हराएको अवसर : राजपा र मधेस

हराएको अवसर : राजपा र मधेस

आन्दोलनको उन्मादले जन्माएको मानसिकताको परिणाम राष्ट्रिय जनता पार्टीको लागि धेरै सुखद हुन सकेन । मधेसी मतदाता आफूलाई चुनावभन्दा पर राखेर पर्यवेक्षणकै भूमिकामा मात्रै सीमित हुन स्विकारेनन् । यथार्थमा दुई नम्बर प्रदेशमै पनि सरकारले चुनाव गरेकै भए पनि चुनाव हुन सक्ने अवस्था रहेछ भन्ने कुरो अब त सत्तापक्षले पनि बुझेकै होला । गर्न हुन्छ, मिल्छ भन्ने सोच विद्वत् समाजमा छँदै थियो, तर विद्वत् समाजलाई सत्तापक्षले कहिल्यै नै मान्यता दिएको छ र अहिले दिएन भन्ने बहसमा पस्नु निरर्थक अभ्यास हुनेछ । संविधान संशोधनको विषय धेरै ठूलो खल्बलीको विषय भए पनि आम मतदातामा यसका बाछिटा पनि पर्न सकेको रहेनछ भन्ने स्पष्ट देखिन्छ ।

man-mohan-bhattaraiनेपालसित सीमा जोडिएका भारतीय संघभित्रका प्रदेशहरूले समेत पनि नेपालको संविधान संशोधनसित धेरै चासो राखेको भने देखिएन । दिल्लीको चासो भने पटकपटक अभिव्यक्त हुँदै आएको हो । दिल्लीको राजनीतिमा क्रियाशील पूर्व-पश्चिम, उत्तर-दक्षिणका राजनीतिकर्मीहरूले समेत दिल्लीको नेपालप्रतिको व्यवहारलाई लिएर बेलाबखत असन्तुष्टि व्यक्त गर्दै आएका हुन् । सँगसँगै स्पष्ट भाषामा भारतीय खुफिया एजेन्सीको हस्तक्षेप देख्दै र देखाउँदै आएका पनि हुन् ।

नेपालप्रतिको दिल्ली नीति प्रत्युत्पादक स्वयं भारतकै लागि पनि भएको अहिले आएर सर्वत्र चासोको विषय भएको छ । भारतीय व्यवहारकै कारणले नेपाल-भारत छोडी चीनको नजिक पुगेको आकलनसमेत पनि गर्न खोजिएको छ । यसो भन्नु नेपालीकै अभिव्यक्ति नभएर भारतीय नेता एवं भारतीय सञ्चारमाध्यमको धारणा हो । यो विचित्रको अवस्था यथार्थमा भन्नुपर्दा नेपालबाट सिर्जित नभएर भारतकै नीतिनिर्माता र भारतीय स्वार्थसँग गाँसिएका कूटनीतिक नियोग विभिन्न रूपमा देखिँदै आएको हो ।

भारतीय राजदूतको नेपालका विभिन्न ठाउँमा भएका धारा, कुवादेखि लिएर स्कुल, एम्बुलेन्स वितरणसम्ममा भएको व्यवहारले अखिर चीनलाई पनि हिमालसित जोडिएका नेपालका उत्तरी भूभागमा काम गर्नको लागि नेपालले खुला गर्नैपर्‍यो । भारतसित जोडिएका दक्षिण भूभाग र चीनसित जोडिएका उत्तरी भूखण्ड दुईतिर खुलेआम दुई विदेशी शक्तिलाई काम गर्ने छुट दिनु कति उचित वा कति अनुचित हो, त्यो समयले देखाउला ।

कतिपय विषयमा भारत र चीनबीच सम्बन्ध त्यति सुमधुर भने छैन । आज भइहालेछ भने पनि भोलि त्यो सम्बन्ध सदाको लागि टिकाउ हुन्छ भन्ने पनि निश्चित रूपमा भन्न सकिँदैन । नेपालको हित यी दुवै मित्रहरूसँगको सुमधुर सम्बन्ध र त्यो पनि खासगरी आर्थिक क्षेत्रमा यी दुई देशको लगानी र यी दुवै देशको बजार नेपालको पहुँचसम्म पुर्‍याउनु नेपालको लागि विशेष महत्वको कुरा रहन्छ ।

चीनले नेपालमा आफ्नो सम्बन्ध जतिसुकै मधुर तुल्याउँछु भने पनि नेपालको संवेदनशीलतालाई उसले राम्ररी बुझेको छ । चीनको अर्थतन्त्रले नेपाललाई हर प्रकृतिको सुविधा उपलब्ध गराउन सक्छ । चिनियाँ सहयोगकै कुरा गर्ने हो भने पनि भारतभन्दा दुई कदम अगाडि बढेर चीनले नेपाललाई भनेजति सहयोग गर्न पनि सक्छ, तर ऊ त्यो गरिराखेको छैन । न त नेपालको राजनीतिमा नै आफ्नो प्रभाव विस्तार गर्ने उसको यत्न रहेको छ । तर विस्तारै नेपाल र नेपालीसितको सम्बन्ध अझ मतबुत र विस्तारित गर्ने उसको चाहना भने स्पष्ट देखिन्छ । छोटो समयमै चिनियाँ पर्यटकको संख्या भारतीय पर्यटकभन्दा ठूलो आकारको हुने लक्षण देखा पर्न थालिसकेका छन् ।

अहिले चीनबाट एक करोड ५० लाख पर्यटकहरू मुलुकभन्दा बाहिर गइराखेका छन् । चिनियाँ नीतिले छिमेकी मुलुकमा पर्यटकको संख्या बढाउन विशेष प्रयत्न नै सुरु गरेको छ । भारतमै पनि चिनियाँ पर्यटकको संख्या निकट भविष्यमै ठूलो आकारको हुने कुरा स्पष्ट हुन थालेको छ । भारतीय चलचित्रले चिनियाँ दर्शकसम्म आफ्नो स्थान बनाउन सकेको छ । यो अवस्थामा नेपालको राजनीतिप्रति मात्रै रुचि लिएर बसेको भारतलाई बेलाबखत चीनले असजिलो पार्न पनि सक्छ ।

प्रसंग मधेस आन्दोलन र आन्दोलनको पछाडिको शक्तिसित जोडिएको हो । चीन भारतको चर्चा यसकारण विशेष महत्वको हुन जान्छ कि यी विषयलाई लिएर भारतको बौद्धिक समाज एवं राजनीतिक वृत्तले यो चिन्ता व्यक्त गर्दै आएको छ । दक्षिण एसियामा चीनको प्रभाव रोक्न÷छेक्न सक्ने स्थिति अहिले अब कसैसित छैन । एकोहोरो प्रभाव विस्तार गर्ने भारतको सोच अहिलेको विश्व राजनीतिमा र खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया एवं एसिया प्रशान्त क्षेत्रमा सान्दर्भिक छैन ।

जोसुकै नेताले जेसुकै भने पनि नेपालको संविधान अब छिटै संशोधन हुने अवस्थामा देखिँदैन । त्यसो भए आउँदा निर्वाचनहरू कसरी सम्भव हुन्छन् भन्ने विषय पनि उब्जिन सक्छ । संविधान संशोधनविरुद्ध उभिएको शक्ति फेरि अझ बलियो रूपमा संशोधनको विरुद्धमै लाग्छ र त्यसको लागि उसले आधार पनि पाएको छ । ५ र ७ नम्बर प्रदेशको निर्वाचनमा आआफ्ना दलबाट उम्मेदवारी दिँदा जातीय विषयलाई त्यत्रो महत्व दिइएन । त्यति हुँदाहुँदै पनि ठूला राजनीतिक दलहरूलाई नै जनताले विश्वास गरेको देखियो ।

अब संगठनको आधार ठूलो राजनीतिक दलहरूले तल्लो स्तरसम्म पुर्‍याइसकेका छन्, त्यो पनि निर्वाचनको माध्यमबाट । हिजो संविधान निर्माण गर्दा जनादेश होइन भन्नेहरूले अब ६ प्रान्तको निर्वाचनलाई हेरेर जनादेश यो पनि होइन भन्ने तर्क स्थापित गर्न सकिँदैन । ७४ प्रतिशत मत खस्नु भनेको चानचुने कुरा होइन । गाउँ वडामा राजपाको संगठन छैन भन्ने कुरो यसले स्पष्ट देखाउँछ । हामी मुसलमान, थारू, आदिवासी-जनजातिका, मधेसीका प्रतिनिधि पात्र हुँ भन्ने नेतृत्वले अब असोजको निर्वाचन पनि लड्ने आधार देखिँदैन । आन्दोलनको आँधीबेहेरी उठाएर संविधान संशोधन गर्न बाध्यात्मक स्थिति खडा गर्नुबाहेक अब अर्को कुनै विकल्पले संविधान संशोधन हुने लक्षण देखिएन ।

दुई नम्बर क्षेत्रको असोजको निर्वाचन राजपाले कुन बल वा कुन वर्कतले लड्ने हो, अब उनीहरू आफैंले सोच्ने कुरा हो । केही भएका कार्यकर्ता यही चुनावमा कोही स्वतन्त्र उम्मेदवारको हैसियतमा त कोही कुनै पार्टीसित आबद्ध भएर निर्वाचनमा भाग लिइनै सके । अब बाँकी नै को छन् र जसलाई राजपाले आफ्ना कार्यकर्ता भनेर भनोस् । यसै पनि राजपा आफ्नो संगठनको दुर्बलताले गर्दा चुनावबाट भागेको हो । साँच्चिकै संविधानले सम्बोधन गर्न नसकेको केही मुद्दा संविधानभित्र पार्नुपर्ने भएको भए निर्वाचनबाटै आफ्नो शक्ति प्रदर्शन गरेर यी दल अगाडि आउन सक्थे, तर त्यसो होइन रहेछ । अब संविधान संशोधनको पक्षमा बोल्ने दलहरू पनि केको लागि संविधान संशोधन भन्ने विषयमै अल्मलिनुपर्ने अवस्था सिर्जना भइसकेको छ ।

अब संशोधनको कुरा गर्दा कसको लागि संशोधन भन्ने प्रश्न टड्कारो रूपमा अगाडि आउँछ । दिल्लीका नेताहरूलाई पनि सर्वस्वीकार्य संविधानको पक्षमा सुझाव दिनु या नेपाललाई अराउनुको कुनै तार्किक अर्थ रहँदैन । अब नेपालीले बुझ्नुपर्ने हुन्छ- संविधान संशोधनको पक्ष र त्यसको विपक्षमा रहेका मतहरू नै भालि राजनीतिक विश्लेषणका आधार हुन सक्छन् । यस अवस्थामा संविधान संशोधन कसैको रुचिमा भए पनि संशोधन गरिहाल्नुपर्ने आवश्यकता भने अब रहँदैन । संशोधनको पक्ष र विपक्षमा आएका अभिव्यक्त मतले भोलिको संशोधनको प्रयत्नलाई निश्चित रूपमा प्रभावित गर्छ । जम्मा १६ प्रतिशत मात्र मत खसेन, यसका कारण स्पष्ट छन् ।

कति मतदाता देशबाहिर छन्, कति अस्वस्थ होलान् कतिको मतदाता नामावलीमा नाम भएर पनि परिचयपत्र नलिएका हुन सक्छन् । असोजको चुनावमा यसभन्दा पनि बढी मतदानको सम्भावना छ । दसैंनजिकै रहेकाले लागि कतिपय मान्छे घर फर्किएका हुन्छन् । खेतीपातीबाट असार १४ भन्दा बढी नै फुर्सदको समय हुन्छ । त्यति भइसकेपछि अहिले देखिएका मधेसका समस्या नितान्त सानो संख्यामा खुम्चिसकेको हुनेछ । यसै पनि सात क्षेत्रबाट घटेर मधेस आन्दोलन अब जम्मा एक क्षेत्रमा खुम्चिएको स्पष्ट नै छ । यो खुम्चिने क्रम जारी नै रहन्छ । अब हुने निर्वाचन स्थानीय तहबाटै छिनोफानोसम्म पुग्ने अवस्थामा पुग्न बेर छैन ।

मधेस आन्दोलन र यसका सञ्चालकसित एउटा ठूलो अवसर थियो । आन्दोलन, संविधान संशोधन र विभेदको नाममा मत माग्न सकिन्थ्यो, तर उनीहरूले त्यस्तो केही गरेनन् । एउटा अवसर उनीहरूको हातबाट फुत्कियो । चुनावमै आएको भए कतिपय अरू दलबाट असन्तुष्ट मान्छे उनीहरूले ल्याउन सक्थे । त्यो अवसर पनि उनीहरूले गुमाएकै हुन् । त्यसो भए अब राजपाको भविष्य के ? यी हराएका अवसरसँगसँगै राजपा पनि हराउने अवस्थामै हो ? अहिलेको विश्लेषणले त त्यही नै देखाउँछ ।

अब भौगोलिक या भाषिक अर्थमा राष्ट्रियताको पहिचान हुन सक्दैन । राष्ट्रियताको पहिचान अब भने देश प्रेमसित जोडिएर आउँछ । एमालेको राष्ट्रवाद पनि अबको देशप्रेमसित जोडिन सक्दैन । अबको देशप्रेम या देशभक्ति रैथाने नेपालीसित जोडिन्छ । त्यसभित्र जात होइन, नेपाल मात्र रहन्छ । अब कुनै मुलुकको अर्घेल्याइँलाई देखाएर राष्ट्रवादको व्याख्या सम्भव छैन । ६ प्रदेशको निर्वाचन परिणामले देखाएको छ, कसैको कुनै छुट्टै पहिचान छैन, सबैको एउटै पहिचान छ, त्यो पहिचान भन्नु नेपाली नै हो ।

हाइलाइट
मधेस आन्दोलन र यसका सञ्चालकसित एउटा ठूलो अवसर थियो । आन्दोलन, संविधान संशोधन र विभेदको नाममा मत माग्न सकिन्थ्यो, तर उनीहरूले त्यस्तो केही गरेनन् । एउटा अवसर उनीहरूको हातबाट फुत्कियो । चुनावमै आएको भए कतिपय अरू दलबाट असन्तुष्ट मान्छे उनीहरूले ल्याउन सक्थे । त्यो अवसर पनि उनीहरूले गुमाएकै हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.