राजाको चौतारा

राजाको चौतारा

कास्की जिल्लाको सदरमुकाम पोखरानजिक पृथ्वी राजमार्गमा पर्ने गगनगौंडाको हाराहारीमा पूर्वपट्टि सातमुहाने पर्छ । सातमुहानेदेखि अलिकति तल दक्षिणपट्टि मालमूल फाँट पर्छ र मालमूल फाँटको पुछारमा राजाको चौतारा नामक एउटा चौतारा अवस्थित छ । राजाको चौतारा अघि नेपालको पूर्व-पश्चिम मूल बाटोमा पथ्र्यो । यही राजाको चौतारा भएर काठमाडौंबाट पश्चिमतिर जुम्ला र किल्ला-काँगडासम्मको लस्कर चल्थ्यो । यसैगरी, पूर्व-पश्चिमबाट दक्षिण भीमादतिर जाने हुलाकको बाटो पनि यही राजाको चौताराबाट छुट्टिन्थ्यो ।

drअतः हुलाकका जाँचकीहरूले यही चौतारामा बसेर हुलाक जाँच्थे र हुलाकीहरूले हुलाक साट्थे । अघि कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा शान्ति सम्झौताको लागि बाह्र राजाको भेट हुँदा त्यसको स्मारक स्वरूप चिनेको चौतारा भएकाले यस चौताराको राजाको चौतारा नाम रहेको हो ।

अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको छ । धर्म निरपेक्षता कायम गरिएको छ । अतः वर्तमान परिवेशअनुसार मालमूलको यस चौतारालाई राजाको चौतारा भन्न मिल्दैन जनताको चौतारा भन्नुपर्छ भनेर जनताको चौतारा भन्न थालिएको छ । कुनै व्यक्ति, संस्था र व्यवस्था आफैंमा असल र खराब हुँदैन । त्यस व्यवस्थालाई परिचालन गर्ने व्यक्तिको गुण, आदर्श एवं मर्यादामा त्यसको सफलता र असफलता भर पर्छ । त्यसकारण राजा भन्दैमा नकारात्मक सोच राखिहाल्न हुँदैन । यसको आशय पुनः नेपालमा राजतन्त्र स्थापना गरिनुपर्छ भन्नेचाहिँ होइन । लिच्छविकाललाई नेपालको स्वर्णकाल मानिन्छ । त्यसमा पनि अंशुबर्माको समयलाई स्वर्णकाल मानिएको छ । किनभने अंशुबर्माको समयमा कैलाशकूट भवन बनेको थियो ।

एउटै सभाकक्षमा एकैपटक दस हजार व्यक्ति अटाउन सक्ने उक्त भवनको क्षमता थियो । त्यस्तो भवन त्यसताका भारत र चीनमा थिएन । यो नेपालको गौरव हो । अंशुबर्मा महासामन्त थिए । यसरी सामन्त शासनकालमा पनि राष्ट्रको विकास हुँदो रहेछ भन्ने बुझिन्छ । चन्द्रशमशेरले फर्पिङबाट बिजुली निकाल्दा जापानमा बिजुली बत्ती थिएन । यो कुरालाई इतिहासले स्विकार्न सक्नुपर्छ ।

नेपाललाई शान्ति र सहअस्तित्वको बारेमा कसैले सिकाइरहनु पर्दैन, बरु नेपालले विश्वलाई शान्ति र सहअस्तित्वको पाठ सिकाएको छ तर हामीले हाम्रो इतिहास राम्रोसँग पढेर त्यसबाट स्वाभिमानको पाठ सिक्न सक्नुपर्छ । संस्कृतिबाट प्रेरणा लिएर अघि बढ्न सक्नुपर्छ । राजाको चौतारा त्यस्तै शान्ति, सम्झौता र सहअस्तित्वको प्रतीक हो । यो कुनै झुर सामन्ती शासकको निशाना होइन । अतः यस चौतारालाई राजाको चौतारा भन्दा कुनै आपत्ति छैन ।

गगनेगौंडाको पुछारमा पर्ने राजाको चौतारा शान्ति, सम्झौता र सहअस्तित्वको प्रतीक हो, यो कुनै झुर सामन्ती शासकको निशाना होइन । अतः यस चौतारालाई राजाको चौतारा भन्न कुनै आपत्ति छैन ।

अघि कास्कीका राजा शिव शाहको पालामा कास्की र लमजुङको युद्ध भयो । कास्कीले मादी तरेर लमजुङको यारदिसम्म कब्जा गर्‍यो । त्यसपछि लमजुङको फौज अघि बढ्यो । कास्कीको अर्घौं देउमाडीमुन्तिरको ओखलेगौंडामा ठूलो लडाइँ भयो । लमजुङले कास्कीको अर्घौं देउमाडी र ठूलाकोट कब्जा गरेर विजयपुर खोलाको साँध लगायो । त्यसपछि कास्कीको मालमूलमा बाह्र राजाको भेट हुँदा लमजुङका राजा दावादल शाहबाट पंक्तिकारका नौ पुस्ताअघिका पुर्खा ६ गाउँ याङजाकोटका मीर उमरा वीरसिंह क्ह्रोंगी लामा गुरुङको नाममा लालमोहर आयो र लमजुङले गजसिमलेको एघार खेत लिई अर्घौं ठूलोकाट र देउमाडी कास्कीलाई छोडेर घा (सन्धि) गरेका थिए । कास्की र लमजुङको सिमाना मादी नदी भए पनि मालमूलमा गरिएको सम्झौताअनुसार मादीपूर्वको बरालडाँडा कास्कीअन्तर्गत र मादी पश्चिमको दाङसिमर्‍याङलाई लमजुङको कित्तामा राखिएको थियो ।

मादीगंगाको पूर्वपट्टिको डाँडामा याङ्जाकोट अवस्थित छ । याङजाकोट लमजुङ राज्यको पश्चिम उत्तरतर्फको मुख्य किल्ला थियो । अतः पश्चिमतिर लडाइँ, भिडाइँ, सन्धि-सम्झौता आदि याङ्जाकोटको मोहोडाबाट गरिन्थ्यो । साबिकमा याङ्जाकोट ६ गाउँको मौलो थियो । २०३२ सालमा याङ्जाकोटको ६ गाउँअन्तर्गतका पाँचवटा गाविस कास्कीमा गाभियो । अहिले याङ्जाकोटलाई मादी गाउँपालिकाको सदरमुकाम कायम गरिएको छ ।
साबिक लमजुङ हाल कास्की, याङ्जाकोट, छापाडाँडाका पैंडी पार्सिंह नम्जु क्रोम्छै गुरुङको घरमा भएको वंशावलीमा कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा भेटेका बाह्र राजाहरूका राज्य र तिनको नाम उल्लेख गरिएको छैन । केवल 'मालमूलमा बाह्र राजाको भेट हुँदा' भन्ने मात्र उल्लेख छ । यी बाह्र राजाहरू आठटीकाका आठ राजा तथा तनहुँ, रिसिङ, घिरिङ र पर्वतका गरी बाह्र राजा हुन्' भन्ने बुझिन्छ । भीरकोट, गह्रौं र ढोर यी तीन खान राज्य र नुवाकोट, सतौं, कास्की, लमजुङ र गोरखा यी पाँच शाह राज्यलाई समुच्चमा आठटीका भनिन्छ ।

यसरी यी बाह्र राजाहरूले कास्कीको मालमूलमा भेटेर सम्मेलन गरी आपसमा लडाइँभिडाइँ नगर्ने, आआफ्नो साँधसिमानामा मिलेर बस्ने, आपसमा बिहेबारी गर्ने आदि शान्तिसम्झौताको सन्धि गरेका थिए । वर्तमानमा शान्ति क्षेत्र नेपाल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, कमनवेल्थ नेसन, जी ट्वान्टी, संयुक्त राष्ट्रसंघ आदि संघसंस्था छन् । आआफ्ना क्षेत्रमा शान्ति र सहअस्तित्व कायम गरी विकास निर्माणको काममा अघि बढ्नु ती संघसंस्थाहरूको प्रमुख दायित्व हो, तर त्यसबेला नै गण्डकी प्रस्रवण क्षेत्रका शासक एवं भारदारहरूमा सहिष्णुता, सहअस्तित्व, सद्भाव एवं समन्वय र शान्तिको भावना जागृत भइसकेको देखिन्छ ।

कास्की, मालमूलको उक्त ऐतिहासिक सम्मेलनले यस कुराको पुष्टि गर्दछ । अतः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन र संयुक्त राष्ट्रसंघजस्ता संघसंस्थाहरूको स्थापनाको भावनाको विकास नेपालबाट भएको देखिन्छ । कास्की, मालमूलको यस ऐतिहासिक शान्ति सम्मेलनको सुखद उपलक्ष्यमा चिनिएको शान्तिको प्रतीक यस राजाको चौताराले सहिष्णुता, सहअस्तित्व, सद्भाव एवं समन्वय र शान्तिको सन्देश दिइराखेको छ र भविष्यमा पनि दिई नै रहनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.