लोकदोहोरी प्रतियोगिता सुरु
काठमाडौं: राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा मंगलबारदेखि ‘राष्ट्रिय लोकदोहोरी प्रतियोगिता २०७४' सुरु भएको छ । तीन दिवसीय कार्यक्रमको पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान समन्वय, जूनकीरी दोहोरी साँझ दरबारमार्ग, सृजना समूह काठमाडौं, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बाग्मती, नीलहीरा समाज काठमाडौंले लोकदोहोरी गीत गाए । उनीहरूबीच लोकदोहोरी गायनका क्रममा एकले अर्कालाई व्यंग्य गर्दै मायाप्रीतिका विषयमा घम्साघम्सी चलेको थियो ।
लोकगायक कुमार बस्नेतले प्रतियोगिता उद्घाटन गर्दै आफ्नो लामो समयको गायन अनुभव सुनाए । प्रतियोगितामा अतिथि कलाकारका रूपमा बद्री पंगेनी, म्याक्सन खाती, अर्जुन खड्का, जमुना सनम लगायतका कलाकारले पनि दोहोरी भाका सुनाए ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लोक संस्कृतिको जगेर्ना र विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले आउँदा वर्षमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग सहकार्य गरेर यस्तो प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले ढिलै भए पनि सरकारी संस्थानले लोकदोहोरी गायन प्रतियोगिता आयोजना गरेर प्रोत्साहन गरेको बताए । प्रतियोगितामा देशभरिका १७ समूहले सहभागिता जनाउनेछन् ।
बिहीबार साँझ सकिने प्रतियोगितामा पहिलो हुने समूहले एक लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुने समूहले २५ हजार रुपैयाँ र सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।