नेपाली विषयको दुर्दशा

नेपाली विषयको दुर्दशा

परीक्षा नियन्त्रण कार्यालयले भर्खरै सार्वजनिक गरेको एसईई परीक्षाको नतिजाअनुसार अनिवार्य नेपाली विषयमा विद्यार्थीहरू निकै कमजोर देखिएका छन् । झन्डै साढे चार लाख विद्यार्थीले परीक्षा दिएकामा १८१ जनाले मात्र नेपाली विषयमा ए प्लस ल्याएको तथ्य सार्वजनिक भएको छ । अंग्रेजी विषयमा भने नौ हजारभन्दा बढी विद्यार्थीले ए प्लस ल्याएको देखिन्छ । अन्य विषयका तुलनामा यस वर्ष र विगतका वर्षमा समेत नेपाली विषयमा निकै कमजोर विद्यार्थीहरू रहेको यथार्थ सर्वविदित छ । नेपालका अधिकांश विद्यार्थीहरूको मातृभाषा नेपाली भएर पनि विद्यार्थीले नेपाली विषयमा किन राम्रो नतिजा ल्याउन सक्दैनन् भन्ने खोज अनुसन्धानको विषय समय सान्दर्भिक बनेको छ ।

mahananda-timilsenaसर्वप्रथमत नेपाली विषयमा विद्यार्थी कमजोर हुनुको कारण विद्यालयको प्रतिकूल वातावरण हो । निजी विद्यालयका विद्यार्थीहरूले विद्यालयपरिसरमा नेपाली भाषामा कुराकानी र छलफल गर्न पाउँदैनन् । अंग्रेजी भाषालाई प्रोत्साहन गर्ने नाममा नेपाली भाषामाथि दमन गरिएको देखिन्छ । कथंकदाचित् विद्यार्थीबाट नेपाली शब्द बोलियो भने उसले सजाय भोग्नुपर्ने हुन्छ । पचासौंपटक उसले कान समातेर उठबस गर्नुपर्ने हुन्छ । विद्यालयपिच्छे विद्यार्थीलाई फरक-फरक किसिमले सजाय दिइन्छ । जसले गर्दा नेपाली पिरियडमा समेत विद्यार्थीहरू नेपाली बोल्न डराउँछन् र अप्ठ्यारो मान्छन् । बोल्नै नपाएपछि कसरी भाषा सिकाइ हुन्छ ? भाषा त जति अभ्यास गर्‍यो, त्यति छिटो सिकिँदै जाने वस्तु हो, त्यति परिष्कृत र परिमार्जित हुँदै जाने विचार विनिमयको साधन हो ।

नेपाली विषयप्रति अभिभावकसमेत सचेत र संवेदनशील बन्न सकेको अवस्था छैन । घरमा आफ्ना छोराछोरीले अंग्रेजी, विज्ञान, गणितजस्ता विषय ध्यानपूर्वक पढेको देख्दा अभिभावक खुसी र सन्तुष्ट बनेको पाइन्छ, तर छोराछोरीले नेपाली पढिरहेको देख्दा 'यत्रो खर्च गरेर बोर्डिङमा पढाएको छ, के नेपाली नाथुमा घोत्लिरहेको !' भन्ने किसिमको विचार कतै बाहिरै प्रकट हुन्छ त कतै अव्यक्त रूपमा मस्तिष्कमा रुमल्लिरहेको पाइन्छ । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकहरूमा समेत नेपाली त यत्तिकै जानिहालिन्छ नि, अरू विषय पो पढ्नुपर्छ त भन्ने सोचाइ रहेको देखिन्छ । अन्य विषयहरूमा विद्यार्थी कमजोर भए पनि र नभए पनि ठूलो लगानी गरेर ट्युसन पढाइन्छ । विद्यालय जानुअघि र विद्यालयबाट फर्किएपछि पनि विद्यार्थीहरू अन्य विषयको ट्युसन पढ्नमा व्यस्त देखिन्छन्, तर नेपाली विषयको ट्युसन पढ्न न त विद्यालयले प्रेरित गरेको छ, न अभिभावकले, न त विद्यार्थी आफैं उत्सुक बनेका छन् ।

अत्यधिक विद्यार्थीहरूको चाप रहेको निजी विद्यालयमा आठ विषयमध्ये नेपाली विषय मात्र नेपाली भाषाका माध्यमबाट शिक्षण हुने गरेको छ । अन्य सात विषयहरू अंग्रेजी भाषाका माध्यमबाट नै शिक्षण हुँदै आएका छन् । जसले गर्दा पनि विद्यार्थीहरू नेपाली भाषा र विषयमा अभ्यस्त नहुनाले कमजोर देखिएका छन् । नेपालमा अंग्रेजी भाषालाई आवश्यकताभन्दा बढी प्र श्रय र प्रोत्साहन दिएको अवस्था छ । गरिब मुलुक नेपालमा राम्रो रोजगारको अवसर नपाइने र अन्ततो गत्वा विदेश नै जानुपर्ने हुन्छ भन्ने मनस्थिति विद्यार्थी र अभिभावकमा समेत रहने गरेकाले नेपाली विषयप्रति न विद्यार्थीको रुचि देखिन्छ न त अभिभावकको नै । यस किसिमको नेपाली विषयप्रतिको बेवास्ताका कारण पनि विद्यार्थीहरूमा अपेक्षाकृत नतिजा आउन नसकेको देखिन्छ ।

अहिले दार्जिलिङ क्षेत्रमा नेपाली भाषालाई विस्थापन गर्ने किसिमले ल्याइएको रणनीतिजस्तै कुनै दोस्रो भाषाबाट नेपाली भाषामाथि आक्रमण हुन सक्छ । त्यसैले समयमै नेपाली भाषामा विद्यार्थीलाई सबल बनाउनेतर्फ सम्बन्धित निकायहरूले पहल गर्नुपर्छ र नेपाली भाषाको अस्तित्व रक्षाको लागि कटिबद्ध हुन नितान्त आवश्यक छ ।

विद्यालयले नेपाली विषय शिक्षकप्रति गर्ने व्यवहारले पनि परोक्ष रूपमा विद्यार्थी कमजोर बनेका पाइन्छन् । सामुदायिक विद्यालयहरूमा पर्याप्त विषयगत दरबन्दी रहेको पाइँदैन । यस्तो विषम अवस्थामा अरू विषय पढाउन नसक्ने वा विषयगत दक्षताको लागि मेहनत गर्न नचाहने शिक्षकलाई नेपाली पढाउन दिइन्छ । नेपाली सजिलो विषय हो र यो सामान्य लेखपढ गर्नसक्ने जोकोहीले पनि पढाउन सक्छन् भन्ने गलत धारणा राखेर शिक्षणको जिम्मेवारी दिनाले पनि विद्यार्थीमा असर परेको पाइन्छ । अझ केही प्रतिष्ठित निजी विद्यालयबाहेक अन्य विद्यालयले त नेपाली शिक्षकप्रति भेदभावपूर्ण व्यवहार गरेको देखिन्छ । नेपाली पढाउने शिक्षकको अभाव छैन।

त्यसैले नेपाली पढाउनेलाई जसो गरे पनि हुन्छ भन्ने किसिमको मानसिकता विद्यालय सञ्चालकमा रहेको पाइन्छ । नेपाली शिक्षकलाई मासिक रूपमा तलब दिन पनि आनाकानी गरी महिनौं झुलाउने गरेको अवस्था पनि देखिएको छ । विद्यालय प्रशासनले गर्ने यस किसिमको भेदभावपूर्ण व्यवहारले पनि शिक्षकमा शिक्षणप्रति उत्साह ल्याउन नसकेको वास्तविकता हामीसामु छर्लंग छ ।

भाषा सिकाइका लागि विद्यार्थीमैत्री वातावरणको आवश्यकता पर्छ । भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ सीप विकासको लागि विद्यार्थी सहभागिता र सक्रियता आवश्यक हुन्छ । विद्यार्थीमा भाषिक सीप विकासको लागि उनीहरूलाई नै बोल्न, पढ्न र लेख्न लगाउनुपर्ने हुन्छ, तर विद्यालय प्रशासनले कक्षाकोठाबाट विद्यार्थीको आवाज आउनु हुँदैन भन्ने धारणा राखेको देखिन्छ र शिक्षकले व्याख्यान गरेको एवं विद्यार्थीले मूर्तिवत् बनेर सुनेको मात्र प्रशासनले हेर्न चाहेको बुझिन्छ । अतः प्रशासनको इच्छाअनुसार नै शिक्षकले चल्नुपर्ने हुँदा विद्यार्थीकेन्द्रित वातावरण तयार हुन सक्दैन र प्रभावकारी शिक्षण हुँदैन ।

यसैगरी विद्यालयहरूमा पर्याप्त श्रव्य, दृश्य शैक्षिक सामग्रीको अभाव छ, पूरक सामग्रीहरूको खडेरी छ । केवल पाठ्यपुस्तकका भरमा मात्र शिक्षण गर्नुपर्दा प्रस्तुति झन्झटिलो र निरस बन्न पुग्छ । सधैं एकोहोरो ढंगले पाठ्यपुस्तकका पाठहरूको व्याख्यानबाट विद्यार्थी शिक्षणप्रति विमुख बन्न पुग्छन् र परिणाम निराशाजनक हुन्छ । कतिपय विद्यालयहरूमा विद्यालय सञ्चालकका योग्यता नपुगेको र विषयवस्तुमा निपुण नभएका नातेदार एवं साथीभाइबाट आधारभूत तहका नेपाली विषयका कक्षाहरू लिँदै आएको देखिन्छ भने कतिपय ठाउँमा माथिल्ला कक्षामा समेत उनीहरूले शिक्षण गर्दै आएको पाइन्छ । सम्बन्धित विषयविज्ञ शिक्षकको अभावबाट विद्यार्थीहरूमा कक्षाअनुसारको आधार तयार हुँदैन । हरेक कक्षामा उनीहरू कमजोर बन्दै जान्छन्, फलस्वरूप कक्षा १० मा पुग्दा पनि उनीहरूमा सामान्य रूपमा पढ्न, लेख्न सक्ने क्षमताको विकास पनि भएको हुँदैन । आधारशिला मजबुत नहुनाले पनि विद्यार्थीले चित्तबुझ्दो नतिजा ल्याउन सकेको देखिँदैन ।

विद्यार्थीलाई स्तरीय नेपाली भाषा सिकाउने सन्दर्भमा पनि समस्या छ । नेपाली भाषाको आधिकारिक र मानक व्याकरणको अभाव छ । नेपाली भाषाको वर्णविन्यासको विषयलाई लिएर विवाद भइरहन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानले तयार पारेको २०७२ सालको शब्दकोशलाई प्रतिष्ठान आफैंले पुनः अस्वीकृत गरेको छ । परिष्कार गरिएको भनिएको भाषा पुनः अपरिष्कृत रहेको पुष्टि गरिएको छ । चार वर्ष अगाडिदेखि कक्षा ६ को नेपाली पाठ्यपुस्तकबाट भाषिक परिष्कार र वर्णविन्यासगत संशोधनको विषयलाई परिवर्तित नियमअनुसार समावेश गरियो । क्रमशः यस वर्ष १० कक्षाको पाठ्यपुस्तकमा पनि पाठगत र वर्णविन्यासगत रूपमा संशोधन गरियो ।

तर केही महिनाअघि प्रतिष्ठानले पुनः वर्णविन्याससम्बन्धी पुरानै नियम रहने निर्णय गर्‍यो । यसबाट भाषा शिक्षक र विद्यार्थीसमेत अन्योलमा रहेको अवस्था छ र यही परिवेशमा विद्यार्थीले यस वर्षको एसईई परीक्षा दिएका हुन् । यस भाषिक विवाद र अन्योलको स्थितिले समेत विद्यार्थीको परीक्षालाई प्रभाव पारेको देखिन्छ ।

यसैगरी शैक्षिक सत्रको प्रारम्भमा पाठ्यक्रम र पाठ्यपुस्तक उपलब्ध नहुनु एवं पाठ्यक्रम र पाठ्यपुस्तकबीच उद्देश्यअनुकूल तालमेल नमिल्नु पनि विद्यार्थीहरूका लागि समस्या बनेका छन् । नेपाली भाषा शिक्षण गर्ने कतिपय शिक्षकहरू तालिम प्राप्त छैनन् ।

नेपाली भाषा शिक्षण गर्दा सीपकेन्द्रित नभई विषयवस्तुमा केन्द्रित रहनाले पनि विद्यार्थीले अपेक्षित सफलता पाउन सकेका छैनन् । शिक्षकले प्रयोग गर्ने भाषा शुद्ध, मानक र अनुकरणीय हुनुपर्छ । यसको अभावमा पनि कक्षाकोठामा उचित भाषिक वातावरण तयार हुन सकेको पाइँदैन ।

नेपाल बहुभाषिक मुलुक हो । यहाँका विभिन्न जातजातिले १२३ किसिमका भाषाहरू मातृभाषाको रूपमा प्रयोग गर्ने गरेको देखिन्छ । एउटै कक्षाकोठामा फरक-फरक मातृभाषा भएका विद्यार्थीहरूलाई राखेर नेपाली भाषा सिकाउन निकै समस्या छ । आआफ्नो मातृभाषाको प्रभावले नेपाली भाषा सिकाइमा व्यवधान पुर्‍याइरहेको हुन्छ । यस्तो बहुभाषिक परिवेशमा भाषा शिक्षकले दोस्रो भाषाका रूपमा नेपाली शिक्षण गर्दा विद्यार्थीको पारिवारिक, सामाजिक एवं मनोवैज्ञानिक भाषिक अवस्था बुझेर शिक्षण गर्नुपर्नेमा यसतर्फ ध्यान नपुर्‍याउँदा पनि विद्यार्थीको नतिजामा प्रभाव परेको पाइन्छ । विद्यार्थीहरूलाई रचनात्मक एवं सिर्जनात्मक क्रियाकलापमा सहभागी नगराउनाले पनि उनीहरूको प्रतिभा प्रस्फुटन हुन नपाई सिर्जनशील बन्न सकेका देखिँदैनन् र घोकाइमा जोड दिन बाध्य छन् ।

नेपाली भाषा नेपालको राष्ट्रिय महत्वको भाषा हो, सम्पर्क भाषा हो, सूचना र सञ्चारको भाषा हो । साथै सरकारी कामकाजको भाषा पनि हो । यस भाषाअन्तर्गत नेपालीहरूको धर्म, इतिहास, संस्कृति, सभ्यता र परम्पराहरू अन्तर्निहित छन् । यस भाषामा साहित्यको भण्डार नै छ, कोश र व्याकरणहरू छन् । यस्तो समृद्ध भाषाको अस्तित्व रक्षाको लागि सरकारी पक्ष र गैरसरकारी पक्षलगायत हामी सबैको उत्तिकै दायित्व छ । हरेक पक्षले यसप्रति देखाएको उदासीनता र बेवास्ताका कारण आज विद्यार्थीको नतिजा राम्रो आएको छैन ।

उनीहरू कमजोर देखिएका छन् भने भोलि विद्यार्थी मात्र नभई भाषा नै कमजोर बन्दै जान सक्छ र अहिले दार्जिलिङ क्षेत्रमा नेपाली भाषालाई विस्थापन गर्ने किसिमले ल्याइएको रणनीतिजस्तै कुनै दोस्रो भाषाबाट नेपाली भाषामाथि आक्रमण हुन सक्छ । त्यसैले समयमै नेपाली भाषामा विद्यार्थीलाई सबल बनाउनेतर्फ सम्बन्धित निकायहरूले पहल गर्नुपर्छ र नेपाली भाषाको अस्तित्व रक्षाको लागि कटिबद्ध हुन नितान्त आवश्यक छ ।

-तिमिल्सिना पिण्डेश्वर विद्यापीठका उपप्राध्यापक हुन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.