सुष्मा स्वराज अगस्टमा नेपाल आउने

सुष्मा स्वराज अगस्टमा नेपाल आउने

 नयाँ दिल्ली : भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सोमबार साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।  नयाँदिल्लीस्थित जवाहरलाल नेहरु भवनमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा छलफल भएको छ । भेटपछि मन्त्री महराले अन्नपूर्णसँग भन्नुभयो, ‘मैले प्रधानमन्त्री देउवा भारत भ्रमण गर्न इच्छुक रहेको बताएँ । उहाँहरूले कूटनीतिक स्तरमा कुरा गरेर मिति चाँडै तय गरिने बताउनुभयो । अब भ्रमण चाँडै हुन्छ ।'

भेटमा भारतीय विदेशमन्त्रीले नेपाललाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्यमा भारतले समर्थन गर्ने आश्वासन दिनुभएको छ । आगामी सेप्टेम्बरमा परिषद्को अस्थायी सदस्य पदका लागि निर्वाचन हुँदै छ । भेटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण अघि बढाउन यसको विस्तृत अध्ययन प्रतिवेदनलाई चाँडै टुंग्याउने विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री महराले नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय नोट साट्ने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभयो । प्रत्युत्तरमा भारतीय विदेशमन्त्रीले मर्कामा परेका नेपालीका लागि भारतीय रुपैयाँका नोट साट्न भारतले प्रयास गरिरहेको बताउनुभयो । भेटमा महराले भारतीय भूमिमा गएर नेपाली ट्यांकरले खाना पकाउने एलपिजी ग्यास आयात गर्न पाउने व्यवस्था मिलाउन लाइसेन्सको प्रबन्धका लागि अनुरोध गर्नुभएको थियो ।

तर, यसमा भारतीय पक्ष सकारात्मक देखिएको छैन । अधिकारीका अनुसार भारतीय विदेशमन्त्री स्वराजले नेपाललाई एलपिजी ग्यासको स्टेसन तोक्न आग्रह गर्दै भारतीय ट्यांकरले ल्याएर त्यहाँ छाडिदिने र पछि नेपालले आफ्नै ढंगले वितरण गर्नसक्ने जवाफ दिनुभएको थियो ।

महराले भारतले हालै सुरु गरेको वस्तु तथा सेवा एकीकृत करका कारण नेपाललाई पर्ने असरबारे भारतीय पक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
दुवै विदेशमन्त्रीले नेपाल-भारतबीच पछिल्लो समय विभिन्न स्तरमा भएका राजनीतिक, कूटनीतिक, प्रशासनिक आदानप्रदान तथा छलफलले दुई मुलुकबीचको मित्रताको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्‍याएको मनन गरेको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटवार्तामा दुबै पक्षले द्विपक्षीय हितका विषयसँगै विकास सहयोगका परियोजना, व्यापार र पारवहन, क्रस बोर्डर इन्फास्ट्रक्चर, जलविद्युत् परियोजनालगायत विषयमा छलफल भएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । भेटमा परराष्ट्रमन्त्री महराले विदेशमन्त्री स्वराजलाई नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउँदै नयाँ सरकारका प्राथमिकता तथा हालै दुई चरणमा सम्पन्न स्थानीय निर्वाचनबारे जानकारी गराउनुभएको दूतावासले जनाएको छ । विदेशमन्त्री स्वराजले दुई चरण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकारलाई बधाई दिँदै भर्खरै बनेको देउवा नेतृत्वको सरकारको सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।

पाकिस्तान र भारतबीचको वैमनश्यताका कारण १९ औं सार्क शिखर सम्मेलनको नयाँ मिति तय हुन नसकेका बेला मन्त्री महराले भारतीय पक्षसँग शिखर सम्मेलन आयोजनाबारे छलफल गर्नुभएको छ । भेटमा मन्त्री महराले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को वर्तमान अध्यक्ष राष्ट्र भएको नाताले सार्कलाइ सक्रिय बनाउन नेपालको चाहना रहेको बताउनुभयो । ‘अध्यक्ष राष्ट्र भएको नाताले आगामी सार्क शिखर सम्मेलन गराउने विषयमा पनि कुरा राख्यौं । भारतीय विदेशमन्त्रीले यसबारे हामी सोच्छौं भन्नुभएको छ', महराले भन्नुभयो । सो अवसरमा महराले भारतीय विदेशमन्त्री स्वराजलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभयो ।

त्यसैगरी, नेपालको आर्थिक सामाजिक विकासमा भारतले गरिरहेको सहयोगका लागि परराष्ट्रमन्त्री महतले भारत सरकारलाई धन्यवाद दिनुभयो । सोमबारै साँझ परारष्ट्रमन्त्री महराको सम्मानमा विदेशमन्त्री स्वराजले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महरा तथा भारतीय विदेशमन्त्रीसँगको भेटपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आगामी दिनमा दुई मुलुकको ऐतिहासिक तथा मित्रतापूर्ण सम्बन्ध थप मजबुत हुने उल्लेख गरेको छ । दुई मुलुकबीच भएको उच्चस्तरीय राजनीतिक आदानप्रदानका साथै आगामी दिनमा हुने भ्रमणका विषयमा पनि छलफल गरेको छ । त्यसैगरी, परराष्ट्रमन्त्री महराले नेपालमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनबारे बताउँदै संविधान संशोधन प्रक्रियामा नेपाल सरकारको प्रयासबारे बताएको उल्लेख गरेको छ ।

उपप्रधानमन्त्री महराले दिल्ली आइपुगेलगत्तै दूतावास परिसरमै दुई चरणमा नेपालसँग कूटनीतिक सम्बन्ध राखेका मुलुकका नियोग प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभयो । दुईदिने अन्तरक्रियामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउँदै नेपाललाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कूटनीतिक नियोग प्रमुखहरूलाई जानकारी गराउँदै नयाँ संविधान, स्थानीय निर्वाचनलगायत नयाँ सरकारबारे उल्लेख गर्नुभएको थियो । नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्धबारे उल्लेख गर्दै नेपालमा लगानीका लागि समेत कूटनीतिक नियोग प्रमुखहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा कतिपय दूतावास प्रमुखले भने खुलेरै नेपालको समर्थन गर्ने आश्वासन दिएको ती अधिकारीले बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्यालले नेपालमा मानवअधिकारको अवस्थाबारे प्रतिवेदन पेस गर्दै परिषद्को सदस्यताको आधारका लागि नेपालका मानवअधिकारका सूचकांक तर्कसंगत रहेको बताउनुभयो ।

भारतमा रहेर नेपाल हेर्ने ८२ वटा कूटनैतिक नियोगमध्ये अन्तरक्रियामा ५० वटा नियोग प्रमुखलाई आमन्त्रण गरिएको थियो । आइतबार र सोमबार दुई चरणमा गरिएको अन्तरक्रियामा ४१ मुलुकका नियोग प्रमुख सहभागी थिए । अन्तरक्रियामा नेपाललाई समर्थन जनाउने सम्भावना भएका मुलुकका नियोग प्रमुखलाई मात्र बोलाइएको थियो ।

नोभेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्यताका लागि हुने चुनावमा नेपालले उम्मेदवारी दिएको छ । नेपालले सन् २०१८ देखि २०२० का लागि उम्मेदवारी दिएको हो । सदस्यता जित्न नेपालका लागि भारत र चीनको समर्थन महत्ववपूर्ण भएको हुँदा नेपालले यसका लागि लबिङ गरेको हो ।

भारतीय विदेशमन्त्री नेपाल आउने

भारतीय विदेशमन्त्री सुष्मा स्वराज अगस्ट दोस्रो साता नेपाल भ्रमणमा आउनुहुने भएको छ । अगस्ट १० र ११ मा काठमाडांैमा आयोजना हुने क्षेत्रीय संगठन बिमस्टेकको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन उहाँ आउने तय भएको सरकारी अधिकारीहरूले बताए । मन्त्री महरासँग भएको भेटमा उहाँले सो जानकारी गराउनुभएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.