पदाधिकारीविरुद्ध मुख्य प्रशिक्षकको उजुरी 

पदाधिकारीविरुद्ध मुख्य प्रशिक्षकको उजुरी 

काठमाडौं : नेपाली खेलकुदमा सफल मानिएको खेल तेक्वान्दोमा पदाधिकारीले छनोटबिना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउने गरेको, खेलाडीलाई विदेशमा लगी छाडेको, साग बन्द प्रशिक्षणमा बसेका खेलाडी र प्रशिक्षकको दुई दिनको भत्ता नदिएकोलगायत गम्भीर आरोपसहित मुख्य प्रशिक्षकले उजुरी दिएका छन् । तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुव गुरुङले संघका अध्यक्ष प्रकाश राणा र महासचिव दीपराज गुरुङविरुद्ध राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरी दिएका हुन् ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले मुख्य प्रशिक्षकले संघका पदाधिकारीविरुद्ध उजुरी दिएको पुष्टि गरेका छन् । ‘मुख्य प्रशिक्षकले संघका अध्यक्ष र महासचिवले गत सागको बन्द प्रशिक्षणमा बसेका खेलाडी र प्रशिक्षकको दुई दिनको भत्ता नदिएको, वैदेशिक सहयोग तथा अन्य स्रोतबाट प्राप्त रकम हिनामिना गरेको, खेलाडीलाई विदेशमा भगाएको लगायतका आरोपसहित उजुरी दिएका छन्', सदस्यसचिव विष्टले अन्नपूर्णसँग भने, ‘त्यसको छानबिनका लागि खेलकुद विकास विभागमा पठाएको छु ।'

विष्टले तेक्वान्दोमा खेलाडी र अन्य प्रशिक्षकबाट समेत आर्थिक अनियमितता भएको लगायतका उजुरी आएको बताए । ‘खेलाडी र अन्य प्रशिक्षकहरूबाट समेत यस्ता मौखिक उजुरी आएका छन् । लिखित रूपमा भने मुख्य प्रशिक्षकले दिनुभएको छ । त्यसमाथि छानबिन हुनेछ', उनले भने ।

मुख्य प्रशिक्षक गुरुङले गत वर्ष भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्णविहीन बनाउन महासचिव गुरुङले भूमिका खेलेको, सोही सागको बन्द प्रशिक्षणका लागि राखेपले प्रदान गरेको १३ खेलाडी र पाँच प्रशिक्षकको दुई दिनको भत्ता नदिएको तथा विदेशमा खेलाडी भगाउने काम गरेको लगायतका गम्भीर आरोप लगाएका छन् ।

‘उहाँ (महासविच दीपराज गुरुङ) तेक्वान्दोको दक्षिण एसियाकै प्राविधिक निर्देशक हुनुहुन्छ । दक्षिण एसियाली कुनै पनि प्रतियोगितामा कुन रेफ्री राख्ने वा प्रतियोगितामा कुन क्याटेगोरी राख्ने भन्ने निर्णय उहाँले नै गर्ने हो । १२औं सागमा उहाँलाई राम्रोसँग थाहा हुँदाहुँदै पनि रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी निशा रावललगायत पदक पक्का देखिएको तीनवटा महिलाको क्याटेगोरी उहाँले नै काटिदिनुभयो । उहाँले राष्ट्रघाती काम गर्नुभएको छ', प्रशिक्षक गुरुङले अन्नपूर्णसँग भने, ‘त्यही सागका लागि भएको बन्द प्रशिक्षणका लागि राखेपले खेलाडी र प्रशिक्षकलाई दिएको दैनिक भत्ता २१ हजार पाँच सयसमेत उहाँले पचाइदिनुभयो । भत्ता नदिएको विषयमा खेलाडीलाई सोध्दा पनि हुन्छ ।'

मुख्य प्रशिक्षक गुरुङले तेक्वान्दो संघका पदाधिकारीले आफ्नो सिफारिसमा चार खेलाडीलाई विदेश पठाएर उतै छाडेको आरोपसमेत लगाएका छन् । ‘संघका अध्यक्ष र महासचिवले खेलाडी भनिएका यादव कुँवरलाई क्यानडा तथा मानध्वज लामा, राजकुमार पाण्डे, खम्बा राई, रमेश शाही र प्रमोद मानन्धरलाई दक्षिण कोरिया लगी छाडेका छन्', मुख्य प्रशिक्षक गुरुङले राखेपमा बुझाएको उजुरीपत्रमा लेखेका छन्, ‘कुनै खेल संघले म्यानपावर कम्पनीको जस्तो काम गर्न मिल्छ ? ' मुख्य प्रशिक्षक गुरुङले संघले आफू राखेपले तोकेको मुख्य प्रशिक्षक हुँदाहुँदै पनि आफूसँग कुनै समन्वय नगरेको बताएका छन् ।

‘गुरु (दीपराज गुरुङ) राखेपको मुख्य प्रशिक्षक हुँदा सबै काम आफूले गर्नुहुन्थ्यो । खेलाडीलाई दिने सर्टिफिकेटमा समेत उहाँकै हस्ताक्षर चाहिन्थ्यो', उहाँले भन्नुभयो, ‘तर उहाँले म मुख्य प्रशिक्षक आएपछि मेरो भूमिकै सबै खोसिदिनुभयो । मुख्य प्रशिक्षकलाई संघको कार्यक्रममा समेत बोलाउनु हुन्न । राष्ट्रिय क्याम्पमा हामीले ट्रेनिङ गराइरहेका खेलाडीलाई हामीलाई नै थाहा नदिई छनोटबिना विदेश लगिएको छ । हामीले संघ पारदर्शी ढंगबाट चल्नुपर्छ भन्दा उहाँ उल्टो अपशब्द प्रयोग गर्नुहुन्छ । बाध्य भएर मुख्य प्रशिक्षकको हैसियतले यो कुरा उठाएको हुँ ।'

महासचिव गुरुङले आरोप झूठो भएको बताएका छन् । उनले राखेपले सागको बन्द प्रशिक्षकका लागि दिएको रकम आफूले व्यक्तिगत रूपमा नबुझेको तथा खेलाडीलाई आफूले विदेश नभगाएको बताए । ‘सागको बन्द प्रशिक्षणको भत्ता कि मुख्य प्रशिक्षक कि संघले लिन्छ । त्यो भत्ता मैले व्यक्तिगत रूपमा लिएको छैन', महासचिव गुरुङले अन्नपूर्णसँग भने, ‘हामीले खेलाडी भगाएका पनि छैनौं । खेलाडी संघको कार्यक्रमअनुसार विदेश जान्छन् । त्यसरी गएका खेलाडी फर्किएका छन् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.