सात दशक पुरानो गोरखाली संगीत

सात दशक पुरानो गोरखाली संगीत

कहिले घाम कहिले पानी घामछायाँ,
दुई दिनको जिन्दगी रामछायाँ...
बोलको गीत गाएर २००८ सालमा चीनमा भएको लोकगीत सम्मेलनमा प्रथम पुरस्कार जित्ने सिरानचोक, झारगाउँकी होमाया गुरुङ, दंगी गुरुङ र समूहको इतिहास पाउन गाह्रो छ । त्यही गीतको धुन रेडियो नेपालको ‘न्युजट्युन' बन्यो । यसले होमाया, उनको समूह र सिरानचोकको मात्र होइन, गोरखाको नाम रह्यो ।
यो धुन बहुदल आएपछि बज्न छाड्यो ।
सिरानचोककै टोपमान गुरुङ, धनबहादुर गुरुङ, उद्वीर गुरुङ, मायादेवी गुरुङ, हीरादेवी गुरुङको समूहले २०१३ सालको राज्याभिषेक समारोहमा लोकगीत प्रस्तुत गरे । उपस्थित चिनियाँ राजदूतले मन पराए । दूतावासको व्यवस्थापनमा उनीहरूको कला चिनियाँ दरबारमा पुग्यो । एक हप्तासम्म त्यहाँ उनीहरूले छवटा गीत प्रस्तुत गरे । फर्केर आएपछि उनीहरूलाई गोरखामा ठूलो स्वागत गरियो । चाइना दरबारमा देखाएका गीत नाच यहाँ पनि प्रस्तुत गरिएको थियो ।
०००

गोरखाको गीत-संगीतको इतिहास खोतल्दै धेरै पर पुग्न सकिएन । सदरमुकामकै सेरोफेरोमा भएका गीत-संगीतको खोजबिन गर्दा २००० को दशकबाट केही तथ्य भेट्न सकिन्छ; जुन समय गीत लेखन, गायन र संगीत तीनै विधा मित्रलाल, गोपालबाबु श्रेष्ठको समूहले हाँकेका थिए । सदरमुकाममा भेटिने मित्रलालका अनुसार राम शाहले काठमाडौंका मल्ल राजासँग २४ कोठी महाजन मागेर ल्याए । व्यापार बिजनेस सँगसँगै उनीहरू नित्य भजनकीर्तन गर्थे । उत्तरी गुरुङ गाउँको रोदी, घाँटु, मारुनी, दक्षिणी मगर समुदायको चुट्का, सोरठी, पाङ्दुरे, खसबाहुनको भजन, बालनको रसबसको चमत्कार पनि छँदै थियो ।

१९३७ सालतिर तान्द्राङको ओख्ले भन्ने ठाउँमा भाषा पाठशाला थियो तर गोरखा सदरमुकाममा तिनताका विद्यालय थिएन । पछि त्यो (भाषा पाठशाला) सरेर पोखरीथोक बजारमा आयो । गोरखाका बुढापुरानियाँ जो जसले अक्षर चिने, यहीँ पढेर चिने । महिलाले पढ्ने त जमानै थिएन । भाषा पाठशालामा वनारसबाट पढेर आएका धुरन्धर विद्वान् थिए, बक्राङका लीलामणि मरहट्टा र धारापानीका गोपाल गुरु (आचार्य) । प्रार्थनामा सरस्वती वन्दना गाउने चलन थियो ।

१९९८ सालतिरको कुरा, पाटेचौरका पाँच वर्षका मित्रलाल श्रेष्ठ पाठशालामा भर्ना भए । पछि पद्मशमशेरको पालामा २००४ सालमा शक्ति स्कुल बनाइयो । उनी चार सालमा चारै कक्षामा शक्ति स्कुल पढ्न थाले । मित्रलाल त्यति बेलै गानाबजानामा तेज थिए । उनी अगाडि उभिएर सरस्वती वन्दना गाउथे, अरूले उनलाई पछ्याउँथे । शुक्रबार सधैं बालसभा हुन्थ्यो । बालसभामा गीतसंगीत, अरु प्रतिभा प्रस्तुत हुन्थ्यो । त्यसमा चमत्कार देखाउँथे मित्रलाल । उनी अग्रजहरूको पछि लागेर भजन गाउन जाँदाआउँदा पोख्त भएका थिए । गोरखकालीका मन्दिरमा मालसिरी गाउन जाने टोलीको पछि लागेर जान्थे ।

२००७ सालतिर चन्द्रमान श्रेष्ठ जागिरको मेसोमा बहिदार बनेर गोरखा आएका थिए । शास्त्रीय संगीतका विज्ञहरू बस्ने भारतको ग्वालियरमा संगीत सिकेर आएका उनी हिन्दी, नेपाली भजन, हार्मोनियम, तबला आदिमा धुरन्धर थिए । उनले निवासमै नित्य जमघट गरेर भजन गाउने वातावरण बनाए । मित्रलाल पछि लाग्दा चन्द्रमान ६० नाघिसकेका थिए । उनले मित्रलाल, सूर्यबहादुर मास्के, मंगलबहादुर, राधेश्याम मास्के, गणेशभक्त, हरिभक्त, गोविन्दमान, माधवलगायतका युवालाई स्वर र संगीत सिकाए । सारेगम त्यहीँ रटे ।



विगत ७० वर्षदेखि गोरखामा भइरहेको अभ्यासको अध्ययन गर्दा गोरखाली संगीतले न द्रुत गति लियो न त सुस्तायो । सरदर जिल्लामा झैं सांगीतिक गतिविधि अघि बढिरहेको छ ।

शाही सेनामा कार्यरत द्वारिका श्रेष्ठकी छोरी भारतको समस्तीपुरमा संगीतप्रवीण गरेर आएकी थिइन् । राजा त्रिभुवनका दरबारमा गाउने, बजाउने महिला हुन् उनी । उनको बिहे रामेछापको मनोहरसँग भयो । मनोहरलाई राजाले गोरखाको डिठ्ठा बनाएर पठाए । उनी र दुई छोरा पनि डिठ्ठासाबको पछि लागेर गोरखा आइपुगे । उनका छोराहरू मित्रलालका साथी बने । साथीले मित्रलालका बारेमा आमालाई सुनाएका हुन्थे । उनले मित्रलाललाई घरमै झिकाइन् । पाँचपंखी हार्मोनियम झिकेर उनले गाएको दक्षिणकालीको भजन सुनेर तीनछक परेको स्मृतिले मित्रलाल अहिले पनि रोमाञ्चित हुन्छन् । मित्रलालको प्रतिभासँग उनी मोहित भइन् । उनको संगतबाट मित्रलाल गीतसंगीततिर निखारिँदै, तिखारिँदै गए ।

समयले कोल्टो फेर्‍यो । २०१६ सालतिर मित्रलाल जागिरको सिलसिलामा पाल्पा पुगे । उनी मालपोतका हाकिम हुँदा कालीप्रसाद रिजाल भूमिसुधार अधिकारी थिए पाल्पामा । रिजालसँगको संगतले उनमा उत्कृष्ट शब्द रचना सीप विकास भयो । विभिन्न संगतले मित्रलालको संगीत यात्रा शिखरतिर थियो । साथी, संगति बटुलेर उनले गोरखामा गीतसंगीतको बजार गुल्जार गरे । उनकै अध्यक्षतामा झरना क्लब गठन भयो । यसले गीत, संगीत, कलाकारितालाई पहिलोपटक संस्थागत विकास गर्न थाल्यो । झरना क्लबमा मोहननारायण श्रेष्ठ, गोविन्द श्रेष्ठ, होमकुमार श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, सोमप्रसाद श्रेष्ठ, शेरशंकर श्रेष्ठ, सूर्यबहादुर मास्के, धीरजबहादुर मास्के, बद्री मास्के, मेघबहादुर मास्केलगायत थिए । यसले गोरखामा ‘ओपन थिएटर', ‘छकला नाच' गर्न थाल्यो । उनीहरूले प्रदर्शन गरेका ‘मंगले-मंगली', ‘शिलान्यास'जस्ता नाटक खुबै लोकप्रिय थियो त्यो बेला ।

नियमित रूपमा राजा, राजपरिवार गोरखा आइरहन्थे त्यो बेला । उनीहरू आउँदा होस् वा राजाको जन्मोत्सव, बाल दिवस मनाउँदा गीत गाउने, बजाउने पनि उनी र साथीहरूकै जिम्मा हुन्थ्यो । त्यति बेला गोरखामा कहीँबाट डल्ले जोगी आएर आ श्रम बनाएर बसे । उनले जीवनप्रेमको हजुरबाको मृत्यु हुँदा पहिलोपटक रामायण लगाउने चलन बसालिदिए । त्यसयता बजारका लब्धप्रतिष्ठित जो कसैको मृत्यु भएमा गाईजात्राको दिनमा रामायण निकाल्ने परम्परा बस्यो।

मित्रलाल अहिले ८० कटे । अहिलेसम्म पनि उनले बर्सेनि गाईजात्रामा रामायण निकाल्ने जिम्मेवारी सम्हाल्दै आएका छन् । लेख्ने, बजाउने, गाउने सबै उनकै काँधमा । साथ र सहयोग त अन्य कलाकारको भइहाल्छ । उनले नयाँपुस्तालाई पनि सिकाए । चन्दनकुमार श्रेष्ठ, भाइचन्द्र श्रेष्ठ, अनीर मास्के, रञ्जित श्रेष्ठ आदिलाई पनि गीतसंगीतप्रति मोह जगाइदिए ।
०००

गीतसंगीतका अनुरागी गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीलाई २०३०÷३२ सालतिरको गोरखाली गीति गतिविधिको हेक्का छ । ठूलो आँगनका होमकुमार श्रेष्ठ, कुलनारायण जोशीहरू काठमाडौंबाट पढेर फर्किंदा गितार लिएर आएका थिए । त्यति बेलाका चर्चित बच्चु कैलाश, दीप श्रेष्ठ, दीपक खरेलका गीतहरू गुन्गुनाउने माहोल थियो । जोशी, चन्दनकुमार श्रेष्ठ, राजुबाबु श्रेष्ठ, सुनील मास्केजस्ता नवप्रतिभाहरू चासोका साथ सुन्थे, हेर्थे ।

२०३८ सालतिर शास्त्रीय संगीतको मोहले चन्दनकुमारलाई फेरि काठमाडौं तान्यो । उनी काठमाडौं र दिल्ली पुगेर शास्त्रीय संगीत सिक्न थाले । २०४१ सालमा दशरथ रंगशालामा सम्पन्न संगीत प्रतियोगितामा सहभागी भए । दीप श्रेष्ठ प्रथम, सुकमित गुरुङ दोस्रो, मीरा राणा तेस्रो भए । दिल्लीबाट शास्त्रीय संगीतमा पारंगत बनेर आएका चन्दनकुमार अहिले नेपालका अधिकांश गायक, संगीतकारका गुरु बनेका छन् ।

जोशीका अनुसार त्यति बेला जयगणेश क्लब र झरना क्लबले गोरखामा गीतसंगीत र कलाकारिताको विकास गरिरहेका थिए । जयगणेश क्लबको नेतृत्व श्यामबाबु श्रेष्ठले गरेका थिए । जीवनप्रेम श्रेष्ठ, रमेशप्रेम श्रेष्ठ, कुलनारायण जोशी, मोहन जोशीहरू त्यसमा सक्रिय थिए । ‘३० सालतिरको कुरा हो यो । म सानै थिएँ । जयगणेश क्लबको अफिस मेरै घरमा थियो । यसले खेलकुद र कलाकारिताको विकासमा कार्यक्रम गथ्र्यो । यसलाई प्रशासनले खेदो गथ्र्यो । क्लबमार्फत कार्यक्रम गर्‍यो भनेर कतिपय कलाकारलाई समातेर थुनेको पनि थियो', जोशी सम्झन्छन्, ‘अर्को झरना क्लब थियो । त्यसले चाहिँ गीत, नाच, नाटकलाई बढी प्राथमिकता दिन्थ्यो ।' २०३९ सालतिर चन्दनकुमार श्रेष्ठकै नेतृत्वमा पृथ्वी सांस्कृतिक परिवार गठन भएर गीतसंगीतको विकास गर्‍यो । राष्ट्रिय गीतसंगीत सम्मेलनमा भाग लिएर पुरस्कार जितेर ल्याउँथे गोरखाली कलाकारहरूले ।

सदरमुकाम बाहिर, आँपपीपलका आलोक श्री (सूर्यकुमार खाती)ले संगीत क्षेत्रमा गोरखाको नाम स्थापित गराउँदै थिए । उनी अहिले नेपालकै प्रतिष्ठित संगीतकारका रूपमा स्थापित भइसकेका छन् । सुनील मास्के, अनीर मास्केहरूले त्यस बेलै एल्बम निकाल्न थालेका थिए । सुनील मास्केले यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् । अर्का गीत, संगीतकर्मी गणेश श्रेष्ठ २०५० को दशकको गीत, संगीतको माहोल सम्झन्छन् । त्यो बेलामा गोरखामा सुनील मास्के, अनीर मास्के, सञ्जीव मास्के लगायतले ‘जवानी' नामक एल्बम निकालेका थिए । रञ्जित श्रेष्ठ, अमिर मास्के, आमोद श्रेष्ठ, निरोज मास्के मिलेर २०५३ सालतिर शिखर ‘हिमाली भेषैमा' एल्बम निकालेका थिए ।

त्यसभन्दा पछि गोरखामा ‘सिरेटो' र ‘पाश्र्व' ब्यान्ड थपियो । सुदीप अर्याल, रञ्जित श्रेष्ठलगायत ब्यान्डमा रहने गरी ‘सिरेटो' ब्यान्डले पचासको दशकमा दुईवटा एल्बम बजारमा ल्याएको थियो । सिरेटोका रञ्जित श्रेष्ठ अहिले फ्रान्समा र सुदीप अर्याल अस्ट्रेलियामा छन् तर दुवैजना हाल संगीतमा सक्रिय छैनन् । अर्कातिर आशीष श्रेष्ठ, प्रवीण गुरुङ, नवीन गुरुङ, रोशन राना, दिवस बस्नेत, कुमार बोहोराहरूको ‘पाश्र्व' ब्यान्ड थियो । उनीहरूले २०५६ सालमा पाश्र्व भन्ने एल्बम निकालेका थिए । आशीष श्रेष्ठ अहिले पनि गीति क्षेत्रमै तल्लीन छन् । उनी अहिले अस्ट्रेलिया (सिड्नी)मा छन् । उनी अहिले सिड्नीमा बसेरै नेपाली गीत संगीतमा लागिरहेका छन् । त्यहाँ उनको शास्त्रीय संगीत विद्यालय नै छ ।

उनका भाइ अनिश श्रेष्ठ पनि भारतमा संगीत सिकेर नेपालमा संगीत क्षेत्रमा लागिपरिरहेका छन् । २०५५ सालदेखि सांगीतिक क्षेत्रमा लागिपरेका श्रेष्ठले सयभन्दा बढी भजनका एल्बम र एक्लोपनलगायत चारवटा एकल एल्बम निकालिसकेका छन् । त्यतिखेर गोरखामा रहेका ब्यान्डहरूका ‘हिमाली भेषैमा', ‘पानीको तालैमा', ‘डाँडापारि', ‘किन हो किन मेरो मनै मान्दैन', ‘मस्र्याङ्दी खोला है तरेर', ‘चैते दसैंको मेलैमा' लगायतका गीतले युवाको मन जित्न सफल भएको थियो ।

पाश्र्व ब्यान्डका प्रवीण गुरुङले २०५७ सालतिर मायाको यात्रामा भन्ने गीत गाए । गीतकार श्रवण जोशी थिए । यो गीत पोखराका सबै एफएममा टपटेनको टपटपमा बज्थे । निकै चर्चा पाएका थिए । उनका केही गीत पछि पनि रेकर्ड भएका छन् । श्रवण जोशीले पनि गीतियात्रालाई निरन्तरता दिएका छन् । उनले श्रावणी एल्बम भर्खरै नवौं गोरखा महोत्सवमा विमोचन पनि गरे । यसमा गोरखाली संगीतकार सुनील मास्के पनि सँगसँगै छन् ।
राजुबाबु (प्रहरी उपरीक्षक) यो युगका नेपाली संगीत सगरका चम्किला प्रतिभा हुन् । प्रहरीसेवामा अहोरात्र खटेर पनि उनले जति पनि गीत लेखे, नेपाली सांगीतिक बजारमा सबैले राम्रै बिजनेस पाएका छन् । २०५३ मा राष्ट्रिय कविता सम्मेलनमा तेस्रो पुरस्कार जितेका उनले ७० को दशकमा गीति क्षेत्रमा धेरै पुरस्कार र पदक पाएका छन् ।

आँसु लामा गोरखाले बिर्सनै नहुने अर्का कलाकार हुन् । ‘ए सुनी, ए सुनी बैगुनी' ‘नौ डाँडापारि कता हो कता' जस्ता गीत गाएर चर्चित बनेका लामा गुरुङ चलचित्र बारपाकी मायाका गीतहरू लेखन, गायन र संगीत गरेका छन् । कहाँ थियौं तिमी रंगमञ्च उठेपछि आयौ गजलकी गजलकार शीतल कादम्बिनी, आँधीसरी तिम्रो माया गीतका रामबाबु थपलिया ६० को दशकमा स्थापित गीतकार हुन् । प्रकाशबाबु थापा, प्रकाश क्षणिक, गणेश श्रेष्ठ, साजन गुरुङ, जेम्स कोडी (कृष्ण शाही) ७० को दशकमा उदाएका गोरखाली गीतसंगीतका नवकलाकार तथा गायककार हुन् ।

यसबीचमा गोरखालाई प्रवद्र्धन गर्ने हेतुले केशव बस्नेत, मित्र देवकोटा र गणेश श्रेष्ठको समूहले २०६६ सालको भाद्र महिनामा आउनुस् गोरखा घुम्नलाई र माया गोरखाको गीत निकाले । गोरखालीले मन पनि पराए यी गीतलाई । श्रोताको माया पाएपछि फेरि हौसिएर उनीहरूले गोरखालाई नै चिनाउन गोरखै रमाइलो भन्ने गीत ल्याउँदैछन् ।

विरही कार्की, मुना थापा लोकगीतका ब्रान्ड नै बनेका छन् । रामचन्द्र अर्याल, काजी अर्याल, दीपसागर थापा, प्रेम अर्याल, पूर्ण अर्याल, चन्द्र परियार, रञ्जित परियार, सरिता कार्की, रञ्जु विक, बेलीमाया गोरखाली, सागर गुरुङ, सुनीला गुरुङ, पृथ्वी गुरुङ, राकेश गुरुङ पनि लोककलाकारका रूपमा श्रोतामाझ चिनिइसके । आशा थापा, नारायण दानी, शिव केशीलगायत धेरै कलाकार गोरखाका गहनाका रूपमा रहेका छन् । विगत ७० वर्षदेखि गोरखामा भइरहेको अभ्यासको अध्ययन गर्दा गोरखाली संगीतले न द्रुत गति लियो न त सुस्तायो । सरदर जिल्लामा झैं सांगीतिक गतिविधि अघि बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.