स्वतन्त्र राष्ट्र भएर बाँच्ने हो भने ...

स्वतन्त्र राष्ट्र भएर बाँच्ने हो भने ...

३५ वर्षको उमेरमा, सन् १९५९ मा जब ली कुवान यु सिंगापुरको प्रधानमन्त्री भए, त्यतिखेर त्यहाँको प्रतिव्यक्ति आय चार सय डलर थियो । सन् १९९० मा त्यो १२ हजार नाघ्यो । सन् १९९९ मा उनले पदत्याग गर्दा त्यो २२ हजार डलर पुगेको थियो ।ली कुवान युले लेखेका छन्- सिंगापुर कुनै स्वाभाविक राज्य थिएन । त्यसको कुनै केन्द्र नै थिएन, मुटु नभएको शरीर जस्तो मात्रै थियो ।

KESHAV-prd-bhattarai-copy_6मलेसियाले एक्कासि सिंगापुरलाई संघबाट निकालिदियो । कुनै प्राकृतिक साधनस्रोत थिएन, आफ्नो सेना थिएन र कर्मचारी थिएनन् । बेलायतको उपनिवेश हुँदा जहाजहरू त्यो बाटो ओहोर-दोहोर गर्ने भएकाले जहाजहरूको मर्मत-सम्भार गर्ने श्रमिकहरूको बस्ती थियो सिंगापुर । त्यसैले त्यस्तो सम्भावनाहीन मुलुक कसरी बाँच्ने होला भनेर रुँदै लीले जनतालाई सम्बोधन गरेका थिए ।

लीले भारत र इजिप्टसँग सेना गठन गर्न र उनीहरूलाई प्रशिक्षण दिन सहयोग मागे । सिंगापुरका छिमेकीहरू रिसाउलान् भनेर दुवै मुलुकले सहयोग गरेनन् । लीले त्यसपछि इजरायलसँग सहयोग गर्न आग्रह गरे । ६ जना इजरायली सैनिक त्यसको लागि आए । तर मलेसिया र इन्डोनेसियाजस्ता ठूला मुस्लिम राष्ट्रहरूका बीचको सानो नगर राज्यमा इजरायली सैनिकको उपस्थितिले निर्माण गर्ने तनावलाई मध्यनजर गरी उनीहरूलाई मेक्सिकन सैनिक बताएर काममा लगाइयो ।

सन् १९६४ मा हङकङमा इन्डोनेसियाका दुई कमान्डो सैनिकले गराएको बम विस्फोटबाट सिंगापुरका तीन नागरिकको मृत्यु भयो । उनीहरूलाई मृत्युदण्डको फैसला भयो । इन्डोनेसियाले सिंगापुरसमक्ष मृत्युदण्ड नदिन दबाब दियो ।

लीले ठहर गरे- सानो र अत्यन्त कमजोर सिंगापुरले आफ्नो भूमिभित्र कानुनको शासन स्थापना गर्न सकेन भने मुलुकभित्र जनताले सरकारलाई पत्याउँदैनन् । अर्कोतिर, मलेसिया र इन्डोनेसियाको सेना जतिखेर पनि सिंगापुरमा प्रवेश गरेर मनलाग्दो गर्न सक्छन् ।

ती दुई इन्डोनेसियन कमान्डोहरूलाई मृत्युदण्ड दिइयो । इन्डोनेसियास्थित सिंगापुरको दूतावास तोडफोड भयो र इन्डोनेसियाले सिंगापुरमाथि आक्रमण गर्ने धम्की दियो । व्यापार प्रतिबन्ध लगायो, तर ली दच्किएनन् ।

नेपालको भूगोल छ, निर्वाचित वैधानिक सरकार छ, जनसंख्या छ र कानुनी प्रभुसत्तासम्पन्न पनि छ । त्यसलाई अन्तर्राष्ट्रिय मान्यता छ । कानुनीरूपमा नेपालको स्वतन्त्रता र प्रभुसत्ताबारे प्रश्न उठाउन सकिँदैन । तर व्यवहारमा त्यसलाई अनुभूत गराउन सकिएको छैन ।

सिंगापुरको जनसंख्याको चरित्र पनि जटिल थियो । चिनियाँ मूलको जनसंख्या ठूलो थियो । तर मलेसिया र इन्डोनेसिया मूलका मुसलमान र भारतीय मूलका हिन्दुहरूको संख्या पनि प्रभावकारी थियो । ठूलो राजनीतिक र रणनीतिक कौशल प्रदर्शन गरेर ली जातीय सद्भाव कायम राख्न सफल भए ।

आज सिंगापुरको सेना संसारको कुनै पनि सेनासँग युद्ध गर्ने सामथ्र्य राख्छ । ५० लाख जनसंख्या भएको मुलुक सिंगापुरमा तीन लाख ५० हजार सैनिक छन् । त्यस क्षेत्रका अन्य मुलुकको तुलनामा ऊसँग सबैभन्दा अत्याधुनिक हातहतियार छ । सेना विश्वकै उत्कृष्टमा गनिन्छ । मुलुक यति सानो छ कि उसका लडाकु विमानहरूलाई अभ्यास उडानको लागि वायु क्षेत्र नपुग्ने भएकोले इन्डोनेसियामा जमिन भाडामा लिएर त्यहाँ त्यस्तो अभ्यास स्थल निर्माण गरेको छ ।

एउटा स्वतन्त्र र सार्वभौम मुलुकका मुख्यतः तीन दायित्व हुन्छन् । पहिलो, उसले अन्य राष्ट्रप्रति पनि दायित्व निर्वाह गरेकै हुनुपर्छ । दोस्रो, मुलुकभित्र कानुन र व्यवस्थालाई बलियोसँग स्थापना गर्न सकेकै हुनुपर्छ । तेस्रो, आफ्नो स्वतन्त्रता र प्रभुसत्ता धान्न सक्ने आर्थिक र सैन्य सामथ्र्य निर्माण गरेकै हुनुपर्छ । अर्थात् राष्ट्र आफ्नै क्षमताले, आफ्नै आन्तरिक ऊर्जा बलमा बाँच्नुपर्छ ।

आफ्ना सीमाभित्रका र सीमाबाहिरका उपरोक्त तीन दायित्व निर्वाह गर्न असमर्थ राष्ट्रहरूको स्वतन्त्रता र प्रभुसत्तामाथि छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायले जतिखेर पनि हस्तक्षेप गर्न सक्छन् र गरिरहेका छन् । नेपालसमेत सदस्य रहेको राष्ट्रसंघले कुनै मुलुकले आफ्नो सीमाभित्र र बाहिरका उपरोक्त दायित्व निर्वाह गर्न सक्षम छैन भन्ने ठहर गरेमा सो मुलुकमा सैन्य हस्तक्षेप गर्न सक्छ । त्यहाँको स्वतन्त्रता र प्रभुसत्ता नियन्त्रण गर्न सक्छ।

राष्ट्रसंघ र नाटोको नेतृत्वमा या उनीहरूको समर्थनमा पूर्व युगोस्लाभियादेखि इराक, लिबिया, सुडान, यमन, सिरिया, इथियोपियालगायतका धेरै मुलुकले त्यस्तो नियति बेहोरेका थिए र बेहोरिरहेका छन् । तर चीन र रूसजस्ता शक्तिशाली राष्ट्रहरूको समर्थनका कारण आफैंले गराएको निर्वाचनमा अत्यधिक बहुमत ल्याएको दललाई पनि म्यानमारको सैनिक सरकारले सत्ता हस्तान्तरण गरेन । त्यसपछि पनि २० वर्षसम्म यथावत् शासन गरिरह्यो ।

इराक र लिबियामाथि राष्ट्रसंघसमेतको अनुमोदनमा नाटो राष्ट्रहरूले आक्रमण गरे । तर रूस र चीनसँगका निकट सम्बन्धका कारण उत्तरकोरियामाथि कुनै आक्रमण भएन । सिक्किममा नेपालीभाषी समुदायले भारतीय प्रोत्साहनमा त्यहाँका शासकविरुद्ध प्रजातन्त्रको नाउँमा आन्दोलन गरे र सिक्किमलाई भारतमा गाभ्न दिनमा सहयोगी भए ।

तर भुटानमा त्यही प्रजातन्त्रको लागि लड्ने नेपालीभाषी समुदायलाई त्यहाँबाट लखेट्न र विस्थापित हुन भारतले नै सघायो । भारत आफैंले श्रीलंकामा तामिलहरूको आतंकलाई सघायो । पछि तिनैलाई दमन गर्न असफल सैनिक अभियान सञ्चालन गर्‍यो । कसरी भारतले आफ्नै संरक्षणमा नेपालमा माओवादी विद्रोह उठायो र शक्तिमा पुर्‍यायो, जगजाहेर छ । सयौं वर्षदेखि आन्तरिक स्वायत्तता उपभोग गर्दै आएको तिब्बतको त्यस्तो स्वायत्ततालाई चीनले पनि बलपूर्वक अन्त्य गरेकै हो ।

शीतयुद्धको अवधिमा आफ्ना रणनीतिक लक्ष र स्वार्थअनुकूलका भयानक नरसंहारकारी शासकहरू अमेरिकाको र सोभियत संघको संरक्षणमा रहिरहे, जब त्यस्तो लक्ष र स्वार्थ फेरियो । ती दण्डित भए ।

 परराष्ट्र नीति र राष्ट्रिय हितको रक्षा

धेरै वर्षदेखि नेपाल सामान्य राष्ट्र हुन सकेको छैन । मुलुक स्थिर र सामान्य हुन नसकुन्जेल उसको स्वतन्त्रता र प्रभुसत्ता सुरक्षित हुन सक्दैन ।अन्य राष्ट्रहरूसँगको सम्बन्धमा आफ्ना प्राथमिकताहरू नै राष्ट्रिय हित हुन् । अन्य मुलुकहरूका त्यस्ता राष्ट्रिय हितहरूका आधारमा आफ्ना राष्ट्रिय हितहरूलाई सुरक्षित गर्नु र त्यसलाई विस्तार गर्नु परराष्ट्र नीति हो । अर्थात् छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो राष्ट्रिय हितहरूलाई सशक्त रूपमा प्रस्तुत गर्न र तिनलाई प्राप्त गर्न उपयोग गरिने साधन हो, परराष्ट्र नीति ।

राष्ट्रिय हितले रणनीतिक हितले भन्दा बृहत् र व्यापक महत्व राख्छ । तर हामीले त आफ्ना सत्ता स्वार्थ सम्बन्धित रणनीतिक लक्षहरूलाई नै राष्ट्रिय हित बुझ्ने गरेकोले मुलुक यो अवस्थामा आइपुगेको छ ।
परराष्ट्र नीतिको लक्ष राष्ट्रिय हितअनुरूप परिभाषित गरिन्छ । तर आफ्नो परराष्ट्र नीति अवलम्बन गर्न राष्ट्रसँग न्यूनतम शक्ति र सामथ्र्य छैन भने परराष्ट्र नीति अर्कै देशको निर्देशनअनुरूप चल्ने गर्छ र राष्ट्रिय हितहरूको रक्षा पनि हुन सक्दैन ।

अर्को कुरा, कूटनीति परराष्ट्र नीतिको महत्वपूर्ण साधन भएकाले दक्ष र प्रतिबद्ध व्यक्तिहरूमार्फत आफ्ना राष्ट्रिय हितहरूलाई अन्य मुलुकका प्रमुख राष्ट्रिय हितविपरीत नहुने गरी सञ्चालन गर्न सकिएन भने आफ्ना बृहत्तर राष्ट्रिय हितहरू कुण्ठित र असुरक्षित हुन पुग्छन् । मुलुकको परराष्ट्र नीति कार्यान्वयन गर्दा राष्ट्रिय क्षमता र निष्ठा प्रदर्शन हुन सकेन र राजनीतिक तहबाट अनैतिक स्वार्थ सम्झौता हुन्छ भने त्यहाँ राष्ट्रद्रोह हुन पुग्छ ।
धेरै वर्ष भयो, नेपालले आफ्ना राष्ट्रिय हितहरूलाई आफ्नो परराष्ट्र नीतिको लक्षमा समेट्न सकिरहेको छैन । हामीले हाम्रा राष्ट्रिय हितहरूको पहिचान गर्नै सकिरहेका छैनौं ।

हाम्रो भारत नीति छ, तर त्यो भारतको नेपाल नीतिकै अंग देखिने गरेको छ । मूलतः भारतसँगको सम्बन्धमा कठिनाइ उत्पन्न हुँदा मात्र प्रयोग हुने चीन नीति छ । त्यसैले चीनले पनि आफ्ना रणनीतिक लक्षको आवश्यकताअनुसार मात्र उपयोग गर्ने नेपाल नीति अंगीकार गरेको देखिन्छ । त्यसैले ती सम्बन्धहरूले हार्दिकताको सुगन्धभन्दा बाध्यताको पीडालाई मात्रै प्रतिविम्बन गर्ने गरेका छन् ।

भारत र चीनबाहेकका मुलुकहरूसँगका हाम्रा द्विपक्षीय सम्बन्धमा पनि कुनै सिर्जनशीलता देखिँदैन । राष्ट्रिय हितहरूको प्रवर्धन र विस्तारमा ती सम्बन्धहरू सञ्चालन गर्ने कुनै प्रबल प्रतिबद्धता नभएकाले ती शिथिल र गतिहीन देखिन्छन् ।

नेपालजस्तो दुइटा ठूला र शक्तिशाली मुलुकहरूबीचको मुलुकको राष्ट्रिय सुरक्षा, एकता र समृद्धिको मुख्य आधार उसको परराष्ट्र नीति हो । आफ्नो सघन कूटनीतिक क्रियाशीलताबाट विश्व समुदायलाई आफ्नो अस्तित्व, उपस्थिति, पहिचान र सरोकारबारे निरन्तर जानकारी गराइरहनु र नेपालका राष्ट्रिय हितहरूका पक्षमा उनीहरूको प्रतिबद्धता सुनिश्चित गराइरहनु परराष्ट्र रणनीति हो । त्यो नै नेपालको सुरक्षा, अखण्डता र समृद्धिको आधार हो।

यो गर्न नसकेको र आफ्ना परराष्ट्र नीतिमार्फत अन्य मुलुकसँगका सम्बन्धमा अवसर र चुनौती र खतराका क्षेत्रहरूको पहिचान गरेर उपयुक्त नीति अवलम्बन गर्न नसकेकाले हामीले निरन्तर कठिन राजनीतिक र रणनीतिक झट्काहरू बेहोरिरहेका छौं ।त्यसमाथि मुलुकको राजनीतिक नेतृत्वले परराष्ट्र मामिलामा जनमतलाई नेतृत्व गर्न पनि सकिरहेको छैन । ऊ जनमतको दास बनेको पनि देखिन्छ । त्यसले पनि सरकारलाई परराष्ट्र मामिलामा संगत रणनीति अख्तियार गर्न छेकिरहेको छ ।

जुग भयो, हामीले हाम्रा कुनै राष्ट्र प्रमुख र सरकार प्रमुखलाई भारत र चीनबाहेकका कुनै मुलुकको राजकीय भ्रमण गराउन र ती मुलुकबाट पनि त्यस्तो भ्रमण गराउन सकेका छैनौं । कहाँसम्म भने दक्षिण एसियाका भारतबाहेकका मुलुकबाट पनि त्यस्तो भ्रमण हुन सकेको छैन । हाम्रो परराष्ट्र नीतिले क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता आर्जन गर्न नसकेको प्रमाण अर्को चाहिएन ।

विडम्बना के पनि छ भने नेपालका कुनै प्रधानमन्त्रीलाई आमन्त्रण गर्न दुवै मुलुकबीच आरम्भ भएका आवश्यक कूटनीतिक प्रक्रिया टुंगिन पनि नपाउँदै नेपालमा नयाँ प्रधानमन्त्री आइसक्छन् ।

 विश्व व्यवस्थामा न्याय दानमा पाइन्न

एउटा प्रजातान्त्रिक, गतिशील र समृद्ध राज्य हाम्रो राष्ट्रिय स्वतन्त्रताको पहिलो सर्त हो । तर नेपाल निरन्तर कमजोर हुँदै आइरहेको छ । उसका दुईतिरका छिमेकीहरू निरन्तर शक्तिशाली हुँदै गइरहेका छन् ।
संसारमा धेरै परिवर्तन भए, शक्तिका स्वरूप र चरित्रमा पनि व्यापक परिवर्तन आए । तर राष्ट्रहरूमाझको शक्ति वितरणले निर्माण गर्ने प्रभावको गति र चरित्रमा कुनै परिवर्तन आएको छैन ।

हामी भारत, चीन, अमेरिका वा रूस, बेलायत वा जर्मनीको रणनीतिक साधन होइनौं, हुन सक्दैनौं । तर आफ्नो रणनीतिक लक्षमा उनीहरूसँगको सम्बन्धलाई हामी कसरी ग्रहण गर्दछौं र उनीहरूसँग दीर्घकालीन हित र सुरक्षा सवालमा साझा लक्ष निर्धारण गर्न कसरी सक्छौं, त्यसले मात्र हाम्रा राष्ट्रिय हितलाई सुरक्षित राख्छ ।

अर्को कुरा, भारतको अत्यधिक प्रभाव र नेपालको स्वतन्त्रता, प्रभुसत्ता र दीर्घकालीन आर्थिक हितको सुरक्षामाथि भारतद्वारा प्रस्तुत हुने गरेको सधैंको चुनौतीलाई सम्बोधन गर्न नेपालमा चीनलगायत अमेरिका र युरोपेली राष्ट्रहरूको सघन सरोकार निर्माण गर्न सक्नैपर्छ । प्रारम्भ ती मुलुकलाई नेपालमा उनीहरूको बृहत् लगानीको सम्भावित क्षेत्र पहिचान गर्न र उनीहरूको लगानीको सुरक्षा हुने वातावरण निर्माणको लागि राज्य क्षमता निर्माणसहितका भौतिक तथा जनशक्ति पूर्वाधार निर्माणको सहमतिबाट गर्न सकिन्छ ।

नेपालको उत्तर र दक्षिण सुगम यातायातका साधन उपलब्ध भइसकेपछि दुवैतर्फको बजारलाई दृष्टिगत गरी नेपालमा ती मुलुकहरूले ठूलाठूला औद्योगिक र व्यापारिक प्रतिष्ठान स्थापना गर्न सक्छन् । उनीहरूसँग भएको रकमको विशाल परिमाण र अतिरिक्त उत्पादक क्षमतालाई लगानी गर्ने नयाँ क्षेत्र उनीहरूको दीर्घकालीन आर्थिक हितको लागि पनि अपरिहार्य भइसकेको छ ।

भारत र चीनजस्ता विशाल र शक्तिशाली राष्ट्रहरूका बीचमा रहेको र सोही कारणले विश्वका अन्य प्रमुख शक्तिराष्ट्रहरूसमेतको सघन रणनीतिक रुचि रहेको नेपालको भौगोलिक अवस्थितिलाई नेपालले आफ्नो स्वतन्त्रता र समृद्धिको विस्तारद्वारा क्षेत्रीय भूराजनीतिक दृश्यपटलमा आफ्नो शक्तिशाली भूमिका निर्वाहमा लगानी गर्न सक्छ र सक्नुपर्छ ।

नेपालले विश्व समुदायलाई भन्नुपर्छ- मुलुकैपिच्छे समाज विकास र राज्य निर्माणका फरक इतिहास र चरित्र हुन्छन् । प्रजातन्त्र र स्वतन्त्रताका विश्वव्यापी मानवीय मूल्य र संस्कृतिलाई ती फरक इतिहास र चरित्रका समाज र राज्यमा स्थापना गर्नुको औचित्य बुझ्न सकिन्छ । तर ती मूल्य र संस्कृतिलाई सबै फरक समाज र राज्य निर्माणको इतिहास भएका मुलुकहरूले समान विधि र प्रक्रियाबाट अनुशरण गर्नुपर्छ भन्ने शक्तिराष्ट्रहरूको विवेकहीन दबाब र हस्तक्षेपले नै विश्व समाजमा यतिविघ्न अराजकता, अव्यवस्था, हिंसा र आतंक बढाएको हो।

के पनि हो भने, प्रबल राष्ट्रिय चेतना, आत्मसम्मान, स्वच्छ छवि तथा मुलुक र जनताको लागि सुन्दर एवम् सुरक्षित भविष्यदृष्टि नभएको राजनीतिक नेतृत्वले जनताको विश्वासको जोहो गर्नै सक्दैन । जनताको त्यस्तो विश्वासको पुँजीलाई राजनीतिक प्रणाली र नेतृत्वले आफ्नो ऊर्जाको रूपमा ग्रहण गर्न सक्दैन भने राष्ट्र बाँच्दैन ।

अर्को, भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदादिँदै पनि नेपालले अमेरिका, जापान, इन्डोनेसिया, अस्ट्रेलियालगायत युरोपका शक्तिशाली राष्ट्रहरूसँगको सम्बन्धलाई निरन्तर घनिष्ट र परस्पर हितमा आधारित बनाउन सम्पूर्ण ध्यान दिनुपर्छ ।

साथै, नेपालले भारत, चीनलगायत ती मुलुकहरूबीचको शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पार्नमा आफ्नो सम्पूर्ण कूटनीतिक क्षमताको प्रदर्शन गर्नुपर्छ । त्यो सम्पूर्णरूपमा उचित छ र भारत, चीन, रूस, अमेरिका सबैले त्यो गर्छन् । त्यो गर्न नसकेर पनि नेपाल यति कमजोर भएको हो ।

सरकार भन्नेबित्तिकै मुलुकभित्रका सबै संगठनहरूको प्रभु संगठन हो । सबै संगठनमाथि उसको स्वामित्व रहन्छ र रहनुपर्छ । राज्यको तर्फबाट राज्यका प्राथमिकताहरूको निर्णय राज्यले गर्ने हो, अरू संगठनले होइन । तर अन्य संगठनहरूको विचार र सुझाव ग्रहण गरेर राज्यले आफ्नो नीतिलाई समृद्ध बनाउन भने सक्छ ।

नेपालको भूगोल छ, निर्वाचित वैधानिक सरकार छ, जनसंख्या छ र कानुनी प्रभुसत्तासम्पन्न पनि छ । त्यसलाई अन्तर्राष्ट्रिय मान्यता छ । कानुनीरूपमा नेपालको स्वतन्त्रता र प्रभुसत्ताबारे प्रश्न उठाउन सकिँदैन । तर व्यवहारमा त्यसलाई अनुभूत गराउन सकिएको छैन ।

वैधानिक सरकार छ, तर सरकारले आफ्नो वैधता सावित गराइरहेको छैन । सरकारको वैधता भनेको सरकारले जनताबाट प्राप्त गर्ने विश्वास हो । तर राज्यविरुद्ध जोकोहीले जतिखेर पनि हिंसा प्रयोग गर्न सक्ने तर आफ्नो भूभागभित्र हिंसा प्रयोगको एकाधिकार पाएको राज्यले उनीहरूसमक्ष आत्मसमर्पण गरिरहने अवस्थाले राज्यको पक्षमा जनताको र अन्तर्राष्ट्रिय समुदायको विश्वास जागिरहेको छैन । माथि ली कुवान युको इन्डोनेसियाली कमान्डोहरूसम्बन्धी धारणा यहाँ मननीय छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.