गोर्खाल्यान्ड र नेपालीभाषी एकता

गोर्खाल्यान्ड र नेपालीभाषी एकता

दार्जिलिङमा 'गोर्खाल्यान्ड' को माग राख्दै चर्किएको आन्दोलनले भारतका विभिन्न स्थानमा रहेका भारतीय नेपालीलाई तरंगित पारेको छ । नेपाललाई समेत कुनै न कुनै रूपमा प्रभावित बनाएको छ । दार्जिलिङको 'गोर्खाल्यान्ड' मागले नेपालीहरू र भारतमा रहेका भारतीय नेपालीहरूका बीचमा रहेको 'सांस्कृतिक एवं भाषिक' सम्बन्ध क्षत्विक्षत् पार्ने खतरासमेत रहेको देख्न सकिन्छ । यसको समर्थन र विरोध दुवैतर्फ नेपालीमा भावनात्मक तरंग उर्लिएका छन् ।

विद्युतीय सम्पर्कको माध्यमबाट सहज सम्पर्क स्थापित गर्न सकिने अहिलेको युगमा, नेपाल र दार्जिलिङका नेपाली आपसमा वाक्युद्ध गरिरहेका देखिन्छन् । दार्जिलिङका कतिपय अपरिपक्व युवा आन्दोलनकारी उनीहरूको 'गोर्खाल्यान्ड' आन्दोलनको अहिलेसम्मको असफलताको अपजस नेपालको शिरमा राख्ने प्रयास गर्दैछन् । यस्तो लाग्छ, उनीहरूलाई आभास पनि छैन 'उनीहरूको आन्दोलन कुन षड्यन्त्रको भुमरीभित्र डुबेको छ ।' यता नेपालीहरू 'गोर्खा' शब्दको मायाबाट बशीभूत भएर, दार्जिलिङलाई गाली गर्न उद्यत् रहेका छन् ।

उनीहरू भन्छन्, 'गोर्खा' शब्द नेपालीको धरोहर हो । नेपालमा र दार्जिलिङ (भारतका सबै ठाउँमा) बस्ने नेपाली सबैमा 'विश्लेषणद्वारा समस्याको जरो पत्ता लगाउने, तथ्यबाट सत्यको निरोपण गर्ने र अनुसन्धान र अन्वेषणबाट यथार्थ निक्र्योल गर्ने' क्षमता र बौद्धिकतामा भने कमी रहेछ भन्ने कुरा अहिले देखिएको वाक्युद्धबाट यकिन गर्न सकिन्छ ।

दार्जिलिङका आन्दोलनकारीहरू जसरी 'नेपालीको सद्भाव र समर्थनले गोर्खाल्यान्ड पाउन नसकेको भ्रममा आफ्नै 'सांस्कृतिक र भाषिक' बन्धुहरूप्रति उरन्ठेउला तर्क र अपमानको भाषा बोलिरहेका छन्, त्यसरी नै नेपालका नेपालीहरू 'तर्क, बौद्धिकता र वस्तुगत यथार्थ होइन, भावनाका दास बनेर अल्पज्ञानी उरन्ठेउलो व्यवहार नै गरिरहेका छन् । यस नाजायज वाक्युद्धले सम्पूर्ण नेपालीबीचको 'एकता' मा ह्रास आइरहेको छ भन्ने कुरा दुवैथरीले बुझेका छैनन् ।

page-7,-june29,-2017

एउटा कुरामा प्रस्ट हुँदै अन्य तर्कहरूमा प्रवेश गरौं । दार्जिलिङ अहिले भारतको 'भूभागभित्र छ ।' दार्जिलिङमा भारतको संविधान लागू हुन्छ र त्यहाँ पश्चिम बंगालको कानुन लागू हुन्छ । दार्जिलिङमा बस्ने नेपालीभाषीहरू 'बन्दे मातरम्' गाउँछन् । झन् अहिले त उनीहरू उफ्रीउफ्री भन्दैछन्, 'हामी भारतीय नेपाली' हौं, हामी नेपाली नागरिक होइन ।' यसमा किञ्चित विवाद छैन । यसैसँग सम्बन्धित अरू दुइटा तथ्य पनि प्रस्ट पारौं ।

दार्जिलिङ र हाल सिक्किम रहेको भूभाग प्राक् इतिहासकालमा नेपालकै भूभाग थिए । १७ औं शताब्दीको पहिलो खण्डतिर तिब्बतका राजाले सिक्किमको स्थापना गरे र दार्जिलिङको ठूलो भाग यसमै हालियो । तर १८ औं शताब्दीको अन्ततिर नेपालको पुनः एकीकरण भयो र दार्जिलिङ नेपालकै अधीनमा आयो । तर बेलायती उपनिवेशवादी इस्ट-इन्डिया कम्पनीसँगको युद्धमा हारेपछि सन् १८१६ पछि दार्जिलिङ नेपालबाट खोसियो ।

यस अर्थमा 'दार्जिलिङ' का नेपाली भारतीय राज्यकै आदिवासी होइनन्, उनीहरू नेपालको टुक्रिएको भूभागका जनता हुन् । तसर्थ उनीहरूको नेपालसँग भाषिक सम्बन्ध मात्र होइन, ऐतिहासिक सम्बन्ध पनि छ । यस्तै सम्बन्ध देहरादुनका नेपालीसँग पनि छ । तर आसाम र भुटानका नेपालीसँग भाषिक सम्बन्ध मात्र हो, ऐतिहासिक सम्बन्ध होइन । तसर्थ दार्जिलिङलाई हेर्दा अन्य कतिपय भूभागमा बसेका नेपालीभन्दा अलि फरक ढंगबाट हेर्नुपर्छ ।

दार्जिलिङले 'भारतमा प्रान्तीय मान्यता प्राप्त गर्‍यो' भने त्यहाँका नेपालीको स्वशासन स्थापित हुन्छ । अहिले उनीहरूको हैसियत 'युद्धमा जितेका देशको पराजित नागरिक' जस्तो छ । अर्थात् उनीहरूमाथिको शासन इतिहासमा उनीहरूको भूभाग कब्जा गर्नेले लादेको अधीन मात्र हो । त्यसैले उनीहरूको 'सम्मान र मर्यादा' को लागि उनीहरूले प्रान्तीय हैसियत पाउनैपर्छ । यसले उनीहरूलाई भारतका अन्य नागरिकहरूसरहको स्वशासनको समानता प्रदान गर्दछ । त्यसैले दार्जिलिङका जनताको आन्दोलन जायज र न्यायपूर्ण छ । त्यसप्रति समर्थन जनाउनु हरेक विवेकशील मानिसको नैतिकता हो ।

नेपालीको अस्तित्व समाप्त पार्ने ममता बेनर्जीको खेलविरुद्ध 'दार्जिलिङ' का नेपाली आफ्नो भाषा र इतिहास संरक्षणको लागि 'गोर्खाल्यान्ड' को माग गरिरहेका छन् । यसले नेपाल र दार्जिलिङका नेपालीको एकता मजबुत बनाउँछ । तर भारत किन 'गोर्खाल्यान्ड' को मान्यता दिन चाहँदैन ?

नेपालको सामाजिक सञ्जालमा केही भावनावादीहरूले अनेकौं आधारहीन तर्क राख्दै दार्जिलिङका जनताप्रति आक्रोश र व्यंग्य गरे । यी तर्कहरूमा मुख्य भनाइ थिए, 'तिमी कसरी गोर्खाली भयौ ? ' गोर्खा त नेपालमा छ । तिमीहरू भारतीय हौ, गोर्खाली त नेपाली हुन् ।' यस्ता मित्रहरूलाई मेरो प्रश्न छ, 'दार्जिलिङका जनता रहरले भारतीय भए ? वा हामीमाथि थोपरिएको युद्धमा पराजयी भएका कारणले उनीहरू भारतीय भए ? ' एकपटक सोच्नुहोस्- आफ्नो राष्ट्र खोसिएर अर्काको नागरिक हुनुको पीडा कस्तो हुँदो हो ? त्यसैले उनीहरू आफ्नो 'ऐतिहासिकता' जोगाउन 'गोर्खाल्यान्ड' मागिरहेका छन्, ताकि उनीहरूको नेपाली इतिहास र नेपाली इतिहाससँगको सम्बन्ध अटुट रहोस् ।

अहिले दार्जिलिङ 'भारतको बंगाल' हो । यस दार्जिलिङसँग नेपालको इतिहास जोडिएको छैन । अहिले 'दार्जिलिङ' का नेपाली भारतको संविधानअनुसार 'बंगाली' हुन् । किनकि उनीहरूको ऐतिहासिक पहिचान लुटिएको छ । उनीहरू 'गोर्खाल्यान्ड' को स्थापनाबाट दार्जिलिङको ऐतिहासिक यथार्थ पुनस्र्थापित गर्न चाहन्छन् । भारतीय शासकहरूलाई यो अन्तर्निहित सत्य थाहा छ । त्यसैले उनीहरू नेपाललाई देखाएर, गोर्खाल्यान्ड आन्दोलन नेपालले उत्प्रेरित गरेको आन्दोलन हो भनेर हाउगुजी सिर्जना गर्दै दार्जिलिङका नेपाली मूलका नागरिकलाई बंगालीकरण गर्न चाहन्छन् ।

'नेपालीहरूलाई बंगालीकरण' गर्न नै अहिले नेपालीभाषीले अनिवार्य बंगाली पढ्नुपर्ने नियम ममता बेनर्जीले लागू गरिन् । अर्थात् 'दार्जिलिङ' मा नेपालीको अस्तित्व समाप्त पार्ने वा नेपालीलाई बंगालीकरण गर्ने ममता बेनर्जीको खेलका विरुद्ध 'दार्जिलिङ' का नेपाली आफ्नो भाषा र इतिहासको संरक्षणको लागि 'गोर्खाल्यान्ड' को माग गरिरहेका छन् । यसले नेपाल र दार्जिलिङका नेपालीको एकता मजबुत बनाउँछ । तर भारत किन 'गोर्खाल्यान्ड' को मान्यता दिन चाहँदैन ?


यसका पछाडि अनेकौं तथ्यहरू छन्, जो इतिहासको गर्भमा लुकेका छन् । ती घटनाको विश्लेषण न नेपालीहरूले गरेका छन्, न त दार्जिलिङका नेपाली भारतीयले नै । यसका सम्बन्धमा विहंगम विश्लेषण गर्नुपर्छ र त्यसका बारेमा गहिरो अनुसन्धान गर्नुपर्छ । केही तथ्यहरूलाई यहाँ छलफलमा राख्ने प्रयास गरिएको छ ।

किन सिक्किमको विलय भयो

हामीलाई यति कुरा सतहमा थाहा छ- सिक्किम एक स्वतन्त्र राष्ट्र थियो र त्यसलाई इन्दिरा गान्धीले 'र' नामक संस्थाको सहयोगबाट भारतमा गाभिन् । सिक्किमका राजा टासी नाम्गेल मरेपछि उनका छोरा पाल्देन नाम्गेल सन् १९५६ मा राजा भए । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी यस सानो राष्ट्रको स्वतन्त्रता रहन दिने पक्षमा थिइनन् । मुख्य कारण उनकी श्रीमती अमेरिकी नागरिक थिइन् र सायद उनी सीआईए एजेन्टको रूपमा काम गर्थिन् । उनले नाम्गेललाई 'मादक पदार्थ' को लतमा ग्रस्त बनाएकी थिइन् ।

पश्चिमी शक्तिको सिक्कम दरबारसँगको यो घनिष्टता 'चीनको तिब्बत' का विरुद्धमा क्रियाशील रहने ठूलो 'खेल' को एउटा सहायोगी माध्यम थियो । सीआईए भारतविरुद्ध पनि क्रियाशील थियो र यसैबाट भारतलाई सिक्किमविरुद्ध बहाना मिल्यो । राजा र अमेरिकी महिलाविरुद्ध भारतले सिक्किमे नेताहरूलाई हातमा लिई सिक्किमलाई आफूमा गाभ्यो । सानो देशमाथिको यो अतिक्रमण गौरवपूर्ण कार्य होइन । तर पश्चिमी शक्तिको तिब्बतविरोधी 'गेमप्लान' ले नै अन्ततः सिक्किमलाई भारतले ठूलो माछाले सानो माछा खाए झैं खाने वातावरण सिर्जना गरिदियो । जे होस्, सिक्किम विलयको बहाना भारतलाई पश्चिमी शक्तिले नै बनाइदियो ।

भुटानी नेपालीको भुटान निष्कासन

लामो समयदेखि नेपालीहरू भुटानमा बसोबास गर्थे । भुटानका राजाहरू नै नेपालबाट नेपालीहरूलाई फकाएर भुटान लैजान्थे । किनकि भुटानीहरू खेतीपाती गर्न नेपाली जस्तो सिपालु थिएनन् । पंक्तिकारका माइला बूढा हजुरबुबालाई भुटानका तत्काली राजाले काजीको लालमोहर दिएका थिए । भुटानी 'लेप्चाहरू' लोत्साम्पास र नेपालीहरू सामाजिक सद्भावका साथ मिलिजुली बसेका थिए ।

सन् १९८० को दशकमा भुटानमा 'पश्चिमी संस्थाहरू' को व्यापक संलग्नता सुरु भयो । परिणामस्वरूप भुटानभित्र विभिन्न भाषिक तथा धार्मिक समूहको बीचमा उनीहरूले नै विवादहरू निर्माण गरे । तर सन् १९९१ (जब नेपालमा लोकतान्त्रिक व्यवस्था पुनस्र्थापित भयो) एकाएक नेपालीहरूलाई भुटानबाट निस्कासन गर्न थालियो । स्पष्ट छ- यसका पछाडि पश्चिमी देशहरूको 'चीनको तिब्बत' प्रतिको नीति नै मुख्य कारण रहेको थियो । तर नेपालमा यसको अन्तर्निहित कारणको विश्लेषण गर्ने कुनै प्रयास भएन ।

भुटानका नेपालीलाई भारतको भूमि नाघेर नेपाल ल्याइयो र नेपालमा शरणार्थी बनाइयो । पश्चिमी मुलुकहरू उत्साह र जाँगरका साथ भुटानीहरूका लागि क्याम्प बनाउन थाले र उनीहरूको भरणपोषण गर्न थाले । भारतमा भुटानीलाई रहन दिइएन । किनकि 'भुटानीहरू रहन सक्ने भारतीय भूमिमा नेपालीहरूकै बसोबास थियो । शरणार्थीहरूलाई भुटान फर्काउने कुनै गम्भीर प्रयास पश्चिमी देशहरूबाट भएन ।

बरु भुटानीहरूलाई पश्चिमी देशहरूले 'कतिबेला अफ्रिकाबाट ल्याएका दासहरू बाँडेजस्तै बाँडेर युरोप र अमेरिका लगे ।' यसबाट निष्कर्ष निकाल्न मिल्छ, 'भुटानी शरणार्थीको खेल ।' भुटानबाट नेपालीहरू निकाल्ने विशुद्ध योजना थियो । भुटानी शरणार्थीको पालणपोषणमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नेपाली गैरसरकारी संस्थाहरूको उत्साहजनक सहभागिताले पनि यही जनाउँछ । भुटानमा तिब्बतविरोधी लामाहरूको अधिपत्य कायम गर्नु नै नेपालीलाई लखेट्नुको पछाडि रहेको मुख्य उद्देश्य हो ।

आसाम र मेघालयका नेपालीको दमन

सन् १९८० को दशक नेपाली भाषिक समुदायमाथि अत्याचारपूर्ण दमनको दशक थियो । भारतीय गुप्तचर संस्था 'र' को संलग्नतामा आसाममा 'सुल्फा' जातीय संस्था बनाई नेपालीहरूमाथि आक्रमण गराइयो । राजीव गान्धीको शासनकालमा भारतको पूर्व-उत्तर राज्यहरूमा पश्चिमी संस्थाहरूको बिगबिगी थियो । व्यापरिक-इसाईकरण व्यापक रूपमा गरियो र 'पश्चिमी संस्थाहरू' को योजनाअनुसार नै आदिवासी जनताका संगठनहरू नेपालीका सम्पत्ति जफत गर्ने, नेपालीलाई लुट्ने काममा सरिक थिए ।

तत्कालीन नेपाली सरकारको अनुरोधपछि पनि आसाम र मेघालयमा नेपालीमाथिको अत्याचार रोकिएन । थुप्रै नेपाली भाग्न बाध्य भए र थुप्रै 'इसाई' बनी बसोबास गर्न बाध्य भए ।

गोर्खाल्यान्डका आन्दोलन र नेपालीबीचको द्वन्द्व

सुवास घिसिङले गोर्खाल्यान्डको अवधारणा उठाए । भाषा-संस्कृतिको संरक्षण र नेपालीको ऐतिहासिकताको संरक्षणको नाममा गोर्खाल्यान्डको आवाज उठाए । भनिन्छ, दार्जिलिङलाई नेपालमा गाभ्न घिसिङले राजा वीरेन्द्रलाई बिन्तीपत्र हालेका थिए । गिरिजाप्रसाद कोइरालालाई पनि पत्र लेखेका थिए । भारतको सर्वोच्च अदालतमा पनि रिट हालेका थिए । किन गरे घिसिङले यसो ? के उनको नियत साँच्चिकै दार्जिलिङ नेपालमा जाओस् भन्ने थियो ? यसका दुइटा पाटा छन् । अहिले भारतीय नेपालीमा आफूलाई भारतीय देखाउन नेपालको मानमर्दन गर्न पनि पछाडि नपर्ने मनोवृत्ति देखिन्छ । उनीहरू 'जय हिन्द' थेगोको रूपमा प्रयोग गर्छन् ।

दार्जिलिङ र आसामका नेपालीलाई नेपालसँग उनीहरूको 'भाषिक र सांस्कृतिक एवं ऐतिहासिक' बन्धुत्वबाट हटाउन धेरै ठूलो खेल भइसकेको थाहा छैन भन्ने कुरा 'आसाम गोर्खा' भन्ने फेसबुक पेज र दार्जिलिङ र आसामका कतिपय गोर्खाल्यान्ड नेताका नेपालप्रतिका घिनलाग्दा भनाइहरूबाट देख्न सकिन्छ । 'नेपालीहरू तिमीहरू कति मूर्ख रहेछौ, तिमीहरूको समर्थनले हाम्रो गोर्खाल्यान्डको आन्दोलन' असफल हुन्छ भन्ने तिमीहरूलाई थाहा छैन ? एकजनाले लेख्छ । 'तिम्रो मित्रताभन्दा हामीलाई तिम्रो शत्रुता ठीक छ' अर्कोले लेख्छ।

किन हिमालयको काखामा बसेका नेपालीहरूका बीचमा यी सबै अवाञ्छित घटनाहरू केन्द्रित गरिएका छन् ? सन् १९८० को दशकमा आसाम र मेघालयमा नेपालीहरूमाथि गरिएको दमन, १९६५ को सिक्किम घटना, १९९०-९१ को भुटनाबाट नेपालीहरू लखेट्ने कार्य र पटक-पटक गोर्खाल्यान्डको विवादमा नेपालीलाई मुछ्ने कार्यहरू स्वतः स्फूर्त एवं एकअर्कासँग नजोडिएका पृथक् घटनाहरू होइनन् । यी सबै घटना एकअर्कासँग आपसमा जोडिएका बृहत् सामरिक उद्देश्यहरूसँग सम्बन्धित रहेका छन् । यिनीहरूको एउटै लक्ष्य चीनको तिब्बतसँग गाँसिएको छ । तर नेपालीहरू यस 'रणनीति' को सिकार बनेका छन् ।

भारतको पूर्वउत्तर राज्य आसामदेखि पश्चिममा गढवालसम्म हुर्किएको हिमालयन सभ्यता र संस्कृतिका मुख्य वाहकहरू एवं सर्जकहरू नेपाली हुन् र यो हिमालयको 'काख' नै चीनको तिब्बतलाई घेराबन्दी गर्ने सबैभन्दा महत्वपूर्ण सामरिक क्षेत्र पनि हो । यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पूर्ण सहयोगबिना चीनको तिब्बतमाथि हस्तक्षेपको योजना सफल पार्न कुनै पनि शक्तिलाई सम्भव छैन । तर नेपालीहरू यस योजनामा सरिक हुँदैनन् । त्यसैले नेपालीको समृद्धिको एकता तोड्नुपर्ने बाध्यता छ । नेपाली भाषीहरूको कमजोर सम्बन्ध भारतलाई 'नेपालमा दबाब निर्माण गर्न र पश्चिमी शक्तिलाई तिब्बतविरुद्ध योजना बनाउन' सहयोगी हुन्छ ।

अतः आसामको नेपाली दमनको घटनादेखि सिक्कम, गोर्खाल्यान्ड, भुटान र नेपालभित्रकै जातीय विभाजनका घटनाहरूलाई सूक्ष्म विश्लेषण गर्ने हो भने केही महत्वपूर्ण प्रवृत्तिहरू प्रकट हुन्छन् । १. यस क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीबीचमा जातीय विभाजनको रेखा कोरिएको छ । २.यस क्षेत्रका विभिन्न राष्ट्रभित्रका सीमामा बस्ने नेपालीहरूका बीचको अन्तर्सम्बन्ध र संवादहरू मासिँदै गएका छन् । हिजो जुन सम्बन्ध साहित्य, संस्कृति, तीर्थ, धर्म आदिका रूपमा बाक्लो थियो त्यो अहिले छैन । ३. विभिन्न क्षेत्रका नेपाली भाषीहरूमा राष्ट्रियताको विभाजन घनीभूत हुँदैछ । ४. सबै क्षेत्रमा बस्ने नेपालीहरूको उद्यमशीलता प्रवर्धन हुन सकेको छैन र गरिबी अहिले पनि सबै नेपालीको ठूलो समस्याको रूपमा रहेको छ । ५. भुटानका नेपालीहरू विस्थापित भइसकेका छन् । आसामका नेपालीका परम्परागत पशुपालन व्यवसाय पनि विस्थापित भएका छन् र त्यहाँका नेपाली छरपष्ट भई भारतका विभिन्न सहरमा सानातिना रोजगारमा संलग्न भएका छन् । ६. दार्जिलिङका सबै चियाबगानहरू भारतका धनी व्यापारीका हातमा छ । ७.यता नेपालको उद्योग र व्यापार भारतको पूर्ण अधीनमा छ । ८. कुमाउ र गढवालमाथि पूर्ण अधीन समथर भारतका उद्योगपतिको वा व्यापारीको छ ।

यस हिमालय क्षेत्रको कमजोर आर्थिक अवस्था चीनको तिब्बतमा हस्तक्षेप गर्ने पश्चिमी रणनीतिको लागि सहायक सिद्ध हुन्छ । त्यसैले पश्चिमको प्रभाव यहाँ व्यापक रूपमा छ । नेपालमा भइरहेका अनेकौं घटनाहरू यस अर्थमा पश्चिमका 'चीनको तिब्बतप्रतिको रणनीतिक उद्देश्यसँग जोडिन्छन् ।' नेपाल यस अर्थमा 'पश्चिमी शक्ति र चीनको उदाउँदो अवस्था' का बीचको अन्तद्र्वन्द्वको सिकार भइरहेको छ । गोर्खाल्यान्डको वर्तमान आन्दोलनलाई यस यथार्थबाट अलग गर्न सकिँदैन ।

हिमालय क्षेत्रको यो 'रणनीतिक छद्म खेल' लक्ष्य भारत र चीन दुवै हुन्, तर उनीहरूबीचको परम्परागत चिसोपनले 'यो रणनीति' मौलाइरहेको छ । अन्ततः यस रणनीतिको नोक्सानी भोग्नुपर्ने देश 'चीन र भारत' नै हुन् । तर त्यसको पीडा अहिले नेपाल सिंगो राष्ट्र र हिमालयको काखमा बसेका सबै नेपालीले भोगिरहेका छन् । पश्चिमी रणनीतिको सफल कार्यान्वयनमा नेपालीहरू नै अवरोध हुन् भन्ने मान्यता पश्चिमी शक्तिमा रहेको देखिन्छ । अतः यस्तो अवस्थामा गोर्खाल्यान्डको सम्बन्धमा नेपालीहरूले बुद्धिमत्तापूर्वक कार्य गर्नु आवश्यक छ ।

नेपालीको यसमा व्यापक सक्रिय समर्थन भयो । तर 'गोर्खाल्यान्ड' आन्दोलनलाई भारत दबाउन सफल भयो भने यो असफलताको दोष दार्जिलिङ र भारतका अन्य क्षेत्रका नेपालीभाषीले नेपालमाथि लगाउनेछन् । यसबाट नेपालीभाषीको एकता झनै कमजोर हुनेछ । यस क्षेत्रमा क्रियाशील चीनविरोधी शक्तिको चाहना पनि यही नै हो । 'गोर्खाल्यान्ड' को आन्दोलन सफल भयो भने पनि 'भारतीय नेपालीहरू नेपालबाट झन् टाढिने सम्भावना छ ।
किनकि उनीहरू भारतीय सरकारलाई चिढ्याउन चाहँदैनन् भन्ने अहिले देखिएको छ ।' यस्तो अवस्थामा 'नेपालले फरक ढंगबाट बाँच्न सिक्नु आवश्यक छ । हिमालय क्षेत्रका यी रणनीति गतिविधिमा चीनको ध्यान पनि पुगेको देखिँदैन ।' यस जटिलताबाट नेपाललाई सुरक्षित गर्न नेपालीहरूमा देशभक्ति र सुरक्षाप्रति चनाखोपन चाहिन्छ । तर राजनीतिक दलहरू यसमा असफल मात्र होइन, लापरबाह देखिएका छन् । अतः यस समस्यासँग जुध्न नेपालीभाषीका बीचमा सम्पर्क बढाउनु आवश्यक छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.