रमेशका अरूपण कला
काठमाडौं : अरूपण ग्यालरी छिर्नासाथ मनमा रङहरूको तरंग उत्पन्न हुन्छ । भित्ताभरि टांगिएका रंगीचंगी चित्रहरूले तरंग सिर्जना गर्छन् । चित्रले कुनै स्पष्ट आकार बोकेको छैन । एकैछिन घोरिएर हेर्ने हो भने अनुभूत भएअनुसारको अर्थ लगाउन मिल्ने चित्रहरू देखिन्छन् ।
कलाकार रमेश खनालको ३१औं एकल चित्रकला प्रदर्शनी ‘सिमबायोटिक’ मा उनको नयाँ शैली देख्न पाइन्छ । चित्रकलाको निरन्तरतामा केही नयाँ स्वाद दिन खोजेका छन् । पेन्टिङमा राग देखाउन खोज्दै उनले आधारभूत रङहरूको सुन्दर संयोजन गरेका छन् । चित्रमा रातो, नीलो, पहेँलो, हरियो आधारभूत रङहरू प्रयोग भएका छन् । प्रकृतिको प्रभाव धेरै भएकाले यी रङ प्रयोग गरेको उनी बताउँछन् ।
क्यानभासमा प्रयोग भएका बालुवाका कणले चित्रको सुन्दरता बढाएको छ । बालुवाका कणलाई सुनौलो रङले पोतेर कलाकारले नयाँपन दिएका छन् । ग्यालरी छिर्नेबित्तिकै ढोकैमा देखिने पहिलो चित्रमा रोमान्टिक शान्तिको खोजी देखिन्छ । कालो पक्षबाट निस्केर नीलोमा पुग्दै गरेको विचार देखिन्छ । कलाकारले नीलो रङलाई चक्कुको धारले कोरेर विचारको बहावको निरन्तरता प्रस्तुत गरेका छन् ।
चित्रकलाको निरन्तरतामा रमेशले केही नयाँ स्वाद दिन खोजेका छन् । पेन्टिङमा राग देखाउन खोज्दै उनले आधारभूत रङहरुको सुन्दर संयोजन गरेका छन् । चित्रमा रातो, नीलो, पहेँले, हरियो आधारभूत रङहरु प्रयोग भएका छन् ।
खनाल कुनै निश्चित विषयवस्तु सोचेर चित्र बनाउन बस्दैनन् । मनमा आएका तरंगलाई रङको माध्यमले क्यानभासमा पोख्दै जान्छन्, अनि बन्छ अरूपण कला । जुन कलाको कुनै स्वरूप हुँदैन । यसमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । प्रदर्शित चित्रहरू क्यानभासको केन्द्रबाट सिर्जना भएका छन् । पृष्ठभूमिको रङले केन्द्रमा बनेको चित्रलाई असर गरेको छैन । केही चित्रमा चकलेट रङ प्रयोग भएका छन् । खनाललाई पहिला नीलो रङसँग खेल्न बढी मन पथ्र्यो । उमेर ७० वर्ष नजिक पुग्न लाग्यो । यसै कारण होला अहिले चकलेट रङसँग काम गर्दा मीठो लाग्छ उनलाई । एक वर्षमा बनाएका १८ वटा अरूपण चित्रहरू प्रदर्शनीमा छन् ।