बुल्गेरियामा एलिसाको शान
काठमाडौं : बुल्गेरियाको सोफियामा भएको 'प्रिन्सेस अफ दी वर्ल्ड -२०१७' मा नेपालको प्रतिनिधित्व गरेकी एलिसा बडे श्रेष्ठले 'प्रिन्सेस अफ दी वल्र्ड २०१७ ग्रान्ड प्राइज' र 'ओरिजिनालिटी सुपर ग्रान्ड प्राइज २०१७' उपाधि पाएकी छन् ।
नेप्लिज काउन्सिलका कार्यकारी निर्देशक दीपेन्द्ररत्न शाक्यका अनुसार असार ८ देखि १६ सम्म चलेको प्रतियोगितामा भाग लिन १७ वर्षीया एलिसा आमा शर्मिला र बाबु महेशचन्द्र बडे श्रेष्ठका साथ बुल्गेरिया गएकी थिइन् । एलिसालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक, अभिभावक र शुभेक्षुकले स्वागत गरे ।
एसियाली र युरोपेली मुलुकको सबभन्दा राम्री र प्रतिभावान् बालिका छनोट गरिने यस अन्तर्राष्ट्रिय प्रतियोगिताको ट्यालेन्ट सोमा एलिशाले नेपाली गीत 'म प्यार बेचिदिन्छु' र 'गैरी खेतको शिरै हान्यो'बोलको गीतमा नृत्य गरेकी थिइन् ।
प्रतियोगिताको यो छैटौं संस्करण हो । यसमा नेपालसहित १५ मुलुकका ३५ बालिका सहभागी थिए । प्रतियोगिताको शीर्ष उपाधि रसियाकी १६ वर्षीया मरिना आलिएवले जितेकी थिइन् ।
अभिभावकबीच गरिएको प्रतियोगिताको रोमाञ्चक कार्यक्रम 'किङ अफ द वर्ल्ड २०१७' को उपाधि एलिसाका बुवा महेशले प्राप्त गरे । उनले 'गुराँस फुल्यो' गीतमा आकर्षक नृत्यका साथ ढाका टोपी लगाई कार्यक्रममा बालबालिकाको जीवनमा अभिभावकको महत्वबारे अभिव्यक्ति दिएका थिए ।