पूर्वमा शरदका पातहरू
काठमाडौं : पूर्वका धरान, धनकुटा, भेडेटारलगायत विभिन्न रमणीय स्थानमा चलचित्र ‘शरदका पातहरू'को छायांकन भइरहेको छ । राज्य राई देमिन निर्देशित यस चलचित्रमा करिश्मा मानन्धर, सुवास मेचे, श्रेया दुलाल, अजित राई, मनीषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जीएम, श्यामकुमार राईलगायतको अभिनय छ ।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि निर्माण नियन्त्रकका रूपमा काम गर्दै आएका गणेश भण्डारीको कथा रहेको यो चलचित्र एभरेस्ट कल्चर एन्ड मिडिया एकेडेमीको ब्यानरमा निर्माण गरिएको हो ।
सागर दराईको लगानी रहेको चलचित्रमा अनितादेवी तामाङ र वृहस्पति राई सहनिर्माताका रूपमा रहेका छन् । ‘समसामयिक प्रेमकथा समेटिएको चलचित्र सन्देशमूलक अनि मनोरञ्जनात्मक हुनेछ', निर्देशक देमिनले भने । चलचित्रमा उनकै संगीत समेटिएको छ ।