राजनीतिक संस्कार

राजनीतिक संस्कार

गत महिना नेपालको राजनीतिमा प्रचण्डको राजीनामापश्चात् 'राजनीतिक संस्कार' को बारेमा निकै चर्चा भयो । कतिपय उनका समर्थकले प्रचण्ड पुष्पकमल दाहालले राजनीतिक संस्कार देखाए भनेर प्रशंसा गरे । यो नेपालको लोकतान्त्रिक कालखण्डमा निकै नौलो पद्धतिको रूपमा प्रस्तुत गरियो । पत्रपत्रिकामा पनि यसबारे प्रशस्त समाचार बने । के हो त यो राजनीतिक संस्कार ? राजनीतिक संस्कार भनेका एक प्रधानमन्त्रीले घोषित सम्झौतापत्रमा भनिएबमोजिम पद त्याग गर्नु नै राजनीतिक संस्कार हो या यसका गहनतम राजनीतिक संस्कार बाहिर आएका छैनन् । पद प्राप्त गर्नु, समयमा छोड्नु र बचनवद्ध जस्तो देखिनु मात्र के राजनीतिक संस्कार हो त ? प्रश्न यतिबेला महत्वपूर्ण बन्नुपर्छ ।

shrijana-kafle_1राजनीतिक संस्कारबारे डुक विश्वविद्यालयका प्राध्यापकहरू डेविड एल पालेत्ज र डेनियल लिपिन्स्कीद्वारा संयुक्त रूपमा लेखिएको अनुसन्धानमूलक लेख पोलिटिकल कल्चर एन्ड पोलिटिकल कम्युनिकेसनमा लेखिएको छ, 'राजनीतिक संस्कार र संस्कृति असल राजनीतिक परिणामको अनिवार्य सम्भाव्यता बोकेको आधारभूत विकाससहितको बृहत् हिस्सामा आधारित छ । यसले व्यक्ति र समाजले कसरी राजनीतिक रूपमा क्रिया र प्र्रतिक्रिया दिन्छ भन्ने कुरालाई पनि निश्चित आकार प्रदान गरेको हुन्छ । यसका अलावा राजनीतिक संस्कारमा नैतिकता र व्यक्तिगत र दलीय विश्वासले पहिले स्थान ओगटेको हुन्छन् न कि कुनै नागरिक, राष्ट्रभित्रको कुनै समाज र समग्र राष्ट्रलाई नै गम्भीर क्षति पुर्‍याउने मनोमानी हर्कत र कदमहरू नै खास राजनीतिक संस्कारभित्र नै पर्छन् ।'

राजनीतिक संस्कारबारे केही समकालीन नेपाली राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तिहरूको पनि आआफ्नै मत छ । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी भन्नुहुन्छ, 'राजनीतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा लैजाँदा अभ्यासमा आउने चरित्र हो । तर दुर्भाग्य हाम्रो देशमा राजनीतिक संस्कार परिस्कृत हुन सकेको छैन । त्यो हामीले अनुभूत गर्न, हेर्न र देख्न सकेका छैनौं ।'

सोही विषयमा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ विषयमा डा. शम्भुराम सिम्खडाको पनि आफ्नै मत छ । उहाँ भन्नुहुन्छ, 'राजनीतिक व्यवस्थाको परिवर्तन निर्दलीयताबाट बहुदलीयतामा फड्को मारे पनि राजनीतिक कर्ताहरूको संस्कारमा परिवर्तन आएन । कांग्रेस प्रजातन्त्रको अहंतावादमा अल्मलियो, वामपन्थीहरू पनि परिष्कृत भएर आउन सकेनन्, प्रजातान्त्रिक राजनीतिमा गन्तव्य महत्वपूर्ण हुन्छ, संस्कारले मार्गप्रशस्त गर्छ । त्यसैले बाटो ठीक हुनुपर्छ ।'

राजनीतिक दलहरू, यिनका कार्यकर्ताहरूको संस्कार केही रूपमा देखिए पनि मूल रूपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कारले आम रूपमा बल्झाउने कुसंस्कारयुक्त राजनीतिले पनि नेपाली समाज आक्रान्त बनेकै छ ।

डा. सिम्खडा र डा. केसीको माथिको भनाइ राजनीतिशास्त्रमा राजनीतिक संस्कारलाई एउटा महत्वपूर्ण विधाका रूपमा लिइन्छ भन्ने कुरासँग नजिक देखिन्छ । अझ भन्ने हो भने राजनीतिक समाजशास्त्रका धेरै आयामहरूमध्ये राजनीतिक संस्कृति एउटा बलियो पक्ष हो । खासगरी राजनीतिक संस्कारले हामीसँग रहेका आस्था, धारणा, मूल्य, मान्यतालाई मूल्यांकन, बहस र परिष्कृत गर्ने प्रयास गर्दछ । स्वभाविक छ समाजको बनावट, ढाँचा, समाजको किसिम जस्तै परम्परागत वा आधुनिक जुन समाज हो, त्यसको सामाजिक गतिशीलता, विकास जस्ता विविध कुराले राजनीतिक संस्कृतिलाई प्रभाव पार्छ ।

संस्कारभित्र आपसको आदरभाव, सम्मान, मूल्य, मान्यता नै प्रमुख हुन् । राजनीतिक संस्कार प्रस्तुत गर्न हामी कति प्रजातान्त्रिक छौं ? हामी कति उदार छौं, हामी कति सत्य स्विकार्न सक्छौं ? हामी कति अरूको विचारलाई सम्मान गर्न सक्छौं, अरूलाई स्थान दिन सक्छौं र हातेमालो गरेर सम्पूर्ण राजनीतिक प्रक्रियालाई समुन्नत, सुसंस्कृत, मूल्यमा आधारित बनाउन सक्छौं भन्नेमा निर्धारण हुन्छ । जब राजनीतिक संस्कारको विकास हुन्छ, त्यतिबेला मात्र राजनीतिक पार्टीहरूको महत्व, अस्तित्व र अपरिहार्यतालाई अझ बढी स्वीकार गरिन्छ ।

नेपालमा लोकतन्त्रको स्थापनासँगै निषेधको राजनीतिले केही स्थान लियो, जुन हरेक पार्टीका विरुद्ध पार्टी, नेताका विरुद्ध नेता, हिंसाका विरुद्ध प्रतिहिंसा प्रशस्त भए । राजनीतिक संस्कारको अभावकै कारण २०५२ सालमा तत्कालीन जनमोर्चाद्वारा राखिएका मागको अवमूल्यन गर्दा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वको कालमा माओवादी जनयुद्ध वा हिंसात्मक आन्दोलनको सुरुआत भएको थियो । राजनीतिक संस्कारको पूर्ण विकास भइसकेको अवस्था भएको भए सायद त्यसका मागहरूका बारेमा यथेष्ट छलफल, संवाद, वार्ताको माध्यमबाट सुल्झाउन पनि सकिन्थ्यो होला । त्यसपश्चात्का राजनीतिक संस्कार गुमाएकै कारण मधेसवादी दलहरू र अन्य राजनीतिक पार्टीहरूका बीचमा देखिने मतभिन्नता, वैमनस्य पनि राजनीतिक संस्कारकै अभाव हो भन्न सकिन्छ ।

लोकतन्त्रको संस्थागत विकासको लागि राजनीतिक संस्कार एक आधारशिला हो । राजनीतिक संस्कार राजनीतिका कर्ताहरूको लागि हरेक पाइलामा हुनुपर्छ । राजनीतिक पार्टीभित्रको राजनीतिक संस्कार नै बाहिर देखिने संस्कार हो । त्यसैले पार्टीभित्र हामीले कस्तो संस्कार, संस्कृति र मान्यता स्थापित गर्ने प्रयास गरेका छौं, त्यो महत्वपूर्ण हुने गर्दछ । त्यसैले आन्तरिक लोकतन्त्र नै संस्कारगत राजनीतिमा प्रभाव पार्ने तत्व हो । लोकतन्त्रका आधारभूत मान्यतामध्ये निर्वाचन पनि एक हो । निर्वाचनमा प्रतिस्पर्धा हुन्छ, जित-हार हुन्छ ।
जबसम्म यसलाई सहजतापूर्वक जनताको मतलाई सम्मान गर्ने संस्कार हामीसँग हुँदैन तबसम्म कुर्चीको आदानप्रदानमा हुने सहजता मात्र राजनीतिक संस्कार हुन सक्दैन । पद आवश्यकताले लामो वा छोटो समयको लागि पनि हुन सक्छ । एकातर्फ आफ्नो पार्टीका कार्यकर्ताले मतपत्र च्यात्ने, उता कुर्सीको हस्तान्तरण राजनीतिक संस्कार हुन सक्ला र ?

उच्च राजनीतिक संस्कारको लागि राजनीतिक शिक्षाको आवश्यकता पर्दछ । राजनीतिक शिक्षाविना सडकमा प्रदर्शन, जंगलको राजनीति, हिंसात्मक राजनीतिले संस्कारको विकास गर्न सक्दैन । समग्रतामा राजनीतिक संस्कारको परिणाम, जनता र देशको लागि भलो हुनुपर्‍यो । राजनीतिमा विवाद, बहस, छलफल, संवाद सामान्य कुरा हुन् । तर यी कुरा विधिसम्मत तरिकाले, एकअर्काको आत्मसम्मानको ख्याल गर्दै गरिएको छ कि छैन भन्ने विषय महत्वपूर्ण रहन्छ । दुई पक्षबीचको असहमति भनेको असहमतिका विषय मात्र हुनु एउटा विषयमा फरक मत हुँदा सम्पूर्ण विषयमा असहमति भन्ने हुँदैन । यो कुरा बुभ्mनु जरुरी छ । त्यसैले हाम्रो मानसिकतालाई फराकिलो बनाएर हेर्न सकियो भने हामी सबैको अस्तित्व स्विकार्न सक्छौं ।

नेपालमा राजनीतिक संस्कारको विकास नै भएको छैन भन्ने होइन । मुलुकमा उत्पन्न ठूला राजनीतिक समस्यालाई संस्कारयुक्त माध्यमबाट समाधान गर्ने प्रयास पनि भएका छन् । राजनीतिक दलहरू, यिनका कार्यकर्ताहरूको संस्कार केही रूपमा देखिए पनि मूल रूपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कारले आम रूपमा बल्झाउने कुसंस्कारयुक्त राजनीतिले पनि नेपाली समाज आक्रान्त बनेकै छ । कतिपय बेलामा आत्मसंयम गुमाएको अवस्थामा संस्कारलाई भुल्छौं र एउटा गलत दिशातर्फ मोडिन पुग्छौं ।

नेपाली समाजलाई राजनीतिक रंगबाट अलग गराएर हेर्ने हो भने अत्यन्त संस्कारयुक्त समाज हो । यहाँ नेपाली समाजको संस्कारको बारेमा विश्वभरि चर्चा छ । यसका धेरै राम्रा पक्षहरू छन् । संस्कारले नै संस्कृतिको जन्म दिन्छ । जब संस्कृति समाजको जीवनशैली बन्छ तब मात्र त्यो समाजको संस्कार झल्किन्छ । त्यो समाजको संस्कारको प्रस्ट चित्र कोर्न सकिन्छ । जब राजनीतिक पार्टीका संस्कारको चर्चा गर्दा फेरि पनि हामीले संस्कार निर्माण गर्दै संस्कृति बनाउने अभियनमा लाग्नुपर्ने देखिन्छ । राजनीतिकर्मी बन्नु भनेको संस्कारलाई परिस्कृत बनाउने कुरामा योगदान दिने पनि हो भन्ने भुल्नु हुँदैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.