गोर्खाल्यान्डको माग र नेपाली
यो खाल्डोको समस्या विचित्रको छ । चार जात र छत्तीस वर्णका मानिसहरूको बसोबास भएको यो मुलुकले कसलाई आफ्नो र कसलाई पराया भनेर छुट्ट्याउँछ, ठम्याउन सकिँदैन । एउटा विदेशी मूलको नेपालीभाषीलाई यहाँ जुन सम्मान र इज्जत दिइन्छ, त्यही इज्जत कमाउन एउटा मधेसी मूलको नेपालीलाई वर्षौं लाग्छ । देशको लागि कमाएर देशकै लागि खर्च गर्दा पनि वर्षौंसम्म उसले आफ्नो अस्तित्वको लागि लडिरहनुपर्छ । मुलुकभित्र आफन्त ढल्दा उठाउन नखोज्ने यो नेपाली मनोविज्ञान छिमेकीको आँसु पुछ्न कुदेको देख्दा अचम्म लाग्छ ।
छिमेकी राष्ट्र भारतको एउटा प्रान्त पश्चिम बंगालमा पर्ने दार्जिलिङ निवासीहरू संघर्षमा उत्रिएका छन्, आफ्ना लागि गोर्खाल्यान्ड प्रान्तको मागसाथ ।भारतलाई आफ्नो उपनिवेश बनाएर दुई सय वर्षसम्म राज गर्ने इस्ट-इन्डिया कम्पनीले आफ्नो सेनामा भर्ती हुने नेपाली जवानलाई दिएको 'गुर्खा' नामबाट आफैंलाई चिनाउन जुन होडबाजी दाजिर्लिङबासीले गर्दैछन्, के स्वयंमा त्यो दासत्वको चिनारी होइन र ? के त्यसले संसारमा छुट्टै पहिचान बनाउन मद्दत गर्ला उनीहरूलाई ? साथै संसारभरि छरिएर बसेका नेपाली मूलका 'गोर्खा' हरूलाई समावेश गर्ने गरी प्रान्तको नाम नै गोर्खाल्यान्ड राख्ने अनुमति उनीहरूलाई कसले दियो ? के भारतीय सेनामा सेवा दिएर नेपाल फर्किएका हजारौं सैनिकहरू गोर्खा होइनन् ? अनि भारतकै उत्तराखण्डमा पर्ने देहरादुनका पुस्तैनी नेपालीभाषीहरू जो भारतीय सेनामा आबद्ध भएर उतै बसे, के उनीहरू गोर्खाली होइनन् ? अनि बर्माका नेपालीभाषीहरू ? त्यसका साथै भारतकै विभिन्न भूभागमा बस्ने भारतीय सेनाबाट अवकाशप्राप्त गोर्खा राइफल्सका सदस्यहरू 'गोर्खा' होइनन् ? एउटा अन्तर्राष्ट्रिय रूपमै चिनिएको समावेशी शब्दलाई आफ्नो पहिचानको लागि एकलौटी बनाउन खोज्नु दार्जिलिङका आन्दोलनकारी नेताहरूको ठूलो भूल हो ।
दार्जिलिङबासीको लडाइँ पहिचानको लागि हो । एउटा अल्पसंख्यक र सीमान्तकृत समूहको यो संघर्षसँग असहमत हुन सकिँदैन । दाजिर्लिङबासीलाई पश्चिम बंगालबाट छुट्टै पहिचान चाहिएको छ । उनीहरू 'बंगाली' भनेर सम्बोधित हुन चाहँदैनन् । त्यसका साथै बंगाली भाषाको प्रयोग पनि गर्न चाहँदैनन् । त्यो उनीहरूको आफ्नो विचार, हक र अधिकारको कुरा हो । त्यसमा नेपाली नागरिकले नैतिक समर्थन जनाउन सक्छन् या मौन बस्न सक्छन् । तर नेपाली नै बोलेको र समयसमयमा नेपाली दौरा-सुरुवाल, ढाकाटोपी, चौबन्दी चोलो या गुन्यु लगाएको भरमा नेपालीको पहिचानलाई नै सम्पूर्ण रूपमा नियन्त्रित गर्न खोज्नु एउटा अदूरदर्शी र निकै हदसम्म षड्यन्त्रपूर्ण योजना हो । त्यसले इतिहासमा नेपाल र नेपालीको अस्तित्व नै ओझेलमा पर्ने डर हुन्छ ।
जुन 'हाम्रो पुर्खा' भनेर दार्जिलिङका नेताहरूले अस्पष्ट नेपालीमा भाषण दिन्छन् र सामाजिक सञ्जालभरि प्रचार-प्रसार गरिरहेका हुन्छन्, त्यो 'पुर्खा' को अर्थ नै गलत ढंगले बुझिएको छ । गोर्खा र गुर्खा शब्दको अर्थ अन्तर्राष्ट्रिय शब्दकोशमा अझै पनि 'नेपाली मूल' र 'नेपाली भर्ती' भनेर व्याख्या गरिन्छ । 'दिलमा भारत माता' र शरीरमा गोर्खाली रगत स्वयंमा विवादित र विभाजित अवधारणा हो । दार्जिलिङका नेपालीभाषी नेताहरूले यसबारे स्पष्ट हुनु आवश्यक छ । त्यहाँको नेतृत्व दिग्भ्रमित छ, जसरी नेपालका मधेसी नेताहरू छन् । जसरी 'मधेसी' एउटा जाति होइन, त्यसरी नै 'गोर्खाली' कुनै जाति हुन सक्दैन ।
अब कुरा गरौं समर्थनको । मधेसी आन्दोलनमा अगाडि सारिएका माग र दार्जिलिङको 'गोर्खाल्यान्ड' का माग कतिपय स्तरमा समान छन् । तर अहिले काठमाडौंबासीमा तराई आन्दोलनप्रति घृणा र उदासीनता छ भने दार्जिलिङ आन्दोलनप्रति सहानुभूति । भाषाको एकांगीमा राष्ट्रियता र पहिचान ओझेलमा पर्नु हुँदैन । हो, दार्जिलिङमा नेपाली बोलिन्छ, जुन हाम्रो नेपालमा सर्वाधिक बोलिने भाषा हो । भाषाले हाम्रो कला र संस्कृति जोड्छ, निकटता बाँध्छ तर आफूले बोल्ने भाषाको लागि देशको सीमा बिर्सनु प्रत्युत्पादक हुन्छ । त्यस्तै, देशभित्रै पहिचानको लागि लडिरहेकाहरूलाई भाषा मिलेन भनेर हेप्नु त्यत्तिकै आपत्तिजनक आचरण हो ।
नेपालको तराई भेगमा बस्ने बहुसंख्यक जनताले बोल्ने मैथिली, भोजपुरी, अवधी तथा अन्य भाषालाई जोड्ने भाषा हो हिन्दी । काठमाडौंका रैथानेहरूले पनि बुझ्ने भाषा हो हिन्दी । जसरी दार्जिलिङनिकट हाम्रो पूर्वी भेगका पहाडहरू छन्, त्यसरी नै 'रोटी र बेटी' को सम्बन्ध छ, हाम्रो तराई र भारतका सीमावर्ती भूभागसँग ।
दार्जिलिङका कन्भेन्ट स्कुल पढेका र अंग्रेजीलाई मात्रै कुनै व्यक्तिको बौद्धिकताको मापदण्ड मान्ने एउटा जमात र उनीहरूका समर्थकले सामाजिक सञ्जालमा राम्रो बन्न यो आन्दोलनको समर्थन त गर्दैछन् । तर हाम्रो भाषा, पोसाक र हाम्रो खुकुरीको पहिचान हामीले आफ्नै हातले विदेशीलाई हस्तान्तरण गर्यौं भने भोलि हाम्रो सन्ततिले हामीलाई के आधारमा चिन्नेछन् ? यसै पनि भारतमा 'गोर्खा' लाई 'गोर्खे लोग' भनेर सञ्चारमाध्यममा समेत बेइज्जत गरिन्छ । हाम्रो भाषा, बोल्ने शैली र हाम्रो खुकुरीको अनि हामीले गर्ने कामको खिल्ली उडाइन्छ ।
नेपालमा हैसियत खोसिएको दौरा-सुरुवाल भारतको एउटा प्रान्तको 'आधिकारिक' पोसाक हुन्छ । गोर्खालीको उत्पत्ति नै भारतमा भएको भन्ने भ्रम फैलिन्छ ।
जसरी तराईमा जारी रहेको समस्या र त्यसको समाधानको दायित्व हाम्रो हो, त्यसरी नै भारतमा चलिरहेको समस्या भारत सरकार र त्यहाका जनताको हो । भारतले महिनौंसम्म नेपाललाई नाकाबन्दी गर्दा छिमेकी नेपालीभाषीहरूको 'अपनत्व' झल्किएन । उनीहरूको बफादारी आफ्नो देशसँग छ । नेपालले आफ्नो जनतालाई दिन सक्ने सुख सुविधाभन्दा धेरै भारतले आफ्नो नागरिकलाई दिएको छ । आफ्नो देशप्रति लगाब हुनु राम्रो कुरा हो, जुन कुरा हामी नेपालीले पनि सिक्नुपर्छ ।
भावना र यथार्थबीच एउटा व्यावहारिक र तथ्यपूर्ण निष्कर्षसाथ समग्र नेपालीले 'रातो र चन्द्र सूर्य' झन्डामुनि आफूलाई अटाउन र विविध पहिचानलाई सम्मान गर्न सिक्नु आवश्यक छ । हाइलाइट
जसरी तराईमा जारी रहेको समस्या र त्यसको समाधानको दायित्व हाम्रो हो, त्यसरी नै भारतमा चलिरहेको समस्या भारत सरकार र त्यहाका जनताको हो ।