भन्दै सोमबारै अबेरतिर मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकी थिइन् ।

यसअघि लन्डनमा इस्लामिक आतंककारी सम्बद्ध समूहका तर्फबाट जिम्मेवारी लिइएका दुईवटा आक्रमण भएका छन् । सोमबार बिहानको भएको आक्रमणका आठजना घाइतेको तीनवटा छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अन्य दुईजना सामान्य घाइतेहरू उपचारपछि घर फर्किएका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन । —रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.