पतनको द्रूतमार्ग
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नामको प्राज्ञिक केन्द्र स्थापना भएपछि त्यहाँ धेरै सालसम्म विभिन्न विषयका प्रखर विद्वान्-विदुषी सक्रिय भए । वसन्तकुमार 'शम्र्मा' नेपालले नेपाली शब्दसागर ग्रन्थमा प्राज्ञको अर्थ 'परिपक्व बुद्धिको, बुद्धिमान्, दक्ष, सिपालु, विशिष्ट विद्वान्, विज्ञ' भनेका छन् । तर पार्टीका दास, कार्यकर्ता र नेताका प्रिय पात्रलाई जागिर दिने ठाउँ भएको छ, प्रज्ञा प्रतिष्ठान अहिले ।
त्यहाँ थोरै मात्र विद्वान् र धेरैजसो कार्यकर्ता भर्ना भएका छन् । दुईचारवटा किताब लेखेर प्राज्ञ हुने भए हिन्दीमा एक सय पुस्तक लेख्ने मनोज र गुलसन नन्दा वा जेम्स हेड्ली चेजहरू पनि प्राज्ञ हुन्थे होलान् । साहित्य, संस्कृति, कला आदिको उत्थान गरेर सभ्यतालाई अझ समृद्ध बनाउने राजा महेन्द्रको सपना थियो, प्रज्ञा भवन । त्यही सपनाको धरातलमा उभ्याइएको थियो, प्रज्ञा प्रतिष्ठान । राजा महेन्द्रको सालिक छोपेर बसेका मालिकहरू आज के गर्दैछन्, त्यो जगजाहेर छ । त्यसैले अधिकांश 'पदेन विद्वान्' छन् त्यहाँ ।
पुनीत, परहितकारी, परमार्थी र परम सत्यको बाटो बिर्सेर पतनको द्रूतमार्गमा अदम्य धावक बनेका धेरै मानिसको हुलमा सत्यवादीहरू मूर्ख ठहरिएका छन् । चाटुकारिता, अत्यधिक प्रशंसा वा परिकीर्तनमा रमाउन नजान्नेहरू कुनै दलको मादल बजाउन पनि जाँदैनन् । विषय तृष्णामा अल्मलिँदैनन् उनीहरू । शत्रु विनाश गर्न प्रयोग हुने तान्त्रिक प्रयोग (मारणमन्त्र) जानेका होलान्, कतिपय असल मान्छेले । तर हतपत प्रयोग गर्दैनन् त्यस्तो मन्त्र । प्रयोग गर्दा प्रलय हुन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तलबजीवीहरूको संख्या लाखौं छ । तर उनीहरू शिर झुकाएर बाँचेका छन् । एसएसपी लक्ष्मण न्यौपानेदेखि दूधे बालकसम्म मार्नेहरूलाई करोडौंं रुपैयाँ बकस र पुरस्कार दिएर सरकारले क्षतिपूर्तिको नाममा जघन्य अपराधीलाई हौसला प्रदान गरेको छ । यस्ता कुरामा सुरक्षा निकायका हाकिमदेखि जवानसम्म सबैजनाले असत्यको सशक्त विरोध गर्न सक्थे । जागिर खाएर पेट पाल्ने कमैया मानसिकताले यन्त्रमानव बन्दैछन् कर्मचारीतन्त्र, प्रहरी-प्रशासन र 'सरकारी' मान्छेहरू । कर्तव्यच्युत बनिरहेको छ, त्यो ठूलो समुदायभित्रको ठूलो हिस्सा । अर्थात्, फराकिलो बन्दैछ पतनको द्रूतमार्ग ।
राजा वीरेन्द्रका अत्यन्त प्रिय सैनिक अधिकृतमध्येका एक थिए- लेफ्टिनेन्ट जनरल छत्रविक्रम शाह । उनी प्रधानसेनापति हुने प्रबल सम्भावना बढेपछि राणा परिवारका केही शक्तिशाली व्यक्ति राणापुत्रलाई नै प्रधानसेनापति बनाउने खेलमा लागे । छत्रविक्रम शिक्षा, संस्कार, तालिम, सम्पर्क, सदाचार, बफादारी, निर्णय शक्ति, क्षमता, दक्षता, इमानदारी आदि सबै कुरामा पारंगत छन् भन्ने प्रबल विश्वास थियो, राजा वीरेन्द्रलाई । एकजना सेवानिवृत्त जर्नेल भन्छन्, 'राजा वीरेन्द्र जस्तै सरल र असल स्वभावका शाह जर्नेलले प्रधानसेनापति पद पाउने निश्चित जस्तै भएपछि राजाका विरुद्ध नै षड्यन्त्र सुरु भयो । अन्त्यमा राणा नै प्रधानसेनापति भए ।
उनकै कार्यकालमा तीन हजार सैनिकको घेरामा 'सुरक्षित' बसेका राजा वीरेन्द्र रहस्यमय तरिकाले मारिए ।' त्यसपछि पतनको द्रूतमार्गमा विदेशीका चिल्ला गाडीहरू झन् हुँइकिन थाले । सेनामा पनि षड्यन्त्र चल्यो । त्यसैले सेनाका परमाधिपति राजा वीरेन्द्र मारिँदा सेनापतिले नै वक्तव्य दिए, 'राजाको रक्षा गर्ने काम सेनाको होइन ।' एउटा व्यक्तिको कारणले समग्र सेनामाथि नै प्रश्न उठाउने अवसर दिए उनले ।
सात समुद्रपारिबाट ल्याएका कम्युनिस्ट नेतालाई देवता बनाउने र पृथ्वीनारायण शाहको तस्बिर घर तथा कार्यालयमा राख्न नमान्नेहरूले पतनको बाटो नै सही भन्ने कुतर्क गर्नै हुँदैन ।
इतिहास, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, प्राचीन सभ्यता र सम्पदाप्रति आस्था नभएका भुँइफुट्टाहरू राजनीतिमा आएका छन् । जेल बसेको, लुटेको, कुटेको, मान्छे मारेको, विदेशीको लागि जासुसी गरेको र राष्ट्र तथा जनताको अहित मात्र गरेको विवरणले भरिएको छ, सत्तासीन र चर्चित राजनीतिज्ञहरूको डोसियर । पुर्खाले कतिसम्म दुःख गरेर राष्ट्रनिर्माण र संरक्षण गरेका थिए भन्ने आजका कैयन् राजनीतिज्ञहरू सुन्न पनि चाहँदैनन् । अर्थात्, सभ्यतालाई उनीहरू 'सामन्तवादको अवशेष' भन्छन् ।
प्राचीनकालमा नेपाल साँच्चै ज्ञानभूमि थियो । बौद्धधर्मका प्रसिद्ध विद्वान् शान्तरक्षितको आग्रहमा आचार्य पद्मसम्भव (गुरु रिम्पोछे) नेपालमा केही वर्ष तपस्या गरेर तिब्बत गएको प्रसंग प्राचीन ग्रन्थहरूमा पाइन्छ । नालन्दा विश्वविद्यायका प्रधानाचार्य थिए, पद्मसम्भव । उनी धर्म, दर्शन, तन्त्रमन्त्र एवं प्राच्य ज्ञानका सागर थिए । काठमाडौंनजिकै फर्पिङको एउटा गुफामा केही वर्ष तपस्या गरेर उनी हलेसी (खोटाङ) पुगेका थिए । पद्मसम्भवले तपस्या गरेको पवित्र स्थल हलेसीमा हरेक वर्ष सयकडौं महायान-सम्प्रदायका अनुयायीहरू भोटाङ (भुटान) देखि खोटाङसम्मको यात्रा गर्छन् । स्वयम्भुको शान्तिपुर बौद्ध विहार पनि प्रसिद्ध बौद्ध विद्वान् शान्तरक्षितको सम्झनामा स्थापना भएको कुरा भिक्षु अश्वघोषले पंक्तिकारलाई बताएका थिए ।
सनातन धर्म-संस्कृति, बौद्ध, बोनलगायत ओमकार परिवारको साझा घर नेपालमा जनभावनाको ठ्याक्कै उल्टो काम गर्नेहरू विभिन्न दलका केन्द्रीय नेता छन् । त्यसैले अस्थिरता, द्वन्द्व, तनाव र विभाजनको प्रदूषणलाई समग्रमा राजनीति भन्ने गरिएको छ । राष्ट्रनिर्माणको बाटो फराकिलो पार्नुपर्नेमा राष्ट्रको विखण्डन 'एजेन्डा' बनेको छ ।
लर्ड कर्जन सन् १८९९ मा भारतको भाइसराय बनेर आए । उनले नेपालसँगको सम्बन्ध अरू प्रगाढ बनाउन खोजे । नेपाल र तिब्बतको सिमानामा पर्ने सगरमाथा आरोहण गर्न ब्रिटिस टोलीलाई नेपाल पठाउने र आफूले पनि नेपाल भ्रमण गर्ने उनको मनसाय रहेको कुरा रोनाल्डसेद्वारा लिखित 'लाइफ अफ लर्ड कर्जन' पुस्तकमा उल्लेख छ । श्री ३ वीर शमशेरले हिमालतिर जान नदिएर तराईमा बाघको सिकार गर्न मात्र उनलाई निमन्त्रणा गरेको इतिहासमा पाइन्छ । चीनमा राष्ट्रवादी युवाले पश्चिमा राष्ट्रका कूटनीतिज्ञलाई लक्षित गर्दै बक्सर युद्ध सुरु गरेका बेला हिमालको छेउमा गएर चीनको गन्ध सुँघ्ने ब्रिटिसको आशय वीरशमशेरले राम्ररी बुझेका थिए ।
विदेशीलाई उनीहरूकै थान्कामा राख्न सकिएन भने आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाल्छन् भन्ने उनलाई थाहा थियो । वीरशमशेरको मृत्युपछि देव शमशेर करिब तीन महिना प्रधानमन्त्री भए । त्यो बेला तराईमा सिकार खेल्न आएका लर्ड कर्जनको भ्रमणको बन्दोबस्त गर्न देवले आफ्ना भाइ चन्द्रशमशेरलाई तराईतिर पठाए । चीनमा गोर्खा रेजिमेन्ट पठाउन अनुमति देलान् भनेर चन्द्रशमशेरलाई निकट तुल्याउन लर्ड कर्जनले 'सत्ता कब्जा गर्ने' सल्लाह दिएको हुन सक्छ भन्ने केही विदेशी लेखकले आशंका गरेका छन् ।
सन् १९०३ मा 'दिल्ली दरबार' मा नेपालको प्रतिनिधित्व गर्दै पाहुनाको रूपमा सहभागी प्रधानमन्त्री चन्द्रशमशेरलाई लर्ड कर्जनले स्वतन्त्र राष्ट्रको प्रधानमन्त्रीका रूपमा आदर-सत्कार गरेका थिए । 'नेपाल स्ट्राटेजी फर सर्भाइभल' (लियो ई. रोज) तथा मदनकुमार भट्टराईद्वारा लिखित 'डिप्लोम्याटिक हिस्ट्री अफ नेपाल' पुस्तकमा यसको चर्चा पाइन्छ । चन्द्रशमशेरकै कार्यकालमा योङ हज्बेन्डको टोली तिब्बत गएको थियो । कूटनीतिमा नेपाल कमजोर थिएन भन्ने कुरा चन्द्रशमशेरको २९ वर्ष लामो शासनमा समेत पुष्टि भएको छ ।
कोतपर्वपछिका १०४ वर्ष, त्यसपछिका विभिन्न चरण र पञ्चायतकाल (२०१७-२०४६ सालसम्म) पनि परराष्ट्रनीतिको साख जोगाउन नेपाल सफल रहेको पाइन्छ । नेपाली भूमि प्रयोग गरेर अमेरिकी गुप्तचरहरूले चलाएको चीनविरोधी खम्पा विद्रोह भइरहेका बेला आजकै जस्तो राजनीतिक अस्थिरता भएर २० महिनामा चारपल्ट सरकार परिवर्तन हुन्थ्यो भने तिब्बतमा ठूलो रक्तपात भइसक्थ्यो । चीनको राष्ट्रिय सुरक्षामा नेपालको भूराजनीतिक महत्व, राजनीतिक स्थिरता र स्थायी शक्तिको खाँचो चीनका राजनीतिज्ञ, कूटनीतिज्ञ र चिन्तकहरूले अहिले आएर अलिबढी बुझ्न थालेको पाइन्छ । उनीहरूले 'बोकाले दाइँ गर्दैन' भन्ने उखान पनि बुझ्न थालेका छन् ।
उता भारतमा नेपाललाई हेर्ने स्पष्ट दृष्टिकोण पाइँदैन । प्रधानमन्त्रीको कार्यालय, विदेश मन्त्रालय, गुप्तचर विभाग र त्यहाँका कथित नेपालविद्हरूले नेपालमा पालेर राखेका व्यक्तिका मनगढन्ते रिपोर्टलाई आधार बनाएर पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स, चीनका गुप्तचर र उनीहरूकै शब्दमा 'कुछ भारतविरोधी लोग' सक्रिय रहेको प्रचार गर्छन् । आजसम्म नेपालको प्रगतिमा अर्बौं रुपैयाँ सहायता गरे पनि नेपालमा भारत किन अलोकप्रिय छ भनेर उनीहरूले आत्मसमीक्षा गरेको पाइँदैन । यसैले भारतीय पत्रकार सीमा मुस्तफाले दिल्लीका कूटनीतिज्ञहरू जिद्दी र हठी भएकै कारण छिमेकीहरू रुस्ट भएको विश्लेषण गरेकी छन् ।
एकजना बुद्धिजीवीले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपालीहरूले जातजात, क्षेत्र र सम्प्रदायमा वा विभिन्न दलमा विभक्त हुन जानेका छन् । तर 'नेपाली' हुन जानेनन् ।' यस्तै धेरै घतलाग्दा टिप्पणीको सारांश हो, 'राष्ट्र दिनप्रतिदिन कमजोर बन्दैछ ।' नैतिकता, सिद्धान्त, दर्शन, व्यवहार, आदर्श र आचरणमा आकाश-जमिनको फरक भए पनि 'चुनाव जित्न' दलहरूको लगनगाँठो बाँधिन्छ । सत्तामा बसेर करोडौं रुपैयाँ कमाउन दलहरूबीच अपवित्र गठबन्धन हुन्छ । विदेशीले गरेको सहायता ग्राह्य र मान्य हुन्छ । आफूअनुकूल भएपछि त्यसलाई हस्तक्षेप मानिँदैन ।
यो पतनको द्रूतमार्ग हो कि होइन ? जनतालाई अन्योलमा राखेर केन्द्रमा बस्ने अगुवाहरूले लोकतन्त्रका नाममा दलतन्त्र चलाएको हो कि होइन ? ठूला दलहरूले आफूसँग बहुमत छ भनेर जनइच्छामा बुल्डोजर चलाउन मिल्छ कि मिल्दैन ? पतनको द्रूतमार्गमा लगेर राष्ट्र र जनतालाई भीरबाट खसाउन हुन्छ कि हुँदैन ? वडावडामा पुगेर विदेशीले आफ्ना धार्मिक फौज गठन गर्न पाउँछन् कि पाउँदैनन् ? दूतावासहरूले राजनीति गर्न हुन्छ कि हुँदैन ? हरेक दलमा लेन्डुप दोर्जे, जयचन्द, मीर जाफर, क्विजलिङ र पुष्पकमलहरू जन्माएर राष्ट्रलाई क्षत्विक्षत् बनाउन खोज्ने परियोजना नै गणतन्त्र हो भने त्यस्तो पद्धतिलाई समर्थन गर्दिनँ भन्न पाइन्छ कि पाइँदैन ? सांस्कृतिक चेतना, परम्परागत धर्म-संस्कृति, राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्डता र प्राचीन राष्ट्रको पहिचान मासेर विदेशीको मार्गचित्रअनुसार चलिरहेको छ देश । पतनको द्रूतमार्गमा उन्मादको प्रदर्शन भइरहेको छ ।
बीपी कोइरालाको मृत्युपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइले रुनुपर्यो । पार्टीबाट अलग हुनुपर्यो । पार्टी कुबाटोमा लागेको ठहर गरेर भट्टराई विरक्त भए । नेपाली कांग्रेसको ब्यानरभित्र आज सिटौला कांग्रेस, देउवा कांग्रेस, पौडेल कांग्रेस आदि पसलहरू छन् । खाँटी कांग्रेस कार्यकर्ता प्रायः हराइसके । एमालेमा कतिपयले एमालेको अर्थ अमेरिकी माले बुझ्न थालेका छन् । त्यहाँ सीमाले (चाइनिज माले), आइमाले (इन्डियन माले), इमाले (युरोपियन माले) पनि भेटिन्छन् । डलर, भारु, युरो र चाइनिज मुद्राले पार्टी खुद्रा पसल बन्ने सम्भावना बढेको पुराना नेताहरू नै स्विकार्छन् । एकीकृत माक्र्सवादी-लेनिनवादी आफ्नो पार्टीको नाम हो भन्ने कुरा गाउँका सोझा कार्यकर्तालाई के थाहा ? 'मैले मनमोहन अधिकारी र मदन भण्डारीको नामचाहिँ धेरै सुनेको तर को हुन् ती माक्र्स र लेनिन भन्ने केटाहरू ? ' इलामको उत्तरी भेगका दिलबहादुर राईले पंक्तिकारलाई हँसाएका थिए ।
मनकुमारी नातिनीको नाम मार्गरेट र नाति गणेशबहादुरलाई गाब्रियल बनाउँदा बाजेबजैको चित्त दुःखछ । त्यस्तै एमालेमा पनि माक्र्स र लेनिन शब्द उच्चारण गर्न नजान्ने धेरै छन् । लेनिन र माक्र्स न आमापट्टिका, न त मामापट्टिका । सात समुद्रपारिबाट ल्याएका कम्युनिस्ट नेतालाई देवता बनाउने र पृथ्वीनारायण शाहको तस्बिरसमेत घर तथा कार्यालयमा राख्न नमान्नेहरूले पतनको बाटो नै सही भन्ने कुतर्क गर्नै हुँदैन ।
नेपाली राष्ट्रियताका आधार, राष्ट्रनिर्माण गर्ने शक्तिहरू, राष्ट्रिय यथार्थ र जनताको अभिमतको सबैले सम्मान गर्नैपर्छ।
संविधानको किताबमा नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्ष हुनेछ भनेर ऐलान गर्दा जनमतको घोर अपमान भएको एमाले र कांग्रेसकै नेताले स्वीकार गरेका छन् । गणतन्त्रको संविधान उत्कृष्ट छ भन्ने राप्रपालाई उनै जनताले धुलो चटाइदिए । गाउँगाउँमा केटाकेटीहरू धुलो खेल्दै गीत गाउँछन्, 'खोई गाई खोलाले बगायो ।' नेतृत्व नै बगेपछि हिजो सात लाख मतदाताले पत्याएको दल 'म शून्यमा शून्यसरि बिलाएँ' भन्ने अवस्थामा पुगेको छ । त्यसैले जनतासँग खेलाँची गरेर पतनको द्रूतमार्गमा कुद्नेहरू आरोही हुँदैनन्, अवरोही मात्र बन्छन् ।
उत्थित होइन, पतीत बन्छन् । कांग्रेसको रुख खरानी भयो भने रुखको मूर्ति बन्ला, रुख बन्दैन । एमालेको सूर्योदय तबसम्म सम्भव छ, जबसम्म कार्यकर्ता होइन, करोडौं जनताको आवाज बोल्छ उसले । नत्र सूर्यास्त हुन्छ । आफूलाई तराईका देवदूत सम्झिने प्रपञ्चकहरूलाई जनताले नै पाखा लगाएका छन् । 'उचालेकोे कुकुरले मृग मार्दैन' भन्ने पुष्टि भएको छ ।
अमेरिकी लेखक मार्क ट्वेनले भनेका छन्, 'सरकार र पद्धति सही छ भने मात्र जनताले समर्थन गर्नुपर्छ, तर राष्ट्रलाई सदैव सम्मान र समर्थन गर्नुपर्छ । राजनीतिक पद्धतिका विकल्पहरू हुन सक्छन्, तर राष्ट्र निर्विकल्प हुन्छ ।'