योगका प्रवर्तक आदिनाथ भगवान् शिव
हिन्दु सभ्यताको पूर्वीय दर्शनमा आधारित शास्त्रबाट बनेको योग संस्कृत शब्द हो र यसको अर्थ विश्व कल्याण तथा जीव र आत्मा तथा परमात्मासँग जोड्नु भन्ने जनाउँछ । योगका प्रवर्तक हिमवत् खण्ड नेपालका स्वयं आदिनाथ पशुपतिनाथ भगवान् शिव हुनुहुन्छ । पूर्वजन्ममा आस्था राख्ने हिन्दु सभ्यताका अनुयायी ओमकार परिवारभित्र रहेको संस्कृति तथा परम्परामा वेदलाई आधार बनाउने वैदिक सनातन धर्मालम्बीहरू ओमकारलाई परमात्माको साकार तथा निराकार स्वरूप मानेर विभिन्न धार्मिक कार्य तथा योग सिद्धान्तहरू प्रतिपादन गरिएको छ ।
भगवान् शिवका अंशरूप अवतार तथा शिष्यहरूबाट प्रतिपादित योग सिद्धान्त मुख्य तीन प्रकारमा आधारित छन् । यसैलाई हठयोग- मत्स्येन्द्रनाथ, घेरण्ड ऋषि तथा गुरु गोरक्षनाथ आदि, राजयोग- हिरण्यगर्भ, पतञ्जली र सिद्धार्थ गौतमबुद्ध आदि तथा सांख्य ज्ञानयोग- वशिष्ठ, कपिलमुनि, आद्यशंकराचार्य आदिद्वारा प्रतिपादन गरी प्रचारमा ल्याउनुभएको वास्तविकता हो । अतः धारणाद्धर्ममित्याहू र्धर्मोधारयतेप्रजा । (अर्थात् धारण गर्नाले नै धर्म भनिएको हो । धर्मले समस्त चराचर जगत्लाई धारण गरेको छ ।) उक्त श्लोकबमोजिम आफ्नो जीवनमा जसले योग धारणा गर्दछ भने ‘योग धर्म' भयो । अतः धर्मको पालना गर्नुपर्छ भनिएको छ।
हिन्दु सभ्यताभित्र ओमकार परिवारहरूमा पनि वैदिक, बुद्ध, शिख, जैन, नागा, लिंगायत तथा किरात साम्प्रदायीहरूले वेदमा परमात्मालाई जान्नको लागि विधि ज्ञान (समर्थक पद्धति) तथा नेति नेति ज्ञान (निषेध पद्धति) छन् । विधि ज्ञानअन्तर्गत द्वैत सिद्धान्त र नेति नेति ज्ञानअन्तर्गत अद्वैत सिद्धान्त भनिन्छ । दुवै सिद्धान्तलाई अनुशरण गर्नेलाई द्वैताद्वैत सिद्धान्त भनिन्छ । द्वैत, द्वैताद्वैत र अद्वैत ।
द्वैत सिद्धान्त साकार स्वरूपको भगवान्को साधना गर्ने पद्धति हो । यसलाई भक्ति मार्ग भनिन्छ । यसमा मूर्ति पूजाको आधारमा भगवान्सँग एकाकार गर्ने तथा भजन, कीर्तन, पूजा, अर्चना, वन्दना, जप, होम, यज्ञ आदि वैदिक सनातन प्रक्रियाबाट आफ्नो कर्म साधनामा लागेका हुन्छन् । हठयोग- तान्त्रिक कर्मयोगअन्तर्गत कामना सिद्धि प्राप्त गर्नको लागि गरिने साधना भएकाले यसलाई द्वैत सिद्धान्त भनिएको हो ।
घेरण्ड ऋषिले मनोकामना सिद्धि तथा मानव कल्याणको लागि षट्कर्म (वेधन क्रिया) तथा सप्तांग योग—षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान र समाधि) प्रतिपादन गर्नुभएको छ, जसबाट शरीर शुद्धीकरण, शरीरको बलियोपना मनको स्थिरता, शान्तिसहित आत्मा र परमात्माको बारेमा चिन्तन गर्दै बुद्धि विकास, तथा ज्ञान प्राप्त गर्न सकिन्छ । सप्तांग योग र षट्कर्ममार्फत तान्त्रिक विधिबाट कुण्डलिनी जागरण साधना गरिने यसलाई हठ योग भनिन्छ ।
नेपालको मध्य भूभाग गोरखामा प्रकट भएका गुरु गोरक्षनाथले विशुद्ध ब्रह्मचर्यको पालना गर्दै हठ, लम्बिका, तारक, अमनस्क, कुण्डलिनी र लय गरी षडंग सिद्ध योग निर्माण गर्नु भई ओम गौ, वेद, संस्कृतम्को रक्षा गर्नुभयो । यसैलाई अध्यात्म नामले चिनिन्छ र विश्वमा नेपाल आध्यात्मिक हिमवत् राष्ट्र भएको परिचय बनेको छ ।
द्वैताद्वैत सिद्धान्तमा भक्ति र ज्ञान दुवै मार्ग अनुशरण गरी साकार तथा निराकार परमात्माको साधना गर्ने दुवै प्रकारको पद्धतिको सिद्धान्त अनुशरण गर्ने गरिन्छ । राजयोग निष्काम कर्मयोगबाट मोक्ष प्राप्त गर्ने साधना द्वैताद्वैत सिद्धान्त हो । यसैगरी कर्मको व्याख्याअन्तर्गत वेदमन्त्रमा आधारित भई यज्ञ क्रिया वा कर्मयोगको विषय प्रतिपादित श्लोकअनुसार यज्ञात् भवति पर्जन्य अर्थात् यज्ञले वर्षात् हुन्छ, वर्षाले अन्न उब्जाउ हुन्छ र प्राणी सुखी हुने बताउँदै वेदमन्त्रले नै ‘सर्वे भवन्तु सुखिन सर्वेसन्तु निरामयाः सर्वेभद्राणि पश्यन्तु माकश्चिद् दुःख भाग्भवेत्' अर्थात् सबैजना सुखी होऊन्, सबै निर्भय रहोस् तथा सबैजना भद्र भएर कसैले पनि दुःख भोग्न नपरोस् भनिएको छ । कर्मयोगरूपी मन्त्रयज्ञ हवनबाट निस्कने धुवाँमा अन्नको पौष्टिक सूक्ष्म अंश जुन प्राण शक्ति हो । त्यसको प्रभावले वातावरण शुद्धि गर्दछ ।
हाल नेपालको जनकपुर जिल्ला मिथिलाका राजा जनक ज्ञान, वैराग्य प्राप्तपश्चात् विदेह रूपमा गुरु अष्टावक्रको प्रतिनिधिको रूपमा राजर्षि भई मिथिला राज्यको राजधर्म पालना गर्नुभयो । यसलाई श्रीमद्भागवत् गीताले पनि पुष्टि गर्दै कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः ।३÷२० अर्थात् जनकादि ज्ञानीजन पनि आसक्तिरहित कर्मद्वारा परम् सिद्धि प्राप्त गर्नुभएको थियो । यो विदेही स्वरूप सिद्ध आचरण क्रियालाई राजयोग भनियो । राजा जनकलाई परीक्षण र साधनामार्फत ब्रह्म ज्ञानसमेत प्रदान गर्नुभएका अष्टावक्र ऋषिद्वारा प्रतिपादित सिद्धान्तलाई अष्टावक्र गीता भनिन्छ ।
लुम्बिनी नेपालमा जन्मेका सिद्धार्थ गौतमबुद्धले पञ्चशील सिद्धान्त, अष्टशील सिद्धान्त र चतुआर्य सत्यमा, संसार दुःखले व्याप्त छ । दुःखको कारण छ । दुःखलाई अन्त्य गर्न सकिन्छ र दुःख नाश गर्ने उपाय छ भनिएको छ । दुःखबाट मुक्त हुनुलाई निर्वाण भनिन्छ । ‘सब्बे संखारा निच्चयति यदा पञ्ञाय पस्सति । अथ विब्बिन्दति दुख्खे एसमग्गो विसुद्धिया ।' अर्थात् सबै संस्कार अनित्य हुन् भन्ने कुरा जब प्राज्ञद्वारा बुझिन्छ र देखिन्छ, तब दुःखबाट मुक्त हुने बाटोमा पुग्छ । दुःख निवारण गर्ने आठ सम्यक् मार्ग प्रतिपादन गरिएका छन् । सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्मान्त (कर्म), सम्यक् आजीव (जीविका), सम्यक् व्यायाम, सम्यक् स्मृति (ध्यान) र सम्यक् समाधि छन्, जसलाई आर्य अष्टांगिक योग मार्ग भनिन्छ ।
अद्वैत सिद्धान्त निर्गुण, निराकार स्वरूप परमात्माको साधना गर्ने पद्धति हो । यसलाई ज्ञान मार्ग भनिन्छ । यस सिद्धान्तमा मूर्ति पूजामा महत्वव नदिइने हुँदा र अहं ब्रह्माऽस्मि अर्थात् म नै ब्रह्म हुँ भन्ने मान्यता राख्ने हुँदा ‘नास्तिक मत' पनि भनिन्छ । मनुष्य परमात्माको एक अंश हो तथा मन्त्र जप, योग ध्यान तथा साधना विधिबाट परमात्मासँग एकाकार गरी मोक्ष प्राप्त गर्ने पद्धति हो । यसलाई सांख्य ज्ञानयोग भनिन्छ ।
योगासन तथा प्राणायाम गर्नाले शरीर तन्दुरुस्त हुन्छ । यसले आलस्य हटाई, फूर्तिलो र जाँगरिलो बनाउँछ ।
कपिलऋषि आ श्रम र गौपालन गर्ने स्थान भएकाले नेपालको कपिलवस्तु जिल्ला नामकरण भएको छ । कपिल ऋषिद्वारा प्रतिपादित सांख्य मतमा प्रकृतिलाई ज्ञेय भनिएको छ । प्रकृति र पुरुषको भेद जानेपछि कैवल्य मोक्ष मिल्छ । यसैकारण प्रकृति स्वरूपलाई राम्रोसँग नजानीकन उसलाई पुरुषको भेद थाहा हुँदैन । तीन गुण सत्व, रज र तम बुद्धिको नाम महतत्व हो । पच्चीस तत्वमा पुरुष, प्रकृति, मह तत्व, अहंकार, पञ्चतन्मात्रा, पञ्चमहाभूत, पञ्चकर्मेन्द्रीय, पञ्चज्ञानेन्द्रीय र मनलाई मानिएको छ । आत्मा र अनात्माको स्वरूपलाई भिन्दाभिन्दै राम्ररी बुझ्नुलाई ज्ञान भनिन्छ ।
ज्ञान भएपछि द्वैतभाव हट्छ । प्रकाशमान पदार्थ प्रकाश जातिको दृष्टिले एकै हो, तर दियो, ग्रह, नक्षत्र, तारा, अग्नि, सूर्य, चन्द्र आदि शक्ति र स्थानको भेदको कारण परस्पर भेद र नानात्व छ । भेद बुद्धिले हेर्दा एउटा पुरुष द्रष्टा र अर्को प्रकृति दृश्य हुँदा संसारको दुई भेद देखिन्छ । परमार्थ दृष्टिले विचार गर्दा मात्र एउटै देखिन्छ । त्यही परमात्मा पुरुष दृश्य र भोक्ता छ । अनि प्रकृतिरूपले त्यही परमात्मा दृश्य र भोग्य छ । त्यो स्वयं र आफैंलाई अद्वैत भनिन्छ । अद्वैतको अर्थ अर्को वस्तु नहुनु हो । यो नै अहं ब्रह्माऽस्मिको स्थिति हो ।
मनुष्यको सम्पूर्ण ज्ञान इन्द्रियगत हो, जसलाई पञ्चज्ञानेन्द्रीयबाट मात्र जानिन्छ र त्यो बुद्धिको पकडमा आउँछ । त्यसैलाई सत्य मान्छन् । ज्ञानेन्द्रियभन्दा पर रहेको अस्तित्व थाहा पाउन सक्दैन । उसले ब्रह्म, आत्मा, ईश्वर आदिको सत्ता थाहा पाउन सक्दैन र विश्वास पनि गर्दैन किनभने ती इन्द्रियद्वारा ग्राह्य छैनन् । ज्ञान बुद्धिभन्दा पनि पर चेतनाको अनुभव छ, जो ध्यान समाधि वा बोधबाट मात्र प्राप्त हुन्छ भनिएको छ ।
आगो, बालुवा, पत्थर आदिबाट रहित जल, शब्दको आ श्रयको दृष्टिकोणले सुरक्षित मनको अनुकूल ठाउँमा बसेर योग आसन, प्राणायाम तथा परमात्माको ध्यान गर्नुपर्छ । योगासन तथा प्राणायाम गर्नाले शरीर तन्दुरुस्त हुन्छ । यसले श्वास-प्रश्वास क्रियालाई सन्तुलन पार्छ । शरीरमा शुद्ध रक्तसञ्चार गरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी शरीरलाई लचकता प्रदान गर्छ र आलस्य हटाई, फूर्तिलो र जाँगरिलो बनाउँछ । कर्ममा कुशलता प्रदान गर्दछ । बूढोपना आउन दिँदैन । नकारात्मक सोच विचारलाई दमन गर्ने र सकारात्मक सोचविचार सिर्जना गरी भौतिक संसारमा रुमल्लिएको चञ्चल मनलाई एकत्रित गरी आनन्द र सुखको अनुभूति गराउँछ ।
आसन, प्राणायाम तथा ध्यानको अभ्यासबाट स्वस्थ रहँदै मानसिक, शारीरिक र आध्यात्मिक जीवनलाई सन्तुलनमा राखी सुखमय भएर जिउन सक्ने कला सिकाउने योग शास्त्रलाई अँगाल्दै विश्वका धेरै व्यक्तिहरूले नियमित रूपमा अभ्यासमा ल्याएर फाइदा लिइरहेका छन् । योगको वास्तविक अर्थ, महत्वव बुझ्न प्रयास भइरहेको छ भने दिनानुदिन यसको लोकप्रियता बढ्दै गइरहेको पनि छ । योगका प्रवर्तक हिमवत् खण्ड नेपालका आदिनाथ पशुपतिनाथ भगवान् शिवको योगदानको महत्ववलाई समेत पुष्टि गर्दै-गराउँदै संयुक्त राष्ट्रसंघलगायत योगका अनुयायी साधकले भगवान् शिवको आदर र सम्मान गर्नुपर्छ ।