दार्जिलिङको सन्देश

दार्जिलिङको सन्देश

दार्जिलिङ आन्दोलनले सुतेको नेपाललाई जगाइदिएको छ । नेपालका नेपालीहरूले आफ्नो घर लथालिंग राखेकाले विश्वका अरू मुलुकमा बसोबास गरिरहेका नेपालीहरूतिर ध्यान दिएका छैनन् । नेपालका नेपालीले आफ्नो कर्तव्य निर्वाह गर्न सकेका छैनन् । उनीहरू आफ्नै घरमा निरिह र असहाय भएर बसेका छन् ।

adityaman_2नेपालको नाउँले नै उनीहरू नेपाली कहलाउँछन् । नेपाली भनी चिनिन्छन् । विश्वका अरू मुलुकमा बसोबास गरिरहेका नेपालीहरू पनि यही कारणले नेपाली भनी चिनिन्छन् । चाहे पहिलो आप्रवासी भएर गएका हुन्, चाहे उनका पुर्खाहरू आप्रवासी भएका हुन्, चाहे अस्थायी कामको लागि विदेश लागेका हुन्, उनीहरूको पहिचान नेपालसित नै जोडिएको हुन्छ ।

अरू मुलुकको नागरिकता प्राप्त गरेका नेपालीहरू कोही अमिरिकी, कोही बेलायती, कोही अस्ट्रेलियाली, कोइही भारतीय, कोही केनेडाली आदि भएका छन् । तर उनीहरूको नेपालसितको नाता टुटेको हुँदैन । उनीहरूलाई नेपाली मूलका नागरिक भनी चिनिन्छन् । नेपालीलाई नागरिकको रूपमा स्वीकार गर्ने मुलुकहरू प्रायः विकसित नै छन् । मध्यपूर्व र मलेसियाजस्तो अरू विकासशील देशहरूमा लाखौं नेपाली कामदारको हैसियतले गएका छन्।

उनीहरू नेपाली नागरिक नै भएकाले नेपाली भनेर नै चिनिने भए । उनीहरूप्रति नेपाल र नेपाल सरकारको ठूलो र सीधा जिम्मेवारी छ । उनीहरूको कमाइमा नेपालका हजारौं परिवार निर्भर छन् । उनीहरूको सुखदुःखको सम्बन्ध र प्रभाव सीधै नेपालमा पर्छ । तर नेपाल र नेपाल सरकारले उनीहरूप्रति रहेको जिम्मेवारी पनि निर्वाह गर्न सकेको छैन । उल्टै उनीहरूको ठगीमा भागीदार भएर दोषी छन् ।

आखिर दार्जिलिङका नेपालीले नेपालका नेपालीलाई कसरी झस्काइदिएका छन् ? दार्जिलिङ भारतको एक भाग हो । सन् १९१६ मा नेपाल र ब्रिटिस भारतबीचमा भएको सुगौली सन्धिअगाडि दार्जिलिङ नेपालको थियो । तर आज भारतको पश्चिम बंगाल राज्यको यो एक भाग भएर बसेको छ । नेपालको सरहदसित दुवै जोडिएको छ । तर त्यो कुनै समस्या होइन । भारतको अरू भागसित जोडिएको सरहदसित जस्तै यो पनि खुला छ । दुवै मुलुकका मानिस बिनाकुनै रोकटोक एकअर्काको सरहदभित्र पस्ने निस्कने गर्छन् ।

आज पुनः प्रश्न उठेको छ- के दार्जिलिङका नेपाली जातिमाथि आपत् आइपर्दा नेपाल र अरू मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका मानिसले सहानुभूति र सद्भावना देखाउने कर्तव्य होइन ?

दार्जिलिङ क्षेत्रमा जाँदा भने नेपालीले एउटै फरक पाउने गरेका छन् । त्यहाँ जाँदा आफ्नै भाषामा बोल्न पाउँछन्, कुराकानी गर्न पाउँछन् र उठबस गर्न सजिलो मान्छन् । तर के यो सुविधा भविष्यमा पनि रहनेछ ? यसमा भने शंका उत्पन्न भएको छ । किनभने पश्चिम बंगालको सरकारले उनका सबै नागरिकलाई बंगाली भाषा पढ्नुपर्ने अनिवार्य गराएको छ । भारतको संविधानअनुसार नेपाली भाषा पनि भारतको आधिकारिक भाषा मानिएको छ । दार्जिलिङबासीले बंगाली भाषालाई सहर्ष स्वीकार गरेको भए नेपालका नेपालीले सिकायत गर्ने ठाउँ पाउँदैनथे ।

तर त्यहाँका नेपालीभाषीले सो स्वीकार गरेका छैनन् । यसको विरुद्ध संघर्षमा उत्रेका छन् । १० दिनभन्दा बढी जुलुस हडताल भइरहेको छ । भारत सरकारले सो दबाउन सेना नै परिचालन गरेको छ । नागरिक आन्दोलनमा एकैचोटि सेना परिचालन गर्नु असमान्य मानिन्छ । त्यो क्षेत्रमा बसोबास गरेका नेपाली मूलका गोर्खाली कहलिएका भारतीय नागरिकले कुन असामान्य परिस्थिति खडा गरेछन् कि भारतीय सेनालाई परिचालन गरियो भन्ने कतै व्याख्या गरिएको छैन ।

आन्दोलनको दौरान तीनजनाको ज्यान गइसकेको छ । त्यसबाट परिस्थिति अरू जटिल भएको देखिन्छ । अब त्यहाँका नेपाली मूलका गोर्खालीले बंगाली भाषा नसिक्ने अठोट दर्शाउनुको साथै एक कदम अगाडि गएर स्वायत्त गोर्खाल्यान्डको माग दोहोर्‍याएका छन् । गोर्खाल्यान्डको संघर्ष चलेको आज होइन, वर्षौं भइसकेको छ । जुन समयदेखि गोर्खाल्यान्डको माग उठेको हो, त्यसपछि भारतमा तेलंगना, झारखण्ड, उत्तराखण्ड आदि नयाँ राज्य बनिसकेका छन्, तर गोर्खाल्यान्ड बन्न सकेको छैन ।

यसबाट भारतमा बसोबास गरेका नेपाली मूलका भारतीयहरूको माग लत्याइएको छ । तर अर्कोतिर भारत सरकारले नेपालमा भारतीय मूलका बासिन्दाको माग पूरा गरोस् भनेर ठूलो दबाब र हंगामा नै खडा गरेको छ । नेपालको संविधानले भारतीय मूलका नेपालीलाई समावेश गरेको छैन भन्ने आरोप लगाएर अनेक वितण्डा खडा गरेको छ । यसबाट एउटा ठूलो देशले सानो देशलाई दुःख दिन सक्ने रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।

नेपालका भारतीय मूलका बासिन्दाबारे भारत सरकारले खुलेआम आवाज निकाल्न सक्ने तर भारतमा बसोबास गरेका नेपाली मूलका नेपालीभाषीमाथि थिचोमिचो हुँदा नेपाल सरकार मूकदर्शक भएर बसेको छ । नेपाल सरकार भारतीयबाटै सञ्चालित भएकाले बोल्न नसकेको भन्ने कुरा कसैबाट लुुकेको छैन । यही तथ्यले दार्जिलिङको घटनाले नेपालीलाई झस्काएको छ ।

भारतकै सम्बन्धमा विचार गर्दा सन् २०१५ मा नेपालको नयाँ संविधान घोषणा भएलगत्तै भारतबाट नेपालले नाकाबन्दी बेहोर्नुपर्‍यो । त्यो संकटापन्न अवस्थामा विश्वका विभिन्न देशमा बसोबास गरिरहेका भारतीय नाकाबन्दीको विरोधमा नेपाली मूलका मानिसले ठूलो प्रदर्शनी गरे । त्यसबाट भारत सरकारमाथि कति दबाब पर्‍यो, त्यसको लेखाजोखा गर्न गाह्रो छ । तर नेपालका नेपालीमाथि आपत् आइपर्दा विश्वमा फैलिएर बसेका नेपाली मूलका मानिसहरू जागेकै हुन् र आवाज उठाएकै हुन् । आजको संसार र युगमा यसले ठूलो महत्व राख्छ ।

त्यो बेलामा आवाज उठाउने मानिसहरू नेपाली नागरिक हो कि होइनन् भनेर कसैले सोधेनन् । उनीहरूले नेपाली भाषा बोल्छन् कि बोल्दैनन् भनेर कसैले सोधेनन् । उनीहरूले नेपालीसित विवाह गरेका छन् कि छैनन् भनेर पनि कसैले सोधेनन् । उनीहरूले दसैं-तिहार, तीजजस्तो नेपाली चाडपर्व मनाउँछन् कि मनाउँदैनन् भनेर पनि सोधेनन् । नेपाललाई नाकाबन्दीजस्तो आपत् पर्दा मन दुखाउने नेपाली देखिने नेपाली मूलका मानिसहरू वासिंटन, न्युयार्क, लन्डन, सिड्नी, क्यालिफोर्निया आदि सहरका सडकमा देखा पर्दा नेपाली जागरुकता प्रदर्शित भएको थियो ।

कतिसम्म भने भारतकै राजधानी नयाँदिल्लीमा समेत नेपाली मूलका मानिसले विरोध प्रदर्शन गरेका थिए । त्यो बेलामा को कहाँको नागरिक हो भनेर प्रश्न उठेन । त्यहाँ नेपाल र नेपालीको मूल भावनाको अभिव्यक्ति भयो र यो नै एकता, समता र सद्भावको प्रदर्शन भयो । आज पुनः प्रश्न उठेको छ- के दार्जिलिङका नेपाली जातिमाथि आपत् आइपर्दा नेपाल र अरू मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका मानिसहरूले सहानुभूति र सद्भावना देखाउने कर्तव्य होइन ? हो भने किन कुनै आवाज उठिरहेको छैन ? किन कतैबाट आवाज सुनिरहेको छैन ? किनभने नेपालीहरू भावनात्मक एकतामा बाँधिन सकेका छैनन् ।

हुन त यो भावनात्मक एकताको अभिव्यक्ति सामाजिक सञ्जालमा देखा पर्छ । तर त्यो संगठनात्मक र बलियो देखिँदैन । न त्यो प्रभावकारी नै देखिएको छ । केही चाहिने-नचाहिने वादविवाद हुन्छन्, तर त्यो त्यत्तिकै हराएर जान्छन् । त्यसैकारणले विश्वका अनेक देशहरूमा फैलिएर बस्न थालेका नेपाली मूलका नेपालीलाई भावनात्मक एकतामा जोड्ने एउटा ठूलो हाँक खडा भएको छ । नेपाल बाहिर बसोबास गरिरहेका खासगरी विकसित मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका मानिसले अनेक संगठनहरू खडा गरेका छन् । तर, उनीहरूको मूल उद्देश्य नेपालमा लगानी गर्ने र नेपालबाट केही सुविधा प्राप्त गर्नेमा सीमित देखिन्छ ।

विश्वमा फैलिएर बसेका नेपालीलाई भावनात्मक एक सूत्रमा बाँधिराख्ने लक्ष्य कसैले पनि लिएको देखिँदैन । त्यसैले यसको पहल र सुरुआत नेपालबाट नै हुनुपर्छ । दार्जिलिङले दिइरहेको एउटा ज्वलन्त सन्देश यही हो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.