महिनावारी भएका महिला मतदान गर्न बन्चित !

महिनावारी भएका महिला मतदान गर्न बन्चित !

ब्लग

असार १४ गते सम्पन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनको प्रचार प्रसारमा हिडेका नेतासँग प्रदेश नम्बर सातका महिलाहरुले अनौठो माग राखे। जसले विगत लामो समयदेखी समाजमा जरा गाडेको छाउपडी प्रथा हटाउछुँ भन्छ उसैलाई भोट दिने अठोट थियो उनीहरुको। छाउपडी प्रथाको विरुद्धमा आवाज उठाउन स्वयम् महिला नै सक्षम हुन थालेको संकेत पनि हो यो। सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रका महिलाले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अहिलेसम्म पनि कायम छ।

सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा जर्वजस्त बस्न लगाइन्छ , त्यही बस्ने सानो गोठलाई ’छाउपडी ’ भनिन्छ। वर्षेनी छाउघरमा बसेकै अवस्थामा किशोरीको निधन भएको, सुत्केरी महिलाको निधन भएको, बलात्कारमा परेको, नवजात शिशु जंगली जनावरले खाइदिएका समाचार सुन्न पाइन्छ। आफ्ना छोरी, बुहारी , भर्खर जन्मिएका सन्तान गुमाउँदा पनि भगवान रिसाउने भयले घरमा राख्ने आँट गर्दैन त्यो भेगका पुरुषहरु। स्वयम किशोरी र सुत्केरी महिलालाइ पनि आफ्नो घरमा बस्ने आँट आउँदैन, पछि केही भइहाल्यो भने आफूमाथि अवगाल आउँछ भन्ने डरले यातना सहन बाध्य पारिएका छन्।

फाटफुट परिवर्तन देखिएपनि पुर्ण रुपमा यो प्रथा शहरीभेगमा समेत निमिट्यान्न हुन सकेको छैन। शहरमा अलग्यै गोठमा बस्नु पर्दैन, शहरको छुवाछुतको समाचार आउँदैन फरक त्यतिमात्र हो तर छाउपडी दुर्गम गाऊँमा मात्र होइन सुगम मानिएका शहरमा बस्ने शिक्षित परिवारभित्रै पनि व्याप्त छ। यो प्राचिनकालदेखि नै चलिआएको परम्परा हो, कुनै ठाऊँमा अलि बढी छ कतै अलि कम होला तर देशैभरी छाउपडी भएको तथ्य सत्य हो। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका सबै क्षेत्रमा बसोबास गर्ने महिला धेरैथोरै रुपमा भए पनि यो परम्पराबाट पीडित छन। जनजातीहरुले बार्नु नपर्ने, उनिहरुको देवता नरिसाउने बाहुन क्षत्री, ठकुरीहरुका मात्र देवता रिसाउने कस्तो चलन हो ? देवताले पनि जातियताको आधारमा वर्ग छुटाउँछन त ?

वैशाख ३१ गते सम्पन्न स्थानीय तहको प्रथम चरणको निर्वाचनमा राजधानीकी ३९ बर्षीया मेनुका थापा (नाम परिवर्तन) ले मतदान गर्न पाइनन्। मतदानको दिन उनी छुइ (महिनावारी) भएको तीन दिन भएको थियो। घरका सातजना सदस्यमध्ये पाँच जनाले आफ्नो अमुल्य मतदान गरे तर मेनुका र उनकी उन्नाइस वर्षीया छोरी प्राप्तीले भोट हाल्न पाइनन्। ‘छोरी छुइ भएको दुई दिन मेरो तीन दिन भएको थियो घरका आफन्तले मन्दिरमा जान दिएनन्, चाहेर पनि यसपटक भोट हाल्न पाइएन’ खिन्न हुँदै गुनासो पोखिन्। मेनुका मतदानमा अनुभवी भए पनि उनकी छोरीको लागि पहिलो भोट हाल्ने अवसर जुरेको थियो त्यही अवसर पनि प्राकृतिक चक्रले खोसिदियो।

‘संसार कहाँबाट कहाँ पुगिसक्यो आफू भने महिनावारी भएकै कारण भोट हाल्न नपाउने संस्कारको शिकार हुन बाध्य भएँ’ , १२ कक्षाको जाँच सकाएर बसेकी प्राप्तीले दुखेसो पोखिन्। ‘भोट हाल्नै पाउदिन भन्ने थाहा भएको भए आफू मिन्स (नछुने) भएको भन्ने नै थिइन, मन्दिर भित्र गएर टिका लगाउन पो नहुने थियो बाहिर उभिएर भोट हाल्दा रिसाउने कस्ता भगवान हुन हाम्रा बाआमाका?’ ‘देविहरुलाइ खुब पुज्छन् त के ति देवीहरु कहिल्यै नछुने नभइकन बसे होलान ? पच्चिस दिनसम्म घरकी रानी भन्ने पाँच दिन चाहिँ तिनै रानी अछुत रे’ ? प्राप्ती आफ्ना आफन्तसँग निकै आक्रोशित बनिन्।

‘मतदान केन्द्र स्कुलमा, सरकारी कार्यालयतिर परेको भए छुइ भएपनि भोट हाल्न पाइन्थ्यो , जानाजान मन्दिरमा गएर कसरी भोट हाल्नु? आजसम्म नगरेको पाप एउटा भोट खसाएर किन गर्नु ? पुर्खादेखी गर्दै आएको चलन एकैचोटी लत्याएर महिनावारी भएको पहिलो दिनमै मन्दिर जाँदिन भनेरै म नगएको हो कसैले करकाप गरेको होइन,’ मेनुका जस्तै छुइ भएकै कारण भोट हाल्न नपाएकी अर्की मतदाताको स्विकारोक्ती हो यो। हिन्दु धर्मशास्त्र अनुसार महिनावारी भएको सात दिन नभइकन पितृकार्य गर्नुहुँदैन, पाँचदिन नभइकन देवकार्य हुनुहुँदैन भन्ने मान्यता छ। धार्मिक आस्था, विश्वास सदभावलाई कसैले भत्काउन सक्दैन, निर्वाचन आयोगले यस्ता विषयमा सोच्नुपर्ने थियो। तेस्रो चरणको निर्वाचनको मतदान केन्द्र मठ मन्दिरमा नपारियोस् भन्ने सदासयता पनि हो। मेनुका र प्राप्ती प्रतिनिधि पात्र हुन्, मन्दिरमा मतदान केन्द्र परेकै कारण धेरै महिनावारी भएका महिला मतदान गर्नबाट बञ्चित हुनुपरेको तितो यथार्थ देखियो।


मेनुका र उनकी छोरीले महिनावारी हुनुलाई स्वभाविक मान्छन्, महिनावारीको पाप पखाल्ने भनिएको कारण अहिलेसम्म क्रृषि पञ्चमकीको पुजा गरेका पनि छैनन्, महिनावारी हुनु प्राकृतिक चक्र हो भन्ने कुरा राम्रोसँग थाहा छ। तर उनीहरुको भनाइ परिवारमा मान्य हुँदैन। मेनुकाका ससुरा जजमानी काम गर्छन्, सासु ज्योतिषकी छोरी हुन झनै धर्मात्मी, मेनुकाका श्रीमान बुवाआमाको कुरा काट्न पनि सक्दैनन, श्रीमती र छोरीको बिचारलाई ग्रहण गर्न पनि सक्दैनन्। ‘पोहोर साल सासु ससुरा हलेसी महादेव दर्शन गर्न गएको बेलामा आमा छोरी एकैचोटी छुइहुँदा भान्जी बोलाएर पाँच दिनसम्म खाना पकाउन राखे श्रीमानले हामी आमाछोरीलाई भान्सामा छिर्न दिएनन’ मेनुकाले वास्तविकता खोतलिन।

एकथरी महिला महिनावारीलाई नियमित प्रकृया मान्छन् र छुवाछुतको प्रतिवाद गर्न खोज्दापनि पारिवारिक दबाबले खुलेर अघि बढ्न सक्दैनन। अर्काथरी महिलाहरु आफ्नै शरीरलाई पाँचदिन अपवित्र ठान्छन् र पाप धर्मको स्वीकारोक्ती गर्छन्। महिनावारी एउटा नियमित प्राकृतिक चक्र हो, यस्तो बेलामा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, पोषिलो खानेकुरा खानुपर्छ, आराम गर्नुपर्छ भन्ने ज्ञान कमैलाई मात्र छ। एकाद पात्र अघि सरे पनि उनीहरुको अभियान घरभित्रै आलोचित बन्नुपर्ने अवस्था छ।

देशकै राजधानीमा हरेक महिना दोहोरिने यस्ता घटनालाई छाउपडी मान्ने कि नमान्ने ? छाउपडी अर्थात् पर सरेका, महिनावारी भएका वा छुइ भएका महिलाहरु सुदूरपश्चिममा मात्र बसोबास गर्छन् भन्ने मानसिकता हो या शहरको छाउपडी चर्चा गर्न लायक सवाल होइन भन्ने बुझाइ हो ? राजधानीमै छुवाछुतको यस्तो डरलाग्दो तस्बिर देखिन्छ भने दुर्गम भेगका महिलाका समाचारले स्तब्ध हुनु खासै नौलो लाग्दैन।

डाक्टर अरुणा उप्रेतीले केही समयअघि लेखेको लेख पढेर सुनाउँदा असी वर्षकी हजुरआमा गम खानुभयो। आफूले नबारे पनि दुनियाँलाई किन सुनाउनु ? घरपरिवारका सदस्यले यस्तो कुरा थाहा पाएभने के छोएको खालान् खोइ ? हाम्रा पालामा जस्तो भोग्नुपरेको भए अहिलेका महिलाले के गर्थे होला ? ‘पहिलो पटक महिनावारी भएको खवर सुनाउँदा ठूलै अपराध गरे जस्तै लाग्थ्यो अहिलेका नातिनीहरु म आज नछुने भए, प्याड चाहियो, मलाई यस्तो खान मन लागेको छ भन्न धक मान्दैनन्, अरु दिनजस्तै स्कुल कलेज जान्छन्, अफिस जान्छन् जो जोसँग छाइछुई भएपनि बार्ने चलन हरायो’ आठ दशक पार गरेकी हजुर आमाको स्वीकारोक्ति।

पहिलो पटक नछुने हुँदा ११ दिनसम्म अध्यारो गोठमा लुकाएर राख्ने, २२ दिन भएपछि बल्ल पानी छुन दिने, भान्सामा पस्न दिने, घरका लोग्ने मान्छेको मुख हेर्न नहुने, घाम हेर्न नहुने, फलफुल छुन नुहने, दाजुभाइ, बुवा काकालाई छुन नहुने, गाइ भैँसीको दूध मोही खान नहुने चलनको साक्षी स्वयम आफै हुँ। कक्षा आठमा पढ्दा पहिलो महिना ११ दिन स्कुल छुट्यो, दोश्रो महिना ९ दिन, तेश्रो महिना ७ दिन यसैगरी घट्दै घट्दै गयो तर हट्दैजान सकेन।

मेरो भन्दा बहिनीको पालामा केही सुधार भयो, मैलेजति बहिनीले भोग्नु परेन, अहिले विस्तारै परिवर्तन आउँदैछ। निर्धक्कसँग किशोरी स्कुल जान पाउँछन्, आफू महिनावारी भएको बताउन सक्छन्, यस्तो खान्छु भन्न सक्छन् सबै कुरा एकैचोटी हवातै परिवर्तन आउने होइन विस्तारै परिवतर्न आइरहेको छ, भविष्यमा पक्कै सकारात्मक सन्देश ल्याउला। सुदूरपश्चिमका छाउगोठ धमाधम भत्काइए तर नबुझेको कुरा भत्काउने गोठ होइन पुरातन मानसिकता हो, त्यो भत्किने भत्काउने कहिले र कस्ले ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.