स्वदेशी हात्ती बाह्य निर्देशित माहुते

 स्वदेशी हात्ती बाह्य निर्देशित माहुते

नेपालको राष्ट्रियता, स्वतन्त्रता र समृद्धिको चाहना या लक्ष राख्ने नेपाली कवि, साहित्यकार र लेखकहरूले मुलुकलाई सुन्दर, शान्त र विशालका रूपमा चित्रण गरे । दुई ठूला ढुंगाबीचको यो ‘तरुल' को संवेदनशीलता र स्वतन्त्रता अनि जीवन्त जीवन या स्वयं अस्तित्व सहज कुरा हैन, यो पृथ्वीनारायण शाहले भनेको र धेरैको बुझेको कुरा हो । अनि त्यही सेरोफेरोमा प्रश्न उठ्नु अस्वाभाविक थिएन । चीन र भारत दुई विशाल छिमेकीका बीचमा रहेको यो सानो मुलुक सुन्दर होला, दुई छिमेकीले सहयोग गरे भने शान्त पनि रहला, तर ‘विशाल' कसरी बन्ला त ?

त्यो आशंका या तर्कलाई सुन्दर र शक्तिशाली रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्त बुझ्ने गरी सम्बोधन गरेका थिए, ‘के नेपाल सानो छ ? ' नामक निबन्धमार्फत । सानो आकारको सौन्दर्य बखान गर्दै उनले ममता र वात्सल्यको केन्द्र शिशु अनि दृष्टिको केन्द्र अर्थात् आँखाको नानीको महत्ववले तिनीहरूको विशालता स्थापित गरेका छन् । त्यसै क्रममा उनले अर्को महत्ववपूर्ण तर्क प्रस्तुत गरे, हात्तीको आकार विशाल हुन्छ तर त्यसलाई नियन्त्रणमा राख्ने ‘माहुते' लाई हात्तीभन्दा सानो मानिनु हुँदैन । यो कोरा तर्क थिएन । तथ्य, विश्वास, प्रतिबद्धता र मान्यताबाट निर्देशित निष्कर्ष थिए, आफ्नो मुलुकबारे ।

हाल नेपालको राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकाहरूले नेपालको महानता, विशालता, त्यसको शान्त र सुन्दर आयाम अनि क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा उसको सान्दर्भिकता स्वीकार नगरेको मात्र हैन, त्यसको पूर्णरूपमा अवमूल्यन गर्दै आएका छन् । आन्तरिक राजनीतिमा समेत नेपाललाई माहुते हैन, हात्तीमा रूपान्तरण गर्दै बाहिरबाट माहुते खोज्ने परम्परा स्थापित गर्ने प्रयास भइरहेको छ । बाह्रबुँदे र मधेस आन्दोलनमा बाह्य निर्देशन या मध्यस्थता स्विकार्नेहरूले नेपाली राजनीतिज्ञहरूले मुलुकलाई माहुतेबाट हात्तीको दर्जामा रूपान्तरण गर्ने कोसिस गरेका हुन् ।

विगत एक दसकमा त्यस अर्थमा उनीहरू केही हदसम्म सफल भएका पनि छन् । तर मुलुकको सर्वकालीन स्वतन्त्र हैसियतमा गर्व गर्ने नेपालीहरूले छिट्टै यो कुरा बुझ्न थालेका छन् र फेरि ‘सुन्दर, शान्त, विशाल' नेपाल निर्माणमा आफ्नो भूमिका खोज्न थालेका संकेतहरू देखा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको समयमा एउटा राजनीतिक अभिव्यक्ति दिए, जुन देवकोटाको ‘के नेपाल सानो छ' निबन्धको सारबाटै निर्देशित थियो ।

उनले भने, ‘नेपाली कांग्रेस र एमाले हात्ती हुन् र माओवादी माहुते । दोस्रो संविधानसभाको निर्वाचनपछि संसद्मा तेस्रो पार्टीमा झरेको छ, उनको पार्टी । तर ११ वर्षयताको नेपालको राजनीतिमा नेपाली कांग्रेस र एमाले दुवैले आफूलाई हात्तीको रूपमा र माओवादीलाई माहुतेका रूपमा स्विकारे । नेपाली कांग्रेस र एमालेभित्र धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे कुनै बहस भएन । माहुतेको निर्देशन र त्यसमा आधारित राजनीतिक गन्तव्य स्वीकार नगरेमा प्रतिगामी मानिने डरले दुई ठूला संसदीय पार्टीहरू त्रस्त रहिरहे ।

माहुतेसँग कुनै किसिमको प्रश्न गर्ने साहस र राजनीतिक चरित्र नेपाली कांग्रेस र एमालेले प्रदर्शन गरेनन् । माहुतेको रूपमा १० वर्षको भूमिगत राजनीति र सशस्त्र विद्रोह समाप्त गरी नेपाली राजनीतिक क्षितिजमा बाह्रबुँदेमार्फत उठाएका माओवादीलाई यी दुई पार्टीले सोध्ने हिम्मत पनि गरेनन् कि के नवोदित माहुतेको गन्तव्य नेपाललाई सुन्दर, शान्त र विशाल बनाउन हो त ? या देखिएका माहुतेलाई अरू कसैले निर्देशित गर्दैछ ?

माओवादीले सशस्त्र विद्रोह या बन्दुक अनि छिमेकको समर्थनमा गणतन्त्रको नारा उठाउँदा ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन' भन्ने अभिव्यक्ति दिएका केपी ओलीले समेत नयाँ माहुतेको एजेन्डा स्वीकार गरे चुपचाप । बाह्रबुँदेका मध्यस्थकर्ताले हैन, नेपाली जनताको प्रत्यक्ष संलग्नतामा राजनीतिक एजेन्डाको अनुमोदन खोजिनुपर्छ, ह्विपबाट डामिएका ९० प्रतिशतले हात उठाएकै भरमा संविधान पारित भएको मानिनु हुँदैन भन्ने आवाज कतैबाट नआउनुको पछाडि अर्को कारण थियो, सभासद्हरूको टाउको झुकेको थियो ।

तर जतिसुकै कमीकमजोरी भए पनि संविधान बनाउने सार्वभौम दायित्व नेपाली जनता र उनीहरूको हो भन्ने मान्यता स्थापित गराउन नचाहेरै भए पनि भारतले एउटा ठूलो भूमिका खेल्यो । नेपालको संविधानलाई उसले मान्यता नदिँदा संविधानको अर्थ हुँदैन भन्ने निष्कर्षबाट ऊ निर्देशित भयो । त्यो खतरनाक प्रयोगपछि जनताबाट पराजित केही मधेसकेन्द्रित नेताहरूले घोषणा गरेको नाकाबन्दीलाई अनुमोदन गरेर भारत सरकारले नेपाली जनतालाई स्वाभिमानको इतिहास नबिर्सन बाध्य बनायो । नेपाललाई माहुतेको स्थानबाट हात्ती बनाउन भूमिका खेलेका नेताहरू कसैले ‘नाकाबन्दी' को विरोध नगरे पनि जनताले त्यसलाई नाकाबन्दीसँगै बाह्रबुँदेजस्ता समर्पणवादी नीतिको स्वाभाविक परिणति माने ।

सम्भवतः त्यो बेला प्रधानमन्त्रीको हैसियतमा रहेका ओलीले आफूलाई नेपाली जनताको त्यो स्वाभिमानपूर्ण सामूहिक भावनासँग जोड्न सके । त्यसैले राजनीतिक बाध्यतामा रहेको तराई-मधेस लोकतान्त्रिक मोर्चाका नेताहरूबाहेक उनलाई त्यसबेला कसैले आलोचना गरेन, गर्न सकेनन् । नाकाबन्दीको त्यो चरणमा चीनसँग व्यापार विविधीकरण र परिवहनसँगै इन्धन आपूर्ति अनि वेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर जस्ता कदममा उनले माहुतेको हैसियत दिलाए आफैंलाई नेपालको सर्वोच्च कार्यकारीको रूपमा । सम्भवतः बाह्रबुँदेमा उनले हस्ताक्षर नगरेकाले त्यो कदम उठाउन सके ।

पुष्पकमल दाहालले एमाले र नेपाली कांग्रेसलाई हात्ती भन्नु अस्वाभाविक र नाजायज हैन । तर नेपाली हात्तीलाई कजाउन नेपाली एजेन्डा बोकेको नेपाली माहुते आवश्यक हुन्छ ।

ओलीपछि प्रधानमन्त्री बनेका दाहालले हालै पदबाट राजीनामा दिएपछि विभिन्न मुलुकसँगै भारतबाट पनि स्याबासी पाए, उनको नेतृत्वको सरकारले भारत र चीनसँग सन्तुलित सम्बन्ध सञ्चालन गरेकोमा ।भारतको यो अभिव्यक्तिलाई उसले अतीतमा नेपालबारे गरेको टिप्पणीको आधारमा विश्लेषण गर्ने हो भने एउटा निष्कर्षमा सहजै पुग्न सकिन्छ । त्यो हो- चीनसँग बढेको नेपालको निकटता, सम्बन्धको घनीभूतीकरण र विविध आयामलाई बेवास्ता गर्न ऊ बाध्य छ ।

किनकि नेपालमा चीनको बढ्दो उपस्थिति भारतको कूटनीतिक असफलताको स्वाभाविक परिणाम हो । विगत ११ वर्षमा अर्थात् बाह्रबुँदेपछि नेपालमा उत्पन्न राजनीतिक अनिश्चितता र अन्योल अनि बाह्य उक्साहटका आधारमा नेपाली जनतालाई भूमिका नदिए र ल्याइएका गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको अपनत्व हुन नसक्नुमा भारतको त्यसबेलाका केही शक्तिशाली कूटनीतिज्ञहरूलाई दोष दिनेहरूको संख्या बढ्दो छ नेपालमा । अहिले राष्ट्रिय जनता पार्टी नेतृत्वले भारतबाट ठगिएको महसुस गर्दा उनीहरू स्वयं नै संघीयताको पक्षमा कति उभिन सक्लान् ? भन्ने प्रश्न उठेको छ । अर्थात् अब यो मुद्दा पनि सघन रूपमा जनताका बीच बहसमा लगेर मात्र सर्वस्वीकार्य हिसाबले टुंगिन सक्छ ।

दाहालले एमाले र नेपाली कांग्रेसलाई हात्ती भन्नु अस्वाभाविक र नाजायज हैन । तर नेपाली हात्तीलाई कजाउन नेपाली एजेन्डा बोकेको नेपाली माहुते आवश्यक हुन्छ । विगत ११ वर्षमा नेपाललाई हात्ती बनाए पनि नेपाली एजेन्डा बोकेका नेपाली माहुतेहरू मुलुकले पाएन । नेपाली जनताको अनुमोदन खोज्ने प्रयाससम्म गरेनन् ती माहुतेहरूले ।

राष्ट्रपति बन्नैको लागि गणतन्त्रको नारामा लोभिएका गिरिजाप्रसाद कोइरालालाई उनका अति हितकारी मित्र कृष्णप्रसाद भट्टराईले चेतावनी दिएका थिए, ‘संघीयता' गणतन्त्र र धर्म निरपेक्ष जस्ता आयातित एजेन्डा' मा नजान । ओलीले त्यति भन्न त सकेनन्, तर बयलगाडाबाट त्यहाँ पुग्न सकिन्न सम्म भनेका थिए । नेपाललाई सुन्दर, शान्त र विशाल बनाउन पक्कै पनि असल माहुतेको आवश्यकता छ, तर माहुतेको मुलुकप्रति बफादारी र जनताप्रति समर्पणको भाव हुन आवश्यक छ ।

स्थानीय निर्वाचन दोस्रो चरणले जनताको मताधिकारद्वारा स्वदेशी माहुतेको छनोट हुनेछ । बाह्रबुँदेका हात्ती र माहुतेहरूले नवनिर्वाचित प्रतिनिधिहरूको हैसियतको अवमूल्यन गर्ने या उनीहरूलाई आफ्ना ‘अरौटे' मान्ने गल्ती गरे भने त्यसले उनीहरूको शीघ्र पतन सुनिश्चित गर्नेछ । वास्तवमा दोस्रो चरण (स्थानीय तह) निर्वाचनले बाह्रबुँदेको औचित्य र नेपाली राजनीतिमा ११ वर्षदेखि चलिआएको बाह्य खटन समाप्त पार्न महत्ववपूर्ण भूमिका खेल्नेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.