ट्रम्पको तरबार नृत्य र धारमा कतार
सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा साउदी अरेबिया पुगेर साउदी राजाको अगाडि झुकेको तस्बिर सार्वजनिक भए । त्यतिबेला सफल व्यवसायीको हैसियतमा सीमित डोनाल्ड ट्रम्पले ट्वीट गरेका थिए, 'ओबामाले साउदी राजालाई सार्वजनिक रूपमा नै दण्डवत गरे, डेमोक्र्याट्हरू मिट रोम्नीको कूटनीतिक दक्षतामा प्रश्न गर्छन् ।'
अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटर पर्यायवाची नै मानिन्छन् । ट्रम्प आफैंले भनेका छन्- ट्वीटर नभएको भए म राष्ट्रपति हुने नै थिइनँ । अर्को शब्दमा भन्दा ट्रम्पको ट्वीटर प्रशासन छ, जुन कहिलेकाहीं अमेरिकी राज्य प्रशासनभन्दा नितान्त भिन्न 'ल्यान्डस्केप' मा अवस्थित रहेको अनुभूति हुन्छ । कतार प्रकरणमा यो कुरा थप छर्लंगिएको छ ।
आफ्नो चुनावी प्रचारताका ट्रम्प साउदी अरेबियालाई ट्वीटरबाटै निकृष्ट भाषामा गाली गर्थे । साउदी अधिराज्यले महिला तथा समलिंगीको अधिकार कुण्ठित गरेका र सेप्टेम्बर ११ को आक्रमणमा साउदीको हात रहेको आरोप सहजै लगाउँथे । चुनावताका फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले प्रश्न गरेका थिए, 'वल्र्ड ट्रेड सेन्टर कसले उडायो ? ' जवाफमा आफैं भनेका थिए, 'इराकीले त होइन, साउदीले हो ।'
सामान्यतः अमेरिकी राष्ट्रपतिहरू साउदी अरेबियालाई पहिलो विदेश भ्रमणको गन्तव्य नै बनाउँदैनन् र महिलाप्रति अत्यन्तै अनुदार मानिने अरबी परम्परा प्रवद्र्धन गर्नबाट जोगिने चेष्टा गर्छन् । तर गत मे २० मा साउदी अरेबिया पुगेका ट्रम्प र उनका विदेशमन्त्री रेक्स टिलर्सनसहित ह्वाइट हाउसका विशिष्ट अधिकारी साउदी राजपरिवारमा 'पुरुषहरू मात्र' को अरबी परम्परागत 'तरबार नृत्य' मा सहभागी भए र साउदीलाई 'म्याग्निफिसेन्ट किङडम' को संज्ञा दिए । तर ट्रम्पले हातमा तरबार लिएर नाच्दै गरेको दृश्यमा अनुहारको भाव जति अमिल्दो लाग्थ्यो, नृत्यपछि निम्तिएका परिणाम पनि करिब त्यस्तै छन् ।
ट्रम्प साउदी राजासँग तरबार लिएर नाचेपछि न्युयोर्क टाइम्सका पत्रकार केनिट पी भिगोलले ट्वीट गरे, 'ट्रम्पलाई साउदी राजा ढोग्ने बनाएकोमा धन्यवाद ओबामा ।'तरबार नृत्यपश्चात् ट्रम्पले रियादबाट इस्लामिक आतंकवाद र त्यसलाई प्रवद्र्धन गर्नेविरुद्ध जुट्न आह्वान गरेका थिए । केही दिनमै साउदी नेतृत्वमा खाडी देशहरूले कतारमाथि अप्रत्यासित नाकाबन्दी घोषणा गरे ।
खाडी क्षेत्रका अन्य देश र कतारबीच कुनै जटिलता उत्पन्न हुनासाथ नेपथ्यमा रहेर वासिंटनले सबै पक्षलाई एक कदम पछि सर्न दबाब दिँदै आएको इतिहास छ । तर यसपटक ट्रम्प प्रशासन यो जटिलताको कारक आफैं बन्न पुगेको छ ।
नाकाबन्दीप्रति अमेरिकाले जनाएको प्रतिक्रियाको शृंखला रोचक देखिन्छन् । राष्ट्रपति ट्रम्प र अमेरिकी विदेश तथा रक्षा मन्त्रालयका प्रतिक्रियाबीच नै ठूलो विरोधाभास छ । कुनै बेला कतारको सैनिक अखडालाई आधार भनाएर मध्यपूर्वका विभिन्न अमेरिकी सैनिक कारबाहीको कमान्ड सम्हालेका ट्रम्पका रक्षामन्त्री जेम्स मट्टिसले पछिल्लो तनावले अमेरिकी सैनिक अखडा सञ्चालनमा असर नपर्ने आशा व्यक्त गरे भने कतारसँग ऊर्जा साझेदारीको महत्व राम्रैसँग बुझेका ऊर्जा इन्जिनियर विदेशमन्त्री रेक्स टिलर्सनले दोहा र रियादलाई वार्ताको टेबलमा बस्न आह्वान गरे ।
कूटनीतिक द्वन्द्वमा रहेका दुवै पक्ष अमेरिकीनिकट सहयोगी भएका कारण यी प्रतिक्रिया स्वाभाविक थिए । तर राष्ट्रपति ट्रम्पको ट्वीटर प्रशासनले जारी गरेको फर्मानले भने संसारलाई चकित तुल्यायो । 'भर्खरै सम्पन्न मध्यपूर्व भ्रमणमा मैले भनेको थिएँ कि अतिवादी विचारलाई आर्थिक सहयोग गर्नेलाई छुट दिन सकिन्न, हेर्नुस् नेताहरूले कतारप्रति इंगित गरे !' फर्मानमा भनिएको थियो ।
मेरै इसारामा कतारमाथि नाकाबन्दी भयो भन्ने स्पष्ट भावको ट्रम्प ट्वीटलाई कूटनीतिक रंग दिन ह्वाइटहाउसलाई धौ-धौ परिरहेको छ । ट्रम्पले कतारलाई खुच्चिङ गरेको केही समयमै पेन्टागनका प्रवक्ता हिदर नेवर्टले साउदी र यूएईले गरेको कतार नाकाबन्दीको वास्तविक उद्देश्यबारे प्रश्न मात्र उठाएनन्, तत्काल अन्त्य गर्नसमेत सल्लाह दिए ।
एउटा सहयोगी देशलाई अर्को मित्रदेशमाथि नाकाबन्दी गर्न उक्साउने ट्रम्पको 'तरबार नृत्य कूटनीति' रहस्यबारे बाँकी विश्व मात्र होइन, अमेरिकाभित्रै समेत आश्चर्य प्रकट भइरहेको छ । कतिपयले ट्रम्पलाई कतारमा मध्यपूर्वमै सबैभन्दा ठूलो अमेरिकी सैनिक अखडा रहेको हेक्का नै नभएको समेत टिप्पणी गरेका छन् । ओबामा प्रशासनमा मध्यपूर्व रक्षा नीतिका सहसचिव रहेका एन्ड्रिउ एक्जमले ट्रम्पकै शैलीमा ट्वीट गरेका छन्, 'ट्रम्पले ट्वीट गर्नुअघि कतारबाट पूर्ण हवाई युद्धतर्फ उन्मुख भएको मनन सायदै गरे होलान् ।'
ट्रम्पको प्रतिक्रियाप्रति सबै चकित पर्नुको मुख्य कारण के हो भने उनको तरबार नृत्यपछि तरबारको धारमा परेको दोहासँगको सम्बन्धमा वासिंटन सधैं फाइदामा रहँदै आएको छ । प्यालेस्टाइनको हमासदेखि देखि अफगानिस्तानका तालिवानबाट अमेरिकी बन्दी छुटाउन कतारको 'ग्रे डिप्लोमेसी' उपयोग हुने गरेको छ । त्यति मात्र होइन, खाडी क्षेत्रका अन्य देश र कतारबीच कुनै जटिलता उत्पन्न हुनासाथ नेपथ्यमा रहेर वासिंटनले सबै पक्षलाई एक कदम पछि सर्न दबाब दिँदै आएको इतिहास छ । तर यसपटक ट्रम्प प्रशासन यो जटिलताको कारक नै आफैं बन्न पुगेको छ ।
अझ रोचक कुरा त कतारमाथि आतंकवाद प्रवद्र्धन गरेको आरोप लगाउने साउदीलगायत खाडी मुलुकहरू नै उक्त क्षेत्रमा चलिरहेको इस्लामिक स्टेटको सशस्त्र विद्रोहमा सबैभन्दा बढी जनशक्तिको योगदान दिइरहेका देश हुन् । सिरियामा मात्र दुई हजार पाँच सयभन्दा बढी साउदी नागरिक जिहादीको रूपमा लडिरहेका छन् जबकि कतारबाट त्यहाँ जानेको संख्या नगण्यप्रायः छ । साउदी अरेबियाका कतिपय धार्मिक गुरुहरू सिया इस्लामप्रति यति धेरै घृणा व्यक्त गर्छन् कि उनीहरूको अभिव्यक्ति इस्लामिक स्टेट आईएसलाई हिंसा मच्चाउने मसला बन्ने गरेकोे छ । स्मरणीय कुरा सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणका योजनाकार भनिएका ओसामा बिन लादेनदेखि अन्य १९ मध्ये १५ जना विमान अपहरणकारी साउदी नागरिक थिए ।
एउटा कुरा स्पष्ट छ, साउदी अरेबिया र यूएईले कतारमाथि गरेको नाकाबन्दी 'जिहादिज्म र पोलिटिक इस्लाम' लाई प्रवद्र्धन गरेका कारण लगाएका होइनन् । किनभने यो विषय प्रधान हुन्थ्यो भने कतारभन्दा पहिले कुबेतमाथि नाकाबन्दी हुन्थ्यो । कुबेतले सिरियाका जिहादी र इजिप्टको मुस्लिम ब्रदरहुडलाई आर्थिक सहयोग दिन आफ्ना नागरिकलाई स्वतन्त्र राखेको छ ।
बेलायती पत्रिका इन्डिपेन्डेन्टमा प्रकाशित आलेखमा किंस कलेज लन्डनका भिजिटिङ प्रोफेसर एन्ड्र्यु म्याक्लेडले भनेका छन्, 'अरेबियन प्रायद्वीपको नक्सा हेर्दा कतिपय साउदीका सैन्य योजनाकारलाई लाग्ने गरेको छ कि कतारजस्तो सानो भूभाग स्वतन्त्र देशको रूपमा रहिरहनुको के अर्थ ? यो त साउदीको कुनै प्रान्त बन्न सुहाउँछ । तर साउदीहरूलाई कतारमा अमेरिकी सेना छ भन्ने मात्र होइन, अमेरिकीलाई घेराबाहिर पठाएपछि मात्र आफ्नो अभीष्ट पूरा गर्न सकिन्छ भन्ने हेक्का छ ।' ट्रम्पमाथि व्यंग्य गर्दै उनले भनेका छन्, 'साउदी अरेबियाले तरबार नृत्यको अफर गरेपछि ट्रम्पले सेप्टेम्बर ११ को आक्रमणमा साउदीको भूमिका बिर्सिए र इरानमाथि औंलो उठाउँदै ट्वीटरबाट भने, 'कतार चाहिएको हो ठीक छ' । उनी अगाडि लेख्छन्, 'रियादबाट केहीले ट्रम्पलाई धन्यवाद दिएका त होलान् तर उनी कठपुतली बनेका छन् । म बाजी राख्छु- कतारीहरू यही अनुभूति गरेका छन् ।'
रियाद नेतृत्वको गठबन्धनले नाकाबन्दीको दुई सातापछि दोहासँग अललजिरा टेलिभिजिन नेटवर्क बन्द गर्नुपर्ने र इरानसँगको निकटता कम गर्नुपर्नेलगायतका 'अस्वीकार्य सर्त' सहितको मागसूची प्रस्तुत गरेको छ । १० दिने समयसीमासहित आएका ती माग पूरा हुन असम्भव जस्तै देखिन्छ । किनभने माग पूरा गर्दा कतारले आफ्नो सार्वभौम अस्तित्वलाई तिलाञ्जली दिनुपर्ने हुन्छ । दोहाले मात्र होइन, वासिंटनसहित, बर्लिन र पेरिसले समेत यी माग पूरा गर्न नसकिने स्तरका रहेको टिप्पणी गरिसकेका छन् । तर रियाद र अबुधावीका अधिकारीहरूले भने थप उत्तेजक बन्दै खाडी क्षेत्रका व्यापारिक साझेदारलाई कतार वा आफूमध्ये एकलाई चुन्ने विकल्प दिने चेतावनी दिइरहेका छन् ।
आफूलाई एक्ल्याउने खाडी क्षेत्रका देशको प्रयासमा अमेरिका सामेल भएमा कतार अमेरिकाले नचाहेका शक्तिसँग सहकार्यमा जान बाध्य हुने विश्लेषकहरूको अनुमान छ । उनीहरूका अनुसार खाडी देशहरूले अर्घेल्याइँ गरिरहेमा टर्कीको सेनालाई स्वागत गरिसकेको कतारले रूसी सेनालाई आफ्नो देशमा स्थान दिन सक्छ । वासिंटन इन्स्टिच्युट डट ओआरजीमा अमेरिकी विश्व मामिला विज्ञहरूले चेतावनी जारी गर्दै भनेका छन््, 'अमेरिकाको लागि अस्थिर होइन मध्यमार्गी तर स्थिर कतार आवश्यक छ । उसलाई जबर्जस्ती इरानका अतिवादी शक्तिसँग सहकार्य गर्ने स्तरमा पुर्याउनु घातक देखिन्छ र इरानले चाहेको यही हो ।'
बेलायती पत्रिका द गार्डियनमा स्टेफान्नी किर्गास्नरले जुन २३ (२०१७) मा लेखेको समाचारअनुसार कतार नाकाबन्दीमा ट्रम्पको प्रतिक्रिया अमेरिकी विदेश नीतिभन्दा पनि साउदीसँग उनको व्यक्तिगत व्यापारिक सम्बन्धले निर्धारण गरेको छ । कतारविरुद्ध नाकाबन्दीमा उत्रिएका खाडी मुलुकहरूसँग ट्रम्पको दशकौंदेखिको व्यापारिक सम्बन्ध रहे पनि कतारमा भने उनको कुनै लगानी नफापेको किर्गास्नरको दाबी छ । साउदी राजपरिवारका सदस्यहरूले विगतमा 'रियलस्टेट' व्यापारी रहेका ट्रम्पबाट अर्बौं डलरको सम्पत्ति खरिद गरेको र अहिले त्यही गुन तिर्न ट्रम्पले कतार नाकाबन्दीको स्वागत गरेको उनको टिप्पणी छ ।
किर्गास्नरले लेखेकी छन्, सन् १९९५ मा न्युयोर्कस्थित प्लाजा होटेलको भुक्तानी गर्न नसकेर संकट पर्दा साउदी राजकुमार अलादिन बिन तलालले ट्रम्पलाई ठूलो धनराशि दिएर सघाएका थिए । त्यस्तै सन् १९९१ म ट्रम्पको एट्लान्टिक क्यासिनो संकटमा पर्दा पनि तलालले ट्रम्पलाई जहाज खरिद गरेर सघाएका थिए । चुनाव प्रचारका क्रममा ट्रम्पले मुस्लिमहरूलाई प्रतिबन्ध लगाउने कुरा गरेपछि ट्रम्पलाई अमेरिकाकै बेइज्जतको सज्ञा दिएका तलालले उनी विजयी भएपछि भने बधाई दिएका थिए । किर्गास्नरका अनुसार ट्रम्पले त्यही गुन अहिले तरबार नृत्यको माध्यमबाट तिरेका छन् ।
-गौतम एपीवान टेलिभिजनका समाचार डेस्क सम्पादक हुन् ।