सम्पदा संरक्षणमा बेवास्ता

सम्पदा संरक्षणमा बेवास्ता

राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाको कारण नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइसकेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । नेपाल हिमालय शृंखलाको बीच भागमा छ भने यहाँको सम्पूर्ण भूभाग हिमालयभित्र नै पर्छ ।

subodh-dhakalहिमालय विश्वको कान्छो पर्वत शृंखला भएको र पर्वत बन्ने प्रक्रिया अहिले पनि जारी रहेको अवस्थामा पृथ्वीको अनौठा र रोमाञ्चक रहस्यहरू जान्न विश्वका अनुसन्धानकर्ता र वैज्ञानिकहरूका लागि नेपाल खुला किताब र प्रयोगशालाको रूपमा संसारभरि प्रसिद्ध छ । यस्तै अनुसन्धानको लागि विश्वप्रसिद्ध वैज्ञानिकहरूको नेपालमा बेलाबेलामा मेला नै लाग्ने गर्छ । त्यस्तै नेपाली विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अनुसन्धान गर्ने प्राध्यापकहरूका लागि यस्ता सम्पदा अति नै महत्वपूर्ण सम्पत्ति हुन् ।

कक्षाकोठामा पढ्दा बुझ्न निकै कठिन हुने विषय हाम्रा यस्ता सम्पदाका स्थालगत अध्ययनबाट अति सजिलो र प्रस्टसँग बुझ्न सकिने अधिकांश विद्यार्थीको अनुभव छ । यस्ता सम्पदाहरूको अध्ययन भूगर्भ विज्ञान, सिभिल इन्जिनियरिङ, वातावारण विज्ञान, वन विज्ञान आदि पढ्ने स्नातक र स्नातकोत्तरका विद्यार्थीका लागि अति जरुरी हुन्छन् । तर अहिलेको नेपालको पूर्वाधार विकासका कार्यक्रम र अवैज्ञानिक अनि जमिनको संवेदनहीन दोहनले गर्दा यस्ता अनुसन्धान गर्नेहरूको लागि सिक्ने-सिकाउने हामी नेपालीकै लागि पनि प्रतिकूल असर परिरहेको छ ।

भूगर्भ विज्ञानको पढाइ सुरु गरेका विद्यार्थीका लागि धादिङको मलेखु क्षेत्र अति नै महत्वपूर्ण स्थलको रूपमा विकसित भएको ठाउँ हो । यसैलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसअन्तर्गतको भूगर्भ विभागले विभिन्न विदेशी संघसंस्था तथा व्यक्तिहरूको समेत सहयोगमा यो ठाउँमा सुविधासम्पन्न विद्यालय भवन बनाउन मात्र नभई व्यवस्थापनसम्मलाई सहयोग गरिरहेको छ ।

विद्यालयको जाडो बिदामा त्रिचन्द्र क्याम्पसका स्नातक तहका विद्यार्थी यो विद्यालयमा आफ्नो क्याम्प खडा गरेर स्थलगत अध्ययनको लागि दिलोज्यान दिएर खट्ने गर्छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतका सम्बन्धनमा चलेका विभिन्न कलेजमा सिभिल इन्जिनियरिङ पढिरहेका विद्यार्थीको पनि यो ठाउँमा अध्ययनको लागि भीड लाग्ने गर्छ । विराटनगर र नेपालगन्जसम्मका विद्यार्र्थीहरू पनि यो ठाउँमा अध्ययन गर्न आउने गर्छन् । तर अहिलेको सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले यो ठाउँका भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् ।

मलेखु खोलाको किनारामा ठूलो चट्टानमा रहेको 'प्लन्जिङ फोल्ड' खोलाको साइडबाट खनिएको सडकले काटेर फालिसकेको अवस्था छ । यहाँदेखि दक्षिणतिरको भागमा पनि यस्तै खाले भौगर्भिक संरचनाहरू सतहमा नै देख्न सकिने खालका छन् र योलगायत अन्य सम्पदाको पनि संरक्षणमा कसैबाट कुनै पहल भएको छैन ।

पछिल्लो समय पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र पनि पहिरो, बाढी तथा कटानको तीव्र चपेटामा परेको छ भने यसको संरक्षणमा कालीगण्डकी नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र दुवैतिर वैज्ञानिक कदम चाल्नुपर्ने देखिन्छ ।

त्यस्तै बुटबलबाट तानसेनसम्मको भाग पनि नेपाली विद्यार्थीको लागि अति नै महत्वपूर्ण क्षेत्र हो, जहाँ प्रत्येक वर्ष सयौंको संख्यामा भूगर्भशास्त्रका विद्यार्थी भौगर्भिक अध्ययनका लागि जाने गर्छन् । त्रिवि त्रिचन्द्र क्याम्पसअन्तर्गतको भूगर्भ विभागले विभिन्न विदेशी संघसंस्था तथा व्यक्तिहरूको समेत सहयोगमा यो ठाउँमा पनि सुविधासम्पन्न विद्यालय भवन बनाउन सहयोग गरेको थियो । यो क्षेत्रमा पनि केही महत्वपूर्ण भौगर्भिक सम्पदाहरू छन्, जो अहिले अति जोखिममा छन् ।

यहाँको दोभान खोलाको क्षेत्रमा पछिल्लो समयमा 'सीसीटी' भनिने हिमालयको इतिहास बताउन सक्ने भौगर्भिक संरचना सतहमा नै देखिएको छ, जुन अनुसन्धानकर्ता र सिक्ने सिकाउनेको लागि अति नै उपयोगी छ । यसले हिमालयको उत्पत्ति, विकासक्रम र भूकम्पहरूको इतिहासको बारेमा पनि महत्वपूर्ण सूचना दिनसक्छ । यो सम्पदाको संरक्षण पनि अति नै जरुरी देखिएको छ । यस्तै यहाँको दोभाननजिक तिनाउ खोलाको किनारमा मानव जातिको पहिलो पुर्खाको दुर्लभ अवशेष मानिएको 'रामापिथेकस' भेटिएको छ र यो पनि संरक्षणको अभावमा नष्ट हुन सक्ने अवस्थामा छ । रामापिथेकस जातिबाटै मानव जातिको उत्पत्ति भएको मानिएको छ ।

यसको संरक्षण पनि राज्यको जिम्मेवारी हो । पछिल्लो समय पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र पनि पहिरो, बाढी तथा कटानको तीव्र चपेटामा परेको छ भने यसको संरक्षणमा कालीगण्डकी नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र दुवैतिर वैज्ञानिक कदम चाल्नुपर्ने देखिन्छ । यी त नेपालका केही प्रतिनिधि क्षेत्र मात्र हुन्, यस्तै सम्पदाको संरक्षण गर्नुपर्ने स्थानहरू नेपालका विभिन्न स्थानमा रहेका छन् । दाङ, मुस्ताङ कालीगण्डकी खोला क्षेत्र, रसुवा, सुनकोसी क्षेत्रमा पाइने सम्पदा पनि संरक्षण गर्नुपर्ने क्षेत्रहरू नै हुन् ।

यस्ता थाहा पाइसकिएका क्षेत्रबाहेक अन्य कुन-कुन स्थान अति महत्वपूर्ण छन् भन्ने कुराको ढिलाइ नगरी अनुसन्धान गर्नु जरुरी छ । तर यस्ता क्षेत्रको पहिचान र संरक्षणको बारेमा कतैबाट पहल भएको छैन । यसबाहेक प्राकृतिक स्रोत साधनको लागि कुन-कुन स्थान सम्भाव्य छन् र कुन-कुन स्थानमा अझै अनुसन्धान गर्नु जरुरी छ भन्ने कुराको पनि सूक्ष्म विश्लेषणसहितको तथ्यांक निकाल्नु जरुरी छ । प्राकृतिक ग्याँस, पेट्रोलिएम पदार्थ तथा विभिन्न मेटालिक र ननमेटालिक धातुजन्य र मिनरलजन्य पदार्थहरूको सम्भाव्य स्थानहरूको पनि विभिन्न निकायहरूबीचको संयोजनकारी पहलमा संरक्षण र विस्तृत अध्ययन पनि जरुरी छ ।

नेपालको चुरे क्षेत्र, महाभारत क्षेत्र, तल्लो हिमालय तथा उच्च हिमाली सबै पहाडी भूभागमा अहिले चलिआएको अति अवैज्ञानिक र संवेदनहीन अतिक्रमण तथा दोहन अनि राज्यको बेवास्ता हाम्रो पहिचान जोगाउने र पहिचानको खोजतलास गर्ने काममा प्रमुख बाधकको रूपमा देखा परेका छन् । त्यसैले यस्ता कामलाई तुरुन्तै वैज्ञानिक बनाउनु जरुरी भइसकेको छ । अहिलेको खानी विभाग र त्रिविको बीचमा समन्वय गरी यस्ता सम्पदाहरूको दुरुस्त कम्प्युटराइज्ड डाटाबेस तयार पारी संरक्षण अति आवश्यक, आवश्यक र कम आवश्यक जस्ता समूहमा छुट्ट्याई सोहीअनुसारको नीति र कार्यक्रम बनाई संरक्षणमा दिलोज्यान दिनु उत्तम देखिन्छ ।

कुनै पनि स्थानमा गरिने विकास निर्माणका काम र प्राकृतिक स्रोतसाधनको उपयोगको सवालमा नीति र कार्यक्रम तर्जुमा गर्नुभन्दा पहिला र कार्यक्रम लागू गर्ने बेलामा यस्ता सम्पदासम्बन्धी अनुसन्धान गर्ने सरकारी निकाय, विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक र भूगर्भविद्हरूको सुझाव, सल्लाह र अनुसन्धानलाई प्राथमिकता राखेर मात्र अघि बढ्ने व्यवस्था लागू गर्नु जरुरी देखिन्छ । प्राकृतिक वातावरणसँग गाँसिएका कुरामा ध्यान दिन र संरक्षण गर्न 'इन्भाइरोमेन्टल इम्प्याक्ट एसेस्मेन्ट, ईआईए' गर्ने अहिलेको परिपाटी जस्तै विकास निर्माणका कार्यक्रम र प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने खालका कार्यक्रम लागू गर्नुपूर्व 'भौगर्भिक सम्पदा असर मूल्यांकन' अथवा 'जिओलोजिकल हेरिटेज इम्प्याक्ट एसेसमेन्ट, जिहेआईईए' गर्नु अति नै जरुरी भइसकेको छ ।

यो मूल्यांकनमा पास भएका कार्यक्रम मात्र लागू गर्ने व्यवस्था अहिलेको सम्पदा जोखिम घटाउने महत्वपूर्ण कडी साबित हुनसक्छ । अहिलेको राज्य पुनर्संरचना र अधिकारको विकेन्द्रीकरणको परिवेशमा यो कामलाई अघि बढाउनु वाञ्छनीय देखिन्छ । यसले स्थानीय सरकार र जनताको पहिचान तथा आयस्रोतमा पनि सकारात्मक प्रभाव पार्नेमा कुनै शंका रहँदैन ।

यस्तो कदम समयमा नै चाल्न नसक्ने हो भने हाम्रो पहिचान संसारभरि फैलाउन सक्ने महत्वपूर्ण भौगर्भिक सम्पदा त लोप हुन्छन् हुन्छन्, मानिसको सुरक्षा र उनीहरूको जीवनमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्न सक्ने विज्ञानको विकासमा पनि ठेस लाग्न जानेछ । यसको अति महत्वपूर्ण नकारात्मक असर नेपालामा नै गुणस्तरीय जनस्रोत उत्पादन गरिरहेको भनेर नाम कमाएको त्रिविको भूगर्भ विभागको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि तथा यहाँका विद्यार्थीको गुणस्तर कायम राख्ने वा त्यसलाई बढाउने हाम्रो हरप्रयासमा धक्का लाग्ने निश्चित प्रायः देखिन्छ । —ढकाल त्रिविका सहप्राध्यापक हुन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.