रेडक्रसले बाँड्यो सोलार र सुधारिएको चुलो
गोरखाः नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्लाको साविक धुवाँकोट र च्याङ्ली गाविसमा सोलार र सुधारिएको चुलो वितरण गरेको छ ।
साविक धुवाँकोट गाविसको वडा नं. १ देखि ९ सम्म कुल ५२१ लाभग्राहीलाई सोलार व्याट्री र सोलार पाता वितरण गरिएको छ । वडा नं. ७, ८, ९ का ५२ जनालाई सुधारिएको चुलो प्रदान गरिएको छ । वडा नं. १ देखि ६ सम्मका १०० जनालाई सुधारिएको चुलो प्रदान गरिएको छ ।
सुधारिएको चुलो प्रयोग गर्दा धुवाँ कम आउने र इन्धनको खपत कम हुने भएकाले सेवाग्राहीहरु खुसी भएका छन् । यसैगरी साविक च्याङ्ली गाविस वडा नं. १ देखि ८ सम्मका ६९३ जनालाई सोलार सेट वितरण गरिएको छ । नेपाल सरकारको एक घर एक सोलार वितरण गर्ने नीति अनुसार हाल सम्म नेपाल रेडक्रस सोसाईटी र बैकल्पिक उर्जा प्रर्वदन केन्द्रको समन्वयमा १८ हजार घरधुरीलाई सोलार सेट प्रदान गरिएको छ ।
सोलार वितरणको कार्य भइरहँदा स्थानीय तहको निर्वाचन नजिकिदै गरेकाले निर्वाचन पछि नेपाल सरकारको योजना अनुसार धुवाँकोट र च्याङ्लीमा सोलार तथा सुधारिएको चुलो वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकारसँग पचास हजार सम्झौता गरी रकम लिएका नागरिकहरुलाई उनीहरुको निस्सा नम्बर, सम्झौता कार्ड र नागरिकताको प्रतिलिपि लिएर सोलार र चुलो वितरण गरिएको मन्त्री न्यौपानेले बताउनुभयो । सोलारबाट दुईवटा बत्ति बाल्न र मोवाईल चार्ज गर्न मिल्ने र सोलार पूर्ण रुपमा चार्ज भएपछि मात्र बत्ति बाल्नुपर्ने बताइएको छ ।