क्यान्सर उपचारका लागि वीरमा अत्याधुनिक मेसिन खरिद प्रकरणमा विवाद

क्यान्सर उपचारका लागि वीरमा अत्याधुनिक मेसिन   खरिद प्रकरणमा विवाद

काठमाडौं : करिब दुई वर्षपछि क्यान्सर उपचारका लागि नेपालमै पहिलोपटक वीर अस्पतालले खरिद गर्न लागेको अत्याधुनिक मेसिन ‘टोमोथेरापी’ को औचित्य र खरिद मूल्यलाई लिएर अस्पतालका चिकित्सक दुई कित्तामा विभाजित भएका छन् । संसारकै उत्कृष्ट र पछिल्लो मोडलको अत्याधुनिक प्रविधियुक्त उक्त मेसिन सरकारी अस्पतालमै ल्याउन लागिएको र त्यसबाट ठूलो संख्यामा क्यान्सरका गरिब बिरामी लाभान्वित हुने अस्पताल प्रशासन र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दाबी छ । तर, अस्पतालकै केही चिकित्सकले मेसिन अत्यन्तै महँगो र खर्चिलो भएको बताउँछन् ।

वीरले उक्त मेसिन ४० करोड रुपैयाँमा खरिद गर्न लागेको हो । दुई वर्षअघि ‘कोबाल्ट' मेसिन पुरानो हुँदा विकीरण फैलिने जोखिम बढेपछि रेडियोथेरापी सेवा बन्द गरिएको थियो । सेवा बन्द हुँदा हजारौं गरिब बिरामी अन्य अस्पतालमा महँगो शुल्कमा उपचार गर्न बाध्य छन् । ‘कोबाल्ट’ मेसिन खरिदका लागि वीरले यसअघि आह्वान गरेको दुईवटा ‘टेन्डर' रद्द भएपछि स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा ‘टोमोथेरापी’ मेसिन खरिदका लागि बजेट छुट्याइएको थियो । उक्त निर्णयका आधारमा अस्पताल प्रशासनले मेसिन खरिद प्रक्रिया सुरु गरेपछि अस्पतालकै चिकित्सकले असन्तुष्ट व्यक्त गरेका थिए । तर, मेसिन अत्याधुनिक भएको र त्यसले स्तरीय सेवा दिने भन्दै अस्पताल प्रशासनले खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

एक चिकित्सकका अनुसार अति नै महँगो र संवेदनशील उक्त मेसिन सञ्चालनमा पनि कठिनाइ छ । ‘यो मेसिन अति महँगोमा खरिद हुँदै छ, योभन्दा सस्ता र राम्रा मेसिन पनि थिए । तर, किन यही मेसिन खरिद गर्न लागियो ? त्यसमा शंका छ । टेन्डर पनि हतारहतारमा आह्वान गरियो । मेसिनको उपयोगिता भनिएजस्तो छैन,’ उहाँले भन्नुभयो ।

मेसिन अत्याधुनिक भएको र त्यसले स्तरीय सेवा दिने भन्दै अस्पताल प्रशासनले खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

न्याम्सका उपकुपति डा. गणेश गुरुङ भने मेसिन खरिदलाई लिएर विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुहुन्छ । उहाँले अन्तिम विकल्पका रूपमा उक्त मेसिन खरिद गर्न लागेको र यसले क्यान्सरका बिरामीलाई नेपालमै सबैभन्दा स्तरीय सेवा दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । ‘हामीले दुई पटकसम्म कोबाल्ट मेसिन किन्ने प्रयास गर्‍यौं तर असफल भयौं । बल्लतल्ल खरिद हुन लागेको मेसिनलाई लिएर विरोध भएको छ । वीर अस्पतालमा यो मात्र होइन, अन्य कुनै मेसिन नै ल्याउन हुन्न ताकि बिरामी बाहिर रेफर गर्न सकियोस् भन्ने सोच राख्नेले नै यसको विरोध गरेका हुन्,’ डा. गुरुङले भन्नुभयो, ‘कम्पनीले नै हामीले मेसिनको मूल्य पठाएको छ, त्यसैले हामी ठगिएका छैनौं ।’

डा. गुरुङका अनुसार ५९ करोड रुपैयाँ पर्ने उक्त मेसिन छुट गराउन लगाएर ४० करोडमा खरिद गर्न लागिएको हो । ‘पहिलो र दोस्रो पुस्ताको मेसिनको तुलना गरेर मेसिनको मूल्य महँगो भयो भन्ने विरोध गरिएको छ । यो मेसिन तेस्रो पुस्ताको लेटेस मोडल हो । त्यसैकारण यो मेसिन महँगो पर्न गएको हो।’
टोमोथेरापीले मेसिनले तीन सय ६० डिग्री ‘रोटेसन’ मा वरिपरिको सेललाई जोगाएर क्यान्सर भएको सेललाई मात्रै हटाउने काम गर्ने उहाँको भनाइ छ ।

अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले पनि यो मेसिन राम्रो र उपयोगी भएको बताउनुभयो । ‘मूल्य धेरै देखाएर भ्रम सिर्जना गर्ने काम भइरहेको छ । २० करोड पर्ने मेसिन ४० करोडमा खरिद गर्न लागेको भन्दा सबै आत्तिनु स्वाभाविकै हो,’ डा. बस्नेतले भन्नुभयो, ‘तर यसबाट देशभरिका जनताले स्तरीय सेवा पाउँछन् । जुन हाम्रो लागि ठूलो कुरा हो । यो वर्ष हामीले यो मेसिन खरिद गर्न सकेनौं भने कहिल्यै पनि गर्न सक्दैनौं ।’ बस्नेतले मेसिन खरिद गर्न नदिन व्यापारी र अस्पतालभित्रकै केही चिकित्सक लागेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.