पशुपति क्षेत्रको फेरिएको मुहार
नेपालमा पशुपतिनाथको प्रसिद्ध मन्दिर हुनु नेपाल र नेपालीकै लागि गौरवको विषय हो । त्यति मात्रै होइन, यो विश्वकै लागि एक अतुलनीय जीवन्त सम्पदास्थल पनि हो । पशुपतिनाथको मन्दिरलगायतको क्षेत्र २०३६ सालमा विश्वसम्पदा सूचीमा सूचीकृत भएपछि त अझ यो विश्वका सम्पूर्ण मानवका लागि नै अमूल्य सम्पदास्थल बन्न पुग्यो । नेपाल सरकारले आर्थिक वर्ष ०७०/७१ देखि राष्ट्रिय गौरवको आयोजनाको रूपमा पशुपति क्षेत्र विकास कोषलाई स्विकारेपछि पशुपति क्षेत्रप्रति अझ अरू जनचासो बढ्न गएको अवस्था उत्साहप्रद छ ।
साथै राष्ट्रिय गौरवको योजनामा परेपछि पशुपति क्षेत्र विकास कोषको उचाइ नै बढेको छ भने हुन्छ । किनभने त्यसभन्दा अघि बजेटसमेत पाउने र नपाउने वा कति पाउने भन्ने अन्योल हुन्थ्यो । कहिलेकाहीं त आर्थिक वर्ष सकिनै लाग्दा वैशाख-जेठतिर सो आवको बजेट तथा कार्यक्रम बन्ने गरेको अवस्था पनि थियो । राष्ट्रिय गौरवको योजनामा परेपछि बजेट पनि ११ करोडबाट एकैपटक २५ करोड पुगेको छ । यो साल ४० करोड ७५ लाखको छ । अर्को सालको लागि ४४ करोडको बजेट स्वीकृत भइसकेको छ ।
पशुपति क्षेत्र करिब २६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पशुपति क्षेत्रको समग्र विकास, संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनको दृष्टिकोणले २०४४ सालमा छुट्टै ऐनकै तर्जुमा भई पशुपति क्षेत्र विकास कोष नामको स्वायत्त संस्था गठन भयो । २०५८ सालमा दसबर्से अवधारणात्मक गुरुयोजना तयार पारी त्यसले निर्देश गरेका कतिपय कार्य सम्पन्न भए पनि अझै गर्नुपर्ने कार्य धेरै बाँकी छन् । अवधारणात्मक गुरुयोजनाको तेस्रो चरणका कार्यहरू समाप्त भए पनि चौथो चरणको भूउपयोग एवं संरचनात्मक गुरुयोजनाले पशुपति क्षेत्रलाई कस्तो बनाउन चाहेको हो भन्ने कुरा किटान गर्नेछ र एउटा निश्चित समयसीमाभित्र त्यहाँ सम्पन्न गरिने कार्यहरूको बृहत् योजना तयार पार्नुपर्नेछ । यो जतिसक्दो चाँडो नगरे पशुपति क्षेत्रमा घर एवं बस्ती विस्तारले खुम्चिँदै जाने तथा त्यस्तो अवस्थामा खर्च बढ्दै जाने स्थितिले काम गर्न अप्ठ्यारो पनि पर्न सक्छ ।
पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवको हैसियतले सेवा गरेको झन्डै २७ वर्षपछि पुनः सदस्य-सचिवमा मनोनीत भएर काम गरेको अब छिटै चार वर्ष पुग्न लागेको छ । यस छोटो अवधिमा पशुपति क्षेत्र विकास कोषले जुन किसिमको विश्वास आर्जन गर्न सफल भएको छ, त्यो महत्वपूर्ण छ । पशुपति क्षेत्रको महत्तालाई जीवन्त राख्न तथा त्यहाँ गर्नुपर्ने यावत् कार्यहरूमा जिम्मेवारीपूर्वक सम्पन्न गर्न अहिलेसम्म कोषले खेलेको भूमिका सराहनीय छ । शिवरात्रिजस्तो लाखौंलाख तीर्थयात्री र दर्शनार्थीहरूको जमघट हुने पर्वलाई व्यवस्थापन गर्न होस् कि तीज, सद्वीजारोपणजस्ता पर्वहरूमा पाल्नुहुने लाखौं श्रद्धालुजनहरूलाई सेवासुविधा पुर्याउने कार्य होस्।
त्यसलाई सुझबुझका साथ सम्पन्न गर्न कोष सदैव डटेर कार्य क्षेत्रमा लागेको छ । कोषको स्थापना हुनुअघि गृह मन्त्रालयले छुट्ट्याउने सामान्य बजेट र गृहमन्त्रीको अध्यक्षतामा बन्ने शिवरात्रि मूल समारोह समितिको भरमा चलेको थियो । त्यतिबेला दुईतीन लाख रुपैयाँको बजेट हुन्थ्यो । ठाउँठाउँमा केही पालहरू राखिन्थे । सबै कुरा भगवान् भरोसा थियो ।
पछिल्लो वर्षको महाशिवरात्रि (२०७३ साल) पर्वमा झन्डै १३ लाख भक्तजन पशुपति क्षेत्रमा आए र त्यसमध्ये करिब साढे पाँच लाख भक्तजनले भगवान् पशुपतिनाथको दर्शन गरेको अनुमान गरिएको छ । यत्रो भीड भएको पर्वमा कुनै घटना÷दुर्घटनाविना व्यवस्थापन गर्न सक्नु कोषले अख्तियार गरेको योजना र व्यवस्थापनको सफलता हो भनेर मान्नैपर्छ । आफ्नो सीमित स्रोत, साधनको भरपूर उपयोग गरी अधिकतम सेवा दिन कोषको उल्लेख्य योगदान छ ।
कुनै बेला साँघुरिएर मन्दिरको पश्चिमपट्टिको बाहिर ढोकामा पुग्दा पनि कहाँनिर छ पशुपतिनाथको मन्दिर भनेर खोज्नुपर्ने अवस्थाबाट विस्तारै-विस्तारै सिंगो पशुपतिनाथ क्षेत्रले मुहार फेर्दैछ ।
नेपाल सरकारबाट विकास निर्माणमा प्राप्त हुने बजेटबाहेक कर्मचारी तलब एवं सुविधामा आफ्नै आन्तरिक स्रोतबाट बेहोर्ने नेपालका थोरै निकायमा पशुपति क्षेत्र विकास कोष पनि पर्नु खुसीको विषय हो ।पशुपति क्षेत्र विकास कोषको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नै किसिमको महत्ता छ । विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र भएकाले त कोषले गर्ने हरेक काममा विश्वको ध्यान जाने स्पष्ट छ । २०७० सालअघि पशुपति क्षेत्र विकास कोषको विषयमा पत्रपत्रिकामा बराबर भनेजसो नकारात्मक र विवास्पद समाचारहरू ज्यादात्तर आउँथे ।
यो चार वर्षको अवधिमा स्वदेश तथा विदेशका मिडियाहरूले सकारात्मक रूपले कोषका कार्यहरूलाई सराहना गरी सघाएका छन् । केही पीत पत्रिका र प्रायोजित समाचार एवं लेखहरूबाहेक समग्रमा कोषको उचाइ बढाउने गरी मिडियाहरू प्रस्तुत हुनु भनेको कोषप्रति जनताको विश्वास बढ्नु हो । साथै पशुपतिक्षेत्र विकास कोषको महत्व, उपादेयता र औचित्य सिद्ध गर्ने गरी पशुपति क्षेत्र विकास कोष नेपालको राष्ट्रिय गौरवको योजना नै बन्न पुगेको सुखद् स्थिति छ ।
पहिलेभन्दा फरक आर्थिक वर्ष ०७०÷०७१ देखि कोषको बजेट तथा कार्यक्रम चारथरी स्रोतबाट सम्पन्न हुने गरेका छन् । १. नेपाल सरकारबाट प्राप्त अनुदानबाट सम्पन्न हुने कार्यक्रम, २. आन्तरिक स्रोतबाट गरिने कार्यक्रम, ३.पशुपतिनाथको मन्दिरबाट हुने आम्दानीबाट सम्पन्न गरिने कार्यक्रम र ४. जनसहभागिताबाट हुने कार्यहरू । नेपाल सरकारको अनुदानबाट गएको गत आवमा सुरु गरिएका तर नसकिएका कार्यक्रमलाई त्यसपछिको आवमा बहुवर्षीय योजनाअन्तर्गत निरन्तरता दिई कार्य गर्ने परम्परा बसालिएको छ । जनसहभागिताबाट अहिले भइरहेको विकास सकारात्मक र उत्साहप्रद छ ।
सदस्य-सचिवको जिम्मेवारी पाउँदा मलाई लागेको थियो, सबै कुरा अनुकूल भयो र अवसर पाएँ भने पशुपति क्षेत्रको कायापलट गर्छु, धेरै काम गरेर देखाउँछु भन्ने थियो । जब पद बहाली गरेर सबै परिस्थिति बुझ्दै गएँ, त्यहाँ त दुई दर्जनभन्दा बढी वर्षौंदेखिको क्रोनिक समस्याले कोष ग्रस्त रहेछ । प्रशासनिक कार्य र बग्रेल्ती समस्या सुल्झाउनमै व्यस्त हुनुपर्ने, अध्ययन-अनुसन्धानका कार्यहरू, विकास निर्माणका कार्यमा दृष्टि दिनै नपाइनेजस्तो अवस्था रहेछ । साथै झन्डै दिनैपिच्छे र महिनापिच्छे आउने यात्रा-पर्वमा ध्यान दृष्टि पनि त्यत्तिकै पुर्याउनुपर्ने अवस्थाले समय बितेको पत्तै नहुने रहेछ ।
यद्यपि यो चार वर्षको अवधिमा सम्पन्न भएका एवं हुन लागेका कार्यहरूमा १. पशुपति क्षेत्रका कैयन् महत्वपूर्ण मन्दिर, सत्तल आदिको मर्मतसम्भार, २. विद्युतीय शवदाह गृहको सफल सञ्चालन, ३.हंसमण्डपपरिसरलाई भविष्यमा ठूलाठूला प्रवचन कार्यक्रमको आयोजना हुने उपयुक्त स्थलको रूपमा विकास, ४. देवउद्यान नामको बगैंचाको स्थापना गरी आकर्षक तुल्याइनु ,५. बनकालीमा कृपालु उद्यानको निर्माणले सौन्दर्यीकरण गरिनु, ६. भण्डारखालको संरक्षण गरी आकर्षक तुल्याइनु, ७. तिलगंगामा पर्यटन सूचना केन्द्र स्थापना गरी त्यहाँ तेस्रो मुलुकका विदेशी पर्यटकको लागि वाइफाइ सुविधासहितको शौचालय, टिकट काउन्टर एवं साकाहारी क्याफेको सुरुआत आदि एक किसिमले भन्ने हो भने कोसेढुंगा नै हुन् । यसमा आगामी वर्षको फागुन-चैत महिनामा कोषलाई हस्तान्तरण हुने गरी तयार भइरहेको नेपाल-भारत पशुपति मैत्री धर्मशाला, जहाँ चार सय यात्रुहरू एकसाथ बस्न सक्ने गरी कोषले उपलब्ध गराएको १४ रोपनी जग्गामा भारतको आर्थिक सहयोगमा तयार भइरहेको छ, पशुपति क्षेत्रको लागि ठूलो उपलब्धि हुने निश्चित छ । माधवराज सुमार्गी स्मृति भवनको निर्माण र कोषलाई हस्तान्तरण भइसकेको अवस्थाले अहिले पशुपति क्षेत्रमा जथाभावी रूपले शान्ति शुद्धिलगायतमा भोजभतेरहरू व्यवस्थित हुन पुगेको कम महत्वको छैन ।
गुरुयोजनाविना पशुपति क्षेत्रजस्तो विश्वसम्पदाको स्थलमा काम कसरी गर्ने ? गुरुयोजना जस्तो कुरा झट्ट तयार पार्न सकिने पनि होइन । त्यस परिस्थितिमा नयाँ कार्यहरूभन्दा भएका सम्पदाहरूको संरक्षण, संवद्र्धन र जोगाड गर्ने, भावी गुरुयोजनामा असर नपर्ने गरी सौन्दर्यीकरण, बागबगैंचा निर्माण, भएका पक्की सडकलाई सम्पदास्थलको अनुभूति दिने गरी प्रस्तरफलक छाप्नेजस्ता कार्यका साथै तीर्थयात्री, पर्यटकलाई सुविधा पुग्ने गरी सुविधा विकासका कार्यलाई ग्राह्यता दिएर अघि बढ्ने अठोट साथ कोषलाई अगाडि बढाइएको छ । सुरुमा सोचेजस्तो कायापलट गर्न नसके पनि पहिलेभन्दा केही फरक देखिने गरी काम भएको छ । यो त त्यहाँ जाने, घुम्नेहरूले अनुभव गर्ने कुरा हो । यद्यपि पशुपति क्षेत्रमा अझै धेरै गर्न बाँकी काम छन् ।
पशुपति क्षेत्र कला, वास्तुकलाको दृष्टिकोणले हेर्ने हो भने खुला संग्रहालय नै हो कि भन्ने भान पर्छ । पहिलो-दोस्रो शताब्दीदेखि लिएर लिच्छवी, मध्य, मल्लकाल र शाहकालमा बनेका मूर्ति, मन्दिरहरू त्यहाँ यत्रतत्र छन् । महत्वपूर्ण कुरा के छ भने पशुपति क्षेत्रमा भएका मठमन्दिर, विहार, स्तूपहरूमा बिहानदेखि बेलुकासम्म हुने कुनै न कुनै किसिमका धार्मिक तथा आध्यात्मिक कृत्यहरूले यस क्षेत्रको जीवन्ततालाई अरू पुष्ट पारेको अनुभूति हुन्छ । यस्तो क्रियाकलाप विश्वका अन्य सम्पदास्थलहरूमा विरलै देख्न पाइन्छ । विश्वमा अनेक सभ्यताका अनुचिह्नस्वरूपका अनुपम निधिहरू नभएका होइनन् तर जीवन्त सम्पदा पाउन अत्यन्त गाह्रो छ । जीवन्त सम्पदास्थलमा मानव जीवनसँग सम्बन्धित अनेकौं पक्षहरूको अवलोकन सजिलै गर्न पाइने भएकाले जीवन, जगत् र ईश्वरको रहस्य बुझ्न गाह्रो पर्दैन ।
पर्यटनको विविध स्वरूप र किसिमहरू भएको सन्दर्भमा धार्मिक एवं आध्यात्मिक पर्यटनको अति नै ठूलो महत्व दिनानुदिन बढ्दै गइरहेको छ । नेपालजस्तो देश जहाँ कुनै बेला 'जति मानिस छन्, त्यति मूर्ति छन् र जति घर छन्, त्यति मठमन्दिर छन्' भनी विदेशी कलापारखीहरू समेत मुक्तकण्ठले प्रशंसा गर्दथे । त्यस्तो ठाउँमा धार्मिक-आध्यात्मिक पर्यटनको लागि खास उल्लेख्य कार्यहरू हुन नसक्नु कम दुःखलाग्दो छैन । छिमेकी भारतकै कुरा गर्ने हो भने पनि त्यत्राविधि पुरातात्विक, ऐतिहासिक स्थलहरू भएको ठाउँमा तमिलनाडुको तिरुपति बालाजी, महाराष्ट्रको शिरडी साईबाबास्थल, जम्मु-कास्मिरको वैष्णोदेवी आदि धार्मिक स्थलहरू क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्छन्, जहाँ वार्षिक रूपमा लाखौं पर्यटकहरू घुम्न र दर्शन गर्न जाने गर्छन् । त्यसपछि मात्रै अन्य पर्यटकीय स्थलहरूको पालो आउँछ भारतमा ।त्यसैगरी तिब्बतको पोटाला दरबारमा वर्षको दसौं लाख पर्यटक पुग्छन् ।
यसो हुनाको कारण त्यहाँ घुम्न जाने पर्यटक, दर्शनार्थीहरूका लागि जुन किसिमको सरसुविधा छन्, त्यसको कारणले पनि हरेक वर्ष पर्यटकको संख्या बढ्दो छ ।नेपालमा रहेका भगवान् पशुपतिनाथको प्रसिद्धि भारतमा यस्तो छ कि भारतमा भएका चारधाम भनौं कि तीन धाम, त्यहाँको तीर्थयात्रा गरिसकेपछि नेपालस्थित पशुपतिनाथको दर्शन नगरे तीर्थयात्रा पूर्ण हुँदैन भन्ने परम्परा छ । यस परम्परालाई बुझी नेपालमा आउने तीर्थयात्रीलाई आवश्यक पर्ने सरसुविधाको विकास गरी उनीहरूको लागि आकर्षक गन्तव्य बनाउन सकेको खण्डमा धार्मिक पर्यटन नेपालको लागि फलदायी हुन सक्छ ।
भगवान् पशुपतिनाथको मन्दिरजस्तो विश्वप्रसिद्ध सम्पदास्थल भएर पनि त्यसअनुकूलका गर्नुपर्ने कार्य समयमा गर्न नसक्नु, बनाउन नसक्नु नेपाल र नेपालीकै लागि दुर्भाग्य हो । यहाँ आउने आगन्तुक, पाहुना, पर्यटक, तीर्थयात्री, दर्शनार्थी सबैलाई प्रभावित तुल्याउने किसिमका सरसुविधाको विकास त्यत्तिकै आवश्यक छ । तर नेपालमा भएको अस्थिर राजनीति र त्यसले निम्त्याएको अनेकौं साना-ठूला समस्याले गर्दा ससाना विषयमा अल्मलिएर रहनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण छ । मेरो चारबर्से कार्यकालमा कोषका नौजना अध्यक्ष फेरिनुभयो।
धर्म-संस्कृति र अध्यात्म क्षेत्रमा राजनीतिले प्रवेश नगरे हुन्थ्यो, तर त्यसो हुन सकेको छैन । भागबन्डाको राजनीतिले यहाँ पनि प्रवेश पाएको छ । पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने ऐनमा व्यवस्था छ । मन्त्रीको अध्यक्षतामा बस्ने सञ्चालक परिषद्को बैठकको निर्णय र निर्देशनमा चल्ने कोषका कार्यहरू यस्तो अस्थिर राजनीतिको कोपभाजन भएपछि अगाडि बढ्न कठिन हुनु अस्वाभाविक होइन ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र हिन्दु धर्मावलम्बीहरूको मात्रै नभई विश्वकै एक संरक्षणीय, संवर्धनीय एवं अतुलनीय निधि हो भन्ने विषयमा कुनै विमति छैन । यसको संरक्षण, संवर्धन एवं विकासको लागि सबैको जिम्मेवार भूमिका रहनुपर्छ र भावी सन्ततिहरूले यसबाट सिक्न सक्ने, लिन सक्ने पाठहरू मानव मात्रकै लागि उपयोगी हुन सक्छन् । विनाशकारी भूकम्पले गरेको चर्तिकला पशुपति क्षेत्रमा पनि प्रशस्त देख्न पाइन्छ । समग्रमा कुनै बेला साँघुरिएर पशुपतिनाथ मन्दिरको पश्चिमपट्टिको बाहिर ढोकामा पुग्दा पनि कहाँनिर छ मन्दिर भनेर खोज्नुपर्ने अवस्थाबाट विस्तारै-विस्तारै मुक्ति पाएर अहिले योजनाबद्ध ढंगमा गुरुयोजनाको माध्यमबाट संरक्षण, संवर्धन एवं प्रवर्धन हुने स्थिति सिर्जना हुनु उल्लेख्य छ ।