उता सडक जल्दैछ यता मन पोल्दैछ
काठमाडौं : दार्जिलिङमा एउटा कथन चर्चित छ, ‘दार्जिलिङका कलाकारलाई कि कालले लान्छ कि नेपालले ।' कला क्षेत्रमा दार्जिलिङका कलाकारको योगदान महत्ववपूर्ण पनि छ । चलचित्र, गीतसंगीत, साहित्यदेखि मोडलिङसम्म त्यहाँका स्रष्टा÷कलाकारले नेपालमा राम्रो छाप छाड्न सफल भएका छन् । अहिले दार्जिलिङ आन्दोलनमा होमिएको छ । सहर, बजार सबैतिर अशान्त अनि भय छ । सडकमा आगो बलेको छ । गोली चलेको छ । दार्जिलिङमा जे भइरहेको छ त्यसको प्रभाव नेपाललाई कर्मथलो बनाएका स्रष्टा एवं कलाकारमा पनि परेको छ ।
नेपाली संगीतमा आफ्नै पहिचान बनाएका संगीतकार सचिन सिंहको मन दार्जिलिङ आन्दोलनका कारण पोलिरहेको छ । कालिङपोङ स्थायी निवासी सिंह भन्छन्, ‘अहिले दार्जिलिङको स्थिति राम्रो छैन । मान्छे मरिरहेको छ, दुःख लाग्छ ।' पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङका नेपाली भाषीलाई समेत बंगाली भाषा अध्ययन अनिवार्य गरेपछि त्यसको विरोधमा सुरु भएको आन्दोलनले उग्ररूप लिएको हो ।
‘दार्जिलिङको आन्दोलन अहिलेको होइन', संगीतकार सिंहले भने, ‘सन १९८६ जुलाई २७ मा कालिङपोङमा निस्केको र्यालीमाथि पुलिस र सीआरपी (सेन्ट्रल रिजर्भ पुलिस) को हस्तक्षेपमा धेरै मान्छे मारिएका थिए । त्यसपछि गोर्खाल्यान्ड आन्दोलन झन् चर्केको थियो । त्यसयता बेलाबेलामा आन्दोलन भइरहेको छ।'
लोकप्रिय गायिका कुन्ती मोक्तान यो आन्दोलन निर्णायक होस् भन्ने चाहन्छिन् । ‘गोर्खाल्यान्डका लागि पटकपटक आन्दोलन भयो तर त्यत्तिकै सेलायो । यस पटकको आन्दोलन निर्णायक होस्, नेपाली भाषीले अधिकार प्राप्त गरोस् भन्ने मेरो चाहना छ', गायिका मोक्तानले भनिन् । दार्जिलिङका नेपाली भाषीले समानताका लागि गरेको आन्दोलन जायज भएकाले विश्वभरका नेपालीको साथ र सद्भाव रहेको उनको भनाई छ । दार्जिलिङको मार्गरेस्ट होप चियाबगानमा जन्मेकी उनी सन् १९८३ मा नेपाल आई गायनमा निरन्तर क्रियाशील छिन् ।
अर्का चर्चित रकगायक एड्रियन प्रधान पनि दार्जिलिङमा चर्केको आन्दोलनबाट चिन्तित छन् । ‘हामी कलाकर्मी राजनीतिक कुरा त्यति थाहा हुँदैन । तर दार्जिलिङमा जे भइरहेको छ त्यसबाट चिन्ता लागेको छ । यो समस्या चाँडै समाधान होस् भन्ने चाहन्छु', प्रधानले भने । काठमाडौंमा बसेर मोडलिङ क्षेत्रमा क्रियाशील उषा लिङदेनलाई अहिले दार्जिलिङ जाउँजाउँ लागेको छ ।
स्कुल पढ्दै गर्दा ‘वी वान्ट गोर्खाल्यान्ड'भन्दै जुलुसमा सहभागी भएको उनलाई अहिले झलझली याद आइरहेको छ । ‘घरको चिन्ताले रातभर निन्द्रा लाग्दैन । मलाई त दार्जिलिङ गएर आन्दोलनमा होमिन पाए हुन्थ्यो जस्तो लागिरहेको छ', उषाले भनिन्, ‘स्कुल पढ्दा बुवाले पनि गोर्खाल्यान्डका पक्षमा आवाज उठाउनुभएको थियो । मिटिङ भइरहन्थ्यो । त्यसबेला मैले गोर्खाल्यान्डका बारेमा धेरै कुरा बुझ्ने मौका पाएँ ।'
मोडेल उषाजस्तै संगीतकर्मी फणीन्द्र राई पनि विद्यार्थी जीवनमा गोर्खाल्यान्डका लागि आन्दोलनमा होमिएका व्यक्ति हुन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आन्दोलनमा उनी सक्रिय आन्दोलनकारी थिए । अहिले दार्जिलिङमा चलेको आन्दोलनलाई उनी अवश्यंभावी ठान्छन् । ‘सन् १९८६ मा विद्यार्थी जीवनमै हामी गोर्खाल्यान्डको आन्दोलनमा होमिएका थियौं । अवस्था साह्रै भयावह थियो', उनले स्मरण गरे, ‘तर त्यसबेला अहिलेको जस्तो मेडिया नभएकाले त्यो अवस्था बाहिर आउन पाएन । पछि नेपालीभाषीबीच नै फुट गराएर आन्दोलन निस्तेज पारिएकाले कुनै न कुनै समय आन्दोलन चल्ने अवस्था थियो, जुन अहिले भइरहेको छ ।'
दार्जिलिङबाट नेपाल आई संगीत क्षेत्रमा क्रियाशील अर्का संगीतकर्मी हुन् कैलाश राई । राजधानीका विभिन्न विद्यालय एवं म्युजिक इन्स्टिच्युटमा शास्त्रीय संगीत सिकाउँदै आएका राई पनि अहिले दार्जिलिङको अवस्थाप्रति गम्भिर छन् । उनी सन् १९८६ मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा भएको गोर्खाल्यान्ड आन्दोलनका सक्रिय कार्यकर्ता थिए । अहिलेको आन्दोलनलाई दार्जिलिङमा नेपालीभाषीले भोग्नुपरेको असमानताको उपज मान्छन् उनी । ‘दार्जिलिङमा नेपालीभाषी बढी भए पनि डोमिनेटेड छन् ।
पहिले जिल्ला प्रमुख हुनसमेत दिँदैनथ्यो', संगीतकर्मी राईले भने, ‘त्यसविरुद्ध यसअघि पनि आन्दोलन त भए तर नेपाली—नेपालीबीच फुट गराएर, पार्टी घुसाएर आन्दोलन तुहाएको थियो । पछिल्लो समय यो कुरा नेपालीभाषीले बुझेकाले सबै एक भएर उठेका छन् ।' नेपालमा चलचित्र होस् वा गीत संगीत दार्जिलिङबाट आएका कलाकारको योगदान अतुलनीय छ । चलचित्र क्षेत्रमा तुलसी घिमिरे, निरुता सिंह, शनि रौनियारलगायतले यो क्षेत्रमा आफ्नो पहिचान बनाएका छन् । दार्जिलिङबाट आएका कलाकारको योगदान बिना गीतसंगीत क्षेत्र त अपूरो हुन्छ ।
अम्बर गुरुङ, गोपाल योञ्जनजस्ता स्रष्टा अमर बने । दिव्य खालिङ, प्रकाश गुरुङ, शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान, उदय सोताङ, मनिला सोताङलगायतका दर्जनौं गीत नेपाली सांगीतिक क्षेत्रमा सदाबहार बनेका छन् । दार्जिलिङ क्षेत्रबाट आएका संगीतकर्मीको क्रियाशीलता काठमाडौंमा अहिले पनि उत्तिकै छ ।
सचिन सिंह, फणीन्द्र राई, कैलाश राई, एड्रियन प्रधान, मित्र लामा, नोर्बु शेर्पा, विपुल क्षेत्री, अनुप दास, चाँद सिंह आदि यसका उदाहरण हुन् । नेपाललाई कर्मथलो बनाएका यी स्रष्टा ÷कलाकार जन्मथलोमा भइरहेको आन्दोलन चाँडै तार्किक निष्कर्षमा पुगोस् भन्ने चाहन्छन् । ‘उता जन्मथलोमा आगो बल्दा यता हाम्रो मन पनि पोलिरहेको छ', संगीतकर्मी कैलाश राईले भने ।