लामो दिनमा मीठो संगीत
काठमाडौं : अन्तर्राष्ट्रिय संगीत दिवसका अवसरमा गीतसंगीतमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ । बुधबार सांस्कृतिक संस्थान, नेपाल सांगीतिक संघ, संगीत नाट्य प्रज्ञाप्रतिष्ठान र प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयले स्रष्टा सम्मानसहित बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा गीतकार डा. रामविक्रम सिजापति, संगीतकार जगतमर्दन थापा, जनपक्षीय गायक जेबी टुहुरे, शास्त्रीय गायिका इन्दिरा श्रेष्ठ, वाद्यवादक किशोर गुरुङ, नृत्यांगना हनी श्रेष्ठलाई सम्मान गरिएको हो । गायक सीताराम पोखरेलले विशेष संगीत पुरस्कार पाए । कार्यक्रमको सुरुआत नेपाली सेनाको अर्केस्ट्रा ब्यान्डबाट गरिएको थियो । पूर्वीय पाश्चात्य बाजाको उत्कृष्ट संयोजनसहितको सांगीतिक प्रस्तुति ब्यान्डले दियो । यस्तो संयोजन विरलै देख्न पाइन्छ ।
पन्जेबाजा, सारंगी, स्याक्सोफोन लगायतका बाजाको संयोजनबाट संगीतको मीठो संयोजन प्रस्तुत भएपछि गायिका लोचन भट्टराईको नेतृत्वमा सांस्कृतिक संस्थानका संगीत विद्यार्थीको समूहले ‘भन्छिन् मेरी आमा’ बोलको गीत सुनाएका थिए ।
समूहले गीत गाइरहँदा पृठभूमिमा द्वन्द्वकालको झल्को दिने तस्बिर देखाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि द्वन्द्वकालको नेतृत्व गरेर आएका उपराष्ट्रपति नन्दकिशोर पुन दर्शकदीर्घामा गम्भीर देखिए ।
गम्भीर गीतपछि जोशिलो नृत्य लिएर साधना कला केन्द्रका कलाकार प्रस्तुत भएका थिए । कार्यक्रमको आकर्षणको रूपमा गायक आनन्द कार्की, संगीतसाधक गुरुदेव कामत रहेका थिए । गुरुदेव कामतले शास्त्रीय गायन प्रस्तुत गरे । राष्ट्रभक्तिका गीतहरूमा नृत्य गर्दै कलाकारले विविधतामा एकता प्रस्तुत गरेका थिए ।