भक्तपुर क्यान्सर अस्पतालमा मनिषा कोइराला
भक्तपुर : नेपाली चलचित्र हुँदै भारतीय चलचित्र उद्योगमा स्थापित नेपाली चेली मनिषा कोइराला आर्थिक सहयोग लिएर भक्तपुर क्यान्सर अस्पताल पुग्नुभएको छ ।
कलाकार कोइराला आमा सुस्मासँगै मंगलबार अस्पताल पुग्नुभएको हो । उक्त अवसरमा उहाँले आफ्ना शुभचिन्तकबाट प्राप्त भएको एक लाख रुपैयाँ भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
क्यान्सर पीडित कोइरालाले अस्पतालको लागि अरु पनि सहयोग लिएर आउने बचन दिनुभयो । ‘यो सहयोगको सुरुवात हो’, उहाँले भन्नुभयो, ‘अब सहयोग निरन्तर जारी रहन्छ । क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि र क्यान्सर परीक्षण स्वास्थ्य शिविर गर्न मेरो निरन्तर सहयोग रहन्छ ।’
उक्त अवसरमा अस्पताल व्यवस्थापन समिति तथा नेपाल अर्बुदरोग निवारण संस्थाले उहाँसामु क्यान्सर जनचेतनाको सद्भावना दूत बन्न प्रस्ताव गरेको थियो । तर आफू धेरै संस्थाको सद्भावना दूत बनिसकेकोले आफूलाई थप बोझ नबोकाउन उहाँले आग्रह गर्नुभयो ।
‘प्रस्तावको लागि हार्दिक धन्यवाद’, कलाकार कोइरालाले भन्नुभयो, ‘अहिल्यै धेरै संघसंस्थाको सद्भावना दूत छु । मलाई थप बोझ नबोकाउनुहोस् । बरु क्यान्सर उपचार र जनचेतना फैलाउने काममा तपाईहरुले जहाँ भन्नुहोस् म त्यहाँ हाजिर हुन तयार छु ।’
उहाँले आर्थिक सहयोग हस्तान्तरणपछि अस्पतालको अवलोकनसमेत गर्नुभएको थियो । उहाँलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपाने, पूर्वमेडिकल डाइरेक्टर डा. राजेन्द्रप्रसाद बराललगायतले अस्पताल र अस्पतालमा उपलब्ध सेवा सुविधाबारे जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा अस्पतालले क्यान्सर उपचारको लागि अत्याधुनिक लिनायक मेसिन ल्याउने प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको थियो । करिब १५ करोड रुपैयाँ लागतको उक्त मेसिनको लागि आर्थिक सहयोग जुटाइदिनसमेत अस्पताल व्यवस्थापनले कलाकार कोइरालासँग प्रस्ताव गरेको थियो ।
यसको लागि नेपाल सरकारमार्फत विदेशमा रहेका नेपाली र दातृ राष्ट्र तथा दातृ निकायसँग संवाद अघि बढाउनुपर्ने उहाँले सुझाउनुभएको थियो । कलाकार कोइरालाले नेपालमै गुणस्तरीय क्यान्सर उपचारको व्यवस्थागर्नेबारे धेरैसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।
अस्पताल व्यवस्थापनले कलाकार कोइरालामार्फत प्राप्त एक लाख रुपैयाँ अस्पतालमा उपचार गर्न आउने गरिब एवं असहायहरुको निःशुल्क उपचारको लागि खर्च गरिने बताएको छ । गरिब र असहायहरुको निःशुल्क उपचारको लागि अस्पतालमा पहिलेदेखि नै च्यारिटी अक्षयकोषको व्यवस्था हुँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा. न्यौपानेले बताउनुभयो ।