उपभोक्ता लुटिएको लोकतन्त्र

उपभोक्ता लुटिएको लोकतन्त्र

नेपालका प्रत्येक क्रान्ति 'जनताद्वारा' भएका हुन् र तत्पश्चात् बनेका सरकार पनि 'जनताकै' हुन् । त्यसरी बनेका सरकारहरू 'जनताको लागि' बनेका भए नेपालमा राजनीतिक क्रान्तिको लामो सूची हुने थिएन । सरकार जनताको लागि हुनको लागि राजनीतिमा नैतिकता र इमानदारिता हुनुपर्छ । राजनीतिमा विश्वव्यापी समस्याको रूपमा रहेको नैतिकता र इमानदारीको अभावले ल्याउने बेथितिको सबभन्दा ठूलो मार निम्नस्तरीय उपभोक्तामा पर्छ । सामान्य उपभोक्ताको अधिकार सुनिश्चित नभएको लोकतन्त्रमा अस्थिरता उत्पन्न भइरहन्छ ।

पंक्तिकारले नेपालमा गणतन्त्रपश्चात् गरेको चौथो भ्रमणका अनुभवका आधारमा यो आलेख तयार पारिएको हो । गणतन्त्रको दस वर्षमा पनि सबभन्दा तल रहेका सामान्य उपभोक्ताहरूको ठगिने क्रम जारी छ । अव्यवस्थित सहरीकरणले 'लिभेबिलिटी' स्तर बिग्रिँदै गएको काठमाडौं आज धुलो, धुवाँ र दुर्गन्धले बस्न योग्यसमेत नभएको तीतो यथार्थ छ । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धुलो र धुवाँका सवालमा गरिएको बेवास्ताले सरकार जनताको लागि हो वा जनता सरकारको लागि भन्ने प्रश्न उठ्छ । यी मुद्दामा नागरिकलाई चेतनशील बनाउने कुनै नेता, अग्रज देखिएका छैनन् । सामान्य नागरिकको समस्यामा स्वयं सामान्य नागरिक नै चेतनशील छैनन् । केवल राजनीतिमा सामान्य नागरिकको चासो बढी छ ।

उपभोक्ता ठगिएका केही उदाहरण यस्ता छन् । काठमाडौंका कतिपय रुटमा बस यातायातको सिन्डिकेट जारी छ । यो सिन्डिकेटमार्फत ठाउँ कुठाउँमा बस लामो समयसम्म रोक्ने र क्षमताभन्दा बढी सवारी कोच्ने गरेको पुरानो परम्परा जारी छ । बस परिचारकको एक प्रमुख समस्या यात्रुलाई पछाडि धकेल्ने पुरानो परम्परा कायम छ । काठमाडौंका सडकमा केही सुविधायुक्त बस पनि सञ्चालित छन्, तर यस्ता प्रतिस्पर्धीलाई सिन्डिकेटवालाहरू आफ्नो रुटमा बस सञ्चालन गर्न दिँदैनन् ।

देशको मुटुमा रहेको यी सयौं सिन्डिकेट प्रणाली विघटन गर्न नसके सार्वजनिक यातायातमा सुधार सम्भव छैन । यो निम्नस्तरीय उपभोक्ताको पीडाको पूर्णरूपले बेवास्ता गरिएको छ । पंक्तिकार चढेको ट्याक्सी ड्राइभरले एउटा प्रश्न गर्‍यो, किन भारतमा चार लाखमा पाइने ट्याक्सीलाई नेपालमा सत्र लाख पर्छ ? उसले आफ्नो प्रश्न सोधिरह्यो । भारत र नेपालको कारको मूल्यको भिन्नता सामान्य उपभोक्ता ठगिएको, लुटिएको अर्को उदाहरण हो । जनताको लागि बनेको सरकार हो भने त्यो मूल्यमा भिन्नताको खाडल किन ?

कलंकीदेखि नागढुंगासम्म यात्रा गरेका यात्रुहरूको धैर्यको प्रशंसा स्वर्गका राजा इन्द्रलाई पनि गर्न गाह्रो होला । लाखौं पर्ने सुविधायुक्त बस सञ्चालित त्यो रुटका बस साहुहरूको धैर्यको बाँध फुटेको छैन । उक्त सडकको धुलो र धुवाँ स्वास्थ्यको लागि हानिकारक हुनुका साथै राजमार्गमा बनेका खाल्डाहरूले विभिन्न अवरोध गरेका छन् । यो बाटोलाई राजमार्ग भन्न मिन्दै मिल्दैन । जनताको लागि बनेको सरकारले यो अति आवश्यक सडक क्षेत्रमा संकटकाल लगाएर भए पनि हप्ता÷दुई हप्तामा निर्माण गर्नुपर्ने विषय हो । कलंकीको ट्राफिक जामले नेपालको लोकतन्त्रको खिल्ली उडाएको छ ।

सामान्य उपभोक्तासँग प्रत्यक्ष रूपले जोडिएको कलंकी-नागढुंगा सडकको दुर्दशा उपभोक्ताको बेवास्ता गरिएको अर्को उदाहरण हो । निजी र सरकारी विद्यालयको शैक्षिक गुणस्तरको फरक पनि उपभोक्ता ठगिएकै उदाहरण हो । निजी क्षेत्रका शैक्षिक संस्थाहरू एक ठूलो व्यवसायको रूपमा देखिएका छन्, जसको प्रमुख कारण हो सरकारी संस्थाहरूको गुणस्तरमा ह्रास । बाध्यात्मक रोजाइ निजी विद्यालयमा हुनु पनि ठगिनु नै हो । जनताले तिरेको करबाट सञ्चालित कतिपय सरकारी विद्यालयको स्तरहीन शिक्षाले एउटा आर्थिक रूपले विपन्न तर ठूलो समुदायलाई प्रभावित पारेको छ ।

निर्वाचनमा उत्साहपूर्वक मतदान गर्ने सामान्य मतदातालाई निर्वाचनको परिणाममा चासो हुन्छ । मतगणनामा ढिलाइ गर्नु उनीहरूका लागि पीडाको विषय हो । निम्नस्तरीय सामान्य उपभोक्ता मात्र पीडित भएकाले नै कुनै दलका कानुनसम्मत प्रतिनिधिले गरेको मत च्यात्ने जस्तो अलोकतान्त्रिक अभ्यासको विरुद्धमा राजनीतिमा एकमत छैन । कतिपय स्थानीय निकायमा वैशाख ३१ गतेको निर्वाचन स्थगित भएर जेठ ३१ वा असार ९ वा असार १४ हुनुपर्ने कुनै कारण छैन । जस्तो- प्रदेश नम्बर ७ । महाभियोग वा सरकार परिवर्तन गर्न तिथि-मिति कुर्नु नपर्ने, सामान्य उपभोक्ताको चासोको विषय भएको निर्वाचन भने स्थगित गरेको गर्‍यै गर्ने ? निर्वाचनजस्तो लोकतान्त्रिक अधिकारमा खेलबाड गर्नु सामान्य नागरिकहरूप्रतिको अनादर हो ।

यात्राको लागि धनगढी जाने क्रममा बुद्ध एयरको विमानमा चढेपछि पनि वातानुकूलनको सञ्चालन गरिएन । यसबारे सोधपुछ हुँदा विमान परिचारिकाले कन्ट्रोलले अनुमति नदिएकाले वातानुकूलनको सञ्चालन नगरिएको भनिन् । करिब १५ मिनेटपछि विमान उड्ने अनुमति प्राप्त भएपछि मात्र वातानुकूलनको सञ्चालन भयो । प्रचण्ड गर्मी हुँदाहुँदै त्यो साँघुरो विमानभित्र १५ मिनेटको अत्यन्त्य दुःखद भोगाइ उपभोक्ताको बेवास्ता गरिएको अर्को उदाहरण हो ।

औषधी निर्धारणमा चिकित्सकहरूले उपभोक्ता ठगेको र ग्रामीण क्षेत्रका गरिबको स्वास्थ्यमा भएको खेलबाड एक समाचारको विषय बन्न हामीले पचासौं वर्ष कुर्नुपर्ने स्थिति छ । क्यान्सरजस्तो समस्यामा चिकित्सकले घोर लापरबाही गरेका प्रशस्तै उदाहरण छन् । कतिपय चिकित्सकहरूले बिरामीप्रति व्यवहार गर्न जानेकै छैनन् वा उनीहरूलाई त्यो सिकाइएकै छैन । उसैको पैसा लिएर उसैलाई दुव्र्यवहार गर्नु ठगी होइन ? न्यायालय निष्पक्ष हुँदाहुँदै पनि धनी र गरिबको न्यायसम्मको पहुँच समान छैन । ती गरिब सामान्य उपभोक्ता न्यायमा बेवास्ता गरिएकै हुन् । आन्दोलनका पीडितलाई करोडौंको क्षतिपूर्ति दिने हालैको निर्णय कुनै कानुनको सहाराले गरिएको हो भने नेपालमा यस्ता क्षतिको ठूलो सूची छ । सरकारले आफूखुसी बाँड्ने गरेको धनको स्रोत सामान्य उपभोक्ताको थालको भात नै हो । फलफूल र तरकारीमा विषादी प्रयोग गरिएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको समाचार नयाँ होइन । यसमा उपभोक्ता ठगिने क्रम जारी छ ।

महाभियोगको प्रस्ताव संसद्मा दर्ता हुनेबित्तिकै यसको पक्ष र विपक्षमा अन्तर्राष्ट्रिय रूपमा वक्तव्यबाजी भए । महाभियोगको विरोधमा वक्तव्य पोस्ट गरिएको पंक्तिकारको फेसबुक वालमा अमेरिकास्थित केही प्रवासी नेपालीले महाभियोगको समर्थनमा निकालिएको आफ्नो वक्तव्य पोस्ट गरेका थिए । त्यो उनीहरूको अधिकारको कुरो हो, तर महाभियोग लगाउने दलले टेबुलमुनिबाट त्यो स्थगन गरेर फिर्ता गर्‍यो । महाभियोगको पक्षमा वक्तव्य जारी गर्ने ती नागरिकको चेतनाको स्तरमा हानिएको त्यो एक दरिलो झापडको महसुस उनीहरूले नगरेसम्म राजनीतिमा उनीहरूको प्रयोग भइरहन्छ । सामान्य नागरिकले सरकारका गलत निर्णयको पक्षमा उभिने परम्परा कायम रहेसम्म उनीहरूले पाउनुपर्ने सुविधामा सरकारको ध्यान कहिल्यै जाँदैन । सञ्चारजगत्ले बोल्ने पनि जनभाषा नै भएकाले सामान्य उपभोक्ताको चेतनाको अभावमा सञ्चारजगत् मूकदर्शक भएर बस्छ । आफैं पीडित भएको मुद्दामा पनि सरकारको पक्षमा उभिने परम्पराले अन्ततः आफैंलाई प्रहार गर्ने हो ।

उपभोक्ता सक्रियताका दुइटा सकारात्मक उदाहरण प्रस्तुत गरौं । पहिलो, पंक्तिकारले आफ्ना नानीहरूलाई नेपालको एक उत्कृष्ट नमुना भनेर दीक्षित गरेको चन्द्रागिरि केबलकारको यात्रा गर्ने अवसर मिल्यो । रमणीय र सुन्दर दृश्यको माझमा पर्यटकलाई आकर्षित गराउने उत्कृष्ट योजनाको पंक्तिकार प्रशंसक हो । लाइनमा बस्ने क्रममा पंक्तिकारको जम्काभेट एक चर्को बोल्ने र अशिष्ट व्यवहार गरेर ग्राहकको अनादर गने स्टाफसँग भयो ।

एक सामान्य नागरिकको रूपमा पंक्तिकारले त्यसको लिखित जानकारी चन्द्रागिरि केबलकारको सम्पर्क इमेलमा दुईपटक गराएको जवाफ आएन । कुनै मित्रको सहयोगबाट व्यवस्थापकसम्म पुर्‍याइएको जानकारीको जवाफमा 'सेल्स एन्ड मार्केटिङ म्यानेजर' ले सम्पूर्ण गुनासाहरूको स्पष्ट जवाफ लेखे र ग्राहकप्रति भएको अभद्र व्यवहारप्रति क्षमा मागे । उनले आफ्नो व्यापार नयाँ भएकाले त्रुटिहरू हुन सक्ने तर सुधार गर्दै जाने प्रतिबद्धता लिखित रूपमा जाहेर गरे । आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बनेको यो एक प्रशंसनीय योजना हो । तर यसले अत्यधिक मूल्यमा स्तरहीन भोजन गरेर उपभोक्ताको अपमान गरेको तर्फ उचित ध्यान गएको छैन ।

दोस्रो, पंक्तिकारको समान काठमाडैांसम्म नपुगेपछि फ्लाई दुबईका कर्मचारीले समान अर्को उडानमा आउने सूचना मौखिक रूपमा दिए । फ्लाई दुबई हालै विवादमा आएको संस्था भएकाले थप सावधान हुनुपर्ने स्थिति आयो । फ्लाई दुबईसँगको इमेल सञ्चारमा पनि समान त्यसै दिन बेलुकी आउने भनियो । समान दोस्रोे, तेस्रो र चौथो उडानमा पनि प्राप्त नभएपछि पंक्तिकारले लिखित कानुनी रिपोर्टको माग गर्‍यो । लामो र कष्टपूर्ण प्रयासमा तेस्रो दिन त्यो सफल भयो र उक्त रिपोर्टको कानुनी आधारमा फेरि फ्लाई दुबईसँग कानुनी सम्पर्क भयो । फ्लाई दुबईले क्षमायाचनासहित समानको अवस्थाको सम्पूर्ण डिटेलबारे सुसूचित गर्‍यो र काठमाडौंबाहिर समेत भनेको ठेगानामा समान पुर्‍याइदिने लिखित प्रतिबद्धता जाहेर गर्‍यो । पहिलो दिनमै हुनुपर्ने कानुनी प्रक्रिया उपभोक्ताको लामो प्रयासपछि मात्र भयो, तर यसलाई सकारात्मक नै भन्नुपर्छ ।

सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोनएफ केनेडीले उपभोक्तालाई अधिकार सम्पन्न बनाउने अवधारणा प्रस्तुत गरेका थिए । सरकारी वा गैरसरकारी प्रत्येक निर्णयले आकर्षित हुने सबभन्दा ठूलो आर्थिक समुदाय उपभोक्ता भएकाले उनीहरूको आवाज सुनिनुपर्ने उनको दाबी थियो । त्यसपछि उपभोक्ता आन्दोलनले आठवटा आधारभूत उपभोक्ता अधिकारको अवधारणा परिभाषित गरेको छ । ती हुन्, आधारभूत आवश्यकतामा पहुँचको अधिकार, सुरक्षित हुने अधिकार, सही जानकारीको अधिकार, छनोट गर्ने अधिकार, सुनुवाइको अधिकार, सिकायतको निवारणको लागि सरकारसँग निवेदन दायर गर्ने अधिकार, उपभोक्ता शिक्षाको अधिकार र स्वस्थ वातावारणको अधिकार ।

त्यसैको फलस्वरूप अहिले अमेरिकी बजारमा उपभोक्ता ठूलै हदसम्म सुरक्षित छन् । उपभोक्ताकै अधिकार सुरक्षित भएकाले त्यहाँ लोकतन्त्र पनि मजबुत छ । आफूलाई प्रत्यक्ष प्रभाव पार्नेबाहेक अन्य राजनीतिक नारा र जुलुसमा त्यहाँका उपभोक्ताहरूको चासो पाइँदैन । ग्राहकहरूको सन्तुष्टि नै मूल्य हुने गरेको अन्य कतिपय विकसित मुलुकहरूमा पनि उपभोक्ताहरूको रक्षा गरिएको हुन्छ ।

नेपालमा बहुसंख्यक गरिब र निर्दोषले आफ्नो अधिकारको ज्ञान नभएकाले धोखा पाएका छन् । खाद्यान्नको अभाव, विषादिको प्रयोग, सिन्डिकेट प्रणाली, धुवाँ, धुलो, चिकित्सकको लापरबाही, शिक्षा र स्वास्थ्यमा असुलभता, न्यायसम्मको पहुँचमा असमानता आदि सबैले उपभोक्ता अधिकारको हनन गरेका छन् । प्रत्येक राजनीतिक क्रान्तिको आधार निम्नस्तरका तर ठूलो संख्यामा रहेका उपभोक्ता हुन् त्यसैले उपभोक्ताको अधिकारको बेवास्ता गर्ने हो भने राजनीतिक स्थिरता जारी रहन्छ ।

लोकतन्त्रपश्चात् पनि उपभोक्ताको चेतनाको अभावको फाइदा उठाएर उपभोक्तामाथि खेलबाड हुने क्रम जारी हुनु एक अर्को अनिष्टको संकेत हो । लोकतन्त्र भनेको वाक्य, परिभाषा वा आफ्नो अनुकूलतामा सीमित हुने विषय होइन । समाजमा सबभन्दा तल्लो तहमा रहेका उपभोक्तालाई कुरीति र कुशासनको मार सबभन्दा बढी पर्ने भएकाले जनताको लागि बनेको सरकारले उपभोक्ताको अधिकारको सम्मान र रक्षा गर्न अब ढिलाइ गर्नु हुँदैन ।---अमेरिकास्थित टेनिसी स्टेट युनिभर्सिटीमा एसोसिएट प्रोफेसर छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.